आजकै दिन यसरी भएको थियो कहालीलाग्दो त्यो दरबार हत्याकाण्ड


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं-

२०५८ जेठ १९ गते साँझ नारायणहिटीको त्रिभुवन सदनमा भोजको आयोजना गरिएको थियो। र यसका पाहुना थिए, युवराज दीपेन्द्र। हरेक महिनाको तेस्रो शुक्रबार हुने त्यो भोजको सुरूवात वि.स.२०२८ सालमा राजगद्दी सम्हालेपछि वीरेन्द्रले गरेका थिए।

एक महिनअघि त्यो भोज महेन्द्र मन्जिलमा भएको थियो। जहाँ राजा वीरेन्द्रकी आमा एवं पूर्वराजा महेन्द्रकी दोस्रो पत्नी रत्नराज्यलक्ष्मी देवी शाहको निवास थियो।

सर्ट र पैन्ट लगाएर युवराज दीपेन्द्र आफ्ना एडिसी मेजर गजेन्द्र बोहराका साथ साँझ ६:४५ बजे बिलियार्ड हलमा पुगिसकेका थिए।

भोजमा सबैभन्दा पहिले भारतस्थित सरगुजाका राजकुमार राजा वीरेन्द्रका भिनाजु महेश्वरकुमार सिंह पुगेका थिए। जब उनी बिलियार्ड हलमा पुगे दीपेन्द्रले स्वागत गरेका थिए। दीपेन्द्रले उनलाई ‘ड्रिंक्स लिनुहुन्छ’ भनेर सोधे। महेश्वर सिंहले ‘फेमस ग्राउस’ भन्दै जवाफ दिए।

केहीबेरपछि रातो साडीमा महारानी ऐश्वर्य र राजा वीरेन्द्रकी तीन बहिनी राजकुमारी शोभा, शान्ति र शारदापनि त्यहाँ पुगिन्। लगभग ७:४० मा पारस आफ्नी आमा कोमल, बहिनी प्रेरणा र श्रीमती हिमानीका साथ त्यहाँ पुगे।

राजा वीरेन्द्रलाई त्यहाँ पुग्न केही ढिला भएको थियो। उनी एक पत्रिकाका सम्पादक माधव रिमाललाई अन्तर्वार्ता दिइरहेका थिए। यसैबीचमा रत्नराज्यलक्ष्मी आफ्नो मर्सिडिज गाडीमा त्यहाँ पुगिन्। उनको एक हातमा पर्स र अर्को हातमा पन्खा बोकेकी थिइन्। बिलियार्ड हलसँगै रहेको एक कोठाको सोफामा गएर उनी बसिन्।

केही मिनेटमै हलको ढोका खुल्यो र वीरेन्द्रको प्रवेश भयो। उनी कारमा नआएर आफ्नो कार्यालयबाट हिँडेर त्यहाँ पुगेका थिए।

एडिसी सुन्दरप्रताप राणा वीरेन्द्रलाई ढोकासम्म पुर्याएर त्यहाँबाट हिँडेका थिए। निजी भोजमा बाहिरी मानिसलाई अनुमति दिइएको थिएन्। वीरेन्द्र सोझै आमा रत्नराज्यलक्ष्मी नजिक गएर बसे।

दीपेन्द्रलाई शयनकक्षमा लगिएको थियो

यसैबीच, दीपेन्द्र अचानक नशामा मात्तिसकेका थिए। बोली लडबडाउनका साथै उभिन पनि उनलाई गाह्रो भइरहेको थियो। केहीबेरमै उनी भुइँमा लडे। त्यतिबेला रातिको साढे ८ बजिसकेको थियो। त्यसअघि दीपेन्द्र जतिसुकै रक्सी खाँदापनि कहिल्यै नसामा देखिएका थिएनन्। आफूमाथि नियन्त्रण गर्न उनी जान्दथे।

छेउको कोठाबाट वीरेन्द्र हलमा आउनुअघि पारस, राजकुमार निराजन र डा.राजीव शाहीले हात–खुट्टा समाएर दीपेन्द्रलाई उनको शयनकक्षमा पुर्याइ भुइँमा ओछ्याइएको गद्दामा सुताइदिए। उनीहरूले शयन कक्षको बत्ती निभाएर पुनः भोजमै फर्किए।

जोनाथन ग्रेगसन आफ्नो किताब ‘मासाकर एट द प्यालेस’ मा लेख्छन्,‘शयन कक्षमा एक्लै छोडिएको केहीबेरपछि दीपेन्द्र बाथरूम गए। र, उनले वान्ता गरे। उनले सैनिक पोशाक लगाए। उनले ज्याकेट, सैनिक बुट र छालाको पञ्जा लगाए। त्यसपछि उनले आफूलाई मनपर्ने ९ एमएम पिस्टल र MP5-K सबमेशिन गन र कोल्ट एम–१६ राइफल बोकेर हलतिर लागे।’

सैनिक पोशाकमा दीपेन्द्र हलमा प्रवेश गरे।

हलको मध्यमा केही महिला गफ गरिरहेकी थिइन्। एक्कासी उनीहरूको नजर सैनिक पोशाक लगाएका दीपेन्द्रमाथि पर्‍यो।

वीरेन्द्रकी बहिनी केतकी चेस्टर भन्छिन्,‘जतिबेला उनी भित्र आए उनको दुबै हातमा बन्दुक थियो। उनी सैनिक पोशाकमा थिए। उनले कालो चश्मापनि लगाएका थिए। मैले सँगै रहेकी महिलालाई भने-युवराज दीपेन्द्र आफ्नो हतियार ‘शो अफ’ गर्न आएका छन्।’

त्यतिबेलासम्म राजा वीरेन्द्र हलमा आइसकेका थिए। उनको हातमा कोकको ग्लास थियो। डाक्टरले उनलाई मदिरा सेवन गर्न रोक लगाएका थिए। दीपेन्द्रले आफ्नो बुवातर्फ हेरे। उनको अनुहारमा भावनाको कुनै नामोनिशान थिएन। केही सेकेन्डमा दीपेन्द्रले आफ्नो दाहिने हातले जर्मनीमा बनेको MP5-K सबमेशिन गनको ट्रिगर थिचे। त्यसको कतिपय गोली छतमा लागेको थियो। र, प्लास्टर उखेलिएर भुइँमा झर्यो।

बीरेन्द्रले भने, ‘के गरेको?’

केही सेकेन्डसम्म सबै पाहुना आफू उभिएको ठाउँमा उभिरहे। मानौं जसरी उनीहरू दीपेन्द्रको अघिल्लो कदमको बाटो पर्खिइरहेका थिए। दीपेन्द्र कुनै खेल खेलिरहेको र गल्तीले उनको बन्दुकबाट गोली चलेको उनीहरूलाई लागिरहेको थियो।

जोनाथन ग्रेगसन आफ्नो किताबमा लेख्छन्,‘सुरूमा राजा वीरेन्द्र बिलियार्ड छेउको एक कुर्सी नजिक चुपचाप उभिरहे। त्यसपछि उनी दीपेन्द्रतर्फ अगाडि बढ्न खोजे। दीपेन्द्रले केही नबोलेर वीरेन्द्रमाथि तीन गोली चलाइदिए। केहीबेरसम्म उनी उभिरहे। यहाँसम्म कि उनले हातको ग्लास बिस्तारै उनले टेबलमा राखेका थिए।’

यसैबीच दीपेन्द्र फर्के र बिलियार्डस हलबाट निस्केर बगैँचातर्फ लागे। तीन सेकेन्डपछि त्यहाँका मानिसले अनुभव गरे कि, दीपेन्द्रले चलाएको गोली वीरेन्द्रको घाँटीको दाहिने भागमा लागेको थियो।

केतकी भन्छिन्,‘हामी देखिरहेका थियौं कि महाराज ‘सक’मा हुनुहुन्थ्यो। उनी करिबकरिब ‘स्लो मोसन’मा भुइँमा लडेका थिए।’

वीरेन्द्रका ज्वाइँ क्याप्टन राजीव शाहीले रगतको बहाब रोक्न आफ्नो कोट उनको घाँटीमा राखिदिए। त्यतिबेलासम्म वीरेन्द्र बेहोस भएका थिएनन्। उनले आफ्नो अर्को घाउतर्फ इशारा गर्दै भने,‘राजीव पेटमा पनि।’

राजा वीरेन्द्रले सिर उठाउने कोसिस गर्दै भने,‘के गरिदिएको?’ त्यो उनको अन्तिम शब्द थियो।

त्यतिकैमा दीपेन्द्र फेरि हलमा प्रवेश गरे। अब उनको हातमा एम–१६ राइफल थियो।

दीपेन्द्रले वीरेन्द्रमाथि किन गोली चलाए?

कतकी भन्छिन्,‘उनी एक केटीसँग बिहे गर्न चाहिरहेका थिए। उनकी हजुरआमा र आमालाई त्यो मन्जुर दिएन। दीपेन्द्रलाई खर्च गर्न चाहिएको जति पैसा भेटिरहेको थिएन। त्यही कारण उनले आफ्नो संयमता गुमाइसकेका थिए।’

दीपेन्द्र यी सब कारणले ज्यादै निराश भइसकेका थिए र मानसिक स्थिति अशान्तजस्तै भइसकेको थियो। र, यो कुरा लन्डनसम्म पुगिसकेको थियो। करिब एक महिनाअघि लन्डनमा दीपेन्द्रका अभिभावक रहेका लर्ड केम्याजले राजा वीरेन्द्रलाई फ्याक्स गरेर यसबारे जानकारी गराइसकेका थिए। उनले लेखेका थिए,‘युवराज जीवनमा आफ्नो भूमिका र आफ्नो चाहनाअनुसार बिहे गर्न नसक्ने अधिकारका लागि दुःखी छन्।’

महारानी ऐश्वर्याले महसुस गरेकी थिइन् कि, दीपेन्द्रलाई उनले चाहेअनुसार बिहे गर्नबाट रोक्न ज्यादै मुश्किल छ। त्यसैले उनले बिहेको विषयमा आमा–बुबाको कुरा नमाने शाही पदवी गुमाउनुपर्ने भन्दै दीपेन्द्रलाई चेतावनीसमेत दिइसकेकी थिइन्।

काकामाथि चलाए गोली

दीपेन्द्रका काका धीरेन्द्रले हस्तक्षेप गर्ने कोसिस गरे। केतकी भन्छिन्,‘अचानक महाराज वीरेन्द्रका भाइ धिरेन्द्र शाहले दीपेन्द्रलाई रोक्दै भने–बाबा अब धेरै भइसक्यो। आफ्नो बन्दुक मलाई दिनुस्।’

दीपेन्द्रले एकदम नजिकबाट उनीमाथि गोली चलाए। र, उनी उड्दै टाढा गएर लडे। त्यसपछि दीपेन्द्रले आफ्नो नियन्त्रण पूर्ण रूपले गुमाइसकेका थिए। र, उनले सबैमाथि गोली चलाउन थालेका थिए। राजकुमार पारसले कराएर सबैलाई सोफाको ओत लिएर बस्न भने।

केतकीलाई पनि गोली लाग्यो। केतकीको ज्यान गइसकेको दीपेन्द्रलाई लागेको थियो। किनभने उनको टाउको र कपाल रगतले लतपथ भइसकेको थियो। एउटा गोली ज्ञानेन्द्र शाहकी पत्नी कोमल शाहलाई लाग्यो। दीपेन्द्रले आफ्ना बुवा वीरेन्द्रमाथि फेरि गोली चलाए। त्यो गोली वीरेन्द्रको शिरबाट निस्केको थियो। रगतले लतपत उनको टोपी र चश्मा भुइँमा झर्यो। वीरेन्द्र घोप्टो परेर भुइँमा लडेका थिए। उनको खुट्टा ‘बार’ तर्फ थियो।

केतकी त्यो दृष्य अझै बिर्सन सकेकी छैनन् जतिबेला दीपेन्द्रले घाइते भएर भुइँमा लडेका बाबुलाई खुट्टाले हिर्काएका थिए।

केतकी सम्झिन्छिन्,‘त्यो दृष्य मेरो आँखामा सँधैका लागि अंकित भइसकेको थियो। जतिबेला दीपेन्द्रले लगभग देहत्याग गरिसकेका आफ्नो बुबालाई खुट्टाले हिर्काएका थिए। खुट्टाले हिर्काएर वीरेन्द्र जीवितै छन् कि मरिसकेको उनले जाँच्न खोजेका थिए। हरेक संस्कृतिमा मृत व्यक्तिलाई सम्मान गरिन्छ। गोली हान्नुभन्दा बढी एक हिन्दु व्यक्तिले आफ्नो बाबुको शवलाई खुट्टाले हिर्काएको दृष्य मलाई ठूलो धक्का पुर्यायो।’

एडिसीको भूमिकामाथि प्रश्न

नारायणहिटी दरबारको त्रिभुवन भवनभित्र राजा वीरेन्द्रका साथै शाही परिवारका १२ अन्य मानिस या त मारिसकिएका थिए वा घाइते थिए। तीनदेखि चार मिनेटपछि गोली चल्ने क्रम रोकिएको थियो।

अन्धाधुन्ध चलेको गोलीको आवाज सुनिएपनि ‘क्र्याक कमान्डो’ को तालिम लिइसकेका कुनैपनि एडिसी दौडेर घटनास्थलसम्म पुग्ने कोसिस गरेनन्। उनीहरू आफ्नो कोठामै बसिरहे। उनीहरूको कोठा हलभन्दा मुश्किलले १५० मिटरको दूरीमा थियो।

उनीहरूले प्रयास गरेको भए हलसम्म पुग्न मुश्किलले १० सेकेन्डको समय पर्याप्त थियो। पछि घटना छानबिन गर्न गठन भएको समितिले दिएको प्रतिवेदनको आधारमा चारैजना एडिसीलाई बर्खास्त गरियो।

ऐश्वर्यालाई पछाडिबाट गोली हानिएको थियो

दीपेन्द्र हलबाट निस्केर फूलबारीतर्फ लागेका थिए। महारानी ऐश्वर्या उनको पछाडि कुदिन्। राजकुमार निराजपनि उनको पछाडि कुदेका थिए। केहीबेरपछि दुईवटा गोली चलेको आवाज सुनियो।

निलेश मिश्रले आफ्नो किताब ‘इन्ड अफ द लाइन’ मा लेखेका छन्,‘भान्सा कोठाबाट एक नोकर सान्ताकुमार खड्काले महारानी ऐश्वर्यालाई जीवनको अन्तिम क्षणमा देखेका थिए। ऐश्वर्या भर्याङ उक्लिएर दीपेन्द्रको शयनकक्षतिर जाने कोसिस गरेकी थिइन्। उनी जोरले कराइरहेकी थिइन्। लगभग सात सिढी उक्लिएपछि एउटा गोली उनको टाउकोमा लागेर निस्कियो। ऐश्वर्या मार्बलको सिढीमा लडिन्। उनलाई पछाडिबाट पनि गोली हानियो। ऐश्वर्या दीपेन्द्रको अन्तिम शिकार थिइन्।’

छोराले उनीमाथि गोली चलाउँदैन भन्नु उनको धारणा गलत थियो।

त्यसपछि दीपेन्द्र फूलबारीभित्र सानो एक तलाउमा बनाइएको पुलमा बसे। त्यहाँ उनी पागलजस्तै एकदुईपटक कराए। र, अन्तिम गोलीको आवाज सुनियो। एउटा गोली दीपेन्द्रको टाउकोमा लागेको थियो। टाउकोको देब्रेतर्फ कानपछाडि गोली छिरेको एक सेन्टिमिटर लामो चिह्न थियो। दायाँ सिरमा कानमाथिबाट गोली बाहिर निस्केको चिह्न थियो। दुईतिरबाट रगत बगिरहेको थियो। तर, दीपेन्द्र जीवित नै थिए।

ज्यागुआर कारमा वीरेन्द्रलाई अस्पताल पुर्‍याइयो

त्यति धेरै गोली खाइसकेका वीरेन्द्रपनि जीवित नै थिए। जतिबेला उनका एडिसी अस्पताल पुर्‍याउन जैगुआर कारको पछाडि सिटमा राखिरहेका थिए, उनको दुबै कानबाट रगत निस्किइरहेको थियो। तर, वीरेन्द्रको हात चलिरहेको थियो। उनलाई कम्तिमा आठ गोली लागेको थियो।

उनको कारपछाडि हिँडिरहेको टोयटामा महारानी ऐश्वर्याको शरीर थियो। दुबै गाडी अस्पताल पुगेको बेला रातिको ९:१५ भइसकेको थियो। केहीबेरमै नेपालका सर्वश्रेष्ठ न्युरोसर्जन, प्लास्टिक सर्जन र मुटुरोग विशेषज्ञहरू अस्पताल पुगिसकेका थिए।

ऐश्वर्यालाई कारबाट ओरालेसँगै मृत घोषित गरियो। त्यतिकैमा हरियो रंगको ल्यान्डक्रुजरपनि अस्पताल आइपुग्यो। जसको अगाडिको सिटमा पारस बसेका थिए। पछाडिको सिटमा दीपेन्द्रका एडिसी गजेन्द्र बोहरा र राजु कार्की दीपेन्द्र र निराजनलाई समाएर बसेका थिए।

ट्रमा सेन्टरमा बेड अभाव

त्यहाँ पुगेको केहीबेरमै निराजनलाई पनि मृत घोषित गरियो।

जोनाथन ग्रेगसन लेख्छन्,‘त्यसबीचमा नेपालका सर्वश्रेष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटा एक ट्रली नजिक उभिएका थिए। एक सैनिक चिकित्सकले रगतले लतपत राष्ट्रिय पोशाकमा रहेका मानिसको उपचार गर्ने कोसिस गरिरहेका थिए। उनले साइबाबाको तस्बिर रहेको लकेट लगाएका थिए। देवकोटाले वीरेन्द्रसँग पहिले भेटिसकेका थिए। तर, त्यतिबेला उनले घाइते वीरेन्द्रको पहिचान गर्न सकेनन्।’

युवराज दीपेन्द्रले त्यो दिन आफ्नो परिवारका यति धेरै मानिसलाई मारेका थिए कि ट्रमा हलको सबै बेड भरिसकेको थियो।

जतिबेला दीपेन्द्रलाई स्ट्रेचरमा भित्र ल्याइयो त्यतिबेला कुनैपनि बेड खाली थिएन्। उनलाई भुइँमा राखिएको थियो। दीपेन्द्रको सिरको दुबैतर्फबाट रगत बगिरहेको थियो। श्वास लिँदै गर्दा उनी जोरले आवाज निकालिरहेका थिए। तर, उनको रक्तचाप १००/६० थियो, जुन धेरै चिन्ताजनक थिएन। तर, आँखाको पुतलीमा प्रकाशको कुनै असर परिरहेको थिएन। केही बेरमै दीपेन्द्रलाई अपरेशन थिएटरमा लगियो।

दीपेन्द्रलाई राजा बनाइयो

अघिल्लो दिन अखबारमा त्यो हृदयविदारक घटनाको समाचार छापिएन। तर, त्यो खबरलाई लुकाउने प्रयास सफल हुनसकेन।

हत्याकाण्डको १४ घण्टापछि बिहान ११ बजे कार्यक्रम गरेर घोषणा गरियो–हिजो राति सवा ९ बजे राजा वीरेन्द्रको निधन भयो। उनको ठाउँमा दीपेन्द्रलाई महाराजधिराज घोषित गरिएको छ। तर, उनी शासन गर्ने स्थितिमा नरहेकोले उनको स्थानमा राजकुमार ज्ञानेन्द्र शाह कार्यबाहक भएर काम गर्नेछन्। तर, नेपाली नागरिकलाई वीरेन्द्रको मृत्यु कसरी भयो यसबारे केही बताइएको थिएन।

शव यात्रामा लाखौं मानिस

२०५८ जेठ २० गते दिउँसो ४ बजे राज परिवारको शव यात्रा सुरू भयो। शव यात्रामा पूरा काठमाडौं सामेल भए। हजारौं मानिसले राजा वीरेन्द्रको सम्मानमा मुण्डन नै गराए।

नाइहरूले यसका लागि पैसा लिएनन्। साँझको समय राज परिवारका एक सदस्य दीपक बिक्रमले आर्यघाटमा सबै चितालाई अग्नि दिए।
युवराज दीपेन्द्रलाई कहिल्यै होस आएन। जेठ २२ गते बिहान ३ बजेर ४० मिनेटमा उनले पनि प्राण त्याग गरे। लगभग ५४ घण्टासम्म त्यो व्यक्ति राजा बने जो बेहोस थिए। र, उनीमाथि आफ्नो बाबु, आमाका साथै परिवारका अन्य सदस्यहरूको हत्याको आरोप थियो।

दीपेन्द्रको निधनपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाहलाई राजा घोषित गरियो। तीन दिनको अन्तरालमा उनी नेपालको तेस्रो राजा बनेका थिए। तर, ज्ञानेन्द्र धेरै दिनसम्म नेपालको राजा रहन सकेनन्। २०६५ जेठ १५ गते राजा फ्यालेर नेपालमा गणतन्त्रको घोषणा भयो। (बिबिसीबाट)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो