post-slider post-slider

यसरी सम्भव भयो अयोध्यामा राम मन्दिरको निर्माण

Image
A A

काठमाडौं- भारतको उत्तर प्रदेस अयोध्यामा आज नवनिर्मित राम मन्दिरको उदघाटन एवं प्राणप्रतिष्ठा हुँदैछ। 

यस अवसरमा पूरा अयोध्या सजिएको छ। साधुसन्त र पहुनाका रूपमा बोलाइएको अतिथिहरू त्यहाँ पुगिसकेका छन्।

दिउँसो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको उदघाटन गर्ने कार्यक्रम तय भएको छ।

धर्मगुरुहरूले त्रेताको छायाँ परेकोले उदघाटनका लागि आजको साइत निकालिएको बताएका छन्।

मन्दिर उदघाटन एवं प्राणप्रतिष्ठाका लागि जम्मा ८४ सेकेन्डको साइतरहेको बताइएको छ। यही समयभित्र सबै विधि सम्पन्न गरेर मन्दिरको उदघाटन हुने धर्मगुरुहरूको भनाइ छ।

कसरी सम्भव भयो राम मन्दिरको निर्माण?

करिब पाँच सय वर्षदेखि चलिरहेको विवाद अन्त्य भएर भारत उत्तर प्रदेसको अयोध्यामा राम मन्दिर निर्माण कार्यले तीव्रता पायो।

भारतमा मुगलहरूले शासन गरेदेखि अयोध्यास्थित राम मन्दिरलाई लिएर विवाद सुरू भएको थियो। 

मुस्लिमहरू विवादित भूमि बाबरी मस्जिदको भएको भनिरहँदा हिन्दुहरू भने त्यो ठाउँमा वर्षौंदेखि राम मन्दिर रहेको दाबी गरिरहेका थिए।

भगवान रामको जन्मभूमिस्थित मन्दिरलाई आफ्नो दबदबा भएका बेला मुगल शासकहरूले भत्काएर मस्जिदको स्वरूप दिएको दाबी हिन्दुहरूको थियो।

तीन दशकअघि डेढ लाखभन्दा बढीको भीड अयोध्यास्थित बाबरी मस्जिदतर्फ बढ्यो।

त्यो हिन्दु समाजले आयोजना गरेको एउटा धार्मिक र्‍याली थियो। तत्कालीन प्रमुख प्रतिपक्षी दल र अहिलेका सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पनि त्यो र्‍यालीमा सामेल थियो।

यसबाहेक राम मन्दिर निर्माण अभियानलाई अगाडि बढाइरहेका ‘कारसेवक’, हिन्द् स्वयंसेवकलगायतका मानिसहरू र्‍यालीमा सामेल थिए।

उनीहरूले लामो समयदेखि बाबरी मस्जिद रहेको विवादित भूमिमा राम मन्दिर निर्माण गर्ने वाचा गरेका थिए।

घरेलु हातहतियारसहित लाखौंको संख्यामा पुगेका मानिसहरूले केही घण्टाभित्रै बाबरी मस्जिद भत्काएर त्यो ठाउँमा राम मन्दिर निर्माण गरे।

त्यो घटनामा कैयौं मानिसको मृत्यु भयो। कतिपय अझै वेपत्ता छन्।

राम जन्मभूमिसम्बन्धी विवाद भारतको सर्वोच्च अदालतसम्म पुग्यो। १९९२ मा भएको त्यो घटनामा संलग्न भनिएका ४८ मध्ये ३२ जनाले सफाइ पाए। १७ जनाको फैसला आउनुअघि नै मृत्यु भइसकेको थियो।

अयोध्याको त्यो विवादित भूमिका लागि भारतको सर्वोच्च अदालतमा लामो समयसम्म मुद्दा चल्यो। सन् २०२० नोभेम्बर ९ तारेखका दिन सर्वोच्च अदालतले हिन्दुहरूले गरिरहेको दाबी अनुसार नै फैसला सुनायो।

र, सर्वोच्चको त्यो फैसलाले विवादित भनिएको त्यो ठाउँमा राम मन्दिर निर्माणका लागि बाटो खोलिदियो।

अयोध्यास्थित राम जन्मभूमिमा राम मन्दिर निर्माण गर्ने सर्वोच्चको फैसलालाई भारतका हिन्दुवादी संगठनहरू विश्व हिन्दु परिषद, बजरंग दल, राष्ट्रिय स्वयंसेवक संघ (राएसएस) तथा कारसेवकहरू पाँच सय वर्षदेखि बुनिरहेको सपना सकार भएका ठानेका छन्।

१९९२ मा बाबरी मस्जिदको ढाँचा भत्काउन नेतृत्वदायी भूमिका खेलेका कारसेवक एवं राम मन्दिर निर्माण ट्रस्टका सदस्यसमेत रहेका कामेश्वर चौपाल राम मन्दिर निर्माण गर्न सनातन परम्परामाथि विश्वास गर्ने भारतीयहरूले पाँच सय वर्षदेखि बुनिरहेको सपना सकार भइरहेको देख्दा खुशी लागेको बताउँछन्।

बाबरी मस्जिद भत्काइएपछि भेटिएका ढाँचा

बाबरी मस्जिदको ढाँचा भत्काउन लाखौं मानिस सहभागी भएकोमध्ये एक हुन् चौपाल।

‘राम जन्मभूमिमा मन्दिर निर्माण गर्ने हाम्रो ठूलो सपना थियो। लाखौंको संख्यामा मानिसहरू यहाँ उपस्थित भइसकेका थिए,’ मन्दिर निर्माण भइरहेको स्थानतर्फ इशारा गर्दै उनले भने,‘कोदालो, सिमेन्ट, बालुवासहित आएका मानिसहरूले ढाँचा भत्काएर चार घण्टाभित्र मन्दिर बनाइदिए।’

ट्रस्टका सदस्य कामेश्वर चौपाल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेको राम मन्दिरको चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित राम मन्दिर निर्माण ट्रस्टले काम गरेको थियो। 

‘पूर्ण रूपमा मन्दिर तयार हुन त अझै केही समय लाग्ला। तर, आगामी वर्ष जनवरी ११ तारेखदेखि श्रद्धालुले पूजाआजा गर्न पाउनसक्ने लक्ष्य लिएर काम भएको छ,’ उनी भन्छन्,‘सन् २०२५ सम्म मन्दिर पूर्णरूपले तयार भइसक्छ।’

बाबरी मस्जिद भत्काइएपछि भेटिएका ढाँचा

यतिबेला पूजाआजा र दर्शनका लागि निर्माण स्थलबाट करिब तीन सय मिटरको दूरीमा अस्थायी मन्दिरको संरचना तयार पारिएको छ। श्रद्धालुहरू अहिले त्यही अस्थायी मन्दिरमा दर्शन र पूजाआजा गर्ने गरेका छन्।

यस्तो छ मन्दिरको ढाँचा

ट्रस्टले १०८ एकड जग्गामा राम मन्दिर निर्माण गरिरहेको छ। साढे दुई हजार करोड अनुमानित खर्चमा निर्माण भइरहेको मन्दिर निर्माणका लागि हरेक दिन ६ सयभन्दा बढी मजदुर काम गरिरहेका छन्।

तीन तल्ले मन्दिर निर्माणका लागि सिमेन्ट र फलामे छडको प्रयोग गरिएको छैन। ग्रेनाइटलगायतका मार्बल प्रयोग गरेर मन्दिर निर्माण कार्य भइरहेको ट्रस्टका सदस्यहरू बताउँछन्।

निर्माण भइरहँदाको तस्बिर 

चौपालले मन्दिरको लम्बाइ ३६५ फिट, चौडाइ २६५ फिट र उचाइ १७१ फिट रहेको बताए।  मन्दिरको आयु न्यूनतम १ हजार वर्ष हुने लक्ष्यसहित निर्माण कार्य भइरहेको उनको भनाइ छ।

‘न्यूतम एक हजार वर्ष आयु हुने लक्ष्यसहित मन्दिर निर्माण भइरहेको छ, यो बढी पनि हुनसक्छ,’ उनी भन्छन्,‘मन्दिर निर्माणमा कहिँ पनि फलामे छड र सिमेन्टको प्रयोग भएको छैन।’

मन्दिर निर्माण हुने क्षेत्रमा १४ मिटरमुनीबाट भवनको आधार तयार पारिएको छ। ‘१४ मिटर तलबाट भवनको आधार तयार पारिएको छ, इन्डिनियस मटेरियल प्रयोग गरेर ढलान गर्ने काम भएको छ त्यो पनि जिरो डिग्री सेल्सियस तापक्रममा,’ चौपालले भने।

कर्नाटकको ग्रेनाइट र राजस्थानको ‘बलुवा’ ढुंगाबाट मन्दिर निर्माण कार्य भएको उनले जानकारी दिए।

भुइँतला र गर्वगृह तयार पारेर सर्वसाधारणलाई दर्शनका लागि मन्दिर खोलिने लक्ष्यसहित काम गरिएको ट्रस्टको भनाइ छ।

सरयुग नदीको छेउमै मन्दिर निर्माण भइरहेकोले भविष्यमा बाढीबाट हुनसक्ने क्षति व्यवस्थापन गर्न सकिने विषयलाई समेत ध्यान पु¥याइएको छ।

मन्दिरको पूरा संरचना तयार पार्न चार सय पिलर प्रयोग गरिएको ट्रस्टका अर्का सदस्य गोपालजीले बताए।

उनकाअनुसार पहिलो तल्लामा १६८, दोस्रो तल्लामा १३० र तेस्रोमा ७८ पिलर रहेको छ।

‘तीन तल्ले मन्दिर निर्माण भइरहेको छ, प्रत्येक तल्ला २०–२० फिटको हुनेछ,’ उनले भने,‘मन्दिरको छत र बिम ढुंगा प्रयोग गरेर तयार पारिँदैछ।’

बाबरी मस्जिद भत्काइएपछि भेटिएका ढाँचा

जमिनमाथि गर्वगृहमा क्लिन्थ ग्रेनेटको प्रयोग गरिएको गोपालजीले बताए। 

‘भगवान विराजमान हुने गर्वगृहमा क्लिन्थ ग्रेनेट, त्यसपछि पर्स संगमरमर मार्बल र सुपर स्ट्रक्चर (मन्दिर भवन) का लागि राजस्थानको भरतपुुरबाट मगाइएको गुलाफी रङ्गको वंशी पहाडपुर नामक ढुंगा प्रयोग भएको छ,’ उनले भने।

ट्रस्टका सदस्यहरूका अनुसार मन्दिर निर्माणका लागि त्यहाँको सरकारले कुनै आर्थिक सहयोग गरेको छैन। ट्रस्टमा आउने दान र सहयोगबाट मन्दिर निर्माण भइरहेको छ।

‘सरकारले जग्गा उपलब्ध गराइदिएको छ। मन्दिर निर्माणका लागि आर्थिक सहयोग लिएका छैनौं। हिन्दु धर्मप्रति आस्था राख्नेहरूले सहयोग गरिरहेका छन्, गोप्य दान दिइरहेका छन्,’ ट्रस्टका एक सदस्यले भने,‘श्रद्धालुहरूका तर्फबाट प्राप्त भइरहेको सयोगबाट मन्दिर निर्माण भइरहेको छ।’

भारतको टाटा र एलएनटी नामक दुई ठूला कम्पनीले राम मन्दिर निर्माणको जिम्मा लिएको छ। उनीहरूले न्यून पैसा लिएर निर्माण कार्य गरिरहेको ती सदस्यको भनाइ छ।

कडा सुरक्षा व्यवस्था

लामो समयको विवादपछि निर्माण भएको राम मन्दिर निर्माण क्षेत्र र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। मन्दिर निर्माण क्षेत्र नजिक पुग्न सर्वसाधारणलाई कडा सुरक्षा घेरा पार गर्नुपर्ने हुन्छ।

 

Tags: