post-slider post-slider

मोदीले गरे राम मन्दिरमा प्राणप्रतिष्ठा

Image
A A

काठमाडौं- भारत उत्तर प्रदेसको अयोध्यामा नवनिर्मित भव्य राम मन्दिरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राणप्रतिष्ठा गरेका गरेका छन्।

सोमबार रामजन्मभूमि अयोध्यामा भव्य सामारोहका बीच मोदीले नवनिर्मित मन्दिरको उदघाटन एवं प्राणप्रतिष्ठा गरेका हुन्।

प्राणप्रतिष्ठाको अवसरमा गर्वगृहभित्र उत्तर प्रदेसका राज्यपाल, मुख्यमन्त्री योगी आदित्य नाथ र श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अध्यक्ष उपस्थित थिए।

सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६ औं शताब्दीको बाबरी मस्जिदलाई यो मन्दिरले विस्थापन गरेको छ।

बाबरी मस्जिदको संरचना भत्किएपछि फैलिएको दंगामा भारतमा झन्डै दुई हजार मानिसको ज्यान गएको थियो।

मन्दिर निर्माणले अयोध्यामा रामको मन्दिर बनाउने हिन्दूहरूको दशकौं पुराना सपना पूरा भएको छ।

रामलाई भगवान विष्णुको अवतार ठानिन्छ भने उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ।

अयोध्या रामको जन्मभूमि भएको र रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको कैयौं हिन्दूहरूले विश्वास गर्छन्।

यो स्थानमा राम मन्दिर बनाउने अभियान चलाएकै कारणले भारतीय जनता पार्टीको सन् १९९० को दशकमा राजनीतिक उदय भएको ठानिन्छ।

प्रधानमन्त्री मोदीले अहिले गर्भगृहको मात्रै उदघाटन गरेका हुन्। बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने बताइएको छ।

मन्दिरमा राख्न बनाइएको करिब सवा चार फिट अग्लो रामको मुर्ति गत सातामात्र सार्वजनिक गरिएको थियो।

मुर्तिलाई मन्दिरको गर्भगृहमा रहेको संगमरमरको आसनमा विराजमान गराइएको छ।

रामको प्रतिमा प्राणप्रतिष्ठा गरिँदा धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवं वैदिक विधिविधानमार्फत मूर्तिलाई जीवन्त बनाइएको थियो।

प्रधानमन्त्री मोदीले मन्दिर निर्माणलाई ठूलो उपलब्धिको संज्ञा दिएका छन्।

अयोध्यामा सुरक्षा व्यवस्था र आवतजावत मिलाउन हजारौं प्रहरीलाई खटाइएको छ।

भाजपाको गेरुवा रंगको झन्डा अनि हिन्दू देवीदेवताका चित्रहरू मुख्य सडकवरपर राखिएको देखिन्छ।

कैयौं सडकमा पहेँलो अनि सुन्तला रंगका सयपत्री फूल सजाइएको छ।

मन्दिर निर्माण सम्पन्न भएपछि त्यहाँ प्रतिदिन डेढ लाख आगन्तुकहरूले भ्रमण गर्ने अपेक्षा अधिकारीहरूले गरेका छन्।

आगन्तुकहरूको भिडलाई थेग्न नगरमा महिनौंदेखि निर्माणका काम धमाधम भइरहेको छ।

केही सातायता नयाँ विमानस्थल र नयाँ रेल्वे स्टेसन खुलेका छन् भने कैयौं नयाँ होटल बनेका छन्। विद्यमान संरचनामा थप सजावट गरिँदैछ।

सरयू नदीको किनारमा अवस्थित अयोध्या नगरको विकासका लागि सरकारले ३.८५ अर्ब डलर छुट्याएको छ।

अधिकारीहरूले भक्तजन तथा पर्यटकहरूका निम्ति अयोध्यालाई विश्वस्तरीय सहर बनाइँदै गरेको बताएका छन्।

यो पनि

यसरी सम्भव भयो अयोध्यामा राम मन्दिरको निर्माण

अयोध्यामा आज राम मन्दिरको उदघाटन : नेपालमा पनि उल्लास

राम मन्दिर उदघाटन : कश्मीरी मुस्लिमदेखि अफगानी, कसले के उपहार दिए?

अयोध्यामा राम मन्दिरको उदघाटन र प्राणप्रतिष्ठा : नेपालमा कस्तो उत्साह?

 

Tags: