कृष्ण जन्माष्टमी, त्यो ‘अस्टिम्की’ र थारूहरूको ‘गीताबास’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


आज भाद्र कृष्णपक्ष अष्टमी तिथि अर्थात् कृष्ण जन्माष्टमीको दिन। आउनुस पहिले कृष्णको स्तुती गरौँ –

कस्तुरी तिलकम ललाटपटले, वृक्षस्थले कौस्तुभम।

नासाग्रे वरमौक्तिकम करतले, वेणु करे कंकणम।।

सर्वांगे हरिचन्दनम सुललितम, कंठे च मुक्तावलि।

गोपस्त्री परिवेस्तिथो विजयते, गोपाल चुडामणी।।

‘हरे कृष्ण! हरे कृष्ण!! कृष्ण–कृष्ण हरे! हरे!!’

कृष्ण जन्माष्टमीमा आम नेपालीले केकसरी कृष्णको पूजाआराधना गर्नुहुन्छ भन्दा पनि म थारु भएको नाताले ‘अस्टिम्की’ कसरी मनाइन्छ भन्नेबारे बढी ‘फोकस’ गर्ने जमर्को गरेको छु। म इतिहासकार होइन, न अस्टिम्कीको ज्ञाता नै। आफूले थाहा पाउने भएदेखि र अहिलेसम्म केकसरी अस्टिम्की मनाइन्थ्यो र मनाइन्छ भन्ने भोगाइकै पेरिफेरिमा रहेर यो आलेख तयार पार्ने जमर्को गरेको छु।

हामी साना केटाकेटी ‘अस्टिम्की’ भन्नेबित्तिकै ‘लङ्गी’(ज्यामिर) लुट्ने दिन भनेर सम्झिन्थ्यौँ अनि आमा, दिदीबहिनी, फुपू, भाउजुहरु ब्रत बस्ने दिन भनेर पनि। अनि अर्को रोचक त के पनि लाग्थ्यो भने आज अस्टिम्की पूजा गर्ने घरमा चित्र कोर्ने दिन भनेर। चित्र पनि कस्तो भने ‘शिवजीको डमरु जस्तै चिह्न, त्यो डमरुको माथिपट्टि सुल्टो÷उल्टो प्रश्नवाचक चिह्न, प्रश्नवाच चिह्नहरुमा कपाल उम्रेका, तलतिर चराका खुट्टाजस्ता दुईवटा खुट्टा, डमरुको माथिल्लो दायँ र बायाँबाट ( √) चिह्नले हात र हातमा लठ्ठी, छाताजस्ता केही पकडेको मान्छेका चित्र’।

दुई-चार कक्षा पढेर ती चित्र-चिह्नहरु चिन्ने भएर पनि होला खुबै चाख राखेर हेर्थ्यौं। सेतो माटोले पोतिएको भित्तोमा माटो नै चेप्टाएर तीन टाउके मान्छे अनि हात माथितिर उठाएको त्यही माटोको मान्छेको पेटमा ती चित्रहरु लस्करै कुँदिन्थ्यो। तीन तीनतिर फर्किएको बीच भागको टाउकोको दायँ र वायाँ अरु टाउकाहरु प्नि जोडिएको हुन्थे। तीनमुखे मान्छेको दायाँ कुममा सूर्य र वायाँ कुममा आधा चन्द्रमाको चित्र कोरिन्थ्यो।

राजकुमार कान्छा

हामी सिँगाने ‘जाइन’ (केटाकेटी) ती चित्रहरु कूँद्ने मान्छेको नजिक नजिक लेसिँदै ‘यी केका चित्र हो रै बाज्या?’ भन्दै प्रश्न गर्थ्यौं। उहाँहरू हाँस्दै ‘पाँच पाण्डव, दुर्पटी, कान्हा, गोपिनेन्क चित्र हो रै नाटी’ भन्नुहुन्थ्यो। कहिलेकाहीँ हामीलाई पनि त्यस्तै चित्रहरु सेतो माटोले पोतेको भागभन्दा अलि पर ती चित्रहरु कोर्न पनि लगाउनुहुन्थ्यो। जानीनजानी त्यस्तै चित्र कोर्ने प्रयास गर्थ्यौं। सायद उहाँ (बाज्या)को उद्देश्य थारुहरुको मौलिक चित्रकला हामी नयाँ पुस्तामा पस्किने थियो। यसरी चित्र कोर्ने काम महटावाँको घर या त आफ्नो कूलको सबैभन्दा पुरानो प्रमुख मानिने घरको बैठक कोठाको उत्तरपट्टिको भित्तामा गरिन्थ्यो।

तस्वीरमा देखाइएजस्तै पहिलो लस्करमा पाँचवटा मान्छेका चित्र जो पाँच पाण्डव भनेर बुझिन्छ। दोस्रो लस्करमा पाँच या सातवटा मान्छेका चित्र, जो एकअर्कापट्टि मुख फर्काएको जस्तो देखिने चित्र। जुन चित्र पाण्डवका सेना भन्नुहुन्थ्यो चित्र बनाउने ‘बाज्या’ले।

तेस्रो लस्करमा हात्तीमा बसेको एउटा मान्छे अगाडि लागेको, त्यो हात्तीको पछिलागेर दुईजनाले डोली बोकेको चित्र, डोलीभित्र मान्छे बसेको, डोलीको पछि लागेको एकजना घोडसवार र दुई वा तीनजना घोडाको पछि लागेका मान्छे। जुन चित्रले पाँच पाण्डवले द्रौपतीलाई भित्र्याएको भन्ने संकेत गर्छ। अर्को लस्करमा नाचिरहेकोजस्तो देखिने चित्र अनि मादल बजाइरहेको जस्तो देखिने चित्र पनि कोरिन्छ। यी चित्रहरु तीनमुखे मान्छेको छाती र आधा पेटसम्म कुँदिन्छ। आधा पेट र कम्मरभन्दा माथिको भागमा अन्य चित्रहरु जस्तै कम्मरको बीच भागबाट आधापेटसम्म एउटा वृक्षको चित्र हुन्छ। जुन वृक्षमा एउटा मान्छे बसेर बाँसुरी बजाइरहेको, वृक्ष दायाँ–बायाँ मयुरहरु चरिरहेका, वृक्षको वायाँ भागमा गाई-गोरुहरु चरिरहेको।

हलो जोतिरहेको मान्छे अनि नाचिरहेका स्त्रीहरुको पनि चित्रहरु कोरिन्छ। वृक्षको वायाँतर्फ एउटा तलाउ, जहाँ केही मान्छे नुहाइरहेका र ती तलाउमा सर्प, माछा, कछुवा, गँगटा आदि जलचरका चित्रहरु कोरिन्छ। यी चित्रहरुले वृक्षमा बसेर कृष्णले बाँसुरी बजाइरहेको र कृष्णको बाँसुरीको धुनमा तलाउमा नुहाइरहेका गोपिनीहरु तथा अन्य सबै मन्त्रमुग्ध भएको भन्ने बुझिन्छ भनेर पनि सिकाउनुहुन्थ्यो चित्रकार ‘बाज्या’ले। चित्रकलाहरु पर्गन्नाअनुसार फरक पनि हुनसक्छन् तर आशय एउटै भएको कुरा भन्नुहुन्थ्यो, उहाँले।

ती चित्रहरुमा बुट्टा भर्न तीन या पाँच रङ प्रयोग गर्नुहुन्थ्यो चित्रकार बाज्याले। ती रङहरु उहाँले बिहानै उठेर ‘पवइँ’को फल (तरकारी खान मिल्ने एकप्रकारको लहरा)को रसबाट ‘बैजनी’ (भण्टा रंग), लौकाको टुम्मीलाई डढाएर त्यसको कोइलाले कालो रँग, खोला, नदीबाट ल्याइएका पिसिने खालका राता चुनढुङ्गा पिसेर रातोरँग, सिमीका पात थिचेर निकालिएको रसबाट हरियोरँगलगायतका रँग बनाउनुहुन्थ्यो। कपाल कोर्न बनाइएको ‘ठकरा’ (बाँसबाट कपाल कोर्न बनाइएको)को टुप्पामा कपास लपेटेर ती रँगहरु बाज्याले ती चित्रहरु रँगाउनुहुन्थ्यो।

दिनभरि निरहार बसेर बाज्याले एक्लै सबै चित्रहरु कोर्ने र ती चित्रहरु रँगाउने काम गर्नुहुन्थ्यो। हामी साना भुराहरु दिनभरिमा कम्तिमा पाँच÷सात पटक चित्र कोर्ने ठाउँमा पुग्थ्यौँ, अन्यत्र खेलेर पनि। दिनभरि आमा, दिदी, फुपू, भाउजुहरु भने निरहार ब्रत बस्नुहुन्थ्यो। उहाँहरुले अस्टिम्की पूजाका लागि भेट्ना र पातसँगैको ज्यामिर, ‘घुनेस्रा’, पाती, काँक्रा, अम्बा प्रसादका लागि तयार पार्नुहुन्थ्यो। त्योसँगै पाला, थाल, टुँटी भएको कलस आदि तयारी अवस्थामा राख्नुहुन्थ्यो।

जब दिन ढल्दै जान्थ्यो, हामी जाइनहरु कतिबेला ‘बर्डिया’ (ग्वालो) गाईगोरु लिएर घर फर्केलान् भन्ने प्रतीक्षामा बस्थ्यौँ। गाईगोरु जब फर्किन लागेको परै देख्थ्यौँ, हामी जाइनहरु आ–आफ्नो घरसम्म गाईगोरु फर्किए भन्ने खबर पुर्‌याउँथ्यौँ। त्यो खबर पाएपछि घरका आमाहरु रातो-हरियो चोल्या या ब्लाउज र सेतो गुन्यु, रातो ‘झ्होबन्हा’ (डोरी)ले कपाल बाटेर अनि छ भने सूनको नभए बजारकै टिकुलीले सजिनु हुन्थ्यो। त्यसपछि ठूलो थालको बीचमा चामल, चामलको माथि बलेको पाला, पालाको वरिपरि ‘घुनेस्रा’को फूल, पाती, ज्यामिर र अर्को हातमा टुँटी भएको कलस लिएर घरबाट निस्किुहुन्थ्यो।

‘हाली आओ रे बठ्न्याओ–छिटो आउ ए ठिटीहरु’ भन्दै आमाहरु अगाडि लाग्नुहुन्थ्यो। गाउँभरिको प्रत्येक घरबाट चार-पाँच वर्षका बालिकादेखि जवान तथा अधबैसे महिलाहरुको लस्कर, हातमा पूजाको थाली र पूजा थालीमा बलेको पाला हामी जाइनहरु अलि टाढाबाट हेर्नका लागि अगाडि कुद्थ्यौँ।

वाह ! त्यो दृश्य ! यस्तो लाग्थ्यो कि आकाशको तारामण्डल ब्रह्माण्ड नै धरतीमा उत्रेको जस्तो। साना–साना हाम्रा उमेरका बालिकाहरुले पूजा थाली सकी नसकी बोकेको देख्दा हामी जिस्क्याउँथ्यौँ।

महटावाँको घर या कूलको मुलघर (चित्र कोरिएको) घरमा पुगेर घरमुली (महटिनिया)बाट पूजा सुरु गरिन्छ। पूजा गर्ने प्रक्रियालाई थारु भाषामा ‘टिक्ना’ भनिन्छ।

सबैभन्दा पहिले रुखमा बाँसुरी बजाइरहेको कान्हा (कृष्ण) अनि तीनमुखे मान्छेलाई सिन्दुरको टीका लगाएर क्रमैसँग सम्पूर्ण चित्रलाई टिका लगाएर पूजा गरिन्छ। उमेर, नाता अनुसार पालो गरेर कान्हा टिक्ने गरिन्छ। जब ‘टिकेर’ (पूजा) गरेर सकिन्थ्यो हामी जाइनलाई हतार हुन्थ्यो, ज्यामिर, काँक्रा छोप्न।

महटिनिया या घरमूली पूजारुले ‘ल्यो लुटो लर्को लङ्गी –ल लुट केटाटीहो ज्यामिर’ भन्नुहुन्थ्यो। हामी जाइनहरु ज्यामिरको भेट्नामा भएका काँडाको प्रवाह नगरी झपाझप ज्यामिर, काँक्रा, अम्बा लुट्थ्यौँ। यसरी पूजा सकेर सबैजना आ–आफ्नो घर फर्केर आमाहरुले फलाहार गर्नुहुन्थ्यो। इच्छा भएकाहरु सुत्नुहुन्थ्यो भने अलि पाको उमेरका आमाहरु पूजाघर गएर गीत गाउँदै रात काट्नुहुन्थ्यो रे!

गीतका बोलहरू :

पहिल ट सिरिजल री जलठल ढरटी।

सिरिजि ट गैल कैली कुश डाब।।……

टै का इसरुबइठी का र बिसैठ्या

जाओ इसरु म्वार हरवा ओहार।….

बिहान उठेर सबै पूजारु महिलाहरु पूजाघर पुग्नुहून्थ्यो। पछिपछि लागेर त्यहाँसम्म पनि पुग्थ्यौँ, हामी जाइनहरू। बिहानसम्म पनि ती पालाहरु त्यो बैठक कोठामा बलिरहेका हुन्थे। पूजा गरेका फूलपातीहरु सेलाउन नजिकैको तलाउ वा खोलामा फेरि लस्करैसँग जानुहून्थ्यो। त्यो दृश्य पनि मनमोहक हुन्थ्यो। सबैजना त्यहीँ नुहाउनुहुन्थ्यो।

अर्को रोचक कुरा के भने जसको पाला रातभरिमा निभ्छ त्यो अभागी हुन्छ भन्नुहुन्थ्यो, जसको पाला फूलपाती खोला नदीमा सेलाउँदासम्म पनि बलिरहन्छ र बग्दासम्म पनि निभ्दैन ऊ सबैभन्दा भाग्यमानी भनिन्थ्यो र भनिन्छ पनि। फूलपाती सेलाएर घर फर्किएपछि तीन, पाँच या सात प्रकारका तरकारी र भात पकाइन्छ।

ती परिकार खानुभन्दा पहिले गाइको घ्यू नभए तोरीको तेल अग्निमा धुपाएर सबै परिकार चढाइन्छ। त्यसपछि दुना टपरीमा प्रसादको रुपमा छुट्याइन्छ जसलाई अग्रासन भनिन्छ। जसको मतलव आफूभन्दा पहिले सेवन गर्ने या पहिले आहार गर्ने। त्यो प्रसाद सम्भव भएसम्म विवाहित चेलिबेटीकहाँ पुर्‌याइन्छ भने अविवाहित युवतीहरुले भने त्यो प्रसाद आफ्ना दाजुभाइलाई खुवाएर मात्र आफूले अर्पण गर्दछन्। विवाहित महिलाका लागि दाजुभाइलाई अग्रासन गराउने अवस्था नभए देवरहरुलाई खुवाएर मात्र आफूले खाने गर्नुहुन्छ। यसरी अस्टिम्की पूजा सकिन्छ।

अस्टिम्की (कृष्ण जन्माष्टमी)कै दिनबाट थारुहरूको गीतबास (नाच, गान, वाद्यवादन) सुरु हुन्छ। यो गीतबास धुह्र्या गुरईमा आएर अन्त्य हुन्छ।

यी अस्टिम्कीका सम्झनाहरु हुन्। अस्टिम्की कृष्णास्तुती हो भन्ने लाग्छ। पाँच पाण्डवहरु पनि जोडिएकाले महाभारतसँग पनि सम्बन्ध छ जस्तो लाग्छ।

फाइल तस्विरहरू : थारू कम्युनिटी पेजबाट।

अस्टिम्कीको चित्रकलालाई हेर्ने हो भने कृष्णलीला सबै भेट्न सकिन्छ। ती पूजारु समग्र महिलाहरु गोपिनी र द्रौपती हुन् भने गोठालो र हामी साना ‘जाइन’हरु बालक–कृष्ण र पाण्डवहरू।

थारु बुद्धिजीवी तथा थारु संस्कृतिका जानकारहरुका विभिन्न खोजअनुसन्धानलाई हेर्ने हो भने अस्टिम्की जैविक उत्पत्तिसँग पनि जोडिएको भेटिन्छ।

पृथ्वीमा जैविक उत्पत्तिकालको स्मरणमा अस्टिम्की मनाइन्छ पनि भन्ने गरिन्छ। जेजसरी अस्टिम्की मनाइन्छ बडो रोचक तरिकाले मनाइन्छ। समग्रमा कृष्णस्तुतीसँगै कृष्णको जन्मोत्सवकै रुपमा मनाइन्छ।

पछिल्लो पुस्तामा भने अस्टिम्कीको उत्साह छ तर अलि आधुनिकताले छोएको छ। भित्तामा चित्रकला कुँद्ने चित्रकारको अभावले गर्दा होला, बजारमा किन्न पाइने पोस्टरमा अस्टिम्की टिकिन्छ।

आधुनिकताले छोएर पनि होला थ्रि–डी कृष्णको आर्टमा अस्टिम्की मनाइन्छ। स्मार्ट युगको जमानाले होला ती बाल कन्हैयाहरु स्मार्ट मोबाइलमा व्यस्त भेटिन्छन्।

अस्टिम्कीका ज्यामिर, काँक्रा, अम्बा लुटिन्छन् कि लुटिन्नन् कुन्नि ? ती घरमै बनाइएका रँगहरु अब बजारमै प्रशस्त किन्न पाइन्छन्, त्यस्ता रँगले बनाइएका चित्रकलामा मौलिकता भेटिन्छ कि भेटिन्न कुन्नि ?

जे होस् अस्टिम्की मनाइन्छ अझै पनि तर मौलिकता हराएको भान भने पक्कै हुन्छ। ख्यो कान्हा !, हरिकृष्ण !


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा