post-slider post-slider

‘आदिपुरुष’ विवादमा सरकारले भन्यो – विवादित संवाद हटाइसकेपछि प्रदर्शन अनुमति दिइएको हो

Image
A A

काठमाडौं- हिन्दी चलचित्र ‘आदिपुरुष’ लाई लिएर विवाद भइरहेको बेला सरकारले पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेन्सर बोर्डबाट पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएको आपत्तिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सञ्चार मन्त्रालयले आइतबार वक्तव्य जारी गरेर यस्तो बताएका हो।

सहायक प्रवक्ता विशाल सापकोटाले जारी गरेको वक्तव्यमा ‘‘आदिपुरुष’ चलचित्रमा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई ‘भारतीय बेटी’ को रूपमा प्रस्तुत गरिएको शब्दलाई हटाउन लगाइ सो पश्चातमात्र चलचित्र जाँच पास प्रमाणपत्र दिइ सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो’ उल्लेख छ।

नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नुपुर्व नै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सरोकारवालाहरूबाट जनाइएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको ध्यानाकर्षण भएको वक्तव्यमा भनिएको छ।

‘आदिपुरुष’ विवादमा काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने घोषणा गरेको छ। 

महानगरको यस्तो घोषणापछि सरकारले विज्ञप्ति जारी गरेको हो।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवादलाई हटाएर सेन्सर बोर्डले प्रदर्शन अनुमति दिइसकेको छ।

तर, काठमाडौंका मेयर बालेन्द्र साहले भारतमा नसच्चाएसम्म काठमाडौं महानगरभित्रका हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन्।

Tags: