संघर्ष र साधनाले खारिएका सुदूरको साहित्यिक जागरणका अभियन्ता जोशी


विचार
आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले

आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम


एक जीवन! बस, बेफिक्री जीवन।

गोठालो गयो। भावरी खोलामा माछा मार्यो। कहिले द्वारीखोला त कहिले छडीखोलाको जंगलमा बस्तुभाउ छोड्यो।

अनि दौतरीहरूसँग घरकुट्टी, बेहुला–बेहुली, लुकामारी। 

चराका गुड खोज्दै उधिन्यो, बस यस्तै।

कुनै लक्ष्य थिएन, भविश्यको। कुनै योजना थिएन, जीवनको। 

थियो त केवल बेप्रवाह बालापन।

यो उमेर नै त्यस्तै।

अनि स्कुल जाने रहर?

स्कुल जाने सोच भएर मात्रै के गर्नु, कतै नजिक स्कुल पनि त थिएन।

त्यसैले उनको बालापन गोठालो बनेर बित्यो।  

उपन्यासका कुनै काल्पनिक हरफ होइनन्,  बरु साहित्यकार रामलाल जोशीका सजीव भोगाई हुन् यी। 

‌…

बुबा हरिभक्तको निधन हुँदा उनी जम्मा ७ वर्षका थिए।

भाइ गणेश ३ वर्षको र बैनी गर्भमै। 

७ वर्षकै उमेरमा बुवा उनी घरको जेठो छोरो थिए।  

‘विधवा’ हुँदा उनकी आमा त'लसादेवीको २४ वर्षकी थिइन्।

भर्खरै त रंगीन हुँदैथियो जीवन, एकाएक बेरंग भइदियो। 

लालाबाला सानै भएकाले उनकी आमा तुलसादेवी हड्डी घोटेरै भए पनि आफ्ना सन्तान्‌का लागि सिंगो धर्ती  र आकाश बनेकी थिइन्।

बाआमा दुबैको भूमिका निर्वाह गरेर उनकी आमाले जीवनमा कहिल्यै कुनै कुराको अभाव  हुन दिइनन्। 

बुवा  धार्मिक र आध्यात्मिक स्वभावका थिए। प्राय तीर्थाटनका लागि  काशी, गया हरिद्वार बम्बइ घुमिरहन्थे। यसरी घुम्ने क्रममा झोलाभरि धार्मिक र आध्यात्मिक किताब ल्याएर आउँथे। जोतिषशास्त्रका विद्वान थिए। 

घरमा बोराका बोरा त पात्रोहरु मात्रै हुन्थे। बुवाको  अकल्पनीय रुपमा निधन भइसकेपछि  सहारा भन्नु केवल आमा मात्रै रहिन। कहिले आमासङ्ग र कहिले मामाघर हुदै उनको बाल्यकाल गोठाला गएरै बित्यो। जब उनी ११ वर्षमा टेके तब गाउँमा श्री कोटीला प्रावि स्कुल स्थापना भयो।

दीर्घराज जोशी, उनका मामा वडाध्यक्ष थिए। उनकै अग्रसरतामा गाउँमा स्कुल बन्यो।

११ वर्षको उमेरमा उनले कखरा सुरु गरे। सुरुमा स्कुलको भवन थिएन। पीपलको छहारीमुनि ढुंगामा बसेर ११ वर्षको उमेरमा ‘क, ख’ लेखेको अनुभूति उनी भित्र अझै पनि ताजै छ। आफै स्कुल बनाएर पढेको दुर्लभ अनुभव पनि छ जोशीसङ्ग।

भन्छन्, ‘ सुरुमा पिपलको फेदमा ढुङ्गामा बसेर पढ्यौं। पछि पात्ती र अरु द्याउलाको बार बनाएर साना कोठा निर्माण गरेर त्यसैमा पढ्यौं। केही वर्षपछि ढुंगाले चिनेर नै स्कुल बनायौं। त्यतिबेला १२/१३ वर्षका भएकोले हामी आफैले  ढुंगा, माटो, काठ र पत्थर  बोक्ने काम गरेर स्कुल बनायौ। 

पछि  ५ कक्षासम्म त्यसैमा पढ्यौं। स्कुल मात्र होइन मैले आफ्नै नेतृत्वमा साथीहरूको समूह गठन गरेर स्कुलजाने बाटोको माथिपट्टी सरस्वतीको मन्दिर पनि बनाउने काम गरेको थिए। त्यो मन्दिरको अवशेष ऐले पनि छ।’

पाँचसम्मको अध्ययन सकेपछि जोशी १५ वर्षको उमेरमा २०४६ सालमा तराई झरे। र, १६ वर्षको उमेरमा कक्षा ६ मा भर्ना भए।

त्यहाँ मामाको घरमा बसेर श्री रघुनाथ आदर्श उच्च माविबाट २१ वर्षको उमेरमा एसएलसी पास गरे।

साहित्यिक चेत

वि.सं. २०३१ फागुन १७ गते डोटीको बिकट क्षेत्र तल्कालीन  कानाचौर गाविस–७ कोटीलामा जन्मेका जोशीमा साहित्यिक चेत सानैमा थियो।
 
उनका पिता हरिभक्त राम्रै ज्योतिष थिए। कवि पनि थिए। शार्दुल विक्रिडित  छन्द र झ्याउरे लयमा कविता लेख्थे।

ज्योतिष भएकाले उनका पितासँग प्रत्यक वर्षका पात्रो हुन्थे। पात्रोका दुई बोरा थिए भने अन्य  धार्मिक किताबले बाकस भरिएको थियो। 

पिताको देहावसानपछि पनि आमाले छोराछोरी हुर्केपछि पढ्लान भनेर बाकसमा राखेका किताब जस्ताका त्यस्तै राखिदिएकी थिइन्। पछि ४ कक्षामा पुगेपछि पिताको त्यही किताब राखेको बाकस उधिन्न मन लाग्यो उनलाई।

उधिन्दै गर्दा त्यो बाकसमा एउटा डायरी भेटियो। त्यो डायरी भित्र थियो झ्याउरे लयमा लेखिएको ‘विद्याकी रानी’ कविता। हुन त अन्य कविता पनि थिए। तर, जोशीलाई त्यही कविताले तान्यो। 

र, पिताको धुमिल अनुहार मात्र याद भएका जोशीलाई त्यही कविताले साहित्यमा तातेताते गर्न प्रेरित गर्यो। जुन कविता उनका लागि  आशीकरुपी बरदान बन्न सफल भयो।

जोशी त्यसपछि त्यही लयमा कविता कोर्न थाले।

चार कक्षामा पढ्दै गर्दा सामाजिक कितावमा भएका बलभद्र कुवर, अमर सिंह थापा र  भक्ति थापाले नालापानीमा अङ्ग्रेजसङ्ग लडेर देखाएको बहादुरी र  योगदानको वर्णनलाई जोशीले कवितामा गुथे। त्यसरी कविता लेख्दा उनले बुवाले देख्ने झ्याउरे लय पछ्याएका थिए।

उनी ४ कक्षामा पढ्दा स्कुलमा राजाको जन्मोत्सव थियो। २०४४/४५ सालतिर उनले १४ वर्षको उमेरमा कार्यक्रममा त्यही बीरताको वर्णन गरिएको 'नेपाली चरित्र' शीर्षकको कविता सुनाए।

कविता सुनेपछि मावलितिरका बाजे छबिलाल जोशी धमाला र गाउँकै दुर्गाप्रसाद ढुंगानाले १०/१० रुपैयाँ पुरस्कार दिए। जोशीको जीवनको पहिलो कविताले नै उनलाई हौस्यायो।

त्यसपछि कुनै घटना घट्यो या केही भयो भने उनी त्यसलाई कवितामा ढाल्न थाले।

यसरी सुरु भएको जोशीको लेखन यात्रा त्यसपछि कहिले रोकिएन। झन–झन बढ्दै गयो।

पत्रकार रामलाल

उनी सानैमा साहित्यमा सक्रिय थिए र त कक्षा ९ मा पढ्दै गर्दा आफै सम्पादक बनेर २०५० सालमा   ‘सौगात’ नामक ७० पृष्ठको साहित्यिक पत्रिका निकाले। 

२०५१ मा एसएलसी पास गरेका उनले २०५२ सालदेखि २०५७ सम्म कैलाली बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह हुँदै स्नातकतहसम्मको अध्ययन पूरा गरे।

अध्ययन गर्दै गर्दा उनले ‘कोपिला’ नामक साहितत्यिक पत्रिकाको प्रकाशन गरेका थिए। वि.सं. २०५४ सालदेखि २०५८ सम्म ‘युगपुकार’ नामक द्वैमासिक साहित्यिक पत्रिकाको प्रकाशन गरे। 

वि.सं. २०५७ देखि २०६० सम्म ‘साप्ताहिक परामर्श’ को सम्पादक भएर काम गरे। उनी सो समयमा नेपाल पत्रकार महासंघ कैलालीका सचिवसमेत थिए।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दा जोशीकै नेतृत्वमा क्याम्पस स्तरमा २०५५ सालमा देशमै पहिलो मानिने विद्यार्थी साहित्य प्रतिष्ठानको स्थापना भयो। 

२०५७ सालमा ‘मदन पुरस्कार’ गुठिका अध्यक्ष कमलमणि दिक्षित धनगढी जाँदा जोशीले  'म विद्यार्थी साहित्य प्रष्ठिानको अध्यक्ष' भनेर परिचय दिएका थिए।

त्यसपछि जोशीलाई धाप मार्दै दिक्षितले तपाईहरूको पनि प्रतिष्ठान? भनेर आश्चर्य व्यक्त मात्रै गरेनन,  एकदम राम्रो काम गर्नु भएको रहेछ एक दिन तपाई ठूलो मान्छे हुनुहुनेछ फुर्क्याएको अहिले पनि झलझली  सम्झिन्छन् जोशी।

जोशीले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट २०६१ मा नेपाली बिषयमा स्नातकोत्तर पूरा  गरे। 

अध्ययनपछि २०६२ देखि उनी अध्यापन पेसामा आवद्ध रहे। र, १२  वर्षसम्म शिक्षण गरे। यो अवधिमा  उनी  लेखन र  सिर्जनाभन्दा साहित्यिक गतिविधिमा सक्रिय रहे।

साहित्यिक सक्रियता 

आफूले कविता लेख्न सुरु गरेको दिनबाट साहित्यमा सक्रिय रहेको बताउने जोशीले २०५२ सालदेखि गजलमा समेत कलम चलाए। 

बिभिन्न पत्रपत्रिकामा कविता,  गजल,  गीत छपाउँदै आएका जोशीले २०५७ सालमा ‘हत्केलामा आकाश’ नामक गजल संग्रह प्रकाशित गरे। 
त्यसको लामो समयपछि २०७२ सलमा ‘ऐना’ कथा सङ्ग्रहमार्फत देखापरे। जुन कथा कृतिले नेपाली साहित्यको सर्वोत्कृष्ठ ‘मदन पुरस्कार’ जित्यो। 

त्यसपछि सुदूर भूमिमा रहेर साहित्यको विकासमा अनवरत लागिरहेको व्यक्ति एकाएक सबैको नजरमा पर्न सफल भए।

साहित्य क्षेत्रमा उनको पहिलो कथासंग्रहले नै ठूलो उपलब्धि दियो।

ऐनामा राज्यले नदेखेका विषयवस्तु थिए। आन्चलिकता थियो। सबै भर्जिन कथा थिए।

‘ऐना’ को सफलतापछि पाठकले उनलाई खोज्न थाले। 
र, जोशीले २०७५ सालमा ‘सखी’ औपन्याशिक कृति बजारमा ल्याए।

जोशी कथामा भर्जिन विषयको छनोट गर्न सिपालु छन्। त्यसैमा उनी नवीनताको खोजीमा हुन्छन्। र त, उनको साहित्य विशिष्ट एवं सबैको मनमा बस्ने खालको हुन्छ।

आञ्चलिक कथा लेख्न बढी रुचाउने उनी भन्छन्, ‘सुगमका कुरा त सबैले लेख्छन्। दूर दराजका पीडा र विषयवस्तु हामीले नलेखे कस्ले लेख्ने? अनि  नेपाली साहित्य र सामाजिक क्षेत्रमा तिनले बलियो उपस्थिति कहिले जनाउने?’

२०७७ सालमा थप एउटा कृति बजारमा ल्याउने सोचमा छन् उनी। ‘कोरोनाले स्थिति सहज बन्दै गए यसै वर्ष एउटा किताव बजारमा ल्याउने सोच छ’, उनले भने। 

सुदूरको साहित्यिक जागरणका अभियन्ता

जोशी साहित्य  लेखक मात्रै होइनन् एक साहित्यिक  अभियन्ता  र जागरणकर्ता पनि हुन। थोरै लेखेर उनले साहित्य सिर्जनामा जति हलचल ल्याए त्यसभन्दा बढी उनले  साहित्यिक गतिविधि मार्फत ल्याए।  

सानैदेखि साहित्यिक  प्रकाशन, पत्रपत्रिका र गतिबिधिमा उत्तिकै सक्रिय छन्। उनको साहित्यिक गतिविधि र  कृयाशिल अभियानकै कारण सुदूर पश्चिममा पछिल्लो समयमा साहित्यिक जागरण आएको छ ।

उनी सुदूर पश्चिमका कुना कन्दरामा हुने खबर आएसम्मका सबै कार्यक्रममा सहभागी भएर नयाँ पुस्तालाई उत्साहित र प्रेरित गर्ने गर्छन। सुदूर पश्चिममा प्रकाशित हुने लेखकहरूका  बिरलै त्यस्ता किताब होलान जसमा जोशीका भूमिका अथवा शुभकामना नहोऊन। हालसम्म जोशीले  विभिन्न विधाका १५० जति कृतिहरुमा भूमिका र मन्तव्य लेखिसकेका छन्। 

सुदूर पश्चिमका मात्र होइन राष्ट्रिय रुपमा स्थापित लेखकहरू समेत जोशीसङ्ग भूमिका लेखाउछन। हाल उनी  सुदूरपश्चिमाञ्चल साहित्य समाजको  अध्यक्ष रहेर साहित्यिक गतिविधिमा क्रियाशील छन्।

२०५५ सालमा समाजको सदस्य बनेका जोशी ०६२ मा सचिव, ०६४ मा उपाध्यक्ष, ०६६ मा अध्यक्ष हुँदै २२ वर्षदेखि एउटै संस्थामा आवद्ध छन्।

एउटै संस्थामा आवद्ध हुँदा उनलाई कतिले पदलोलुप भने कतिले राम्रो काम र साहित्यिक जागरणको अभियन्ता। 

देशकै ठूलो मदन पुरस्कार पाइसकेपछि पनि उनी समाजको अध्यक्ष बने। किनकी उनलाई साहित्य समाजलाई एउटा उचाइमा पुगाउनु थियो,  सुपको साहित्यलाई माथि उठाउनु थियो। अनि  थियो,  सुदूरको साहित्य र संस्कृतिलाई देशका कुना कन्दरामा पुर्याउनु। 

उनकै नेतृत्त्वमा २०६९ सालमा देशमै साहित्य क्षेत्रको पहिलो मानिने तीन तल्ले साहित्यिक भवन धनगढीमा  निर्माण भयो। 

सबै साहित्यकार जम्मा हुने र साहित्यिक गतिविधि गर्नका लागि उनी नेतृत्वको कार्यसमितिले निकै मिहिनेत गर्नुपर्यो।

भवन निर्माणका लागि जोशी नेतृत्वको टोलीले तत्कालीन रास्ट्रपति डा. रामबरण यादब, तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र  डा. बाबुराम भट्टराई,  पूर्व प्रधानमन्त्रीहरू,  शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द  तल्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावल, लेखराज भट्ट, रमेश लेखक लगायलाई भेटेको थियो। विभिन्न व्यापारी, व्यवसायीहरूलाई सहयोगका लागि हारगुहार गरेको थियो। 

उनी नेतृत्वको टोलीको अथक खटाइ र विभिन्न व्यक्तिको सहयोगमा ६० लाख सङ्कलन भई  समाजको तीन तल्ले भवन ठडियो।

त्यसपछि २०६९ सालमा तीन दिने साहित्यिक सांस्कृतिक महोत्सव आयोजना गरेर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्यतामा भवनको उद्घाटन गरियो।

भवन त बन्यो। भवन बनेर मात्रै उनलाई सन्तुष्टि भएन। अब साहित्यिक गतिविधिलाई कसरी अगाड बढाउने भन्ने कुराले जोशीको मन पिरोलि न थाल्यो।

त्यसपछि उनले देशदर्शन अभियानको परिकल्पना गरे। जुन सुदूरको साहित्य जागरणका लागि  एउटा अभूत्पुर्ब कोसेढुङ्गा थियो। त्यसका लागि पनि जोशीले ठूलो संघर्ष गरे। त्यसका लागी उनले प्रदेश सरकार र स्थानीय निकाएलाई कन्भिन्स गरे।

२०७४ साल चैत्र १५ देखि २०७५ बैशाख १ गतेसम्म १७ दिनको साहित्यिक सांस्कृतिक जागरण देश दर्धन अभियान गरे। जसमा साहित्यकार, कलाकार, पत्रकार र संस्कृतिकर्मी गरी ४७ जनाको सुदूरका सांस्कृतिक प्रदर्शनी बोकेको टोली धनगढीबाट देशदर्शनका लागि प्रस्थान भयो। 

सो टोलीले देशका विभिन्न भूभाग र नेपाली भाषी रहेका दार्जिलिङ, सिक्किम,  असाम, र मेघालयलगायतका २४ स्थानमा पुगेर सुदूरको मौलिक कला संस्कृतिलाई प्रदर्शन गर्यो।

सो अभियनापछि सुदूरको देउडा र हुड्केलीको पूर्वतिर माग हुन थाल्यो।

युट्युवमा सुदूरको संस्कृति देखेका साउदीका राजाले त्यहाँ छलियाको माग गरे। उनले प्रत्यक कलाकारलाई एक लाख पारिश्रमिक दिने, एक महिनाको बस्ने, खाने र आउने जाने सबै खर्च व्यहोर्ने गरी साउदीमा छलिया नृत्यको टोलीलाई आमन्त्रण गरे।

आखिर जोशीको चाहना पनि सुदूरको संस्कृति  र साहित्यलाई विश्व सामु पुरयाउने  थियो। यसरी देश बाहिर र भित्रबाट सुदूरको संस्कृतिको माग हुने थालेपछि उनी दंग छन्। र,  भनिरहेका छन् हाम्रो अभियान सार्थक भएको महशुस भइरहेको छ।

साहित्यिक जागण अभियान गरेर मात्र उनको मन थामिएन।  नेपाली भाषा साहित्य  र संस्कृतिको उदगम भूमि  सुदूर भूमिमा विश्वभर छरिएर रहेका नेपाली भाषी साहित्यकारलाई ल्याएर विश्व नेपाली साहित्य महोत्सव गर्ने भूत दिमागमा सवार भयो।

उनलाई जसरी पनि त्यो गर्नु थियो। त्यसैले अनवरत एक वर्षसम्म यसैको तयारीमा जुटे। यसका लागि उनलाई दह्रो साथ दिए लोकगायक यज्ञराज उपाध्यायले। उनले कार्यक्रम सङ्योजक बनेर जोशीलाई काध हाले।

२०७६ फागुन १४ गतेदेखि २० गतेसम्म सप्ताहव्यापी  `विश्व साहित्य महोत्सव’ धनगढीमा सप्पन्न भयो। भारतका बिभिन्न राज्यहरू :  सिलगुडी,  दार्जलिङ,  सिक्किम, आसाम,  मणिपुर,  कर्नाटक,  उत्तराखण्डबाट ठूलो सङ्ख्यामा साहित्यकारहरु सहभागी भए। त्यस्तै म्यानमार,  अमेरिका,  बेलायतलगायत देशहरूबाट तीनसय भन्दा बढी साहित्यकार धनगढीमा जम्मा भए। 

यति ठूलो सङ्ख्यामा विश्व भरीका नेपाली भाषी साहित्यकारहरूलाई एउटै मन्चमा जम्मा गतिएको यो नेपाली साहित्यको इतिहासमै पहिलो घटना भनेर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ठोकुवा गरे।

करिव ९० लाख खर्च भएको त्यस कार्यक्रमको व्यवस्थापनका लागि पनि जोशीले स्थानीय सरकार, प्रदेश सरकारलगायत दातासङ्ग हारगुहार मात्रै गरेनन एकवर्षसम्म अहोरात्र खटे।

कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि थिइन् भने समापन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले। मोफसलको एउटा संस्थाले राष्ट्रपतिलाई ल्याएर कार्यक्रमको उदघाटन गराउन सक्नु र देशमै एउटा नमुना कार्यक्रम गर्नु इतिहासमा एउटा उदाहर्णीय कार्य हो।

जोशीको यस्तै सक्रियताले समग्र राष्ट्रको ध्यान सुदूर पश्चिमतर्फ मोडिन सफल भएको छ।  राष्ट्रपतिदेखि राष्ट्र कवि हुँदै सताब्दिपुरुष सत्यमोहन जोशी हुन वा विश्वभर छरिएर रहेका नेपाली भाषी साहित्यकारहरुलाई सुदूर भूमिमा टेकाउन सक्नु र नेपाल प्रज्ञा प्रतिष्ठानले समेत गर्न नसकेको  सात दिनको विश्व नेपाली साहित्य महोत्सव गर्न सक्नु चानचुने कुरा होइन। 

जोशीको यही साहित्यिक सक्रियता र अभियानकै कारणसुदूर पश्चिममा मात्र होइन देशभरी नै उनी एउटा साहित्यिक अभियन्ताका रुपमा स्थापित छन्। 

यतिमात्रै होइन, सुदूर पश्चिमाञ्चल साहित्य समाजले हरेक वर्ष प्रदान गर्ने गरी रु एघार हजारदेखि एक लाख एघार हजारसम्मका २०ओटा पुरस्कारहरू स्थापना गर्न उनी सफल भएका छन्।

बिभिन्न दाताहरुसङ्ग हारगुहार गरी साहित्य समाजको खातामा करिव ४० लाखको अक्षयकोष खडा गर्नसक्नु उनको अर्को उदाहरणीय कार्य हो। 

नेपाल प्रज्ञा प्रतिष्ठानले सुदूर पश्चिमको साहित्य, साहित्यकार र त्यहाँका गतिविधिलाई व्यवस्ता गरेकै कारण उनले सुदूर पश्चिममा बैकल्पिक एकेडेमी निर्माण गर्ने अवधारणा ल्याएका थिए। त्यसैका लागि उनी लागिपरेका थिए।

आफ्नै तीनतले भवन निर्माण गर्नु,  श्रष्टाहरुलाई  वर्षेनी २० ओटा पुरस्कार प्रदान गर्नु, ४० लाखको अक्षयकोष बनाउन सक्नु,  देश विदेशमा कार्यक्रम लैजान सक्नु र विश्व सतरका कार्यक्रम गर्न सक्नुले साच्चैकै सुदूर पशिममा विकल्पिक एकेडेमी निर्माण भएको मान्न सकिने आधार तय भएका छन्। र, यसको परिकल्पना मात्रै होइन अगुवाइ र नेतृत्व लिएर उनी सफल पनि भएका छन् ।

‘मोफसलमा बसेर एक व्यक्तिले गर्न सकिने यत्तिनै थियो। गरे। तर, अब मेरो ध्यान लेखनमा बढी केन्द्रित हुनेछ’, उनी भन्छन्।

त्यतिमात्र होइन जोशी देश भरिका प्रजातन्त्रवादी लेखकहरूको साझा संस्था नेपाली लेख संघको केन्द्रीय उपाध्यक्ष समेत हुन्।

वद्यार्थी कालदेखि नै जोशी नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिए थिए। विद्यार्थी अवस्थामादेखि नै विभिन्न साहित्यिक, सामाजिक संघ सस्था र गतिविधिमा सक्रिय जोशी बहुमुखी  प्रतिभाका धनी हुन्। 

हाल धनगढी–५ हसनपुरमा बस्दै आएका जोशी अब आगामी दिनमा भने बढी लेखनमा सक्रिए हुने सोचमा छन्।

साहित्यिक जागरणमा लागेकाले सोचेजति सिर्जना गर्न नसकेकोमा भने उनलाई बेला–बेला थकथक लागिरहन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको