जहाजै नउडाइ विदेशी पाइलटलाई साढे ६ करोड तलब भुक्तानी


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


नेपाल वायुसेवा निगमले ‘लकडाउन’ अवधिमा एक मिनेट पनि जहाज नउडाएका १० विदेशी पाइलटलाई तलबवापत साढे ६ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको तथ्य फेला परेको छ। 

कामै नगरी लाखौं तबल खाएका ती सबै ‘भाग्यमानी’ २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजका ‘वाइड बडी’ र १ सय ५८ सिटे ‘ए३२०-२००’ सिरिजका ‘न्यारो बडी’ जहाज उडाउने वरिष्ठ क्याप्टेन हुन्। निगमसँग दुईथान वाइड बडी र दुईथान न्यारो बडी जहाज छन्। उनीहरूले लकडाउन सुरु भएयता जहाज उडाउन पाइलट बस्ने ‘ककपिट’ मा पाइलासमेत हालेनन्। 

निगम उच्च स्रोतले आयोमेललाई उपलब्ध गराएको कागजातअनुसार निगम व्यवस्थापनले भारतका तीन, पाकिस्तानका तीन तथा अस्ट्रेलिया, टर्की, श्रीलंका र बेलायतका एक-एक गरी १० पाइलटलाई लकडाउन अवधिमा तलबवापत ५ लाख ४४ हजार अमेरिकी डलर (६ करोड ५३ लाख रुपैयाँ) भुक्तानी गरेको छ। उनीहरूलाई २०७६ चैतदेखि २०७७ असारसम्मको तलब दिइएको हो। 

‘ती १० विदेशी पाइलटले लकडाउन अवधिमा एक मिनेट पनि जहाज उडाएनन् तर व्यवस्थापनले सबैलाई तलब भुक्तानी गरेको छ,’ निगम स्रोतले मंगलबार आयोमेलसँग भन्यो, ‘राष्ट्रिय ध्वजावाहक कसरी डुबाइँदैछ भन्ने योभन्दा गतिलो उदाहरण अरू खोज्नु पर्दैन।’

केही पाइलट लकडाउन सुरु हुनुअघि नै नेपाल छाडेर आफ्ना देश गएका थिए भने कसैको हात भाँच्चिएर स्वास्थ्यलाभ गरिरहेका छन्। निगम व्यवस्थापनले ती सबैको तलब भुक्तानी गरिदिएको छ।

थप आश्चर्य के छ भने तीमध्ये केही पाइलट लकडाउन सुरु हुनुअघि नै नेपाल छाडेर आफ्ना देश गएका थिए भने कसैको हात भाँच्चिएर स्वास्थ्यलाभ गरिरहेका छन्। निगम व्यवस्थापनले ती सबैको तलब भुक्तानी गरिदिएको छ।

कागजातअनुसार ए३३० वाइड बडी जहाजका वरिष्ठ क्याप्टेन टर्कीका एट्टिला एडिन नेपालमा लकडाउन जारी हुनुअघि नै आफ्नो देश फर्किएका थिए। लकडाउनमा उनले एउटा पनि उडान गरेनन्। तर, निगमले उनको बैंक खातामा तलबवापत ६३ हजार ३ सय ३३ डलर (७६ लाख रुपैयाँ) हालिदियो।

अस्ट्रेलियाका वरिष्ठ क्याप्टेन इयान डेभिस पनि लकडाउन सुरु भएदेखि युएईको दुबईमा छन्, जहाज उडाउने कुरै भएन। तर, निगम व्यवस्थापनलाई भने उनको तलब भुक्तानीको हतारो थियो, अनि उनको खातामा हालिदियो ५५ हजार ८ सय डलर (६७ लाख रुपैयाँ)।

छिमेकी भारतबाट निगमको वाइड बडी उडाउन आएका वरिष्ठ क्याप्टेन सुधिर तोमरले पनि ककपिटमा पाइला नहाली लकडाउन अवधिको तलबवापत ६३ अजार ३ सय डलर (७६ लाख रुपैयाँ) बुझेका छन्।   

यस्तै अर्का भारतीय वरिष्ठ क्याप्टेन कन्वालिट चिमाले पनि एउटै उडान नगरी तलबवापत ५५ हजार डलर (६६ लाख रुपैयाँ) भुक्तानी लिएका छन्। अर्को अचम्म के छ भने यिनले निगम प्रवेश गरेको २०७६ कात्तिक दोस्रो सातादेखि लकडाउन सुरु हुनुअघिसम्म जम्मा एउटामात्र उडान गरेका थिए।

क्याप्टेन चिमासँगै निगम प्रवेश गरेका अर्का भारतीय वरिष्ठ क्याप्टेन सुधिर गौरले पनि जम्मा एक उडान गरेका छन्। तर, लकडाउनभरि ककपिट नछिरेका उनलाई निगमले ५२ हजार ५ सय डलर (६३ लाख रुपैयाँ) तलब भुक्तानी दियो।

त्यसैगरी श्रीलंकाबाट निगम आएका वरिष्ठ क्याप्टेन रोरी मिरान्डोलाई निगमले ५८ हजार ३ सय डलर (७० लाख रुपैयाँ) तलब भुक्तानी दिएको छ। लकडाउनभन्दा तीन महिनाअघि हात भाँच्चिएपछि जहाज नउडाएका उनले लकडाउन अवधिमा एउटा पनि उडान गरेनन्। 

तर, निगमले क्याप्टेन मिरान्डोलाई सन् २०२० फेब्रुअरीदेखि जुनसम्म पाँच महिनामध्ये अप्रिलको तलब नदिए पनि बाँकी चार महिनाको तलब भने सबै भुक्तानी दिएको छ।

त्यसैगरी पाकिस्तानबाट आएका ए३३० वाइड बडीका प्रशिक्षक पाइलट यायावर कमाललाई गत चैत र वैशाखको गरी तलबवापत ५० हजार डलर (६० लाख रुपैयाँ) भुक्तानी गरिएको छ। लकडाउनमा एउटा पनि उडान नगरेका कमालले वैशाखमा राजीनामा दिएका थिए।

अर्का पाकिस्तानी वरिष्ठ क्याप्टेन मोहम्मद आरिफले पनि लकडाउनमा कुनै उडान गरेनन् तर निगमले उनलाई चैत र वैशाखको गरी ५० हजार ८ सय डलर (६१ लाख रुपैयाँ) तलब भुक्तानी गरेको छ। उनले पनि वैशाखमै राजीनामा बुझाएका थिए।

बेलायतबाट आएका वरिष्ठ क्याप्टेन रोलान्डो कुचीले लकडाउनमा एउटा पनि उडान नगरे पनि निगमले तीन महिनाको ५७ हजार ५ सय डलर (६९ लाख रुपैयाँ) तलब दिएको छ।

त्यस्तै ए३२० न्यारो बडी जहाज उडाउने पाकिस्तानका प्रशिक्षक पाइलट मोहम्मद घानीले पनि लकडाउनमा उडानै नगरे पनि निगमले चैत, वैशाख र जेठ गरी तीन महिनाको तलबवापत ३५ हजार ८ सय डलर (४३ लाख रुपैयाँ) भुक्तानी दिएको छ। उनलाई जेठमा सेवाबाट हटाइएको थियो।

‘विदेशी पाइलटलाई एक मिनेट पनि जहाज उडाउन नदिनुको अर्थ हामीलाई पाइलट आवश्यक छैन भन्ने हो। जनताले तिरेको करबाट चल्ने संस्थामा यस्तो फजुल भुक्तानीको रकम सम्बद्ध विभागीय प्रमुखबाट असुलउपर गरिनुपर्छ।’

‘जहाज उडाउन भर्ना गरेपछि निगम व्यवस्थापनले त्यो काम लगाएको खोइ? काम पनि नलगाउने अनि फोकटमा करोडौं भुक्तानी गर्ने?,’ निगमका एक वरिष्ठ क्याप्टेनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आयोमेलसँग भने, ‘विदेशी पाइलटलाई एक मिनेट पनि जहाज उडाउन नदिनुको अर्थ हामीलाई पाइलट आवश्यक छैन भन्ने हो। जनताले तिरेको करबाट चल्ने संस्थामा यस्तो फजुल भुक्तानीको रकम सम्बद्ध विभागीय प्रमुखबाट असुलउपर गरिनुपर्छ।’

निगम व्यवस्थापनले महिनामा ३० घन्टाभन्दा कम जहाज उडाएका पाँच विदेशी वरिष्ठ क्याप्टेनलाई पनि उल्लेख्य दरमा तलब भुक्तानी गरेको छ। उनीहरूलाई वैशाख र जेठ दुई महिनाको तलबवापत ३ लाख ५९ हजार डलर (४ करोड ३१ लाख रुपैयाँ) दिइएको छ।

पाकिस्तानका जाबेद चौधरीलाई ५२ हजार ५ सय डलर (६३ लाख रुपैयाँ), बेलायतका उदय कोल्हात्करलाई ६३ हजार ३ सय डलर (७६ लाख रुपैयाँ), भारतका प्रियपाल सिंहलाई ७६ हजार ६ सय डलर (९२ लाख रुपैयाँ), अस्ट्रेलियाका जेम्स किपलाई ८९ हजार १ सय डलर (१ करोड ७ लाख रुपैयाँ) र भारतका नागराज शंकरमूर्तिलाई ७७ हजार ५ सय डलर (९३ लाख रुपैयाँ) भुक्तानी दिइएको छ।

तीमध्ये भारतका प्रियपालले लकडाउनभरि चार र नागराजले तीनवटा मात्र उडान गरेका थिए भने अस्ट्रेलियाका जेम्सले १० उडान गरेका थिए। ६५ वर्ष उमेर हदका कारण क्याप्टेन जेम्सले जेठ र कुचीले वैशाखमा अवकास पाएका थिए।

उडानै नगरी विदेशी पाइलटलाई तलबवापत करोडौं रकम भुक्तानी दिइएको विषयमा निगमकी प्रवक्ता अर्चना खड्काले सबै पाइलटको करार सम्झौताअनुसार तलब तोकिएको हुनाले भुक्तानी भएको हुनसक्ने बताइन्।

‘ती विदेशी पाइलटले एउटा पनि उडान नगरेको त होइन होला!,’ प्रवक्ता खड्काले आयोमेलसँग भनिन्, ‘करार अवधि सकिएकाले नउडाएका होलान्। बाँकी कुरो बुझेर जानकारी दिउँला।’

कारोना भाइरस महामारीका कारण सरकारले २०७६ चैत ११ बाट मुलुकभर आवतजावत बन्द गर्न लकडाउन गरेको थियो। लकडाउन साउन ६ गते मध्यरातबाट हटाइए पनि नियमित हवाई उडान भने सुचारु भएका छैनन्।

लकडाउन अवधिमा निगमले जापान, चीन, अस्ट्रेलिया, साउदी अरब, दुबई, भारत, बहराइन, मलेसिया, कतार, कुबेतलगायत देशमा उद्धार उडान गरिरहेको छ। सँगै काम गर्ने विदेशी पाइलटका दाँजाेमा नेपाली पाइलटले नगण्य तलब पाउँदै आए पनि जहाज उडाउन भने नेपालीलाई बढी खटाउने गरिएकाे छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न