‘सत्तामोह’ले जसपामा निम्त्याएको ‘ब्रेकअप’


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


काठमाडौं

नेपाली राजनीतिमा ‘वैकल्पिक शक्ति’ बन्ने उद्घोष गरेको जनता समाजवादी पार्टी (जसपा) अहिले विभाजनको औपचारिक घोषणा कुरेर बसिरहेको छ।

१० वैशाखमा एकताको पहिलो वसन्त पूरा गरेको जसपा यतिबेला विग्रहको भारीले थिचिएको छ। शीर्ष नेताहरू बीचको खिचातानी र ‘इगो’ले जसपालाई फुटको संघारमा उभ्याइदिएको छ।

एक वर्षअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएर जसपा बनेको थियो। स्वाभाविक र सैद्धान्तिकभन्दा बढी बाध्यात्मक अवस्थामा भएको थियो दुई पार्टीबीचको एकता त्यतिबेला।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीलाई लक्षित गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि रातारात दुवै पार्टीको एकता भयो।

पूर्वराजपाका कतिपय नेता आफूहरूले एकता गरेर तत्कालीन समाजवादी पार्टीको जीवन जोगाइदिएको तर्क पनि गर्छन्। एकता नगरिदिएको भए त्यतिबेलै समाजवादी पार्टीको विभाजन भइसकेको हुन्थ्यो भन्ने दावी उनीहरूको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरे। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि दुई महिनासम्म मौन बसेका ओलीको प्रतिनिधिसभाबाट विश्वासको मत लिने अप्रत्याशित निर्णयले एकछिन सबैलाई आश्चर्यचकित तुल्यायो। उनको त्यो निर्णयलाई कतिपयले फेरि संसद विघटनको षडयन्त्रसँग जोडेर पनि हेरे।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोजेपछि दलहरूको आन्तरिक र संयुक्त छलफलले तीव्रता पायो। ओलीले लिन खोजेको विश्वास मतलाई विफल पार्न नेताहरूको दौडधुप बढ्यो।

ओलीले आफैं विश्वासको मत लिने निधो गरेपछि जसपाभित्र हलचल नबढ्ने कुरै थिएन। किनभने जसपाको एक पक्ष (महन्थ–राजेन्द्र) प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वाद गरिरहेको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिने अघिल्लो दिन आइतबार जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो दिनभर लगभग व्यस्त देखिए।

बिहानै बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘हामी पक्ष–विपक्षतिर लाग्दैनौं। तटस्थ बस्छौं। उपेन्द्र यादवको कुरामा नफस्नुस्, धोका पाउनु हुन्छ’ भन्ने सुनाएर महन्थ र राजेन्द्र फर्किए।

बूढानीलकण्ठबाट निस्केर दुबै नेता बालुवाटारतिर सोझिए, प्रधानमन्त्री ओलीलाई भेट्न।

ओलीलाई पनि महन्थ र राजेन्द्रले आफूहरू तटस्थ बस्ने भरोसा दिलाए।

जवाफमा प्रधानमन्त्री ओलीले ‘तटस्थ बस्दा केही फरक परेन। तर विपक्षी गठबन्धनतिर नलाग्नुस्’ भन्ने आग्रह गरेका थिए।

दुवै नेता ‘त्यो सम्भव छैन’ भनेर बालुवाटारबाट निस्केका थिए।

यद्यपि विश्वासको मतको पक्ष, विपक्ष वा तटस्थ बस्नेबारे जसपाले आधिकारिक निर्णय गरिसकेको थिएन।

र, त्यही दिन शल्यक्रिया गराएर एक दिनअघि अस्पतालबाट घर फर्केका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जिज्ञासाका लागि पदाधिकारी तहका सबै नेता पुग्ने र त्यहीँ विश्वास प्रस्तावबारे निर्णय गर्ने तय भएको थियो।

तर, ठाकुर र महतोले पार्टीको आधिकारिक निर्णय नहुँदै विश्वासको प्रस्तावमा आफूहरू तटस्थ बस्ने कुरा ओली र देउवालाई भनिसकेका थिए।
भट्टराई निवास पुग्नुअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो सँगै लैनचौरस्थित भारतीय दूतावासतर्फ लागेका थिए। दूतावासभित्र केही बेर छलफल गरिसकेपछि दुवै नेता भट्टराई निवास पुगेका थिए।

विश्वासको प्रस्तावमा जसपाका महन्थ–राजेन्द्र समूह तटस्थ बस्नुलाई लैनचौरको इसाराको रूपमा हेरिएको छ।

‘उहाँहरू दूतावास जानु कुनै नौलो कुरा होइन पटक–पटक गइरहनु हुन्छ,’ जसपाका एक नेता भन्छन्,‘तटस्थ बस्ने उतैको इसारा होइन भनेर भन्न सकिँदैन।’

यद्यपि प्रधानमन्त्री ओलीले आफूहरूले अघि सारेको केही माग पूरा गरेको र बाँकी माग सम्बोधन गर्न प्रक्रिया अगाडि बढाएको हुँदा तटस्थ बस्ने निर्णय गरेको वरिष्ठ नेता महतो बताउँछन्।

आइतबार भट्टराई निवासमा जसपा पदाधिकारीरूको बैठकपछि विश्वास प्रस्तावमा तटस्थ बस्ने निर्णय भएको अध्यक्ष ठाकुरले बताएका थिए।
तर, जसपा कार्यकारिणी समिति सदस्य रेणु यादव पदाधिकारी बैठकले विश्वासको विपक्षमा मतदान गर्ने निर्णय गरेको दावी गर्छिन्। यद्यपि सांसदलाई आफ्नो विवेक प्रयोग गर्न सक्ने सहमति भएको उनले बताइन्।

आक्रामक उपेन्द्र, असहज महन्थ
विश्वास प्रस्तावको छलफलमा सोमबार सबै दलका शीर्ष नेताले बोल्ने कार्यसूची तय भएको थियो। त्यसैले कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मात्रै भाग लिएका थिए। यसैगरी जसपा शीर्ष नेताको तर्फबाट अध्यक्ष ठाकुरले छलफलमा भाग लिने तय भएको थियो।

तर, सभामुख अग्नि सापकोटाले अध्यक्ष ठाकुरपछि छलफलमा भाग लिन अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाए। विश्वासको प्रस्तावमाथिको छलफलमा अर्का अध्यक्ष यादवले पनि भाग लिने सम्भवतः महन्थ–राजेन्द्रहरूले सोचेका पनि थिएनन्।

अर्का अध्यक्ष यादवलाई छलफलमा भाग लिन लगाएर सभामुखले नै जसपाभित्र विभाजनको रेखा कोरिदिएको महन्थ–राजेन्द्र पक्षको आरोप छ।
छलफलमा भाग लिएका जसपाका दुवै अध्यक्षको शैली र हाउभाउ नै फरक देखियो। ठाकुर प्रधानमन्त्री र सरकारप्रति नरम देखिए भने अर्का अध्यक्ष यादव आक्रामक रूपले प्रस्तुत भए।

प्रतिनिधिसभामा ठाकुरको सोमबारको प्रस्तुतिलाई जसपाका कतिपय नेताहरूले ‘असहज’ प्रस्तुतिको रूपमा अर्थ्याएका छन्।

‘अध्यक्षज्यू हिजो प्रतिनिधिसभामा असहज देखिनुभयो। मधेशका माग सम्बोधनमा भइरहेको ढिलाइका लागि सरकारका साथै अन्य दलहरूलाई आलोचना गर्न राम्रो अवसर थियो,’ जसपाका एक नेता भन्छन्,‘उहाँ नराम्रो वक्ता होइन। तर, हिजो उहाँको त्यो रूप देखिएन।’

माग सम्बोधन गरेको भन्दै ठाकुरले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए।

ब्रेकअपको दिशामा
प्रधानमन्त्री ओलीको विश्वास प्रस्तावमा जसपा एक ढिक्का भएर बस्न सकेन। महन्थ–राजेन्द्र समूह सुरूदेखि भनिरहे झैं तटस्थ बस्यो भने बाबुराम–उपेन्द्र समूहले प्रस्तावको विपक्षमा मतदान गर्‍यो।

कुल ३२ सांसदमध्ये महन्थ–राजेन्द्र पक्षका १५ जना तटस्थ बसे भने बाबुराम–उपेन्द्र समूहका १५ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। लक्ष्मणलाल कर्ण र रुही नाज गरी दुई सांसद अनुपस्थित थिए।

विश्वासको प्रस्तावमा मत विभाजन हुनुको दोष महन्थ–राजेन्द्र समूहले अध्यक्ष यादवलाई दिएको छ। सत्तामोहले बाबुराम–उपेन्द्र समूहले प्रस्तावको विपक्षमा मतदान गरेको वरिष्ठ नेता महतो बताउँछन्। प्रतिनिधिसभामा देखिएको मत विभाजनले जसपा एक हिसाबले फुटिसकेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको उनको भनाइ छ।

मत विभाजनसम्ममात्र सीमित छैन जसपा विवाद। विश्वासको मत प्राप्त गर्न विफल भएर ओली स्वतः पदमुक्त भइसकेपछि अब जसपाको आन्तरिक लडाइँ वैकल्पिक सरकारको विषयलाई लिएर सुरू भएको छ।

अध्यक्ष यादव कांग्रेस र माओवादीसँग मिलेर गठबन्धनको सरकार बनाउन कसरत गरिरहेका छन् भने महन्थ–राजेन्द्र प्रधानमन्त्री ओलीलाई नै सहयोग गर्न चाहिरहेका छन्।

महन्थ–राजेन्द्र समूह तटस्थ बसेर प्रधानमन्त्रीलाई अप्रत्यक्ष ढंगले सहयोग गरेको विश्लेषण गरिएको छ। विश्वासको प्रस्तावमा तटस्थ बसेर महन्थ–राजेन्द्र समूहले गठबन्धनको सरकारलाई सहयोग नगर्ने प्रष्ट संकेत दिइसकेको उनीपक्षीय नेताहरूको बुझाइ छ।

अहिले त्यही विषयलाई लिएर जसपाको दुई समूहबीच टकरावको स्थिति छ।

जसपाको सग्लो सहयोगबिना गठबन्धनको सरकार बन्ने अवस्था तत्काल देखिँदैन। बाबुराम–उपेन्द्रहरू वैकल्पिक सरकार बनाउन प्रयास गरिरहेका छन् भने अध्यक्ष ठाकुरले मध्यरातमा विज्ञप्ति जारी गरेर जसपा सत्ताको खेलमा नरहेको बताइरहेका छन्।

वरिष्ठ नेता महतोले संसदमा मत विभाजन गराउनदेखि सरकार गठनका लागि एकलौटी अगाडि बढिरहे अध्यक्ष यादवलाई कारबाही गरिने बताएका छन्।

‘उपेन्द्रलाई सत्तामा पठाउन जसपा गठन भएको होइन, सरकार बनाउने वा सरकारमा सहभागी हुने कुनै निर्णय भएको छैन,’ महतो भन्छन्,‘उहाँ अपराधी हुनुहन्छ। पार्टीबाट निकाल्छौं।’

राष्ट्रपतिले उपेन्द्रको नभएर पार्टीको कुरा सुन्ने महतो बताउँछन्।

यता बाबुराम–उपेन्द्रपक्षीय जसपा नेता इस्तियाक राई वैकल्पिक सरकार गठन गर्ने पार्टीको निर्णय रहेको दावी गर्छन्।

‘वैकल्पिक सरकार बनाउने निर्णय पार्टीले गरेको छ,’ आयोमेलसँग उनले भने,‘राष्ट्रपति नजिक पार्टीकै निर्णय जान्छ।’

प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने नगर्ने विषयको विवादमा रूमलिएको जसपा अब ‘ब्रेकअप’ को दिशामा अगाडि बढिसकेको नेताहरूले बताउन थालेका छन्। पार्टीभित्र दिनहुँ भइरहने ‘टन्टा’ अन्त्य गर्न विभाजन नै भइदिए राम्रो हुने कतिपय नेता कार्यकर्ताको भनाइ छ।

‘आखिर एक न एकदिन यस्तो अवस्था आउने निश्चित नै थियो, सधैँ झैंझगडा गर्नुभन्दा छुट्टिएकै बेस हुन्छजस्तो लाग्न थालेको छ,’ जसपाका एक नेताले नेकपाको उदाहरण दिँदै भने,‘ठूला ठूला पार्टी त विभाजन भइरहेको छन्। हामी त धेरै सानो छौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू