महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

दक्षिणतिर आश, उत्तरतिर संकोच


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे।

त्यो बेला भारत आफैं अक्सिजन अभावमा छटपटाइरहेको थियो। भारतलाई नै विश्वका विभिन्न देशले अक्सिजनलगायत स्वास्थ्य सामग्री सहयोग पठाइरहेका थिए।

यद्यपि, नेपालका लागि आवश्यक ‘लिक्विड’ अक्सिजन भारतबाटै आयात हुन्थ्यो। नेपालले त्यो अक्सिजन भारतको झारखण्डबाट नियमित ल्याइरहेको थियो।

तर, भारतमा अक्सिजन अभाव चुलिन थालेपछि त्यहाँको अदालतले नै अक्सिजन निर्यातमा रोक लगाएको थियो। नेपालको आग्रहसँगै भारतबाट आउनुपर्ने ३० ट्याङ्कजति लिक्विड अक्सिजन नेपाल भित्रियो।

त्यसपछि पनि परराष्ट्र मन्त्रालयले ‘अनुरोध पत्र’ त पठाइरहेको छ, तर पनि थप अक्सिजन आउने स्थिति छैन। किनकि, भारत आफैंमा अक्सिजन अभाव झेलिरहेको छ।

कोरोनासँगै जेलिएको राजनीति

गत शनिबार अमेरिकी सञ्चारमाध्यम सिएनएनलाई छोटो अन्तर्वार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए- ‘अहिलेको अवस्थामा नेपालमा महामारी हाम्रो नियन्त्रणमै छ।’

तर, त्यसाे भनेकाे एक दिनपछि अर्थात् सोमबार बेलायतबाट प्रकाशित हुने एउटा पत्रिका ‘दि गार्जियन’ मा ओलीले एउटा आलेख लेखे-  ‘दिनहुँ बढिरहेको कोरोना संक्रमितको संख्याले नेपालको समग्र स्वास्थ्य सेवा प्रणालीमा गम्भीर चुनौती खडा गरेको छ र बिरामीलाई आवश्यकताअनुसार अस्पतालमा बेड उपलब्ध गराउन असाध्यै कठिन भएको छ।’

विश्व समुदायलाई उनले अनुनय पनि गरेका छन्- ‘नेपाललाई आवश्यक सहयोग गरिदिनका लागि अपिल गर्दछु।’

खासगरी, अबको एक महिनापछि बेलायतमा हुने धनी राष्ट्रहरूको सम्मेलन ‘जी-७’ मा कुरा पुर्‍याइदिन र त्यसको अध्यक्ष राष्ट्रको हैसियतले महामारीबाट थिचिएको नेपालका तत्कालीन आवश्यकताहरू पूर्तिका लागि पहल गरिदिन बेलायतलाई ओलीले आग्रह गरेका छन्।

यो उनको आग्रहबाट प्रष्ट थाहा हुने एउटा कुरा के हो भने- नेपाललाई अहिले जसरी हुन्छ तत्काल स्वास्थ्य सामग्रीको आवश्यकता परिरहेको छ। प्रधानमन्त्री ओलीले जहाँ जे सुकै बोले पनि वा भने पनि अक्सिजन अभावमा दिनदिनै सयौं संक्रमितले ज्यान गुमाइरहेको कुरा सत्य हो।

अस्पतालहरूले ‘उपचार गर्न सक्दैनौं, आफ्नो व्यवस्था आफैं गर्नुहोला’ भनेर हात उठाएको कुरा सत्य हो। अस्पतालका पिँढी र आँगनभरि अक्सिजन र बेडको आसामा असरल्ल पल्टिएका बिरामीका दृश्य सत्य हुन्।

प्रधानमन्त्रीले दि गार्जियनमा लेखेर वैदेशिक सहयोग मागेपछि स्वास्थ्य मन्त्रालयले पनि आफ्ना आवश्यकताहरूको सूची परराष्ट्र मन्त्रालयलाई बुझाउन थालेको छ। परराष्ट्रले नेपालका विकास साझेदार र दातृ निकायसँग स्वास्थ्य सामग्री सहयोगका लागि औपचारिक अपिल गर्नेछ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्त्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिलेका लागि आवश्यक सामग्रीका सूची मन्त्रालयले तयार पारेको छ। त्यसका लागि कुन साझेदारसँग के-के कुरा माग गर्ने भन्नेबारे निर्क्योल हुन बाँकी छ। राष्ट्रहरू तथा दातृ निकायसँगको समन्वय परराष्ट्र मन्त्रालयले गर्छ।

डा. अधिकारीका अनुसार अक्सिजन, पिपिई, आइसियुलगायत उपकरण, अस्थायी अस्पताल बनाउनका लागि टेन्ट, हेल्थ डेस्क बनाउन आवश्यक टेन्टलगायत सामग्रीका सूची तयार भएको छ। १० वटा लिक्विड अक्सिजन ट्याङ्क, ६० हजार अक्सिजनका सिलिन्डर, सात प्रदेशका लागि सातवटा अक्सिजन प्लान्ट, १० हजारजति अक्सिजन कन्सेन्ट्रेटरलगायत ठूला सामग्रीको पनि माग गरिएको उनले बताए।

भाइरस संक्रमण महामारीसँगै अहिले नेपाल जटिल राजनीतिक परिस्थितिबाट पनि गुज्रिरहेको छ। अघिल्लो वर्ष महामारी सुरुवातसँगै बिथोलिएको राजनीति अझै सही ट्र्याकमा आउन सकेकै छैन। झन्-झन् संकटोन्मुख छ।

सरकारको प्राथमिकतामा महामारी छैन, आफैं कसरी जोगिने भन्ने छ। प्रदेश सरकारलाई आफ्नो प्रदेशमा भयावह भइरहेको कोरोना संक्रमणको मतलब छैन, कसरी सरकार जोगाउने भन्ने ध्याउन्न मात्रै छ।

संसदबाट ‘विश्वास’ को मत नपाएपछि अहिले सरकार ‘काम चलाऊ’ हैसियतमा छ। नयाँ सरकारका लागि दलहरूको सक्रियता बढिरहेको छ र क्षण-क्षणमा राजनीतिक ‘ट्विस्ट’ हरू आइरहेका छन्।

यहीबेला भारतीय सत्तारुढ दलले खुलेयाम नेपालमाथिको राजनीतिक चासो के थियो भनेर सार्वजनिक नै गरिसकेको छ।

सत्तारुढ भाजपाका एक प्रभावशाली नेता सुब्रमन्यम स्वामीले ‘नेपालका बारेमा मैले बुझेसम्म ओली भारतका रोजाइ थिए। यदि अब प्रचण्ड प्रधानमन्त्री भए भने चीनले जित्नेछ’ समेत भनिसकेका छन्।

लगत्तै भारतीय दैनिक पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले पनि भारतले ओलीलाई नै चाहेको भन्दै सम्पादकीय नै लेख्यो।

यस्तोमा ‘सहयोगको अपिल’ मा पनि सरकारले छिमेकको राजनीतिक स्वार्थ झल्काएको छ।

अर्थात, महामारीमा सहयाेगका लागि नेपालले चीन सरकारसँग खुलेर कुरै गर्न सकेको छैन। भारतले चाहेर पनि आफैंले केही दिन सकिरहेको छैन।

चीन यो कोरोना भाइरस महामारीको सवालमा आफैंमा ‘अनुभवी’ राष्ट्र हो। ६९ दिनमै भाइरसको उद्गमस्थल वुहानमा मात्रै होइन सारा चीनभरि नै महामारी नियन्त्रण गर्न सफल भयो।

अहिले पनि विश्वको ८० प्रतिशत स्वास्थ्य सामग्री चीनले नै निर्यात गर्छ। भारतले पनि स्वास्थ्य सामग्री उत्पादनका धेरैजसो कच्चा पदार्थ चीनबाट ल्याउँछ।

केही दिनअघि हङकङस्थित भारतीय दूत प्रियङ्का चौहानले चीन सरकारसँग अत्यावश्यक सामान ढुवानी मूल्यमा हेरफेर गर्न अनुरोध गरेकी थिइन्। अहिले महामारीले ग्रस्त भारतमा धेरै सामान आवश्यक परेको भन्दै उनले चीनले ढुवानी दररेट दुईगुणा बनाएको र त्यसलाई घटाउन चिनियाँ अधिकारीहरूलाई भनेकी थिइन्।

दक्षिणतिर आश, उत्तरतिर संकोच

वैशाख १४ गते चीनका विदेशमन्त्री वाङ यीले एउटा भिडियो संसद गरे। त्यसमा नेपाल, अफगानिस्तान, बंगलादेश, श्रीलंका र पाकिस्तानका विदेशमन्त्री सहभागी थिए।

भारतलाई सहभागी नगराइएको त्यो संवादमा चीनका विदेशमन्त्री यीले कोरोनाविरुद्ध लड्नका लागि चीनले हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए भने यो लडाइँका लागि क्षेत्रीय सामूहिकताको आवश्यकता पनि औंल्याएका थिए।

त्यसको १० दिनपछि यीले फेरि एउटा ट्विट गरे- ‘कोरोनाविरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोगका लागि सक्दो प्रयास गरिने छ र हामीलाई विश्वास छ कि, नेपाली नागरिकले चाँडै नै भाइरसमाथि विजय प्राप्त गर्नेछन्।’

चीनले केही दिनअघि घोषणा गरेको ५० लाख युआन (९ करोड ११ लाख रूपैयाँ) बराबरको स्वास्थ्य सामग्रीमध्ये ४ सयथान सिलिन्डर र १० भेन्टिलेटर मंगलबार नेपाल आइपुगेको छ। त्योसँगै चिनियाँ सिमेन्ट कम्पनी होङ्सीले दिएको १ सय ७० थान अक्सिजन कन्सेन्ट्रेटर पनि नेपाल आइपुगेको छ।

नेपालस्थित चिनयाँ राजदूत होउ यान्छीले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई सघाउन चाहेको भनेर पटक-पटक ट्विट गरिरहेकी छिन्।

चीनले आफैं दिएको बाहेक औपचारिकरूपमा नेपाल सरकारले ऊसँग कुनै पनि सहयोग माग गरेको छैन।

जब कि नेपाल सरकारले भारत सरकारसँग भने पटक-पटक सहयोगको अपेक्षा गरिसकेको छ। बरु पश्चिमा देशहरूसँग सहयोगको सन्देश पुर्‍याइसकेको छ।

‘हामीले सबै देशहरूसँग महामारीसँगको लडाइँका लागि सहयोग उपलब्ध गराइदिन भनेर अनुरोधपत्र पठाएका छौं,’ परराष्ट्र मन्त्रालयका प्रवक्त्ता सेवा लम्साल भन्छिन्, ‘सुरुवात हामीले छिमेकीहरूबाटै गरेका हौं।’

तर, चीनले भने नेपाललाई सहयोग गर्नेबारेमा धेरै प्रस्ताव राखेको थियो। अस्थायी अस्पतालहरू बनाइदिनेदेखि लिएर अनेक सहयोगको प्रस्ताव गरिरहे पनि नेपाल सरकारले भने त्यतातिर खासै ध्यान दिएको छैन।

यसअघि पनि चीनले आफूले बनाएको कोरोना खोप नेपालमा भित्र्याउन थुप्रै प्रयास गरेको थियो। तर, त्यो बेला पनि नेपालले खासै चासो दिएन। चीनले केही जनसंख्यामा परीक्षण गर्ने र त्यसपछि खोप सहयोग गर्ने पनि भनेको थियो।

तर, नेपाल सरकारले खासै वास्ता नगरेपछि नेपालमा रहेका आफ्ना नागरिकलाई चीनमै बोलाएर खोप दिएर पठाएको थियो। त्यसपछि पनि चिनियाँ खोप भेरोसेल निर्माता कम्पनी सिनोफर्माका प्रतिनिधि नेपाल आएका थिए तर खोप किन्ने वा सहयोग लिनेबारेमा नेपालले खासै चासो दिए। त्यसपछि उनीहरू ‘निराश’ भएर फर्किएका थिए। त्यसको केही दिनपछि नै भारतले नेपाललाई १० लाख डोज कोभिसिल्ड ‘उपहार’ दियो। त्यसको एक महिनापछि चीनले पनि ८ लाख डोज भेरोसेल अनुदान दिएको थियो।

‘प्रस्तावहरू नआएका होइनन्। आएका हुन्। अहिले कुन-कुन देशले के-के प्रस्ताव गरे भनेर अहिले भन्न मिल्दैन,’ लम्साल भन्छिन्, ‘तर, हामीलाई आवश्यक पर्ने सहयोग गर्न भनेर हामीले पहिला नै पत्र लेखिसकेका छौं। हाम्रा दूतावासमार्फत राजदूतहरूले समन्वय गरिरहनुभएको छ।’

चीनका कतिपय प्रान्तमा नेपाललाई सहयोग पठाउने भनेर त्यहाँका नागरिकले पनि स्वास्थ्य सामग्रीहरू जुटाएका छन्। सरकारी तवरबाहेक चिनियाँ नागरिकस्तरबाट जुटेका सहयोग ल्याउनेबारेमा पनि नेपालले चासो दिएको छैन।

‘अहिलेका लागि त्यही ५० लाख युआनबराबरको सहयोग सामग्री हो। त्योबाहेक द्विपक्षीय सहकार्यमा काम गरिरहेका छौं,’ बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशील लम्साल भन्छन्।

महामारी सुरुवातमा चीनको वुहान कोरोनाग्रस्त भइरहँदा नेपालले पनि मास्कलगायत केही स्वास्थ्य सामग्री चीनका लागि सहयोग पठाएकाे थियो।

नागरिकस्तरको सम्बन्धमा काम गर्ने दुवै देशका मैत्री संस्थाहरूबीच पनि सहयोग आदान-प्रदान हुने यो परम्परा नै हो।

‘कोरोना नियन्त्रणमा चीनको अनुभव, निकटतम छिमेकीका हिसाबले पनि चीनले नेपालका लागि गर्नसक्ने काम थुप्रै छ,’ नेपाल-चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भट्टराई भन्छन्, ‘तर, उच्च लेभलको राजनीतिक र कूटनीतिक तहबाट पहल र चासो राख्दा नेपाललाई नै फाइदा हुन्छ।’

उनको संस्थामार्फत तीब्बतले नेपालका लागि १ करोडबराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। वुहानमा महामारी फैलिएका बेला परिषदले पनि चीनका लागि मास्क पठाएको थियो।

‘अहिले त सरकार कसरी जोगिने भन्ने दाउमा छ। कुन चाहिँ छिमेकीलाई खुसी पार्दा सरकार जोगिन्छ वा आफू बचिन्छ भन्ने छ,’ नेपाल-चीन सम्बन्धलाई नजिकबाट नियालिरहेका एक पूर्वराजदूतले भने, ‘योबाहेक अहिले सरकारले के नै गरेको छ र टिप्पणी गर्नु?’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले