post-slider post-slider

अयोध्यामा राम मन्दिरको उदघाटन र प्राणप्रतिष्ठा : नेपालमा कस्तो उत्साह?

Image
A A

काठमाडौं- पाँच सय वर्ष पुराना विवादलाई भारतको सर्वोच्च अदालतले सम्पादन गरेसँगै अयोध्यामा निर्माण सुरू भएको राम मन्दिरको आगामी सोमबार उदघाटन हुँदैछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक भव्य समारोहका बीच नवनिर्मित राम मन्दिरको उदघाटन गर्न लागेका हुन्।

त्यही दिन भगवान रामललाको प्राणप्रतिष्ठासमेत हुँदैछ। राम जन्मभूमि तीर्थ क्षेत्रका अनुसार प्राणप्रतिष्ठाका लागि केवल ८४ सेकेन्डको शुभसाइत रहेको छ।

अयोध्याका कतिपय सन्तहरूले त्रेता युगमा भगवान रामको जन्म भएकै साइतसँग मेलखाने भएकाले मन्दिरको उदघाटन र प्राणप्रतिष्ठाका लागि यो साइत निकालिएको हो।

अयोध्यामा हुन लागेको राम मन्दिरको उदघाटन र प्रतिष्ठाका लागि भारतका हिन्दू धर्मावलम्बीहरू उत्साहित छन् नै नेपालमा पनि उल्लेख्य चासो देखिएको छ।

खास गरेर त्रेतायुगमा अयोध्या (अवध) का राम र जनकपुरधाम (मिथिला) की सीताको विवाह भएको पौराणिक मान्यताका कारण पनि राम मन्दिरको उदघाटनलाई लिएर नेपालमा उत्साह देखिएको हो।

राम मन्दिर उदघाटनका दिन प्रदेसभर दीपावली मनाउन आग्रह गरेको जनकपुरधामस्थित जानकी मन्दिरले सार्वजनिक बिदा दिन माग गरेको छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बिहीबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राम मन्दिरको उदघाटन र प्राणप्रतिष्ठाका दिन बिदा दिन ध्यानाकर्षणपत्र बुझाए।

माता सीताको माइतीबाट संसारलाई त्रेतागुगीन भगवान रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको सन्देश दिन सरकारी रूपमा उत्सव मनाउन २२ जनवरीका दिन मधेस प्रदेसमा सार्वजनिक बिदाको घोषणा गर्न उनले मुख्यमन्त्रीसँग माग गरेका छन्।

मिथिला र अवधबीच त्रेताकालदेखिको सम्बन्ध रहेकोले अयोध्यामा राम मन्दिरको उदघाटन तथा प्राणप्रतिष्ठा आफूहरूका लागि गर्वको विषय भएको उनको भनाइ छ।

‘लामो समयसम्म चलेको विवादपछि राम जन्मभूमि अयोध्यामा भगवान रामको मन्दिर निर्माण भएर उदघाटन हुँदैछ। मिथिला र अवधको सम्बन्ध त्रेताकालदेखिको हो,’ दास भन्छन्,‘मन्दिर उदघाटन र प्राणप्रतिष्ठा हुनु हाम्रा लागि गौरवको विषय हो। यसबारे चासो हुनु पनि स्वभाविकै हो।’

यसअघि जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्या पाहुर (भार) पठाइएको थियो। 

छोरीको नयाँ घर निर्माण भएर गृहप्रवेश हुँदा माइतीबाट कोसेली पठाइने मिथिला परम्पराअनुसार ११ सयभन्दा बढी पाहुर अयोध्या पठाइएको थियो।

लत्ताकपडा, मिठाइ, सुनचाँदीका गरगहनासहितका सामग्री लिएर जनकपुरधामबाट लावालस्करका साथ तीन सयभन्दा बढीको संख्यामा स्थानीयहरू अयोध्या पुगेका थिए।

‘माता जानकीलाई हामी जनकपुरको छोरीका रूपमा लिने गरेका छौं। छोरीको नयाँ घर निर्माण भएर गृहप्रवेश हुँदा माइतीबाट कोसेली पठाउने परम्परा रहेको छ,’ दास भन्छन्,‘त्यही परम्परालाई हामीले निरन्तरता दिएका हौं। अब मन्दिरको उदघाटन र प्राणप्रतिष्ठा हुँदैछ यो अवसरलाई पनि भव्यताका साथ मनाउने तयारी गरेका छौं।’

अयोध्यामा राम मन्दिर उदघाटन हुने दिन जनकपुरधामको जानकी मन्दिरमा एक लाखबढी दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि त्यो दिन घरघरमा दीपावली मनाउन नगरवासीलाई आग्रह गरेको छ।

जनकपुरधाम उपमहानगरपालिकाले मात्रै नभएर मधेस प्रदेसका अरू पालिकाहरूले पनि अयोध्यामा राम मन्दिर उदघाटन हुने दिनलाई ‘विशेष’ अवसरका रूपमा हेरेका छन्। र, त्यसलाई दृष्टिगत गरी कार्यक्रमहरू सार्वजनिक गरेका छन्।

कतिपय स्थानीय तहहरूले त्यो दिन पालिकाभर दीपावली मनाउन आग्रह गरेका छन् भने माछामासु बिक्री वितरणमा निषेध हुने सूचना निकालेका छन्।

रौतहटको गरुडा नगरपालिकाले अयोध्यामा राम मन्दिरको उदघाटन हुने भएकाले २२ जनवरीका दिन पालिकाभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध तथा हत्या, मदिरा माछामासुको बिक्री वितरणलगायतका कार्य नगर्न सूचना जारी गरेको छ।

सूचनालाई अटेर गरेको पाइए नियमानुसार कारबाही हुने गरुडा नगरपालिकाले निकालेको सूचनमा भनिएको छ।

राम मन्दिर उदघाटन र प्राणप्रतिष्ठाको अवसरमा लाखौं मानिसको सहभागिता रहने अनुमान गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै त्यहाँका विशिष्ट व्यक्तिहरू उदघाटनमा सहभागी हुने बताइएको छ।

यद्यपि निम्तो दिइए पनि त्यहाँका विपक्षी दलहरू भने ‘आम चुनावलाई लक्षित गरेर मन्दिरको उदघाटन गर्न लागिएको भनेर आफूहरू उपस्थित नहुने’ बताएका छन्।

राम जन्मभूमी तीर्थ क्षेत्र अयोध्याका महासचिव चम्पत रायले मन्दिर उदघाटनका दिन त्यहाँ पुग्न लाखौं श्रद्धालुको चाहना रहे पनि सुरक्षाको दृष्टिले नआउन आग्रह गरेका छन्।

यो अवसरमा नेपालबाट पनि खास व्यक्तिहरूलाई आमन्त्रण गरिएको बताइएको छ। विश्व हिन्दू परिषद नेपालका अध्यक्ष टीकाबहादुर पहाडीले प्राणप्रतिष्ठामा नेपालबाट करिब तीन सय जनाको सहभागिता हुने चर्चा सुनेको बताए।

नेपालमा रहेका सम्बन्धित महन्त, सम्प्रदाय र अडालगायतलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रले निम्ता दिइएको बताइन्छ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रले पठाएको निम्तोपत्रमा २१ जनवरीअघि नै अयोध्या पुग्न आग्रह गरिएको छ। जति छिटो पुग्यो त्यति सुविधा हुने भन्दै पत्रमा ढिलो गर्दा झन्झटको सामना गर्नुपर्ने हुनसक्ने उल्लेख छ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव रायको हस्ताक्षर रहेको निम्तोपत्रमा भनिएको छ,‘हाम्रो प्रबल इच्छा छ कि तपाईं यस पुनीत अवसरमा अयोध्यामा उपस्थित भएर प्राणप्रतिष्ठाको साक्षी बन्नुहोस् र महान ऐतिहासिक दिवसको गरिमा अभिवर्धन गर्नुहोस्।’


मन्दिर उदघाटन र प्राणप्रतिष्ठा हुने दिन नेपालमा पनि साइतअनुसार कार्यक्रमहरू निर्धारण गरिएका छन्।

विश्व हिन्दू परिषदका नेपालका राष्ट्रिय संगठन सचिव प्रह्लादकुमार रेग्मीका अनुसार त्यस दिन नेपालमा पनि विभिन्न धार्मिक कार्यक्रमहरू हुनेछन्।

नेपाल भरका पाँच हजार मन्दिरहरूमा त्यो दिन मध्याह्न १२ बजेदेखि १ बजेसम्म सत्संग, भजन कीर्तन गर्ने, विजय महामन्त्री जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दूहरूले दीप उत्सव गर्न आह्वान गरिएको रेग्मीले बताए।

नेपालको हुलाक टिकटको चर्चा

सरकारले विसं. २०२४ सालमा रामनवमीको अवसरमा सीता र रामको तस्बिर अंकित हुलाक टिकट जारी गरेको थियो।

त्यसमा प्रकाशनको पहिलो दिवसको टाँचा सन् १९६७ अप्रिल १८ मा लगाइएको सो टिकटको प्रथम आवरणमा उल्लेख भएको छ।

यतिबेला त्यो टिकटले सामाजिक सञ्जालहरूमा व्यापक चर्चा पाइरहेको छ।

नेपालले विसं. २०२४ सालमा रामनवमीको अवसरमा जारी गरेको सीतारामको तस्बिर अंकित हुलाक टिकटलाई अहिले इस्वी सन् २०२४ मा अयोध्यामा रामन्दिरको प्राणप्रतिष्ठा समारोह आयोजना हुन लागेको भन्दै त्यसलाई एउटा अच्चम्मको संयोगका रूपमा भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उल्लेख गरिरहेका छन्।

भारतमा चर्चा भइरहेको त्यो हुलाक टिकट कतिपयले खरिद गर्न चाहिरहेका छन्। शुक्रबार अपराह्न एमाजन इन्डियाको वेबसाइटमा यो टिकटको मूल्य ४० प्रतिशत छुटपटि भारतीय २९९ रूपैयाँ राखिएको थियो।

जनकपुरधाम र अयोध्याको साइनो

वाल्मिकी रामायणअनुसार अयोध्याका राजा दशरथका छोरा रामको राजा जनककी छोरी सीतासँग विवाह भएको थियो।

प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा अयोध्याबाट मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा जन्ति आउने परम्परा रहेको छ।

मधेस प्रदेसको राजधानीसमेत रहेको जनकपुरधामलाई पछिल्लो समय नेपाल र भारतले धार्मिक कूटनीतिको हिस्सा बनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विसं. २०७५ वैशाख २८ गते जनकपुरधामको भ्रमण गरेका थिए। 

त्यो भ्रमणका क्रममा जानकी मन्दिरमा पूजाअर्चना गरेका मोदीले जनकपुरधामको विकासका लागि सय करोड भारतीय रूपैयाँ अनुदान दिने घोषणा गरेका थिए।

त्यस्तै मोदीले जनकपुरधामलाई रामायण सर्किटमा राख्ने उद्घोषसमेत गरेका थिए।

 

Tags: