वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ।

भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम गठबन्धनको सरकार बनाउन आह्वान गरेसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (बाबुराम–उपेन्द्र) कसरतमा जुटेका छन्।

नयाँ सरकार बनाउन दाबी पेश गर्ने समयसीमा सकिन केही घण्टामात्र बाँकी छँदासम्म दलहरूले निश्चित ‘रोडम्याप’ बनाउन सकिरहेका छैनन्। र, यसको मुख्य बाधक बनेर उभिएका छन् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कांग्रेस र माओवादीसँग मिलेर वैकल्पिक सरकार गठनको अभ्यासमा जुटेका छन्।

तर, ठाकुर र महतोले गठबन्धनको सरकार बन्न नदिन कम्मर कसिसकेका छन्।

सरकार गठनको प्रक्रियाबाट आफूलाई बाहिर राखेर तटस्थ बस्ने घोषणा गरिसकेका ठाकुर र महतोको बालुवाटारका साथै शीतल निवास दौडाहाले पनि यसको पुष्टि गर्छ।

जसपाका दुवै नेताले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग झन्डै तीन घण्टा छलफल गरेका छन्।

ओलीसँगको भेटमा गठबन्धनको सरकारका लागि बहुमत पुग्न नदिने आश्वासन दुबै नेताले दिएको जसपा स्रोतले बतायो।

बालुवाटारपछि शीतल निवासतर्फ होमिएका ठाकुर र महतोले राष्ट्रपति भण्डारीलाई उपेन्द्र यादवले गरेको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेर फर्किए।

तर, जसपा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ राष्ट्रपतिले पार्टीको विधान र निर्णय मानेर अगाडि बढ्ने बताउँछन्।

‘देश संविधानले र पार्टी विधानले चल्छ। राष्ट्रपतिजीले पार्टीको विधान र निर्णय हेर्ने हो,’ आयोमेलसँग श्रेष्ठले भने,‘कुनै व्यक्तिको आग्रह उहाँले मान्नु हुन्छ भन्ने हामीलाई लाग्दैन।’

वैकल्पिक सरकार गठनको पक्ष र विपक्षमा विभक्त जसपाले कार्यकारिणी समितिको बैठकसमेत बोलाउन सकेको छैन। सरकार गठनका विषयमा एकमत बनाउने उद्देश्यले बुधबार हुने भनिएको पदाधिकारी बैठक बस्नै सकेन।

केवल बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष ठाकुरले केहीबेर छलफल गरे। यद्यपि दुई नेताबीच भएको छलफलबारे केही खुलाइएको छैन।

‘पदाधिकारी बैठक बसेन, ठाकुरजी र भट्टराईजीबीच एकछिन कुराकानी भयो,’ ठाकुरनिकट स्रोतले भन्यो,‘अब पदाधिकारी बैठक बस्दैन। जरूरी पनि छैन।’

बालकुमारीमा केहीबेरको बसाइपछि ठाकुर सोझै बबरमहलस्थित तत्कालीन राजपाको पार्टी कार्यालयतर्फ लागेका थिए। पार्टी कार्यालयमा उनले पूर्वराजपाबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग छलफल गरेको बताइएको छ।

महन्थ–राजेन्द्र वैकल्पिक सरकार गठनको विरोधमा उभिए पनि सर्वसम्मतबाटै निर्णय गराउने प्रयास भइरहेको कार्यकारिणी सदस्य श्रेष्ठ बताउँछन्।

‘सकभर सर्वसम्मतबाटै निर्णय होस् भन्ने हामीले चाहेका छौं। त्यसको प्रयास पनि भइरहेको छ,’ श्रेष्ठले भने,‘उहाँहरूले मान्नु भएन भने कार्यकारिणी समितिले वैकल्पिक सरकार गठन गर्ने निर्णय बहुमतबाट गरिसकेको छ। त्यही निर्णयअनुसार अगाडि बढिन्छ।’

वैशाख १४ गते कार्यकारिणी समितिको बैठकले लुम्बिनीका चार प्रदेश सांसदलाई कारबाही गर्ने र वैकल्पिक सरकार गठनका लागि भूमिका खेल्ने निर्णय गरिसकेको उनको भनाइ छ।

श्रेष्ठले कार्यकारिणी समितिले निर्णय गरिसकेको बताइरहेपनि वरिष्ठ नेता महतो पार्टीमा यसबारे कुनै छलफल नै नभएको बताउँछन्।

यहाँसम्म कि सरकार गठनमा कुनै भूमिका नखेल्ने पार्टीको निर्णयविपरीत अगाडि बढेको भन्दै उनले अध्यक्ष यादवलाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएका थिए।

वैकल्पिक सरकार गठनको दिशामा अगाडि बढिसकेको बाबुराम–उपेन्द्र समूहलाई महन्थ–राजेन्द्र समूहले साथ नदिएपनि खासै महत्व दिएको छैन। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय सांसदहरूले राजीनामा दिने बाहिर आएको चर्चाले उनीहरूलाई एक हिसाबले ऊर्जा थपिदिएको छ।

सरकारको नेतृत्वका लागि दावी गरिरहेको कांग्रेसले पनि सग्लो जसपाको साथ खोजिरहेको छ। तर, सिंगै जसपाको साथ पाउन नसकिए माधव नेपाल अस्त्र प्रयोग गर्ने दाउमा कांग्रेस देखिएको छ।

त्यसैले जसपा नेता श्रेष्ठ सरकार गठनका लागि आफूहरूसँग बहुमत रहेको दावी गर्छन्।

‘भोलि हामी सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश गरिरहेका छौं। बहुमत पुग्छ भन्ने विश्वास हामीलाई छ,’ उनले भने,‘मिलनविन्दु खोज्ने प्रयास भइरहेको छ। उहाँहरू मान्नुहुन्छ हामीलाई विश्वास छ।’

प्रधानमन्त्री ओलीले आन्दोलनका क्रममा लगाइएका १२० जनाको मुद्दा फिर्ता लिएको र बाँकीका पनि प्रक्रियामा रहेकोले वैकल्पिक सरकार गठनतर्फ नलाग्ने महन्थ–राजेन्द्र पक्षले बताउँदै आइरहेको छ।

तर, त्यही बहानामा वैकल्पिक सरकार गठनका लागि बाधक बन्नुको कुनै अर्थ नरहेको नेता श्रेष्ठको तर्क छ। जसपाले उठाइरहेका ती मुद्दाहरूबारे अब बन्ने सरकारसँग पनि छलफल गर्न सकिने उनको भनाइ छ।

‘ओली प्रधानमन्त्री हुँदा विभिन्न मुद्दामा वार्ता भइरहेको थियो, अहिले परिस्थिति परिवर्तन भइसकेको छ,’ श्रेष्ठ भन्छन्,‘अब त्यसलाई अडान बनाउनुको अर्थ छैन। नयाँ बन्ने सरकारबाट पनि ती मुद्दाहरू सम्बोधन गराउन सकिन्छ।’

अहिले विपक्षमा उभिए पनि सरकार गठन भइसकेपछि विश्वासको मत लिने समयमा महन्थ–राजेन्द्र समूहले आफूहरूलाई सहयोग गर्ने श्रेष्ठको विश्वास छ।

‘अस्ति उहाँहरू तटस्थ बस्नुभयो। सा¥है समस्याको विषय भएन,’ उनी भन्छन्,‘भोलिसम्म समय बाँकी छ। सहमतिमा ल्याउने कोसिस भइरहेको छ। अहिले मान्नु भएन भने विश्वासको मत लिँदा पक्कै पनि सहयोग गर्नुहुन्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको