कोरोना महामारीबीच आजदेखि सुरु हुँदै खेलकुदको महाकुम्भ ‘टोकियो ओलम्पिक’


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – खेलकुदको महाकुम्भ ओलम्पिकको आज औपचारिक उद्घाटन हुँदै छ। कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको ओलम्पिक विवादै विवादका बीच आजदेखि सुरु हुन लागेको हो। केही खेलहरु भने बुधबार देखि नै सुरु भइसकेका छन्।

ओलम्पिकको औपचारिक उद्घाटन टोकियोस्थित ओलम्पिक स्टेडियममा जापानी समयअनुसार राति ८ बजे हुनेछ। उद्घाटन समारोहमा महामारीका कारण सीमित व्यक्तिलाई मात्र प्रवेश गर्न दिइने छ। सर्वसाधारणलाई भने प्रवेश गर्न दिइने छैन।

जापानमा ५७ वर्षपछि ओलम्पिक फर्किएको हो। महामारीका बीच कडा स्वास्थ्य मापदण्डसहित हुन लागेको प्रतियोगितामा २०७ देशका ११ हजार ३ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

Image

गतवर्षको मार्चमा हुनुपर्ने प्रतियोगिता यसपटक पनि आयोजना गरिँदा जापानभित्रैबाट विरोधका स्वर पनि सुनिएका छन्। केहीले प्रतियोगिता स्थगितको मागसहित प्रदर्शनसमेत गरेका थिए। उनीहरुले कोरोना महामारीमा प्रतियोगिता आयोजना गर्दा जापानी जनतालाई जोखिम बढाएको बताएका थिए। साथै कोरोना महामारीमा एक भएर जुट्नु पर्ने बेला सरकारले यसलाई बेवास्ता गर्दै ओलम्पिकमा केन्द्रित भएको आरोपसमेत लगाएका थिए। उनीहरुले ओलम्पिक केही समयका लागि स्थगित गर्न मागसमेत गरेका थिए।

कोरोनाको बढ्दो संक्रमणदरका बीच टोकियोमा संकटकाल लगाइएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले यो एक खुसीको क्षण भएको बताएका छन्। ‘मलाई लाग्छ जब हामी प्रतियोगिताको उद्घाटनका लागि स्टेडियममा प्रवेश गर्नेछौं, त्यो एकदम खुसीको क्षण हुनेछ, विशेष गरी खेलाडीका लागि। किनकि उनीहरुले यो पलका लागि धेरै लामो समयदेखि प्रतिक्षा गरेका छन्।’, थोमसले भनेका छन्।

ओलम्पिकमा स्वास्थ्य मापदण्डलाई निकै कडा बनाइएको छ। खेलअघि सबै खेलाडीको स्वाब परीक्षण हुनेछ भने मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ। खेलहरु बन्द रंगशालामा खेलाइनेछ।

तर, प्रतियोगिताको औपचारिक सुरुवात हुनुअघि नै केही खेलाडीमा संक्रमण देखिएको छ। यसले आयोजकलाई चिन्तित बनाएको छ भने जोखिम हुनसक्ने संकेत पनि दिएको छ। प्रतियोगितासँग सम्बन्धित ८७ जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमा ८ जना खेलाडी छन्। बिहीबार मात्रै १२ जनामा संक्रमण पुष्टि भएको छ।

ओलम्पिकमा कुल ३३९ पदकका लागि ३३ खेलमा प्रतिष्पर्धा हुनेछ। जसमा पाँच नयाँ खेल थपिएका छन्। नयाँ खेलमा कराते, स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ, बेसबल/सफ्टबल र सर्फिङ रहेका छन्। बेसबल/सफ्टबल ओलम्पिकका नयाँ खेल नभए पनि सन् २००८ को बेइजिङ ओलम्पिकपछि यो खेल खेलाइएको थिएन।

प्रतियोगितामा सहभागी खेलाडीमा ४८.८ प्रतिशत महिला खेलाडी रहेका छन्।

नेपालको सहभागिता

जापानमा आयोजना हुन गइरहेको ३२ औं गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ।

उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नेछन्।

यही साउन ८ (शुक्रबार) देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पौडी खेलमा सहभागिता जनाउँदैछ। ३२ औं गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन्। उनले एक सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन्। छोटो दूरीकी धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन्। उनी साउन १५ गते मैदानमा उत्रनेछिन्।

सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन्। उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन्। उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन्। उनको खेल यही साउन ९ गते हुनेछ। उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि साउन ९ गते साँझ नै हुनेछ।

जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन्। उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन्। अन्तर्राष्ट्रिय जुडो महासंघले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन दिएको हो। १९ वर्षीय सोनियाले ४८ केजीमूनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्। उनको खेल पनि यही साउन ९ गते नै हुनेछ। पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ।

पौडीमा नेपालबाट एलेक्स शाह र गौरिका सिंहले सहभागिता जनाउँदैछन्। दुवै खेलाडी युनिभर्सालिटी कोटा (विश्वव्यापी सहभागिता) बाट ओलम्पिक पुगेका हुन्। नेपाली पौडी खेलाडी एलेक्सले पुरुष १ सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन्। उनले साउन १२ गते पुरुष १ सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्को खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै जलपरी गौरिकाले महिला १ सय मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन्। उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन्। गौरीकाले यही साउन १३ गते महिला १ सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन्।

समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन। नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ। ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धी हासिल गर्न सकेको छैन।

नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८ औं संस्करणको खेलबाट ओलम्पिक यात्रा सुरु गरेको थियो। हालसम्म नेपालका ८५ खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन्। तर कुनै पनि खेलाडीले पदक हात पार्न सकेका छैनन्।

यद्यपि, नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन्। ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ। एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो। त्यसमध्ये ओलम्पिक यात्रा सुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन।

यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ। ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा