धर्म र भौगोलिक सीमा नाघेको ‘सीमा’ को प्रेमकथा
काठमाडौं- गलामा मङ्गलसुत्र र ‘राधे–राधे’ लेखिएको पछ्यौरी। हातमा रातो चुरा र निधारमा टीका।
दुईकोठे घरको चारैतिर पत्रकार, क्यामेरा र माइकले घेरिएकी सीमा हैदर निकै आत्मविश्वासका साथ प्रश्नहरूको जवाफ दिइरहेकी छन्, यतिबेला।
उनका प्रेमी सचिन मीणा छेउमै कुर्सीमा बसिरहेका हुन्छन्।
भारतका ठूलाठूला समाचार च्यानलको प्रस्तोता, संवाददातादेखि दर्जनौंको संख्यामा युट्युबर सीमासँग कुराकानी गर्नका लागि पालो कुरिररहेका हुन्छन्।
घरमा देखिएको भिडमा सीमाका चार जना बच्चालाई सजिलै चिन्न सकिन्छ।
केही पत्रकार ती बच्चाहरूलाई ‘हिन्दुस्तान जिन्दाबाद’ को नारा लगाउन लगाइरहेका हुन्छन् र त्यो दृष्यलाई क्यामेरामा कैद गर्छन्।
बीचबीचमा महिला तथा हिन्दुवादी संगठनका केही मानिस यो जोडीलाई भेट्न आउँछन्।
उनीहरू आशिर्वाद दिँदै सीमालाई केही पैसा पनि थमाउँछन् र फोटा खिच्न लगाउँछन्।
सीमाको आत्मविश्वास
भिडभाडयुक्त माहोलबीच घरमा ‘जय श्रीराम’ को नारा पनि सुनिन्छ भने केही मानिसले सीमालाई त्यहाँ भएको तुलसीको बोटमा पानी हाल्न भन्छन्।
यी दृश्य भारत उत्तर प्रदेसको ग्रेटर नोएडमा पर्ने रबुपुरास्थित सचिन मीणाको घरका हुन्। उनीहरू जमानतमा रिहा भएपछि उनीहरूको घरमा भिड लागेको छ।
दुई पब्जी खेलाडी
पाकिस्तानकी सीमाको सन् २०१४ मा जकोबाबादका गुलाम हैदरसँग विवाह भयो। उनीहरूका चार जना सन्तान छन्।
पछि दुवै कराँची गए। त्यहाँ रिक्सा चलाएर जीवनयापन गरिरहेका गुलाम २०१९ मा कामको सिलसिलामा साउदी अरब गए।
यो त्यो समय थियो जब सीमाले सचिनसँ कुरा गर्न थालिन् र भलाकुसारी गर्ने माध्यम बन्यो अनलाइन खेल।
सीमा भन्छिन्,‘हाम्रो प्रेमकथा पब्जीबाट सुरू भएको हो। सचिन पुराना खेलाडी थिए र म नयाँ। पब्जीमा मेरो नाम मारिया खान थियो। सचिनले मलाई खेल्न अनुरोध पठाए।’
पब्जी खेल्दै गर्दा दुवैबीच सम्पर्क नम्बर साटासाट भयो।
‘पब्जी खेल्ने क्रममा हामीले सम्पर्क नम्बर आदानप्रदान ग¥यौं। सचिनले अनलाइन गेम खेल्न आउँदा मलाई गुड मर्निङ, तिमी पनि आऊ भनेर मेसेज गर्नुहुन्थ्यो,’ उनी भन्छिन्।
तीन–चार महिनापछि दुवै जना साथी बने। भिडियाकलमार्फत सचिनले भारत र सीमाले पाकिस्तान देखाउँथे।
‘तीन–चार महिनासम्म पब्जी खेलेपछि हामी साथी बन्यौं। म उहाँलाई भिडियोकलमार्फत पाकिस्तान देखाउँथे अनि उहाँले भारत देखाउनुहुन्थ्यो। दुई देशबीचका मान्छेबीच कुरा हुँदा खुसी लाग्थ्यो,’ सीमा भन्छिन्,‘भारतीय केटासँग कुरा भइरहेकोमा मलाई झन् खुसी लाग्थ्यो। यसरी हामी रातभर कुरा गर्न थाल्यौं। बानी प¥यो अनि हामीबीच माया बस्यो।’
प्रेम उत्कर्षमा पुगेपछि सीमा सचिनलाई भेट्नुपर्ने निष्कर्षमा पुगिन्। तर, सीमाका लागि त्यो त्यति सहज थिएन।
‘म पाकिस्तानलाई घृणा गर्छु भन्ने होइन, म त्यहीँ हुर्केकी हुँ, मेरो बाल्यकाल त्यहीँ बित्यो। मेरो दाजुभाइ, दिदीबहिनी, आमाबुवा सबै त्यहीँका हुन्। मेरा आमाबुवाको चिहान त्यहीँ छ,’ उनी भन्छिन्,‘मान्छे भनेको एकपटकलाई न हो, एक दिन त मर्नैपर्छ। केही वर्षपछि बुढ्यौली र त्यसपछि मृत्यु। मेरा बुवा कुनै बेला जीवित हुनुहुन्थ्यो, मेरै आँखै आगडि उहाँको देहान्त भयो। अन्ततः मैले मेरो माया राजेँ।’
पहिलो हवाइ यात्रा
आफ्ना प्रेमीलाई भेट्न सीमाले नेपाललाई सुरक्षित गन्तव्य ठानिन्। त्यसपछाडि एउटा खास कारण पनि थियो।
उनी भन्छिन्,‘हामी दुबईमा पनि भेट्न सक्थ्यौं, तर सचिनसँग राहदानी थिएन। भारतीयहरू राहदानीविना नेपाल जान सक्छन् भन्ने थाहा पाएँ। त्यसैले हामीले नेपालमा भेट्ने निर्णय ग¥यौं।’
भेटघाटको समय र स्थान तय गरेपछि सीमा नेपालको पर्यटक भिसा लिएर शारजाह हुँदै काठमाडौं पुगिन्।
सीमा भन्छिन्,‘पहिलोपटक सन् २०२३ मार्च १० तारिखमा पाकिस्तान छोडेर म साँझतिर काठमाडौं पुगेँ। त्यो मेरो पहिलो हावाइ यात्रा थियो। विमानभित्र म कान नसुन्ने भएकी थिएँ।’
नेपालमा बिहे, हिन्दू बनिन्
सचिन काठमाडौं पुगेर सीमालाई पर्खिरहेका थिए। नयाँ बसपार्क क्षेत्रस्थित एउटा होटलमा कोठा भाडामा लिएका सचिनले भाडाबापत दैनिक ५ सय रूपैयाँ होटल मालिकलाई बुझाउँथे।
यस अवधिमा सीमाको इन्स्टाग्राममा यस्ता धेरै भिडियो छन् जसमा दुवै जना काठमाडौंमा घुमिरहेको देखिन्छ। यसै क्रममा उनीहरूले जीवनको ठूलो निर्णय लिएका हुन्।
‘हामीले चैत १३ गते काठमाडौंको पशुपतिनाथ मन्दिरमा विवाह ग¥यौं। एक जना ट्याक्सी चालक भाइको सहयोगमा हामी बिहे गर्न सफल भयौं। हामीसँग भिडियो पनि छन्। म आफैंले हिन्दूधर्म अवलम्बन गरेकी हुँ। मलाई कसैले दबाब दिएको होइन। यो कैसेले भनेर मैले गरेकी होइन, म आफ्नै इच्छाले आएकी हुँ। म सचिनको प्रेममा आएकी हुँ। मैले प्रेममा हिन्दू धर्म स्वीकार गरेँ।’
बिहे त भयो तर सीमा भारत आउन सकिनन्। किनभने कराँचीमा चार सन्तान उनको पर्खाइमा थिए।
उनी लाहोरस्थित दरगाह जाने बहानामा सचिनलाई भेट्न नेपाल आएकी थिइन्।
प्रेममा घर बेचिन्
सीमा पाकिस्तान त फर्किइन। तर, उनको मन त्यहाँ लागिरहेको थिएन।
त्यसको दुई महिनापछि सीमाले आफ्ना सन्तानहरूसहित सँधैंका लागि पाकिस्तान छोड्ने निर्णयमा पुगिन्।
सीमा भन्छिन्,‘मसँग त्यति पैसा थिएन। मेरो नाममा एउटा घर थियो, जुन मैले १२ लाखमा बेचेँ। आफ्नो र मेरा छोराछोरीका लागि नेपालको भिसामा करिब पचास हजार खर्च भयो।’
यसपालि सीमाले नेपालबाट स्थलमार्ग भएर भारत जाने सोचेकी थिइन्। उनले मे १० तारिखका दिन यात्रा गर्ने तय गरिन्।
त्यो नम्बर आफ्ना लागि फाप्ने उनलाई लाग्यो। किनभने त्यसअघि सचिनसँग उनले मार्च १० तारिखमा पहिलोपटक भेटेकी थिइन्।
सीमा भन्छिन्,‘दोस्रोपटक आउन सजिलो भयो। किनकि एन्ट्री, एक्जिट र कनेक्टिङ फ्लाइटबारे मलाई ज्ञान भइसकेको थियो। मे ११ मा म काठमाडौं पुगेँ। त्यहाँबाट पोखरा गएँ र राति त्यहीँ बसेँ। मे १२ तारखि बिहान ६ बजे बालबच्चासहित म दिल्ली जाने बस चढेँ। मैले श्रीमानको रूपमा सचिनको नाम लेखाएकी थिएँ। टिकट काट्नेले सचिनसँग फोनमार्फत कुरा पनि गरे। मे १३ तारिखको बिहान ११ बजेतिर हामी ग्रेटर नोएडा पुग्यौं।’
त्यहाँ सचिन उनीहरूलाई पर्खिरहेका थिए। उनीहरू रबुपुरा पुगे। सीमाका अनुसार सचिनले राम्रोसँग ठेगाना बताएका थिए।
‘सीमामा सुरक्षाकर्मीले धेरै सोधपुछ गरे अनि झोलाहरू जाँचे। परिचयपत्र मागेपछि मैले हराएको भनेँ। तीन दिनको यात्राका क्रममा बच्चाहरू बिरामीजस्तै भएका थिए। जेठी छोरीले बान्ता गरिरहेको देखेर सुरक्षाकर्मीलाई पनि दया लागेको होला,’ उनले भनिन्।
गुलाम हैदरसँग मौखिक पारपाचुके
हाल साउदी अरबमा काम गरिरहेका सीमाका पति गुलाम हैदरले श्रीमती र बच्चाहरूलाई पाकिस्तान फर्काइदिन अपिल गरेका छन्।
सीमाका अनुसार गुलामसँग उनको जबरजस्ती बिहे गराइएको थियो। आफूले उनीसँग सम्बन्धविच्छेद गरिसकेको सीमा बताउँछिन्।
तर, गुलाम भने सीमासँग सम्बन्ध विच्छेद नभएको दाबी गर्छन्। सीमा भन्छिन्,‘सन् २०१३ म कसैलाई माया गर्थें। ती व्यक्तिसँग बिहे नहोस् भनेर मेरो परिवारले गुलामसँग जबरजस्ती बिहे गराइदियो। त्यतिबेला म १७ वर्षको थिएँ।’
गुलामका बुवा मीर जान जखरानीले सीमा घरबाट सात लाख रूपैयाँ र सात तोला सुन लिएर भागेको आरोप लगाएका छन्।
त्यसबारे सीमा भन्छिन्,‘मैले त्यस्तो गरेकी छैन। उनीहरू त्यति पैसावाल र हैसियत भएका मान्छे होइनन्। मसँग मेरो आमाले दिनुभएको सुन थियो।’
‘म जासुस होइन’
सीमा जसरी भारत प्रवेश गरिन् त्यसलाई लिइर कैयौंले उनी पाकिस्तानी जासुस हुनसक्ने आरोप लगाइरहेका छन्।
पाकिस्तानी सेनामा भाइ जागिरे, सीमाको साथबाट चारचारवटा मोबाइल फोन जफत हुनुले धेरैको आशंका त्यतातिर पु¥याएको छ।
ती आरोपबारे सीमा भन्छिन्,‘म जासुस होइन। सचिनसँग प्रेममा परेपछि बल्ला घरबाट निस्केर घुमघाक गर्न थालेकी हुँ। पासपोर्ट बनाएकी हुँ। म गरीब परिवारकी महिला हुँ, मैले धेरै पढेकी पनि छैन। अलिअलि अंग्रेजी शब्दहरू प्रयोग गर्छु भन्दैमा मलाई अंग्रेजी आउँछ भन्ने होइन।’
आफूले भारतीय प्रहरीसँग केही झुटो नबोलेको सीमाको दाबी छ।
‘मैले भारतीय प्रहरीसँग केही झुटो बोलेकी छैन। मेरो भाइको सन् २०२२ मा सेनामा जागिर भएको हो। मासिक करिब १८ हजार रूपैयाँ पाउँछन्,’ उनी भन्छिन्।
‘पाकिस्तान फर्कन चाहन्नँ’
सचिनसँग आफू खुशीका साथ बसिरहेको र भारतमै रहन चाहेको सीमा बताउँछिन्। तर बहिनीहरूलाई सम्झेपछि उनका आँखा रसाउँछ।
उनी भन्छिन्,‘बहिनीहरू सबैलाई प्यारा हुन्छन्। उनीहरूको याद आउँछ। जेठी दिदी र कान्छी बहिनी छन्। सचिनसँग मेरो त बिहे भइसक्यो। उनी मेरा छोराछोरीको ध्यान राख्छन् र मेरो इज्जत गर्छन्। मेरो लागि यही ठूलो कुरा हो।’
पाकिस्तान फर्र्र्किए आफू जीवित नरहने उनको भनाइ छ। जेलमै बस्नुपरे बरू भारतमै रहने तर पाकिस्तान नजाने सीमा बताउँछिन्।
‘म मर्छु, सकिन्छु, यहीँ मरेर देखाउँछु। तर, कुनै पनि हालतमा म फर्किन्नँ। त्यहाँ अब मेरा कोही छैनन्,’ उनी भन्छिन्।
सचिन पनि त्यस्तै कुरा गर्छन्। उनी भन्छिन्,‘मैले सीमासँग बिहे गरिसकेको छु। म बाँचुन्जेल उसलाई भारतबाट जान्न दिन्नँ।’
हुन त अहिले जमानतमा रिहा भएका सीमा र सचिन सँगै बसिरहेका छन्। धर्म र भौगोलिक सीमा नाघेको यो प्रेमकथा कहाँसम्म पुग्छ त्यो हेर्न बाँकी छ।