post-slider post-slider

पब्जीले झाँगिएको भारतीय–पाकिस्तानीको प्रेम, भिसाविनै नेपालहुँदै भारत प्रवेश

Image
A A

काठमाडौं- पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मीणाबीचको प्रेम सम्बन्ध यतिबेला छिमेकी भारतमा निकै चर्चित बनेको छ।

आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन्।

उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो। त्यसैले भारत र पाकिस्तानमा चर्चा रहेको ती दुई बीचको प्रेम प्रसङ्गमा नेपाल पनि जोडिन पुगेको हो।

नेपाली अधिकारीहरूले सीमा दुईपटक नेपाल आएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार पहिलोपटक आएर सीमा पाकिस्तान फर्किएको तर दोस्रोपटक नेपाल भित्रिएको मात्र देखिन्छ।

कतिपय भारतीय सुरक्षा मामिला विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा नलिइ भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ।

भारतीय प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेपछि सीमा भिसाविनै भारत पुगेको खुलेको हो।

पहिलो भेट नेपालमा, दोस्रोपटक बसबाट भारत

नेपालका अध्यागम अधिकारीहरूका अनुसार सीमा पहिलोपटक २०७९ साल फागुन २६ गते विमानबाट नेपाल आएकी थिइन्।

पब्जी खेल्दाखेल्दै आफूहरूले प्रेम सम्बन्ध गाँसेको उनले भारतीय प्रहरीसमक्ष बताएकी छन्।

त्यसपछि उनी पाकिस्तानबाट र सचिन भारतबाट नेपाल आए। भारतीय सञ्चारमाध्यमहरूले युएईको सारहाज हुँदै सीमा नेपाल पुगेको बताएका छन्। कतिपयले उनी दुबई हुँदै काठमाडौं पुगेको जनाएका छन्।

पक्राउ परेपछि सचिनले भनेका छन्,‘नेपालमा हामीले केही दिन सँगै बितायौं र सीमा पाकिस्तान फर्किइन्।’

भारतीय प्रहरीका अनुसार उनीहरूले सात दिन काठमाडौंको होटलमा बिताएका थिए।

नेपाली अध्यागमन अधिकारीहरूका अनुसार सीमा चैत ३ गते पाकिस्तान फर्किएको देखिन्छ।

दुई महिनापछि सीमाले सचिनसँग बिहे गर्ने निधो गरिन् र फेरि नेपाल हुँदै भारत पुग्ने योजना बनाइन्।

उनी २०७९ जेठ २८ गते नेपाल आएको देखिन्छ। भारतको ग्रेटर नोयडाका डिसिपी मियाँ खानले सञ्चारकर्मीहरूमाझ भनेका छन्,‘सीमा नेपालबाट बसमा सचिनसँग भेट्न भारत आइन्।’

तर, फर्किएको वा कतै गएको कुनै विवरण भेटिएको छैन।

घर फर्काइदिन पतिको अपिल

अनलाइनमा गेम पब्जी खेल्दा दुवैको प्रेम यसरी झाँगियो कि सीमा चार छोराछोरीका साथ विनाभिसा सीमा नाघेर सचिन भएको ठाउँमा पुगिन्।

सीमाको विवाह सन् २०१४ मा पाकिस्तानको सिन्ध प्रान्तका बासिन्दा गुलाम हैदर जखरानीसँग भएको हो। उनीहरूका तीन छोरी र एक छोरा छन्।

उनका पति सन् २०१९ देखि साउदी अरबमा रोजगारीमा छन्। त्यसपछि उनी बढी समय पब्जी खेल्दै बिताउन थालिन्।

त्यसक्रममा भारत उत्तर प्रदेसको ग्रेटर नोयडाका सचिनसँग सम्पर्क भयो।

सीमा भन्छिन्,‘दिनमा दुई तीन घन्टा पब्जी खेल्थेँ, त्यसक्रममा सम्पर्क भएपछि हामीले मोबाइल नम्बर साटासाट ग¥यौं।’

त्यसपछि तीन वर्षसम्म उनीहरूको फोनमा लामो समयसम्म प्रेमपूर्ण कुराकानी चलेको उनीहरूले बताएका छन्। उनका पतिले पब्जी खेल्दा आफ्नी श्रीमती बहकिएको भन्दै उनलाई स्वदेश फिर्ता ल्याइदिन अधिकारीहरूलाई आग्रह गरेका छन्।

आफूले प्रेमविवाह गरेको उनको भनाइ छ। आफूहरूबीच फोनमार्फत नै सम्पर्क भएको र तीन चार महिना कुराकानीपछि विवाह गरेको उनले बताएका छन्।

उनले सीमाका नातेदारहरू सहमत नभएपछि अदालतमा विवाह दर्ता गरेको जानकारी दिएका छन्।

त्यसबेला आफूले रिक्सा चलाउने गरेको र पछि राम्रो रोजगारीका निम्ति साउदी अरब पुगेको बताउँदै जखरानीले सम्पर्कविहीन भएको केही समयपछि सामाजिक सञ्जालबाट आफ्नी पत्नी भारतमा पक्राउ परेको थाहा पाएको जनाएका छन्।

पाकिस्तान नफर्किने अडान

नेपाल हुँदै भारत पुग्न सीमाले अचल सम्पत्ति पनि बेचेको विवरण सार्वजनिक भएको छ।

पक्राउ परेपछि पनि उनले सचिनलाई प्रेम गर्ने बताउँदै पाकिस्तान नफर्किने अडान व्यक्त गरेकी छन्।

उनले भनेकी छन्,‘म सबै कुरा त्यागेर आएकी छु, म सचिनलाई निकै प्रेम गर्छु, म उनीसँग विवाह गर्छु।’
सचिनले पनि अब आफूहरूको विवाह गराइदिन सरकारसँग माग गरेका छन्।

भारतमा सुरक्षाबारे कस्तो चिन्ता

सचिनले सीमा भारत पुगेपछि एउटा कोठा भाडामा लिएका थिए। प्रहरील खोजी गरिरहेको सूचना पाएपछि उनीहरूले यही असार १६ गते डेरा छाडेर निस्केको बताइएको छ।

प्रहरीले गोप्य सूचनाको आधारमा ४ जुलाईमा उनीहरूलाई हरियाणाको बल्लभगढबाट पक्राउ गरिएको जनाएको छ।

सचिनका बुवा पनि पक्राउ परेका छन्। उनीहरूविरूद्ध राहदानी र विदेशी नागरिक मामिलालगायतका कानुनअनुसार उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ।

नेपाल–भारत सीमा नाघेर भिसा नै नलिइ पाकिस्तानी नागरिक आफ्नो देशमा पसेको विषयलाई लिएर भारतमा सुरक्षा चिन्तासँग जोडेर चर्चा गरेको पाइएको छ।

अवकाशप्राप्त मेजर जनरल पिके सहगलले युवतीका कागजपत्र, पूरा नाम र राहदानी जाँच नगरेर नेपालसँगको सीमामा खटिएका भारतीय सुरक्षाकर्मी चुकेको टिप्पणी गरेका छन्।

चार छोराछोरीका र आफ्नो समेत गरी सीमासँग पाकिस्तानी राहदानी रहेको उल्लेख गर्दै उनी भन्छन्,‘त्यो निकै ठूलो भूल थियो। त्यसको निकै ठूलो मूल्य भारतले चुकाउनुपर्ने हुनसक्थ्यो।’

नेपाल र भारतका नागरिकले एकअर्काका देशमा आउजाउ गर्न भिसा लिनुपर्दैन।

स्थलमार्गमा रहेका प्रवेशविन्दुहरूमा त एकअर्काका नागरिकको पहिचानको निम्ति कडाइ गरेको पाइँदैन। सीमावर्ती क्षेत्रका बासिन्दाहरूको बढी आवतजावत गरिने भएकाले पनि कडाइ व्यवाहरिक नहुने अधिकारीहरू बताउँछन्।

यसअघिको एउटा उस्तै घटना

यसअघि भारतका २१ वर्षीय मुलायमसिंह यादव र पाकिस्तानकी १९ वर्षीया इकरा जीवानीको प्रेम पनि चर्चामा आएको थियो।

सन् २०२० मा कोभिड महामारी फैलिएका बेला अनलाइन लुडो खेल्ने क्रममा चिनजान भएका उनीहरू प्रेममा परे।

सन् २०२२ को सेप्टेम्बर महिनामा उनीहरूले नेपालमा भेट गरे, नेपालमै बिहे गरे।

त्यसपछि उनीहरू भारतको बेंगलुरू गएर बस्न थाले।

तर, जनवरीमा उनीहरूको खुसीमा बज्रपात भयो। गैरकानुनी रूपमा भारत प्रवेश गरेको भन्दै जीवानीलाई हिरासतमा लिइयो।

यादव पनि पक्राउ गरे। उनलाई जालजासी गरेको र आवश्यक कागजपत्रविनै विदेशी नागरिकलाई आश्रय दिएको अभियोग लगाइयो।

जीवानीलाई गत फेब्रुअरीमा भारतबाट निष्कासन गरेर पाकिस्तान पठाइएको थियो। (बिबिसीबाट)

Tags: