महन्थ–राजेन्द्रको ‘यू–टर्न’ : ‘ड्यामेज कन्ट्रोल’ कि बाध्यता?


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं
जेठ ७ गते मध्यरातमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा भंग गरिरहँदा उनकै पार्टी एमालेका कतिपय नेतासहित अन्य दलहरू विरोधमा उत्रिए।

प्रतिनिधिसभा विघटनको विरोधमा आफ्नै पार्टीका नेताहरू किनारा लागिरहँदा त्यतिबेला ओलीको सहारा बने जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर।

नेकपा विवादसम्बन्धी सर्वोच्चको फागुन २३ गतेको फैसलापछि महन्थलाई निरन्तर ‘इन्गेज’ गरेर राख्न सफल भएका ओलीलाई उनको साथ सहजै प्राप्त भइरह्यो।

प्रतिनिधिसभाको दोस्रो विघटनलाई अन्य सबै राजनीतिक दलहरूले ‘प्रतिगमन’ को संज्ञा दिए। तर, जसपा अध्यक्ष महन्थ भने ओलीसँग सत्तासहकार्य गर्न तयार भए। जबकि, उनकै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव भने त्यसको विरोधमा उत्रिए।

केही वर्षअघि भएको मधेश आन्दोलनको क्रममा मधेशको सबैभन्दा ठूलो दुश्मनको ‘तक्मा’ भिराएका महन्थहरूको ओलीप्रति अचानक प्रकट भएको ‘सद्भाव र स्नेह’ ले धेरैलाई आश्चर्यचकित तुल्यायो। यहाँसम्म कि कतिपय महन्थनिकट नेताहरूले समेत एक्कासी परिवर्तन भएको उनको त्यो रूपबारे बुझ्न सकेनन्।

सत्ताको भर्‍याङ बन्न फेरि एकपटक प्रयोग भयो, मधेशका माग र एजेन्डा। सरकारको पहलबाट असम्भव रहेको रेशम चौधरीको रिहाइ र संविधान संशोधन। महन्थहरूले उठाइरहेका मागमध्ये तत्कालका लागि सम्भव थियो, लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण। तर, १९ दिने सत्तायात्रा गरेका जसपाका मन्त्रीहरू त्यसमा पनि चुके।

प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको ओली क्याबिनेटमाथि सर्वोच्चको डण्डा चल्यो। र, महन्थ पक्षबाट मन्त्री बनेकाहरू मन्त्रालयको संरचना, काम तथा जिम्मेवारी बुझ्न नपाउँदै सरकारबाट बाहिरिनु पर्‍यो।

यति हुँदासम्म महन्थहरूको ओली ‘मोह’ भंग भएको थिएन। ओलीले संसद कुनै हालतमा पुनःस्थापना नहुने आश्वासन जो दिएका थिए। मन्त्री पद गुमिसके पनि ओलीकै आग्रहमा जसपाका कतिपय मन्त्रीले हरिहर भवनको सरकारी क्वार्टर छोडेका थिएनन्।

संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशपछि मात्रै उनीहरू त्यहाँबाट हतार–हतार बाहिरिए।

ओलीसँगको सहकार्यको गाँठो यति धेरै बलियो थियो कि महन्थ–राजेन्द्रहरू पार्टी विभाजन रोज्न तयार भए तर ओलीलाई छोड्न तयार भएनन्।

तर, आइतबार राति प्रतिनिधिसभा बैठकमा अस्वाभाविक दृष्य देखियो। विपक्षी गठबन्धनको नामै सुन्न नचाहने महन्थ–राजेन्द्र समूहका सांसदहरू एक्कासी ‘यू–टर्न’ भइदिए। र, प्रधानमन्त्री देउवालाई विश्वासको मत हाले।

विश्वासको पक्षमा देउवालाई मत जाने कुरा महन्थ–राजेन्द्र समूहका दोस्रो तहका नेताहरूले पनि सोचेका थिएनन्।

यसको पहिलो कारण–बबरमहलस्थित पार्टी कार्यालयमा दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठक यसबारे अनिर्णीत थियो। दोस्रो– निवर्तमान प्रधानमन्त्री ओलीसँगको सामिप्यता।

‘विश्वासको मतबारे निर्णय त भएको छैन। तर, हामीहरू विपक्षमै उभिने सम्भावना बढी छ,’ आइतबार प्रतिनिधिसभा बैठक सुरू हुनु केहीबेरअघि जसपाका एक नेताले आयोमेलसँग भनेका थिए।

तर, ती नेताले साचेजस्तो प्रतिनिधिसभामा भएन। महन्थ–राजेन्द्र समूहले देउवालाई मत दिए।

यसअघि ओलीले विश्वासको मत लिँदा तटस्थ बसेका महन्थ–राजेन्द्रले देउवालाई मत दिने कारणबारे प्रष्ट्याएका छैनन्।

यहाँसम्म कि रोस्ट्रममा उभिएर बोल्दै गर्दा जसपा अध्यक्ष ठाकुरले पनि देउवालाई मत दिनुपर्ने कारणबारे केही खुलाएनन्।

यतिमात्र भने,‘हामीले त अहिलेसम्म सबै सरकारलाई मत दिँदै आएका हौं। तर पाएका के छौं? हाम्रा साथीहरू अझै पनि जेलमा हुनुहुन्छ। कैदी जीवन बिताइ रहनु भएको छ।’

संसद जोगाउन र ‘प्रतिगमन’ सच्याउन देउवालाई विश्वासको मत दिएका एमालेकै कतिपय सांसदहरूले भनिरहे जस्तो रोस्ट्रमबाट बोल्ने आँट देखाउन सकेनन्।

बरू उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई मुद्दा सम्बोधनका लागि प्रयास गरेको भन्दै धन्यवाद नै दिए।

निर्वतमान प्रधानमन्त्रीलाई धन्यवाद दिएर देउवालाई विश्वासको मत हालेपछि महन्थ–राजेन्द्र समूहको रणनीतिक दाउ हुनसक्ने विश्लेषण पनि हुन थालेको छ।

‘यसअघि ठीकविपरीत कित्तामा उभिएका महन्थजीले अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कारण प्रष्ट पार्नुपर्दथ्यो। उहाँले त्यस्तो केही भन्नु भएन,’ राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्,‘कम्तिमा प्रतिनिधिसभा जोगाउन हामीले विश्वासको मत दिएको भनिदिँदा पनि हुन्थ्यो।’
प्रतिनिधिसभा बैठक सुरू हुनुअघि प्रधानमन्त्री देउवाले पत्र पठाएर ठाकुरसँग विश्वासको मत मागेका थिए। तर, देउवाले पठाएको पत्रमा ठाकुरलाई जसपा अध्यक्ष भनेर सम्बोधन गरिएको छैन।

‘प्रस्तुत विषयमा २०७८/४/३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकाले उक्त प्रस्तावमा यहाँ र यहाँसम्बद्ध माननीय सदस्यहरूको तर्फबाट समर्थन गर्न गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ ठाकुरलाई देउवाले पठाएको पत्रमा भनिएको छ।

देउवाले पत्र पठाएर विश्वासको मत मागेकाले आफूहरू त्यसका लागि तयार भएको ठाकुरले रोस्ट्रमबाट भनेका थिए।

तर, त्यसअघि प्रतिनिधिसभा भवनमा प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरियालगायतका नेतासँग छलफल गरेका थिए।

त्यही छलफलपछि महन्थ–राजेन्द्र समूह विश्वासको पक्षमा मतदान गर्ने निष्कर्षमा पुगे। शर्त थियो–देउवाले आफ्नो सम्बोधनमा मधेश मुद्दा सम्बोधनको प्रतिवद्धता जनाइदिनु पर्ने।

हुन त यसअघि पनि मधेशकेन्द्रीत दलहरू सरकारमा सहभागी हुन वा समर्थन जनाउन यही ‘अस्त्र’ प्रयोग गर्दै आइरहेका छन्। त्यसैले पुरानो अडानबाट ‘यू–टर्न’ हुन फेरि एकपटक त्यो ‘अस्त्र’ प्रयोग गरिनु नयाँ केही होइन।

‘ओलीजीलाई समर्थन र सहयोग गरेर उहाँहरू मुद्दाविहीन भइसक्नु भएको छ। जनतासामू भन्न अब केही बाँकी छैन,’ जसपा सांसद प्रमोद साह भन्छन्,‘देउवाजीले पठाएको पत्र, मधेश मुद्दा सम्बोधनको शर्त सबैथोक ‘फेस सेभिङ’ का लागि मात्रै हो।’

निवर्तमान प्रधानमन्त्री केपी ओलीले महन्थ–राजेन्द्र समूहकै साथ पाएर प्रतिनिधिसभा विघटन गरेको आरोप पनि लाग्ने गरेको छ। आफ्नै समूहका दोस्रो तहका नेताका साथै मधेशमा पनि चर्को विरोध खेप्नु परिरहेको छ, महन्थ–राजेन्द्र समूहलाई। त्यो विरोध र असन्तुष्टि अन्त्य गर्न अन्तिम समयमा देउवालाई समर्थन गरिएको हुनसक्ने विश्लेषण पनि भइरहेको छ।

‘मधेशमा उहाँहरूको बदनामी भएको छ। सत्तामा पुग्न मधेशको मागलाई बहानामात्रै बनाइएको सर्वत्र आरोप लागिरहेको छ,’ विश्लेषक लाभ भन्छन्,‘ड्यामेज कन्ट्रोल गर्न उहाँहरूले कित्ता परिवर्तन गरेको हुनसक्छ।’

अर्को निवर्तमान प्रधानमन्त्री ओलीको इशारा पाएर महन्थ–राजेन्द्र समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको हुनसक्ने उनको आशंका छ।

‘शनिबार ओलीजीलाई भेटेर सहयोग गर्ने उहाँहरूले आश्वासन दिनुभएको थियो। एक दिन नबित्दै उल्टो भएको छ,’ लाभ भन्छन्,‘उताको इशाराविना यो सम्भव होला जस्तो मलाई लागेको छैन।’

प्रतिनिधिसभा पुनःस्थापित भएर कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपालको राजनीतिक ‘कोर्स’ फेरिएको छ। केही दिनअघिसम्म अस्थिरतर्फ अगाडि बढिरहेको मुलुक प्रतिनिधिसभा पुनःस्थापनापछि ‘ट्र्याक’ मा फर्किएको संविधानविदहरू बताउँछन्।

राजनीतिक ‘कोर्स’ परिवर्तन भएपछि दक्षिणको इशारामा बाध्य भएर महन्थ–राजेन्द्र समूहले देउवालाई विश्वासको मत दिएको आँकलन पनि गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।