कोरोनालाई गिज्याउँदै हायात होटलमा ३ सयभन्दा बढी भारतीयको बिहेभोज


विचार
आयोमेल संवाददाता
सार्वजनिक जग्गा अतिक्रमण गरेर भवन निर्माण

जनकपुरधाम–जनकपुरको तिरहुतिया गाछीको सार्वजनिक जग्गा अतिक्रमण गरेर भवन निर्माण गर्न

आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड


काठमाडौं–सरकारले विवाह, व्रतबन्धमा बढीमा १५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि राजधानी काठमाडौंको एक प्रमुख पाँचतारे होटल हायातमा तीन दिनदेखि ३ सयभन्दा बढी भारतीय भेला भएर वैवाहिक कार्यक्रम गरिरहेका छन्।

होटलका एक अधिकारीका अनुसार ती सबै भारतीय हवाई मार्गबाट नेपाल आएका हुन्। उनीहरूका लागि सुरुमा होटलका १ सय ३० वटा कोठा बुक गरिए पनि पछि घटाएर ८० वटा बुक गरिएको छ। एउटा कोठामा तीनदेखि चारजना तीन दिनदेखि बसिरहेका छन्। बेहुला–बेहुलीसहित सबै भारतबाटै आएका हुन्।

सरकारले वैशाख १६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको छ। बिहे, व्रतबन्धलगायत कार्यक्रममा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने र यसका लागि पनि स्थानीय प्रशासनसँग अग्रिम अनुमति लिनुपर्छ।

बिहे भाेजका लागि मञ्च र टेबल कुर्सी मिलाउँदै कामदार। तस्बिर: दिनेश गाेले

ती भारतीय वैशाख १५ देखि हायातमा सुरु तीन दिने बिहे भोजमा सहभागी छन्। होटल व्यवस्थापनले पनि यसबारे स्थानीय प्रशासनसँग कुनै अनुमति नलिएको ती अधिकारीले दाबी गरे। होटलको प्रवेशद्वारको ठिक सामुन्ने बौद्ध प्रहरी कार्यालय रहे पनि होटलभित्र सयौंको भीडभाड जारी छ। तर, प्रहरीले चासो दिएको छैन।

‘बिहे भोजमा सहभागी लगभग कसैले पनि मास्क लगाएका छैनन्। कोरोना संक्रमण ह्वात्तै बढेका बेला यतिविधि खेलाँची गरेपछि गम्भीर दुर्घटना हुनसक्ने सम्भावना उच्च छ,’ सोही बिहे भोजमा पाहुनाको सेवामा खटिएका हायातका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा शुक्रबार आयोमेलसँग भने, ‘हामीले त मास्क लगाएका छौं तर पाहुना कसैले मास्क नलगाएका कारण हामीसमेत जोखिममा परेका छौं।’

उनका अनुसार वैवाहिक कार्यक्रमको अन्तिम दिन आज साँझ ६ बजेपछि कम्तिमा ३ सयजना सहभागी हुने होटललाई जानकारी गराइएको छ। यही बिहे भोजमा सहभागी हुन करिब १ सयजति नेपाली पनि आउने भनिएको छ। आज साँझको कार्यक्रमका लागि होटल परिसरमा मेच, टेबुल, कुर्सीदेखि स्टेज सजावटको काम भइरहेको छ।

होटल हायात भारतीय व्यवसायी राधेश्याम सर्राफको हो। त्यही भएर भारतीयले यही होटल रोजेका हुन्। तीन दिनको बिहेभोज कार्यक्रमबाट होटललाई करिब २ करोड रुपैयाँबराबरको आम्दानी हुने सम्बद्ध एक अधिकारीले जानकारी दिए।

भारतीय बिहेभोजमा उपस्थित पाहुनाको सेवा सत्कारका लागि होटल व्यवस्थापनले कम्तिमा १ सय कर्मचारीलाई घर जान नदिई होटलमा राखेर काममा खटाइरहेको छ।

‘हामी त निमुखा कामदार हौं। कोरोना महामारीका बेला यत्रो विशाल भीड जम्मा गरेर भोज गर्दा संक्रमणको जोखिम उच्च भएको छ,’ भारतीय पाहुनाको सेवामा खटिएका हायातका एक वेटरले भने, ‘यही भीडमा तीन जना भारतीयलाई कोरोना संक्रमण भएको खबर फैलिइसक्यो। हाम्रा स्थानीय निकायले बेवास्ता गरेपछि हाम्रो के लाग्छ र?’

उनका अनुसार बिहेभोजका पाहुनलाई चिया पिलाउन भारतबाटै आएका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार उनलाई होटलबाट बाहिर पठाइएको थियो।

सँगै काम गरिरहेका एक साथीलाई बिहीबारबाट रुघाखोकी, ज्वरो आउने र जीउ दुख्न थालेपछि होटलकै एउटा कोठामा आराम गरेर बसिरहेको उनले बताए। उसलाई पनि कोरोना संक्रमण भएको शंका लागेको उनले बताए।

‘एकैचोटि ठूलो संख्यामा भारतीयको बिहेभोज कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम हुने भन्दै मसहित केही साथीले ज्यानभन्दा ठूलो जागिर होइन भनेर बिदा बसेका छौं,’ अर्का एक कर्मचारीले भने, ‘होटलमा कार्यरत माओवादी, नेपाली कांग्रेस र एमाले निकट मजदुर युनियनले जोखिम नमोल्न आग्रह गरे पनि व्यवस्थापनले बेवास्ता गर्दै बिहेभोज कार्यक्रम गर्न दियो। सबै भारतीय शनिबार भारत फर्कने कार्यक्रम छ।’

माओवादी पार्टीनिकट अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, कांग्रेस निकट नेपाल पर्यटन, होटल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक संघ र एमाले निकट नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले सयौं सहभागी हुने गरी बिहेभोजको कार्यक्रम नगर्न आग्रह गरेका थिए।

अर्को कुरा, होटलका महाप्रबन्धक राजेश रामदास अहिले आफैं क्वारेन्टिनमा बसिरहेका छन्। उनी केही दिनअघि भारतबाट फर्केका थिए। उनी होटलकै एउटा कोठामा क्वारेन्टिनमा बसिरहेका छन्।

कोरोना महामारीका बेला सयौं भारतीयको भीड जम्मा गरेर तीन दिनदेखि बिहेभोज कार्यक्रम आयोजना गरिएको बारे बुझ्न खोज्दा होटल व्यवस्थापनका कुनै पनि अधिकारी सम्पर्कमा आउन चाहेनन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक जग्गा अतिक्रमण गरेर भवन निर्माण

जनकपुरधाम–जनकपुरको तिरहुतिया गाछीको सार्वजनिक जग्गा अतिक्रमण गरेर भवन निर्माण गर्न थालिएपछि प्रहरीले निर्माण सामग्री नियन्त्रणमा लिएको छ। गुठी संस्थानमातहत रहेकाे

नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु, ५४५५ जना…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बीचमा ८१६७ जना संक्रमित

नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड