धर्म नमान्न मिल्छ, तर मानवता नमान्न मिल्दै मिल्दैन


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


रुपा सुनारले ‘आफू कामीको छोरी हो भनेपछि कोठा नदिइएको’ घटना सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियोमार्फत् सार्वजनिक गरेपछि जातीयता र जातका आधारमा हुँदै आएका विभेदविरुद्ध चौतर्फी बहस भइरहेको छ।

रुपाको त्यो आवाज र सामाजिक सञ्जालमा आएका बहस नियालिरहँदा मेरो मन भने बेचैन भयो। कहिले आफ्नै बाल्यकाल फर्केर हेरेँ त कहिले आफ्नै व्यवहार जाँचेँ। एक बिहान हँसिया पुर्‍याउन हाम्रो घरमा आउनुभएका गोपाल दाइ र कक्षा ७ मा पढ्दाकी मेरी सहपाठी सीता लगुन आँखाभरि आए। बिहान त्यस्तै ९ बजेको हुँदो हो, हाम्रोमा खाना खाने समय हुन लागेको थियो। गोपाल दाइ आँगनको पर्खालमा बस्नुभएको थियो। मैले उहाँलाइ बाहिरै खाना लगिदिएँ। खाना खाइसकेपछि गोपाल दाइले आफूले खाना खाएको थाल, कचौरा सर्लक्क आफैँ माझेर पर्खालमै सुकाउनुभयो। त्यतिबेला ‘गोपाल दाइ कामी हुन्, उनी बाहुनको भान्सामा जानुहुँदैन, त्यसैले उहाँले बाहिरै बसेर खाना खानुपरेको भन्ने मात्र थाहा थियो। तर, त्यो एक विभेदपूर्ण व्यवहार हो’ भन्ने थाहा थिएन।

कक्षा ७ पढ्दासम्म ‘जातीय छुवाछुत एक सामाजिक समस्या हो। हामीले मान्छे-मान्छेबीच छुवाछत गर्नुहुँदैन’ भन्ने चेत ममा सैद्धान्तिकरूपमै भए पनि अलिअलि टुसाएको थियो। त्यही कुरा ध्यानमा राख्दै हामी (उमा बस्नेत, मिनु लामा, विष्णु तामाङ र सावित्री केसी र म) सँगै बसेर खाजा खाइरहेको बखत छेवैमा रहेकी सहपाठी सीता लगुनलाई मैले हाम्रो खाजातिर लक्षित गर्दै ‘तिमी पनि खाऊ न’ भन्दा उनी असजिलो मान्दै नाइँ भन्दै तर्केकी थिइन्। आज सम्झिँदा सीता त्यसरी तर्किनुको कारण सदियौंदेखि व्याप्त छुवाछुत र जातीय विभेदको परिणाम हो भन्ने कुरामा दुईमत छैन। गोपाल दाइ र सीतासँग म यो आलेखमार्फत नै माफी माग्छु। त्यतिबेलै जातीय भेदभाव र छुवाछुतबारे जानेकी हुँदो हुँ त पक्कै उहाँलाईमात्र बाहिर खाना पुर्‍याउने थिइनँ।

यसै सिलसिलामा अर्को एउटा रोचक र घोचक प्रसंग पनि याद आयो। करिब चार वर्ष अगाडि स्नात्तकोत्तर अध्ययन गर्न भर्खरै नर्वेको एक विश्वविद्यालयमा भर्ना भएकी थिएँ। विश्वविद्यालय, कर्मचारी, तिनीहरूको कार्यशैली, सबै नौला लागिरहेका थिए। मेरो विद्यार्थी परिचयपत्र बनाउनु थियो। मलाई त्यो परिचयपत्र बनाउने कार्यालय थाहा भए पनि त्यहाँको कर्मचारीको नाम थाहा थिएन वा मैले सम्झिन सकिनँ। एक दिन म ती कर्मचारीको कार्यालयमा गएँ तर कार्यालय बन्द रहेछ। मैले छेवैको कार्यालयमा रहेकी अर्को कर्मचारीलाई भनेँ, ‘म विद्यार्थी परिचयपत्र बनाउन आएको।’ तर त्यो … बुढी आइमाइ नै रहिनछिन्। के गर्ने होला?’ ती कर्मचारी आफू काम गरिरहेको कुर्सीबाट उठेर मेरो छेवैमा आइन् र भनिन्, ‘तिम्रो नाम के हो? तिमी कुन देशबाट आएको? उनी भोलि आउँछिन्। तिमी भोलि बिहान १० बजे नै आऊ। अनि, तिमीले उसलाई बुढी आइमाइ भन्न हुँदैनथियो… भैगो, यो तिमी र मबीचमै सीमित रहन्छ। तर, उसको नाम पामेला हो।’

त्यो सुनेर म चकित परेँ। त्यो संवेदनशीलता देखेर गम खाएँ।घर फर्किँदा बाटोभरि त्यही आवाज प्रतिध्वनित भइरह्यो, ‘तिमीले उसलाई बुढी आइमाई भन्न हुँदैनथियो। भैगो, यो तिमी र म बीचमै सिमित रहन्छ। तर, उसको नाम पामेला हो।’ ती कर्मचारीले मलाई के भनिन् होला, मलाई कति असभ्य ठानिन् होला, जस्ता मनमा अनेक तर्कना खेल्न थाले।

इमान्दारीसाथ भन्दा म निकै संवेदनशील हुँ, स-साना कुराले पनि मेरो दिलमा ठूलो चोट पुर्‍याउँछ। आफूलाई चोट लागेको भेउ पाएर नै म आफूलाई जुन व्यवहार अप्रिय लाग्छ सोही व्यवहार अरूलाइ पनि नगरौँ भन्ने लाग्छ। जानेर त गर्दिन नै तर नजानेर कति त्यस्ता व्यवहार हुँदा रहेछन् भन्ने त माथिको उदाहरणले नै बताउँछ।

व्याप्त ऐतिहासिक संरचनात्मक विभेदविरुद्ध चौतर्फी आवाज उठ्नु, न्यायपूर्ण समाजको परिकल्पना गर्नु, विभेद गर्नेलाइ दण्डको माग गर्नु, दण्ड दिनु, संरचनात्मक लाभांश पाएकाबाट आफूमाथि विभेदपूर्ण व्यवहार र अन्याय भएको भन्दै आक्रोश पोख्नु जायजमात्र होइन अत्यावश्यक छ। रुपा सुनारले उठाएको मुद्दा समाजमा जरो गाडेर बसेको एउटा विभेदको मात्र प्रतिनिधि मुद्दा हो। जातका आधारमा भइरहेका बाहेकका पनि यहाँ थुप्रै विभेद छन्। कुरो जात र लैङ्गिकताको आधारमा हुने हिंसाको मात्र होइन। वर्ग, वर्ण, उमेर, शारीरिक र बौद्धिक क्षमता, धर्म, आदिका आधारमा सदियौँदेखि विभेद र अन्याय हुँदै आएको छ। हिजो मालिकले श्रमिकलाई, कथित ठूलो जातका मानिसले कथित सानो जातका मानिसलाई, पितृसत्ताले महिलालाई, गोराले कालालाई, मुखियाले गाउँलेलाई, साहुले आसामी आदिलाइ गरेको अन्याय र भेदभावविरुद्ध आजसम्म पनि बोलिरहन पर्नु सामान्य कुरो होइन।

यी र यस्ता ऐतिहासिक संरचनात्मक भेदभावविरुद्ध बोलिरहँदा यो पुस्ताले यो पनि विचार गर्नुपर्छ कि समय परिवर्तन भएसँगै विभेदको स्वरूप पनि परिवर्तन भएका छन्। समाजमा नयाँखाले विभेद जन्मिँदै, हुर्किँदै, र झाङ्गिदै गएको छ। हिजो खसीको गर्धन र पुच्छर दिएर वर्षभरि श्रम र सीप शोषण गर्ने, एक मानो भात खुवाएकै भरमा दिनभरि खेत जोताउने, विवाह नामको सम्बन्ध जोडेर घरको दास बनाउने चलन आज केही घट्दै गएको होला तर निर्मूल भने भएको छैन। बरु त्यस्ता अन्याय र विभेदपूर्ण व्यवहारका आकार बढेका छन्, स्वरूप बदलिएको छ। यस्तो अवस्थामा यो आजै सोच्नु जरुरी छ कि विभेदको बदलिँदो ढाँचामा कतै म आफैं त विभेदजन्य कर्मको पात्र भइरहेको छैन? कतै मैले नै कसैमाथि अन्याय त गरेको छैन? कतै म आफैँ त अन्यायमा परिरहेको छैन? कतै म आफैँ बौद्धिक श्रम शोषणमा परिरहेको त छैन? कतै मालिकहरूले तपाईंको सीमित समय किनेर असीमित कार्यभार त दिएका छैनन्? कतै तपाईं कलिलो उमेरको भएकै आधारमा उमेर पाकेका विवेक कट्मेरो भएकाबाट तपाईंको सीप र क्षमताको गलत मूल्याङ्कन र अवमूल्यन त भएको छैन?

समाजमा व्याप्त यस्ता सबैखाले विभेदविरुद्ध बोल्नु अत्यावश्यक छ। र, अझ महत्त्वपूर्ण कुरा आजै र अहिल्यै बोल्नुपर्छ। यदि आफूमाथि अन्याय भएको चेत हुँदाहुँदै अहिले होइन पछि बोलौँला भनेर कोही बस्छ भने त्यो स्वार्थ हो, स्वार्थी हो। यदि समयमै नबोलेर बेला बितिसकेपछि कोही सुकेको घाउ कोट्याउँछ भने त्यो कुण्ठामात्र हुनेछ। बेलाबखत उठ्ने जात र लैङ्गिकताका आधारमा भएका विभेदका घटना बाहिर आउँदा केही मानिसको असाध्यै निम्नकोटीका प्रतिक्रिया यसरी आउँछन् कि मानौं जात, धर्म, लैङ्गिकता, वर्ण, उमेर, शारीरिक बनोट र क्षमता, वर्ग, आदिका आधारमा कसैलाई हेप्न, गिज्याउनु, खिसीट्युरी गर्नु त मान्छेको नैसर्गिक अधिकार नै हो।

हामी त्यस्ता कति भेदभाव र अन्यायका पात्र भइरहेका छौँ जहाँ न हामीलाइ हामीले अन्याय गरिरहेका छौं भन्ने ज्ञात छ न हामीले अन्याय भोगिरहेका छौं भन्ने नै ज्ञात छ। यस्तो देख्दा ओठे जवाफ आइहाल्छ, ‘ए मान्छे! तिमीले यो बुझ्नु जरुरी छ कि मान्छेलाई तिमीले मान्छेकै हैसियतमा सहृदयता र सम्मानपूर्वक व्यवहार गर्नुपर्छ।’ कसैले ‘ममाथि विभेदपूर्ण व्यवहार भयो’ भनिरहँदा पनि यहाँको चलन यस्तै छ भनेर त्यसलाइ सामान्य लिनु तेरो मुर्खतामात्र हो।’

छुवाछुतको कुरा आउँदा जातीय विभेद र बलात्कार तथा यौन हिंसाको कुरा आउँदा लैङ्गिक हिंसाको विरुद्धमात्र होइन यो पुस्ताले सबैखाले विभेद र हिंसाविरुद्ध बोल्नु अत्यावश्यक छ। हामीलाई कुनै मान्छेको जात मन नपर्न सक्छ तर उसको जात मन नपरेकै कारणले उसलाइ बहिष्कार गर्ने अधिकार कसैलाई छैन। हामीलाई कसैले मानेको धर्म मन नपर्न सक्छ तर उसको धर्म मन नपरेकै आधारमा उसलाइ तिरस्कार गर्ने अधिकार कसैलाई छैन। कसैको वर्ण, शारीरिक बनावट हामीलाई मन नपर्न सक्छ तर उसको वर्ण र शारीरिक बनावट मन नपरेकै आधारमा उसलाई खिसिट्युरी गर्ने, हेप्ने, गिज्याउने अधिकार हामीलाई छैन। संरचनात्मक लाभांशमा रजाइँ गर्न पाएकै कारण मैमत्त भएकाहरूले जात, धर्म, वर्ग, लैङ्गिकता, उमेर, शारीरिक सबलता आदिका आधारमा आफूभन्दा कमजोर ठानेर कसैमाथि जानाजान वा अन्जानमै पनि विभेद गरेको भए आत्मालोचना गरेर आफूलाई सच्च्याउनुपर्छ।

यो पुस्ता दुई फरक समस्याको मारमा छ। एकातिर संरचनात्मक विभेदपूर्ण व्यवहार नै सर्वलौकिक व्यवहार हो भनेर आफूलाई सच्च्याउनै नचाहने जमात छ भने अर्कोतिर आफू नै ‘शक्ति’ को आडमा उभिएर एउटालाई न्याय दिलाउने नाममा अर्कोलाइ अन्याय गर्दै आफूलाई सामाजिक योद्धा भनेर चिनाउने जमात छ। यहाँ आफूलाई एकैछिनका लागि हातमा माइक थमाएर सधैंका लागि मुख बन्द गराउने शक्तिको आड भरोसामा मात्र तङ्ग्रिने र विभेदपूर्ण संस्कारद्वारा निर्देशित भएर जङ्गिने दुवै जमातको ‘चेत’ खुल्न जरुरी छ। जातीय र लैङ्गिक विभेदको कुरो आउँदा प्रायः धर्मको आडमा यस्ताखाले दुष्परिणाम आइरहेका छन् भनेर विभिन्न किसिमका अभिव्यक्ति आइरहेको हुन्छ। तर, धर्म र जात भन्दा महत्त्वपूर्ण र मुख्य कुरा ‘चेतना’ हो। धर्म मान्नु र विभेद गर्नु एउटै कुरा हुँदै होइन। धर्म आस्थाको कुरा हो भने चेतना विवेकको कुरा। एउटा व्यक्ति कुनै पनि धर्म मान्न या नमान्न स्वतन्त्र छ तर कोही कसैप्रति अमानवीय र विभेदपूर्ण व्यवहार गर्ने स्वतन्त्रता उसलाई हुनुहुँदैन।

रुपा सुनारले जुन मुद्दा उठाउनुभयो यो उहाँको मात्र मुद्दा होइन र हुनुहुँदैन। यसरी जानाजान वा अञ्जानमा हुने विविध किसिमका अन्यायविरुद्ध कसैले आवाज उठाउँछ भने त्यसलाई हामीले भरपुर समर्थन गर्नुपर्छ। आफू बस्ने समाज विभेदशून्य र विवेकयुक्त समाज बनाउने जिम्मेवारी तपाईं हाम्रै हो। त्यसैले सबैखाले अन्यायविरुद्ध आजै, अहिल्यै बोलौं। अन्याय नगरौं, अन्याय नसहौं।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान