डडेलधुराको भूमरीमा फसेको कांग्रेस महाधिवेशन : कार्यतालिका नै प्रभावित हुने सम्भावना


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं,

भदौ १८ गते सबै जिल्लामा वडा अधिवेशन एकसाथ हुन नसके पनि देशभरका पालिकाहरूमा नगर अधिवेशन एकैपटक हुने कांग्रेसका नेताहरूले बताएका थिए।

कार्यतालिकामा १८ गते तोकिए पनि बढीमा भदौ २४ सम्म वडा अधिवेशन सकेर भदौ २७ मा देशभर एकैसाथ नगर अधिवेशन गर्ने उनीहरूको भनाइ थियो।

कांग्रेसले १४ औं महाधिवेशनका लागि सार्वजनिक गरेको कार्यतालिकाअनुसार नगर अधिवेशन आउन तीन दिन बाँकी छ। सबै जिल्लामा वडा अधिवेशन सकेर भदौ २७ गते कांग्रेसले नगर अधिवेशन गर्नुपर्ने छ।

तर, नगर अधिवेशन गर्न तीन दिन बाँकी छँदासम्म कांग्रेसले २१ जिल्लामा वडा अधिवेशनसमेत गर्न सकेको छैन। कार्यतालिकाअनुसार वडा अधिवेशन नै हुन नसकेपछि अब पालिकाहरूको नगर अधिवेशन पनि प्रभावित हुने देखिएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा क्रियाशील सदस्यतासम्बन्धी विवाद सिर्जना भएपछि त्यसको प्रभाव बाँकी जिल्लाहरूमा पनि परेको हो।

क्रियाशील सदस्यतासम्बन्धी विषयलाई लिएर विवाद बढेपछि देउवाको गृहजिल्ला डडेलधुरामा भाँडभैलो भएको छ। यसअघि २० जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक नहुँदा प्रभावित भएको वडा अधिवेशन त्यहाँको विवादलाई लिएर नगर अधिवेशनसमेत प्रभावित हुने संकेत देखिएको छ।

सभापति देउवाको प्रत्यक्ष निर्देशनमा प्रक्रिया पुर्‍याइएका ४६० भन्दा बढीको नाम काटेर केन्द्रबाट थप्ने काम भएको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहितको बहुमत कार्यसमितिले अधिवेशन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।

तर, देउवाको निर्देशनमा जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर मल्लले निर्वाचन कार्यतालिका प्रकाशित गरेका छन्। मल्लले गाउँपालिका र नगरपालिकाका वडा अधिवेशन शुक्रबार गर्ने गरी कार्यतालिका प्रकाशित गरेपछि विवाद थप चर्किएको छ। जबरजस्ती अधिवेशनको प्रक्रिया सुरू गरे त्यसबाट आउने परिस्थितिको जिम्मा सभापति स्वयंले लिनुपर्ने डडेलधुराका कांग्रेस उपसभापति करूणाकर भट्टले बताए।

क्रियाशील विवाद टुंगो लगाएर अधिवेशन प्रक्रिया अगाडि बढाउन कार्यसमितिको निर्णय रहेको बताउँदै उनले जिल्ला सभापतिलाई नै बाहिर राखेर गरिने अधिवेशनको कुनै अर्थ नरहने जिकिर गरे।

डडेलधुरामा क्रियाशील विवाद चर्किएपछि कांग्रेसका शीर्ष नेताहरूले पनि चासो व्यक्त गर्न थालेका छन्।

बुधबार कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापति देउवालाई पत्र लेखेर डडेलधुराको क्रियाशील विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गरे।

विवाद समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु अनुचित देखिने हुँदा क्रियाशील विवाद समाधान गरेर मात्र प्रक्रिया अगाडि बढाउन सरोकारवालालाई निर्देशन दिन उनले देउवालाई आग्रह गरेका छन्।

‘गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचन कार्य सम्पन्न गर्न सम्बन्धित सरोकारवालालाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु,’ निधिले देउवालाई पठाएको पत्रमा भनिएको छ।

उपसभापति निधिले पत्र पठाएको भोलिपल्ट बिहीबार संस्थापनइतर समूहका नेताहरू पनि सभापति देउवालाई भेटेर डडेलधुरालगायत बाँकी जिल्लाका क्रियाशील विवाद समाधान गर्न ध्यानाकर्षण गराएका छन्।

महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, जीवन परियारलगायतका नेताहरूसँग बालुवाटार पुगेका वरिष्ठ नेता पौडेलले पनि सभापतिकै जिल्लामा देखिएको क्रियाशील विवाद तत्काल समाधान हुनुपर्ने धारणा राखे।

उनले क्रियाशील विवाद टुंगो लगाएर सबै जिल्लाका वडा अधिवेशन भइसकेपछि मात्रै पालिका तहको अधिवेशन गर्न सभापति देउवालाई भनेका छन्।

डडेलधुरामा उठेका प्रश्नको समाधानका साथै सार्वजनिक हुन बाँकी रहेका २० जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाउन सभापति देउवामाथि दबाब बढेको छ।

२० जिल्लाका क्रियाशील सदस्यता सूची एक–दुई दिनभित्र सार्वजनिक हुँदा पनि पूर्वघोषित कार्यतालिकाअनुसार भदौ २७ मै देशभर एकैपटक नगर अधिवेशन गर्न सम्भव देखिँदैन। किनभने नगर अधिवेशनअघि २१ जिल्लामा वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव पनि कार्यतालिका प्रभावित भइसकेको स्वीकार गर्छन्।

‘स्थिति जहाँ थियो अहिले पनि त्यहीँ छ। केही प्रगति भएको छैन,’ आयोमेलसँग यादवले भने, ‘२० जिल्लाको क्रियाशील सदस्यता सूची हामीले अझै पाएका छैनौं। एक हिसाबले कार्यतालिका प्रभावित भइसकेको भनेर बुझ्दा हुन्छ।’

एक–दुई दिनभित्र आफूहरूले क्रियाशील सदस्यहरूको सूची पाए पनि निर्धारित कार्यतालिकाअनुसार सबै जिल्लामा एकैपटक पालिका अधिवेशन सम्पन्न गर्न सम्भव नरहेको उनले बताए।

यद्यपि, वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लाहरूमा नगर अधिवेशन गर्न सकिने उनको भनाइ छ।

तर, सबै जिल्लामा एकैपटक नगर अधिवेशन गर्नुपर्ने नेताहरूले अडान राखेकाले भदौ २७ मै सम्भव देखिएको छैन।

सभापति देउवाको गृहजिल्ला डडेलधुरामा शुक्रबारका लागि हुने भनिएको वडा अधिवेशनबारे केन्द्रीय निर्वाचन समितिका संयोजक यादव भने बोल्न चाहेनन्।

‘निर्वाचन अधिकृत खटिइनुभएको छ, उहाँले के गर्नुहुन्छ मलाई थाहा भएन,’ उनले भने, ‘यसबारे मैले बढी नबोल्दा नै ठीक हुन्छ।’

कांग्रेसले हालसम्म प्रदेश १ को मोरङ, प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, बागमती प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौंमा क्रियाशील विवाद टुंगाउनसकेको छैन।

यसैगरी लुम्बिनी प्रदेशको बाँके, बर्दिया र कपिलवस्तु, कर्णाली प्रदेशको डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशको बाजुरा र कैलालीमा क्रियाशील विवाद टुङ्गिन बाँकी छ।

क्रियाशील विवाद नटुंगिँदा प्रदेश २ को आठमध्ये कुनै पनि जिल्लामा महाधिवेशन प्रक्रिया अगाडि बढ्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।