भ्याक्सिन कमिसन प्रकरण

एजेन्टहरूसँग मिल्दामिल्दै अचानक चिसिए स्वास्थ्यमन्त्री त्रिपाठी


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र व्यापारी सुरज–ऋतु वैद्यबीचको सम्बन्ध पुरानो र ‘सौहार्द्रपूर्ण’ थियो। भारतीय सम्पर्कलाई बढी प्राधान्य दिने त्रिपाठीले पूर्व मिस इन्डिया ऋतुलाई प्रेमपूर्वक ‘बेहेनजी’ भन्थे। ‘भैयाजी’ स्वास्थ्यमन्त्री बनेपछि ‘बेहेनजी’ ले टेलिफोनमा हार्दिक बधाइ दिँदा मिष्ठान्न वार्ता भयो। र, त्रिपाठीले ‘मिलेर राम्रो काम गर्नुपर्छ’ भन्ने स्नेहपूर्ण अभिव्यक्तिसमेत दिए।

नेपालमा सबैभन्दा महँगा गाडी बेच्ने, बाबुकै पालादेखि मालदार सरकारी खरिदका एजेन्ट बनेर धनधान्य बनेको विरासत बोकेका सुरज वैद्यको त्रिपाठीसँग लामो समयदेखिको संगत हो। त्रिपाठी केही वर्षअघि बिरामी पर्दा मन फुकाएर सहयोग गर्न जानेमा वैद्य पनि थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दमक ग्रिन इन्डस्ट्री पार्क, नेपा भ्रमण वर्ष २०२० देखि अनेकानेक परियोजनामा लपक्कै प्रभावित गर्न सफल वैद्यका लागि त्रिपाठी स्वास्थ्यमन्त्री बन्न आइपुग्नुले कुनै असहजता महसुस गराएन।

कुरा राम्रैसँग अगाडि बढ्ला भन्ने भयो।

आफ्नी पत्नीको भारत सम्पर्क, आफ्नो नेपालमा प्रधानमन्त्रीको बेडरुमसम्मकै पहुँच। त्यससँगै भारत र प्रधानमन्त्री दुवैलाई मिलाउँछु भनेर बजेटवाला स्वास्थ्य मन्त्रालय आएका त्रिपाठी।

वैद्य दम्पतीले स्वास्थ्य मन्त्रालयमा भानुभक्त ढकाल छँदै एउटा लाइन तेस्र्याइसकेका थिए। सन् २०२० अक्टोबर महिनामा सेरम इन्स्टिच्युट अफ इन्डिया र स्वास्थ्य मन्त्रालयबीच एउटा सहमति हुनगयो– ‘२ करोड डोज खोप नेपाललाई उपलब्ध गराउने।’

जुन वैद्य दम्पतीको योजनाअनुसारै भएको हो। अक्सफोर्ड युनिभसिर्टी र एस्ट्राजेनेकाले विकास गरिरहेको कोभिसिल्ड खोपको ‘फेज थ्री ट्रायल’ चलिरहँदा उक्त खोप खरिद मौकामै, अरूभन्दा पहिले नै गराउने रणनीतिअनुसार सहमति गराइएको थियो। ओली सरकारको जुनसुकै तहको संयन्त्रमा बोलावाला भएका वैद्यलाई त्यो कुनै ठूलो कुरा पनि थिएन।

कोरोना खोपको अथाह व्यापार, अपार फाइदाबारे वैद्य दम्पतीलाई विश्वस्त गराउने काम चाहिँ अर्का व्यापारी विजय दुगडले गरेका थिए। यो गएको दसैंताकाकै कुरा हो। नेपालमा हुकुम इन्टरप्राइजेजका नाममा केही औषधी जेनतेन उत्पादन गरिरहेका दुगडको ससुराली खलकले भारतै बसेर काम गर्ने उनका छोरामार्फत् सेरमसँग सम्पर्क गराएका थिए। लगातार व्यापारमा घाटा खाइरहेका दुगडलाई खोपको व्यापारले एकैचोटि माथि उकास्छ भन्ने पर्ने नै भयो।

तर, त्यसको व्यापारको स्थानीय व्यवस्थापननिम्ति चाहिने करोडौंको बैंक ग्यारेन्टी र ब्याकअप चाहिँ उनीसँग थिएन। त्यसैले उनी पुराना चिनजानका साथी वैद्यकहाँ पुगे, जो आयातमुखी ठूला व्यापारका एजेन्ट बन्दाका फाइदाबारे राम्रा भुक्तमान हुन्। वैद्यले कमिसनको कुरामा समयान्तरमा विवाद हुनसक्ने भएकाले त्यसको भागबण्डाका लागि नयाँ कम्पनी खडा गर्ने, त्यसको आधा हिस्सा आफ्नो र पत्नी ऋतुको नाममा राख्ने प्रस्ताव गरे। मन्जुरी भयो, कम्पनीको नाम राखियो– हुकुम डिस्ट्रिब्युटर एन्ड लजिस्टिक प्राइभेट लिमिटेड।

सेरमको आधिकारिक स्थानीय एजेन्ट चाहिँ हुकुम इन्टरप्राइजेज नै हुने भयो। काम जति इन्टरप्राइजेजका नाममा, नाफाको बाँड्तीबुड्ती चाहिँ अर्को कम्पनीबाट। र, यो तजबिजसँगै वैद्यको पहलमा स्टयान्डर्ड चार्टर्ड बैंकले २० करोडको ग्यारेन्टी पनि दियो हुकुम इन्टरप्राइजेजलाई।

अब कोभिसिल्डलाई नेपालमा सबैभन्दा पहिले ल्याउन दुगड सेरमतर्फ, वैद्य दम्पती भारतीय लबीतर्फ सक्रिय भए। यसमा पत्नी वैद्यको बढी सक्रियता रह्यो। माघ ३ गते भारत सरकारले ‘विश्वकै सबैभन्दा ठूलो खोप कार्यक्रम’ सुरु गर्दै स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीलाई कोभिसिल्ड लगाउन थालेपछि वैद्य दम्पतीको काठमाडौंस्थित भारतीय दूतावास प्रवेश बाक्लियो।

‘यसमा भूराजनीतिक विषयलाई पनि ध्यान दिनुपर्छ, खोप चाँडै ल्याइहाल्नुपर्छ भनेर उनीहरूले विशेष जोड गरेका थिए,’ निकटवर्ती स्रोतले आयोमेलसँग भन्छ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली माघ पहिलो साता नयाँदिल्ली भ्रमणमा रहँदा पनि यो अजेन्डा राख्न लगाउन जोड गरिएको थियो। तर, भारत आफैं भर्खर सुरु गर्न लागिरहेको अवस्थामा कुनै ठोस कुरा हुनसकेको थिएन।

खोप अभियानको दुई सातापछि भारत सरकारले आफ्ना मित्रवत मुलुकलाई उपहारस्वरूप कोभिसिल्ड खोप वितरण गर्ने योजना कार्यान्वयन गर्न थाल्यो। ‘भ्याक्सिन कुटनीति’ को यो उदार कार्यअन्तर्गत नेपालले पनि १० लाख डोज पाउने भयो, जुन माघ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।

खोप आगमनको यो विन्दुसम्म हृदयेश र वैद्य दम्पतीबीच नियमित बातचित भएको छैन। किनकि, खरिद सुरु भएकै थिएन।

अनुदानको खोप आउन त आयो, तर अब खरिद पनि त अगाडि नबढाइ भएन। यसमा वैद्य पक्ष काठमाडौंस्थित भारतीय दूतावास, दिल्लीस्थित नेपाली दूतावास हुँदै सेरमलाई ‘पुस’ गर्ने–गराउनेतिर तल्लिन भयो।

स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ जानकारहरू मन्त्री त्रिपाठी र वैद्य पक्षबीच यही विन्दुबाट चिसोपन सुरु भएको बताउँछ। खास खरिदको काम त स्वास्थ्य मन्त्रालयबाटै हुने हो। सरकारले नै किन्ने हुनाले भाउमा विशेष हेरविचार गरिदेउ भनेर सेरमलाई दबाबसम्म दिने काम भारतीय दूतावासबाट भएको थियो। यो सबै प्रक्रियामा आफूलाई मन्त्रीका रूपमा ‘इन्भल्भ’ नगराएको भन्ने त्रिपाठीलाई परेको निकटवर्तीहरू बताउँछन्।
उनलाई एजेन्टहरूप्रति त्यतिबेलैदेखि असुरक्षा भाव पलाएको खरिद प्रक्रियामा नियमित खटिएका स्वास्थ्य सेवा विभागका एक अधिकृत बताउँछन्। खोप खरिदमा प्रधानमन्त्री, मन्त्रीदेखि ठुल्ठूला सबै तालुक सामेल हुने भए पनि सेरम वा कुनै पनि विदेशी उत्पादकसँग व्यवहार गर्ने चाहिँ विभाग नै हो।

एजेन्ट पक्ष र मन्त्रीबीच खचमच त्यति बेलैदेखि सुरु भए पनि सेरमले थप २० लाख डोजका लागि प्रतिडोज बिक्री मूल्य ४ अमेरिकी डलर भनेर सम्झौता गरिसक्दा स्थानीय एजेन्टले कमिसन भनेर खोचे थापेपछि द्वन्द्व सतहमा आएको हो।

मन्त्री त्रिपाठीले सम्झौतालगत्तै १ अर्ब भुक्तानी पठाउँदासम्म वैद्य र दुगड अलमलमा थिए। मन्त्रीले चिप्ल्याउने भए भन्ने उनीहरूमा परेको देखिन्छ। लगत्तै १० लाख डोज आई नै हालेको अवस्था थियो। बाँकी १० लाख डोजमा कमिसनको अत्तो थाप्ने, त्यसमा नमिलेपछि खरिद गरिने लटमा चाहिँ नगुमाउने भनेर वैद्य र दुगड लागे।

आइसकेको १० लाख डोजको कमिसन छाड्ने भनेर कागजसम्म गराउन वैद्य पक्षले वालुवाटारको शक्ति लगाएको जानकार स्रोत बताउँछ। त्यतिसम्म गर्दा मन्त्री त्रिपाठीले एजेन्टहरूबाट कुनै न कुनै प्रस्ताव कुरेको तर कुरा मिल्न नसकेको मन्त्रालय स्रोत बताउँछ।

‘नत्र गर्नै नमिल्ने कागज मन्त्रीले त्यतिबेला किन गर्न दिए?, अहिले कराउन सक्ने मन्त्रीले गर्दिनँ भनेर त्यै बेला अडान लिन सक्थे नि,’ एक महाशाखा प्रमुख भन्छन्।

मन्त्री र एजेन्ट पक्षको यो द्वन्द्वले सुलह नपाइसक्दै थप ५० लाख डोज खरिदको प्रस्ताव स्वास्थ्य सेवा विभागबाट सेरमकहाँ पुग्छ। ठिक त्यो अवस्थामा चाहिँ वैद्य र दुगडले खेलेका छन्। सेरमले आगामी कारोबार स्थानीय एजेन्टमार्फत गर्न–गराउन भनेर नेपाल सरकारलाई पत्र लेख्छ र अबको बिक्री ४ डलरमा हुन नसक्ने पनि उल्लेख गर्छ।

त्यतिबेलै एजेन्ट दुगड कम्पनी मूल्य यति र एजेन्ट कमिसन यति भनेर प्रस्ताव लिएर विभाग पुग्छन्। दुगडका लागि यो डिल पैसा कमाउने ठूलो सपना हो, अझै छ। त्यही भएर उनी बढी हौसिएको, यही कुरालाई लिएर पछिल्लो समय वैद्य र दुगडबीच मनमुटावसमेत भएको स्रोतहरू बताउँछन्।

ठ्याक्कै त्यही बेला भारतमा दोस्रो लहरले राँको बाल्न थाल्छ। भारतका ‘हटस्पट’ हरूमा अक्सिजनको चरम अभाव हुनथाल्छ, खोपको हाहाकार हुन्छ। सेरमको एउटा भवनमा आगो पनि लाग्छ। भारत सरकारले कुनै पनि खोप, औषधी निर्यात नगर्ने निर्णय गर्छ। सेरमले पनि स्वास्थ्य सेवा विभागलाई पत्र लेख्दै आगजनीका कारण उत्पादन प्रभावित भएको हुनाले तत्काल बाँकी १० लाख डोज पठाउन नसक्ने, केही समयभित्र पठाउन नसके भुक्तानी भइसकेको रकम फिर्ता गर्ने जानकारी दिन्छ। यो पत्रको मिति मार्च ३ छ, अर्थात् फागुन १९।

र, डेढ महिनापछि आएर बल्ल स्वास्थ्यमन्त्री मुख खोल्छन्– ‘एजेन्टले काम गर्न दिएनन्।’

स्वास्थ्यमन्त्रीको यो मौनताबीच नेपालमा पनि दोस्रो लहरले पखेटा हाल्छ। उनको प्रधानमन्त्रीे समूहसँग तालमेल नमिलेका समाचार बाहिरिइरहन्छन्। शिक्षा मन्त्रीसँगको असमझदारी त सार्वजनिक नै हुन्छ। तर, त्यसबीच अन्य विदेशी खोप (चिनियाँ भेरोसेल, रुसी स्पुटनिक–भी र भारतीय कोभ्याक्सिन) नेपाल भित्रिने प्रयासमा पनि उनको भूमिका सहज देखिन्न। उनले ती सबै खोपका लागि सम्बन्धित कम्पनीहरूले निजी स्तरमा बिक्रीका लागि पेस गरेका रेट अप्रुभल निवेदनका फाइल डेढ महिना अडकाइदिन्छन्। मागे जति डोज दिन्छु, पाउडरका रूपमा ल्याएर नेपालमै झोल बनाउने सेटअप राख्छु भन्ने स्पुटनिकको प्रस्ताव झन्डै दुई महिना रोकिदिन्छन्।

खोप भित्र्याउने धन्दामा लागेका एक व्यापारी भन्छन्, ‘हाम्रा स्वास्थ्यमन्त्री व्यापारीको फोन सधैं उठाउँछन्, हुन्न कहिल्यै भन्दैनन्, सधैं भोलि भन्छन्। काम चाहिँ महिनौं गर्दैनन्।’

अबको चुनौती
सेरमले दिनुपर्ने १० लाख डोज अझै दिएको छैन। पहिलो डोज कोभिसिल्ड लगाएकालाई दोस्रो नभएमा के दिने भन्ने ठूलो मानवीय प्रश्न छ। यसले ठूलो चिकित्सकीय संकट निम्त्याउन सक्छ।

यसबीचमा प्रधानमन्त्री ओलीलाई चुनाव चिह्नदेखि स्वास्थ्य मन्त्रालयसम्मको डिलमा पट्ट्यायाउन सक्ने त्रिपाठी के गरेर बसे? उनी किन हटेनन्, अनि ओलीले उनलाई किन हटाउन सक्दैनन्? जनता कोरोनाको अग्नि कुण्डमा परेको पर्‌यै छन्। ओली त सत्ता टिकाउन लागिपरेका छन्, त्रिपाठी चाहिँ?

खोप कमिसनमा ओली समूह र त्रिपाठीबीच द्वन्द्व त प¥यो नै, तर जनता अगाडि उनीहरू कुन लाजले उभिन्छन्?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने