१४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन चाहेका छौं : डिला संग्रौला [अन्तर्वार्ता]


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १७–१९ सम्म काठमाडौंमा हुँदैछ। नेतृत्वदेखि तल्लो तहका नेता–कार्यकर्ता महाधिवेशनको तयारीमा जुटिसकेका छन्। घर्किंदै गरेको महाधिवेशनकै बीच कोरोना महामारीबारे जनचेतना फैलाउन कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले देशव्यापी अभियान चलाइरहेकी छिन्। संग्रौलाको अभियान र कांग्रेस महाधिवेशन सेरोफेरोमा रहेर आयोमेलकर्मी धैर्यकान्त दत्तले उनीसँग गरेको कुराकानी :

कोरोना महामारीबीच तपाईंले अभियान सुरु गर्नुभयो। अभियानको उद्देश्य के थियो? र, कति सफलता पाउनुभयो?

अहिले हामी कोरोना महामारीको दोस्रो लहरमा छौं। नेपाली जनता औषधी, भेन्टिलेटर र उपचार नपाएर छटपटाइरहेका थिए, घरमा बस्दा पनि तनाव थियो। र, होम आइसोलेसनमा कसरी बस्ने, तनावबाट कसरी मुक्त हुने? कोरोनालाई कसरी जित्ने भनेर डाक्टरसहितको अन्तरसंवाद हामीले सातवटै प्रदेशमा चलायौं।

त्यसबाट के उपलब्धी भयो भने, धेरैले ज्ञान प्राप्त गरे। आफ्नो रहनसहन शैली, अहारविहार, खानपिन, योग, चिन्तन मननले पनि कोभिडलाई जित्न सकिन्छ मनलाई शान्त पार्न सकिन्छ भन्ने सन्देश हाम्रो अभियानले दिएको छ। यो अभियान धेरै सफल भएको छ।

तपाईंहरूले यो अभियान कुन माध्यमबाट सञ्चालन गर्नुभयो?

हामीले यो अभियान भर्चुअल माध्यमबाट सञ्चालन गर्‍याैं। कोभिडका कारण एक ठाउँबाट अर्को ठाउँ जाने अवस्था छैन। त्यसैले यो जुममार्फत भए पनि हामीले सबैलाई जोडेका छौं। विशुद्ध नेपाली कांग्रेसको विभिन्न संगठनमा रहेका हाम्रा साथी र नेताहरूलाई जोडेर यो अभियान सञ्चालन भयो।

कोरोना नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम भइरहेको सरकारले भनिरहेका बेला तपाईंहरूले अभियान सञ्चालन गर्नुको अर्थ के हो?
उहाँहरूको भनाइलाई हामीले हेर्ने हो भने सबैको गुनासो थियो कि जुन हामीले आज अनुभूत गर्‍या छौं नि! कोभिड नियन्त्रण गर्न वर्तमान केपी ओली नेतृत्वको सरकार असफल भएको छ। पहिलो, कोरोना लहरको बेला पनि जनताले यही भनेका थिए। पिसिआर परीक्षण, स्वास्थ्योपचार लगायतमा व्यापक भ्रष्टाचार भएको थियो।

अहिले उनीहरूको भनाइ के हो भने हामी अक्सिजन नपाएर छटपटाइरहेका छौं। अहिलेको सञ्जीवनी बुटी भनेको खोप हो नि त! त्यो पनि हामीले पाएका छैनौं। सरकार कहाँ छ भन्ने एकदम गुनासो र आक्रोस थियो। पीडा थियो, दर्द थियो, तनाव थियो।

सरकारको भन्ने र बजाउने बाजा एउटा छ तर यथार्थमा काम गर्ने चाहिँ शून्य छ। यो कुरा हामीले मात्रै अभियानमार्फत भनेको होइन। नेपाली जनताको आसा, भरोसा, मन, अभाव र यो पीडामा न सरकारले राहत दियो न औषधोपचार। सरकार कहाँ रह्यो, बालुवाटारमा रह्यो। सरकार कहाँ रह्यो, सत्ता र कुर्सीमा रह्यो। सरकार कहाँ रह्यो, पदलोलुपतामा रह्यो, भ्रष्टाचारमा रह्यो।

यो आमनेपाली जनताले बोलिरहेको बोली हो। सरकार पूर्ण असफल बन्यो। असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अल्पमतमा परेको ओली सरकारको धेरै चर्चा गर्नुभन्दा पनि नेपाली जनताको पीडालाई कसरी सम्बोधन गर्ने, कसरी मलमपट्टी लगाउने भनेर हामीले यो अभियान सुरु गर्‍याैं। यो सफल भयो।

कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले केही गर्न नसकेको तपाईंले भन्न खोज्नुभएको हो?

सरकारले केही गरेकै छैन। अब एउटा खोप पायो, त्यो दोस्रो खोप पाउँदै पाएनन्। त्यसको पनि त अवधि हुन्छ नि! तोकिएको समय सीमाभित्र पाउनुपर्ने हो नि! नत्र त्यो खोपको के अर्थ रह्यो र? अहिले पनि कोरोनाको दोस्रो भेरिएन्ट देखापर्दा युवाहरू बढी जोखिममा थिएन नि! युवाले एकचोटि पनि खोप लगाउन पाएका छैनन्।

अब तेस्रो भेरिएन्टका कुरा पनि आइसकेको छ, डेल्टा भेरिएन्ट भनेर। मान्छे अहिले कस्तो छ भने गाउँ आक्रान्त बनेको छ। सहरमा अलिकति ओरालो लागेको देखिएको छ। तर, गाउँ चाहिँ भित्रभित्र आगो सल्किए झैं कोरोना चाहिँ हरेक घर परिवारभित्र छिर्‌या छ। तर, उनीहरू चाहिँ अस्पताल गइराख्या छैनन्। किनभने भरोसै छैन त! धेरैजनाको मृत्यु भएको छ। अक्सिजन पाएका छैनन्। सरकारको ध्यान त अब सबैलाई कसरी भ्याक्सिन उपलब्ध गराउनेतर्फ हुनुपर्ने हो नि! त्यो खालको नहुँदा चाहिँ यो कोरोना महामारीको महाव्याधि चाहिँ हरेक घरभित्र छिरेको छ।

सरकारविरुद्ध तपाईंहरूको अभियान थियो कि कोभिडबारे जनतालाई सुसूचित गराउन?

सरकारको त्यहाँ कुरै भएन। हामीले तीनजना डाक्टर लगेका थियौं। एउटा चाहिँ तनाव व्यवस्थापन, अर्को कोभिड अस्पतालमा काम गर्ने डाक्टर हुनुहुन्थ्यो। उहाँले कोभिडलाई कसरी जित्ने सिकाउनुहुन्थ्यो। अहिले बच्चाहरू पनि संक्रमित भइरहेका छन्। बच्चालाई संक्रमणबाट कसरी जोगाउने भनेर एकजना बालरोग विशेषज्ञलाई अभियानमा सहभागी गराएका थियौं।

त्यसैले सरकारलाई गाली गर्नुभन्दा पनि कसरी मानिसको जीवन रक्षा गर्ने, उनीहरूलाई कसरी सान्त्वना दिने, जीवनशैली कसरी परिवर्तन गर्ने, कसरी कोभिडको युद्ध जित्ने? यी विषयलाई केन्द्रविन्दु बनाएर हामीले अभियान सञ्चालन गर्‍याैं। त्यो क्रममा चाहिँ जति पनि सहभागी रहनुभयो उहाँहरूको केही गुनासा र आक्रोस चाहिँ सरकारमाथि पनि थिए। प्रतिपक्षी दल कांग्रेस भएको हुनाले तपाईंहरूले पनि केही नगरेको भन्दै हामीमाथि पनि गुनासो थियो। यसलाई स्वीकार गर्नुपर्छ।

अब थोरै प्रसंग फेरौं। भदौमा तोकिएको कांग्रेस महाधिवेशन फेरि पनि नहुने आशंका बढिरहेको छ। तपाईंलाई के लागेको छ। महाधिवेशन हुन्छ?

एकदम राम्रो कुरा सोध्नुभयो। १४औं महाधिवेशनका लागि हामीले धेरैपटक कार्यतालिका पनि निकाल्यौं। महाधिवेशनको सँघारमा उत्साह र उमंग आउने। फेरि कोभिडका कारण पछाडि जाने। गत चैत ११ देखि सुरु भएको लकडाउन, निषेधाज्ञालगायतका कारण कार्यतालिका धेरैचोटि परिवर्तन भयो र प्रभावित पनि भयो।

अब हामीलाई छुटै छैन। हाम्रो विधानले दिएको पाँच वर्षको समयावधि पनि हामीले उपयोग गरिसकेका छौं। संविधानले दिएको ६ महिनाको समय पनि यही भदौमा सकिँदैछ। त्यसैले नेपाली कांग्रेसले जति पनि क्रियाशील सदस्य छन्, यही असार २० सम्म इन्ट्री भइसक्छ। साउन १२ देखि वडादेखि सबै अधिवेशन सुरु हुँदैछ। भदौ १६–१९ सम्म राष्ट्रिय महाधिवेशन भनेका छौं।

महाधिवेशनका कारण उत्साह पनि आएको छ। हामी घरभित्रै बन्द छौं। तर, घरभित्रै उत्साह थपिएको छ। प्रविधिका माध्यम जुम, मसेन्जरलगायत प्रयोग गरेर एकअर्कालाई संवाद गर्ने कुराकानी गर्ने, आफ्नो लबिङ गर्ने काम भइरहेको छ। महाधिवेशन सम्पन्न गर्ने विकल्पहरू के छन्, त्यसबारे पनि व्यापक छलफल चलिरहेको छ। भर्चुअल मिटिङहरू भने द्रुत गतिमा भइरहेका छन्। यसले एकप्रकारको उत्साह पनि थपेको छ।

कोरोना महामारीबीच महाधिवेशन सम्पन्न गर्न चुनौती छ जस्तो लागेको छैन?

दुइटा कुरा छ। अहिले हामीले दिएको कार्यतालिका छ विगतको जस्तो भौतिक उपस्थिति नै गरेर गर्न सकिन्छ। अर्को, विकेन्द्रीकृत निर्वाचन प्रणाली अपनाएर पनि गर्ने सोच छ। तर, साउनसम्मको अवस्था कस्तो हुन्छ त्यो हेर्नुपर्ने हुन्छ। साउनसम्म यस्तै अवस्था रह्यो अथवा कोरोनाको अवस्था थप भयावह हुने भयो भने वैकल्पिक उपायबारे सोच्नैपर्ने हुन्छ। विधानको प्रावधानलाई पनि नियालेर कुन वैकल्पिक विधि अपनाउन सकिन्छ, त्यसबारे छलफल गरेर अगाडि बढ्नुपर्ने हुन्छ।

केन्द्रमा भेला नभएर प्रदेशमै निर्वाचनको व्यवस्था पनि गर्न सकिन्छ। अथवा, जिल्लाको अधिवेशन पछाडि लग्ने अथवा जिल्लासम्मको वडामा राखिदिने। अर्थात, विकेन्द्रीकृत निर्वाचनको पाटोबारे छलफल नभएका होइनन्। तर, अहिले नै यही विकल्प भन्न थालियो भने अनेक टिकाटिप्पणी हुन्छन्। त्यसैले सकेसम्म हामीले साउनसम्मको अवस्था हेर्नुपर्ने हुन्छ। अहिले असारमै छौं। त्यो बेला कस्तो अवस्था आउँछ हेरौं। यही स्थिति बनिरह्यो भने विभिन्न विकल्पहरू प्रयोग गरेर पनि नेपाली कांग्रेस यो महाधिवेशन सम्पन्न गर्न तयार छ। युद्धस्तरमा जुट्या छ। यसबाट भाग्न कसैलाई अधिकार छैन।

क्रियाशील विवाद अझै टुंगिएको छैन। यहाँसम्म कि सभापतिकै जिल्लामा विवाद देखिएको छ। तोकिएकै मितिमा कसरी सम्भव छ महाधिवेशन?

यो कुरा के छ भने एउटा असार २० गतेसम्म सबै इन्ट्री भइसक्छ। जसले तोकिएको सीमाभित्र क्रियाशील अपडेट गरेनन् उनी महाधिवेशनमा भाग लिनबाट वञ्चित हुन्छन्। त्यसैले महाधिवेशन भनेको नेतृत्वको परिवर्तनमात्रै होइन नि! महाधिवेशन भनेको के हो भने यसले नीति, अजेन्डा र समग्र मुलुकलाई दिने कार्ययोजना पनि हो। र, कार्यकर्ताको व्यवस्थापन पनि हो।

त्यसैले एउटा सीमा (डेडलाइन) नेपाली कांग्रेसको केन्द्रीय समितिले दिएको छ। त्यो भित्र जुन जिल्लाले गर्न सक्दैन अधिवेशनबाट वञ्चित हुने कुरा आउँछ। मलाई आसा छ, हाम्रो जिल्ला सभापतिजीहरूले तोकेको सीमाभित्र क्रियाशील सदस्य पठाउनुहुने छ।

कांग्रेसभित्र नेतृत्व हस्तान्तरणका साथै पुस्तान्तरणको बहस सुरु भएको छ। यो बहसलाई कसरी हेर्नुभएको छ?

एकदम राम्रो कुरा उठाउनुभयो। याे हामीले गरेकै बहस हो। अधिवेशन आएका बेला यो बहस उठ्ने गरेको छ। एउटा कार्यकाल सकिँदै गर्दा महाधिवेशनले नेतृत्वको मूल्यांकन पनि गरेको हुन्छ। के कति काम भयो, त्यसको मूल्यांकन त १४औं महाधिवेशनमा आएका प्रतिनिधिले गर्लान्। तर, कांग्रेसभित्र दुइटै पक्षको कुरा चलिरहेको छ। एउटा नेतृत्व हस्तान्तरण र अर्को पुस्तान्तरणको। त्यसैले म के भन्छु भने उमेरले भन्दा पनि अजेन्डाले नेतृत्वको निर्धारण गर्नुपर्छ। ज्वलन्त उदाहरण हामीले भारतमा पनि देख्यौं। नरेन्द्र मोदी। त्यसैगरी संयुक्त राज्य अमेरिकामा पनि देख्यौं। उमेरले त धान्ने रहेनछ नि!

अजेन्डा हामीले बोक्न सक्यौं, जनतालाई साक्षी गरेर जनजीविकालाई गाँसेर ल्याउन सक्यौं भने जनता हाम्रो पक्षमा हुन्छन्। महाधिवेशनमा एकजनाले जित्लान्। नेतृत्व परिवर्तन होला। संगठन हात लाग्ला। तर, त्यसको पछाडि तीनै तहको निर्वाचन कांग्रेसले जित्न सकेन भने त कांग्रेस ठूलो पार्टी बन्न सक्दैन। बहस चलेको छ। यसलई म आत्मसात पनि गर्छु। तर, सबैको निर्धारण चाहिँ १४औं महाधिवेशनमा चुनिएर आएका हाम्रा महाधिवेशन प्रतिनिधिहरूको हातमा छ। त्यसैबेला यसको निर्क्याेल हुन्छ।

तपाईंले भारतको उदाहरण झिक्नुभयो। भारतमा नरेन्द्र मोदीलाई जस्तो कांग्रेसले पुस्तान्तरणको आँट देखाउन सक्ला र?

चाहँदा गर्न नसकिने होइन। अहिले कांग्रेस वृत्तभित्र चलेको एउटा कुरा मलाई राम्रो लागेको छ। त्यो के हो भने एकताको महाधिवेशन बन्नुपर्छ। यो कुरा मैले कसरी थाहा पाएको हो भने हामी अहिले लोकतन्त्रका लागि हाम्रो अभियान कांग्रेसको १४औं महाधिवेशन अबको बाटो भनेर जिल्ला सभापतिहरू, प्रदेशका सांसदहरू र शीर्ष नेताहरूलाई डिबेटमा ल्याउँछौं। समग्रमा हेर्दा अब त कांग्रेस हो नि नेतृत्व गर्ने। किनभने, कम्युनिस्टको शासन त देखिसक्यौं। नेकपा बन्यो, गठबन्धन गरे, दुईतिहाइ मत लिए, जनतालाई भुटो आश्वासन दिए। आज फेरि के भयो नेकपा एमाले भयो, माओवादी भयो। एमालेभित्र पनि द्वन्द्व भयो। दुईचोटि संसद भंग भयो। संविधानविपरीत काम भयो। आज कांग्रेस फेरि अपरिहार्य रहेछ भने पुष्टि भएको छ।

अन्य विचारधारा भएकाहरूलाई समावेश गराएर कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको छ। कांग्रेस लोकतन्त्रको पर्यावाची हो भने कांग्रेसभित्र पनि त्यो एकता किन नहुने? त्यो खालको लिडरसिप किन नआउने? एकथरी यो बहस पनि चलिरहेको छ।

अर्कोतर्फ, कांग्रेसभित्र युवाको कमी त छैन नि! युवाहरू पनि हामी लिडरसिपमा आउनुपर्छ भनिरहनुभएको छ। त्यसैले मलाई लाग्छ कांग्रेसको १४औं महाधिवेशन चाहे युवापिढी होस्, चाहे महिला होस्, चाहे पुराना आदरणीय नेता हुन्, मिश्रण भएर आउँछ जस्तो लाग्छ। सकेसम्म एकताको महाधिवेशन बनाउनेतर्फ मेरो जोड हुन्छ।

एकताको महाधिवेशन सम्भव देख्नुभएको छ तपाईंले?

जिल्ला सभापतिजीहरूले उठाएको अजेन्डा हो यो। पार्टी बचाउन एकथरीले यो मुद्दा बोक्नुभएको छ। अर्कोथरीले लोकतन्त्रभित्र प्रतिस्पर्धा हो भनेर त्यसबाट किन पछाडि हट्ने पनि भनिरहनुभएको छ। कार्यकर्ताले जसलाई रुचाउँछ त्यही आउने हो। महाधिवेशन त गर्नैपर्छ। प्रतिस्पर्धै हुनुपर्छ पनि भनिरहनुभएको छ। लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धा नै हो। तर, पनि हामी सबैको ध्यान एकतातर्फ छ।

लोकतान्त्रिक पार्टीभित्र सभापति पदाधिकारीको धेरै आकांक्षी हुनु स्वाभाविकै हो। अधिवेशन त्यस्तो प्रक्रिया हो जसले आफूलाई नेतृत्वमा उभ्याउन पाउने अधिकार पनि दिन्छ। हरेकलाई अधिकार छ। तर, हामीलाई डर पनि के छ भने सबैजना प्रतिस्पर्धा गर्ने तर जित्ने त एउटैले हो नि! जितिसके पछाडि तत्काल स्थानीय तहको निर्वाचन घर्किइरहेको हुनेछ। त्यसपछि संघ र प्रदेशको निर्वाचन पनि हामीले फेस गर्नुपर्ने हुन्छ। त्यसको असर नपरोस् भनेर एकथरी साथीहरू एकता पनि भनिरहनुभएको छ। यो राम्रो पक्ष पनि हो। कसरी जान्छ छलफलले आकार लेला।

१४औं महाधिवेशनको अजेन्डा के हुनेछ?

मैले त एउटा अजेन्डा नै छलफलमा ल्याइसकेको छु। किताब पनि प्रकाशन गर्न खोजेको छु। नेपाली कांग्रेसको अबको बाटो र मार्गचित्र के हुने भनेर। पहिलेको हाम्रो बाटो नै मान्छेको बाँच्न पाउने अधिकार नै हो। कोभिडको महामारीबाट जनताको जीउज्यानको सुरक्षा र जीवन रक्षा यो हाम्रो पहिलो अजेन्डा हुनुपर्छ। यी सब कुराको प्राप्ति त लोकतन्त्रभित्र हुन्छ नि! लोकतन्त्र र संविधानको रक्षा पनि आजको अपरिहार्यता हो। यसलाई दोस्रो अजेन्डा बनाउनुपर्छ भन्ने मलाई लागेको छ।

हामी अहिले प्रतिपक्षमा छौं। अदालतको निर्णयले सत्तापक्ष पनि हुन सकिन्छ। चाहे हामी प्रतिपक्षमा बसौं या सत्तामा हाम्रो अजेन्डा के हो भने जनताको जनसवाल र जनजीविका। यसलाई हामीले छाड्न हुँदैन। जनतासँगको सवाललाई कसरी कांग्रेसले जोड्छ, त्यो कुरालाई पनि हामीले मुद्दा बनाउनुपर्छ।

त्यसैगरी सबैले उठाएको नीति र विधिमा पार्टी चल्नुपर्‍याे। विधि र नीतिमा आजको कांग्रेस बनिरहोस्। नीति र विधिमा विधानसम्मत हिँडाउने बाटोमा अगाडि बढ्दामात्र लोकतान्त्रिक पार्टी बनाउन सकिन्छ। सबैभन्दा ठूलो कुरा, पार्टीभित्र के उठेको छ भने कार्यकर्ताको मूल्यांकन पनि भइरहेको छैन। राइट म्यान इन राइट प्लेस नदिँदा असन्तुष्टि बढेको छ। त्यो खालको कांग्रेस अहिलेको आवश्यकता हो। नीति, नेतृत्व र नेताबीच तालमेल नहुनु ठूलो कमजोरी देखिएको छ। अतित हाम्रो सुन्दर छ। तर, अतित र भविष्यमुखी भन्दा पनि वर्तमानमुखी हुनु जरुरी छ। कांग्रेसले मात्रै समग्र चुनौतीलाई झेल्नसक्छ भनेर १२–१५ वटा अजेन्डामा हामीले डिबेट पनि गराइरहेका छौं।

कांग्रेसको मूल चुरो भनेको प्रजातान्त्रिक समाजवादबाट समग्र मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षहरूको रूपान्तरण नै हो। यो बाटोबाट हिँड्दै गर्दा पछिल्लो कालमा के आएछ भने राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डतामाथि पटक–पटक प्रहार भइरहेको छ। यिनीहरूको राष्ट्रवाद खोक्रो राष्ट्रवादमा रूपान्तरण भयो। नेपालभित्र एकदम चलखेल भयो। विदेशी चलखेलको मैदान पनि बन्यो। त्यसैले पूर्वप्रधानमन्त्रीहरूले वक्तव्य नै निकाल्नुभयो। मुलुकको स्वाधिनता सार्वभौमसत्ता यो अखण्डता त मेरो प्राणभन्दा प्यारो छ नि! यसमाथि खेल्ने अधिकार अरूलाई छैन। राष्ट्रिय एकता र अखण्डता कायम राख्न पार्टीभन्दा एक कदम माथि उठ्नुपर्छ। राष्ट्र र जनताबारे सोच्नुपर्छ। वर्तमान परिस्थितिको विश्लेषण गर्दै कांग्रेसले महाधिवेशनमा नीति र अजेन्डा ल्याउँछ नै।

१३औं महाधिवेशनपछि २०७४ सालको आमनिर्वाचनमा ठूलै हारको सामना गर्नुपर्‍याे। मतदाताले कांग्रेसलाई किन पत्याएनन्?

नपत्याएको कुरा होइन। जनता कसैको हुँदैनन्। लामो समयसम्म त कांग्रेसले सत्ता त लियो नि! तर, पछिल्लो कालमा जब माओवादी र एमालेको गठबन्धन भयो, अपवित्र गठबन्धन भन्छु म त्यसलाई। त्यो अपवित्र गठबन्धन राष्ट्र र जनताको लागि थिएन। दुइटा पार्टी मिल्दै गर्दा स्वाभाविक रूपले मत प्रभावित हुनपुग्यो। तर, पनि समानुपातिकको मत लोकप्रिय मत छ। र, जनताले एकचोटि कम्युनिस्टलाई मत दिएर परीक्षण गरे। तर, अस्थिरता भयो, भ्रष्टाचार मौलायो, समृद्धि त कहाँ पुग्यो कहाँ मन्त्रीहरूको बोलीमै रह्यो। कुनै कुरा पनि पूरा भएन नि त!

जनताले एकचोटि कम्युनिस्टहरूलाई मत दिए। हामी त खुसीसाथ प्रतिपक्षमा आएको हो नि! प्रतिपक्षमा बसेका मान्छे सत्तामा जाने हो र? पाँच वर्ष हामीलाई प्रतिपक्ष देऊ भन्छौं हामी। अहिले सत्तामा किन जान लागेको भनेर लागेको होला सबैलाई। निकास दिन कांग्रेस नबोल्ने? संविधान सकिन थाल्यो, गणतन्त्र र लोकतन्त्र सकिन थाल्यो। राष्ट्रपति भनेको गणतन्त्रको प्रतीक हो नि! पटक–पटक संविधानमाथि प्रहार भयो। अमुक पार्टीको नेताजस्तो हुनुभयो। राष्ट्रपतिले दैनिक मन्त्री बोलाएर छलफल गरिरहनुभएको छ। कार्यकारी राष्ट्रपति जस्तो देखिनुभएको छ। उहाँ त अलंकारिक राष्ट्रपति हो नि! यो मुलुक कहाँ जान्छ त्यसैका लागि लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्वको अगुवाइ गरिरहेको छ।

त्यसोभए अबको चुनावमा कांग्रेसले जित हासिल गर्छ भनेर तपाईं आसावादी हुनुहुन्छ?

म त आसावादी छु। जनताले कम्युनिस्टलाई हेरिसके। कम्युनिस्ट आउँदा के–के न भइहाल्छ भन्ने जनतालाई लागेको थियो। उहाँहरूको भ्रम टुटिसकेको छ। तर, कोरोनाको कहरमा उपचार पाऊँ भन्दा सर्वोच्च अदालतले परमादेश जारी गर्नुपर्ने? खोपमा पनि कमिसनको खेल भयो। स्वास्थ्यमन्त्री हटे अर्को आए। धेरै व्याख्या पनि के गर्ने हो र! यी सबै आधारले गर्दा नेपाली कांग्रेसको अपरिहार्यता त जहिले पनि रहन्छ। मुलुकलाई परिवर्तन र अस्थिर राजनीति अन्त्य गर्न पनि नेपाली जनता कांग्रेसतर्फ हेरिरहेको छ। र, कांग्रेस पनि जनतातिर फर्केको छ।

अन्त्यमा, कस्तो कांग्रेसमा, कस्तो नेतृत्व जरुरी छ भन्ने तपाईंलाई लागेको छ?

कस्तो कांग्रेस भन्नुको मतलब जनताको भावना र मर्मलाई बुझ्ने कांग्रेस बन्नुपर्छ। विधि र नीतिमा आधारित भएर हिँड्ने सक्षम, सवल, कर्मशील, संगठनशील, वैचारिक र राष्ट्रिय राजनीतिमा पनि सबैलाई प्रभावित गर्नसक्ने नेतृत्व आजको आवश्यकता हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले