बाढी-पहिराको चोट : हर साल दुख्छ तर, कहिल्यै चेत्दैनौं


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडाैं-

जेठ २८ देखि नै मुलकको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गर्ने र गरिसकेको समेत सूचना जल तथा मौसम विज्ञान विभागले लगातार दिइरहेको थियो।

र, त्यो मनसुन जेठ ३० देखि देशैभरि फैलियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि देशभरि नै अघिल्ला वर्षहरूभन्दा धेरै पानी पर्ने सम्भावना छ।

असार १ बिहानै बाढी पूर्वानुमान महाशाखाले एउटा बुलेटिन जारी गर्दै देशभरिका विभिन्न खोला तथा नदीमा बाढी आउने प्रक्षेपण गर्दै सचेत रहन अनुरोध गरेको थियो।

खतराको त्यो सूचीमा सिन्धुपाल्चोक पनि थियो।

नभन्दै राति सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढी पस्यो। किनारामा बनेका अग्लाअग्ला घरहरू डुबाउँदै इन्द्रावती नदी बेतोडले बढिरह्यो। घरहरू डुबे। बिहानसम्ममा ५० भन्दा बढी मानिस बेपत्ता भए। अपराह्नसम्ममा स्थानीय प्रशासनले सातजनाको मृत्यु पुष्टि गर्‍याे।

हरेक साल दोहोरिन्छ विपद

यो मौसमी प्राकृतिक विपद नयाँ होइन। हरेक वर्ष दोहोरिन्छ।

अघिल्लो वर्षमात्रै सिन्धुपाल्चोकले भोगेको बाढीको कहर हेरौं-

२०७७ असार २४ राति बाह्रबिसे नगरपालिका-५ को जम्बु बजार पहिरोले पुरिँदा दुईजनाको मृत्यु र १७ जना बेपत्ता भए। २५ घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भए।

बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भए।

भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एकजनाको मृत्यु भयो, तीनजना बेपत्ता भए।

लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयाे।

  • २०७७ असार ३१ राति भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका पाँचको मृत्यु भयो। तीन घर पूर्णरूपमा क्षतिग्रस्त भए।
  • २०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी नौ मजदुरको मृत्यु। सोही राति बरुवामा घर पुरिएर दुईको मृत्यु भयो।
  • २०७७ साउन २२ को अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका-२ सेराफाँटमा चार घर पुरिएर क्षति। बलेफी कात्तिके सडक अवरुद्ध। सयौं रोपनी धानखेत बगायो।
  • २०७७ साउन ३० बिहान जुगल गाउँपालिका-२ गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरियो। पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु।

सिन्धुपाल्चोकको त्यो मेलम्ची बजार चिर्दै बग्ने इन्द्रावती नदीले हरेक वर्ष जिस्क्याइरहेको हुन्छ। तर, पनि नदी मिच्न छाडिएन। घरहरू बनिरहे। नदी साँघुरो भइरह्यो। नदीका अधरमा धेरै घरहरू ठडिएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोको एकदमै जोखिम रहेका नौ जिल्लामध्ये सिन्धुपाल्चोक पनि एक हो। तर, उसले पूर्वानुमान गरेका ३६ स्थानीय पालिकामध्ये सिन्धुपाल्चोकको यो ठाउँ पर्दैन।

हामीले चेतेनौं

यो वर्ष मनसुन सुरु हुनुअघि जेठ १४ गते नै मनाङमा बाढी आइसकेको थियो। त्यो बेला पनि बाढीले थुप्रै क्षति पुर्‍यायो।

मंगलबार राति फेरि मर्स्याङ्दी नदीको एक ठाउँमा पहिरो खस्यो र पानी थुनियो। स्थानीय खोलानालामा पानी भरिएपछि त्यो पानी सदरमुकाम चामेलगायत बस्तीमा छिर्‍याे।

निरन्तर वर्षापछि आएको बाढी तथा पहिरोबाट मनाङमा करिब ३५ घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुनध्वज अधिकारीका अनुसार सरकारी तथा निजी गरी ३५ घरमा क्षति पुगेको हो।

‘हुलाक कार्यालयमा क्षति पुगेको छ। बाँकी निजी घर हुन्, फोन छैन, बिजुलीको पोल ढलेर बत्ती पनि छैन, अनुमानितरूपमा ३५ घरमा क्षति पुगेको भन्ने छ,’ उनले आयोमेलसँग भने, ‘क्षतिको यकिन तथ्यांक संकलन भइसकेको छैन।’

उनले डुबानमा परेका घरको तथ्यांक संकलन नै हुन नसकेको बताए।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले मानिसहरू भागाभागको स्थिति रहेकाले क्षतिको यकिन तथ्यांक संकलन हुन नसकेको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन।

विभिन्न निर्माण कार्यका लागि सदरमुकाममा रहेका करिब ३ सयभन्दा बढी मजदुर उद्धारको पर्खाइमा छन्। त्यहाँका करिब १ हजार २ सयभन्दा बढी मानिस भीरपाखा र जंगलमा बसिरहेका छन्।

मनसुन सुरुवात हुँदै गर्दा बाढी पहिरोमा परेर एक दर्जनभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत विपदमा परेर ५० भन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष औषत ४ सयभन्दा धेरै मानिसले बाढी-पहिरोमा मात्रै परेर ज्यान गुमाउँदै आएका छन्।

‘बितेकाे एक दशकमा यस्ता विपदबाट भएका क्षतिका घटना केलाउँदा हामी कहाँ चुक्यौं, के गर्‍याैं र के चाहिँ राम्रो गर्न सक्थ्यौं भन्नेबारे हामी निकै गम्भीर भयौं,’ दुई दिनअघि भएको एउटा भर्चुअल कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले भनेका थिए, ‘पहिरोमा हामी त जिरो भयौं। फेल भयौं। पूर्वतयारी केही पनि भएन। बाढीमा भने हामी अलिकति सचेत भयौं र त्यसबाट हुने मानवीय क्षतिलाई केही कम गर्न सक्यौं।’

उनका अनुसार अझै पनि उद्धारका लागि पर्याप्त सामग्री छैनन्। विकट ठाउँ त्यसको पूर्वतयारी र व्यवस्थापन छैन।

विपदको क्षति न्यूनीकरणका लागि यसपालिदेखि प्राधिकरणले ‘प्रभावमा आधारित पूर्वानुमान प्रणाली’ सुरु गरेको छ। बाढी पहिराको अत्यन्तै जोखिम रहेका सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालिकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङलगायत नौ जिल्लाका ३६ स्थानीय पालिकामा यो नयाँ प्रकारको पूर्वानुमान प्रणाली लागू गरिएको छ।

त्यसअनुसार प्राधिकरणले यो वर्ष करिब १८ लाख जनसंख्या बाढीपहिरोबाट प्रभावित हुने पूर्वानुमान गरेको छ। उसका अनुसार पूर्व झापादेखि पश्चिमको कञ्चनपुरसम्ममा करिब १७ लाखभन्दा बढी मानिस डुबानबाट प्रभावित हुनेछन् भने बाँकी पहिरोका कारण प्रभावित हुनेछन्।

त्यसका लागि हरेक जिल्लामा ५० जनाको तत्कालीन उद्धार टोली पनि तयारी अवस्थामा राखिएको छ। तर, आकस्मिक हुने यस्ता विपदमा परेकाहरूको उद्धारमा निकै ढिला र कठिनाइ हुन्छ।

जस्तो कि, सिन्धुपाल्चोक मेलम्चीमा एउटा होटलको छतमा रातभरि फसेका दुईजनालाई बिहानमात्रै सेनाको हेलिकोप्टरले उद्धार गर्न सक्यो।

भैंसी चराउन गएका चारजना दाङको राप्ती नदीमा थुनिए। उनीहरू मंगलबार दिउँसो नदीबीचमा रहेको एउटा टापुमा भैंसी चराउन गएका थिए। अचानक नदी बढ्न थाल्यो। उनीहरू निस्किन पाएनन्। राति १ बजेसम्मको प्रयासमा पनि उनीहरूलाई निकाल्न सकिएन। बिहानपख नेपाली सेना, प्रहरी तथा सशस्त्रको एउटा टोलीले उनीहरूलाई डुङ्गाको सहायताले नदीबाट निकाल्न सफल भयो।

‘हामीसँग अहिले पनि उद्धारका सामग्री छैनन्। विकट ठाउँमा हेलिप्याड बनाउनेदेखि लिएर विभिन्न योजनाहरू त छन्,’ प्राधिकरणका प्रमुख कार्यकारी पोखरेलले भने, ‘विगतदेखिका अनुभवका आधारमा हामीले यस्ता योजनाहरू बनाउँदैछौं।’

प्रशस्तै बजेट : प्रभाव शून्य

त्यही कार्यक्रममा पोखरेलले भनेका थिए- ‘हामीसँग बजेटको अभाव भने छैन।’ उनका अनुसार प्राधिकरणको राष्ट्रिय व्यवस्थापन कोषमा करिब १ अर्ब छ।

यो पैसा आपतकालीन उद्धार तथा राहतका लागि सबै खर्च गर्न पनि सकिन्छ। त्यसको कुनै सीमा तोकिएको छैन। गृहमन्त्री खगराज अधिकारीले पनि ‘त्यसका लागि रकम खर्च गर्न कत्ति पनि कन्जुस्याइँ नगर्नू’ भनेर निर्देशन दिइसकेका छन्।

त्यस्तै प्रधानमन्त्री उद्धार तथा राहत कोषमा पनि यस्तै कामका लागि भनेर ३ अर्ब रुपैयाँभन्दा बढी पैसा छ। त्योबाहेक विपद व्यवस्थापनका लागि हरेक जिल्लामा करिब १ अर्बभन्दा बढी रकम छ। स्थानीय तथा प्रदेश सरकारहरूले पनि त्यसका लागि करोडौं रकम छुट्ट्याइरहेका छन्।

बुधबार भएको प्राधिकरणको बैठकमा पनि गृहमन्त्री अधिकारीले एकीकृत र केन्द्रिकृत भएर उद्धार तथा राहतमा खट्न मातहतका सबै निकायलाई निर्देशन दिएका थिए।

‘विपद आउनुपूर्व नै उद्धार सामग्री र टोलीलाई स्ट्यान्डबाइ राख्न र तत्काल प्रतिकार्यमा जुट्न मन्त्रीज्यूको निर्देशन भयो,’ प्राधिकरणका प्रवक्त्ता विश्वप्रकाश अर्यालले भने।

उनका अनुसार विपद न्यूनीकरण तथा उद्धार तथा पुनर्स्थापनाका लागि सरकार एक्लैले मात्रै नसक्ने भएका हुँदा त्यसमा स्थानीय जनता, सरकार र निजी संघसंस्थाहरूको एउटा दीर्घकालीन योजना बनाउनुपर्ने निष्कर्षमा पनि प्राधिकरण पुगेको छ।

‘त्यसका लागि हामीले राष्ट्रिय कार्ययोजना पनि तयार पारिसकेका छौं,’ उनले भने, ‘केही दिनपछि हामी त्यसलाई सार्वजनिक गर्नेछौं।’

सरकारले यस वर्षको बजेटमै विपदमा उद्धार तथा राहतका लागि नेपाली सेनाको क्षमता अभिवृद्धिलगायत उद्धार सामग्री अभाव पूर्ति गर्नेलगायत कार्यक्रम पनि तय गरेको छ।

सरकारले त यसपालि ‘सुरक्षित नेपाल’ भन्ने नारा पनि तय गरेको छ। यसै वर्षको बजेटमा सरकारले ‘जोखिमयुक्त बस्ती स्थानान्तरण र छरिएर रहेका बस्ती एकीकृत गर्ने’ योजना पनि ल्याएको छ।

त्यसका लागि सरकारले सिन्धुपाल्चोक, मोरङ, धनुषा, पर्वत, अर्घाखाँची, हुम्ला, बैतडीलगायत ४१ जिल्ला छनोट गरेको छ।

बाढी-पहिरोको जोखिम किन?

विपद प्राधिकरणले मनसुनी वर्षा, प्रि-मनसुनी वर्षा, भिरालो र कमजोर भौगोलिक बनावट, भूकम्पको असर, वैज्ञानिक सडक विस्तार र संरचना निर्माण, सीमा क्षेत्रका बाँध र संरचनाहरू, जोखिम क्षेत्रमा बसोबास जस्तो कि नदी किनार, डुबान क्षेत्र, डोल क्षेत्र, पुरानो पहिरो, भीर तथा भिरालो जग्गा, अव्यवस्थित सहरीकरण, डढेलो तथा अव्यवस्थित वनहरू, अवैज्ञानिक जग्गा प्लटिङजस्ता मानवीय क्रियाकलापले तत्कालीन जोखिम निम्त्याइरहेका छन्।

त्यस्तै हिमताल विष्फोट, प्राकृतिक सम्पदा दोहन, जलवायु परिवर्तनको कुप्रभाव, बहुप्रकोप जस्तो कि पहिरोले नदी थुन्ने, वर्षाले पानीज्नय रोग निम्त्याउने लगायत दीर्घकालीन विपद हुन्।

२०७२ सालको भूकम्पमा एकदमै प्रभावित भएको जिल्लामध्ये एक सिन्धुपाल्चोक पनि हो। त्यो बेला त्यहाँ करिब ३ हजार ८ सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो।

त्यही बेलादेखि नै सिन्धुपाल्चोकको माटो निकै कमजोर रहेको पहिरोको जोखिम बढी रहेको चेतावनी विज्ञहरूले दिइरहेका थिए।

‘त्यो बेलादेखि नै हामीले सिन्धुपाल्चोक बाढी पहिरोको जोखिममा छ भनेर भनिरहेका थियौं,’ प्राधिकरणका प्रवक्ता अर्यालले भने, ‘यसपालि पनि हामीले सेचत गराइरहेका थियौं। तर, यही दिन यही ठाउँमा बाढी वा पहिरो जान्छ भनेर पूर्वानुमान र सचेत गराउने काम हुन सकेन।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना उपचारमा बढी शुल्क असुल्ने निजीलाई छैन कारबाही, मन्त्रालयकै कर्मचारी…

'धेरैजसो मन्त्रालयका चिकित्सकहरु निजी अस्पतालमा काम गर्ने गरेका छन्। जबसम्म एक चिकित्सक एक अस्पतालको नियम लागू गरिँदैन तबसम्म समस्या समाधान

क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।