फरक यत्ति हो, अरू बोल्दैनन् म बोलेँ


विचार
आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।

आयोमेल संवाददाता
भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर

आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका


‘साम्राज्ञी राज्यलक्ष्मी शाह’ झट्ट सुन्दा लाग्छ, कुनै राज खानदानकै नाम होला।

हो, राजा त राजै हुन्।

तर, उनका पुर्खामात्र। उनका बुवा राजा होइनन्, आमा पनि रानी होइनन् । न त उनी युवराज्ञी नै। 
उनी नेपाली फिल्मकी ‘साम्राज्ञी’ हुन्। 

२४ वर्षे उमेर। पाँच वर्षको यात्रा। आठ फिल्म। त्यो पनि सबै ‘हिट।’ 

र त, छोटो समयमै नेपाली फिल्मजगतमा जर्बजस्त स्थापित एउटा नाम भयो, साम्राज्ञी। 

‘ड्रिम्स’ थिएन ‘ड्रिम’

यो उनको कुनै सपना थिएन कि एकदिन नेपाली फिल्म क्षेत्रमा आउने र ‘हिरोइन’ बन्ने। 

त्यो बेला साम्राज्ञी १८ वर्षकी थिइन्। 

भुवन केसीको त्यो ‘ड्रिम्स’ नगाँसिएको भए, सायद यतिबेला साम्राज्ञीको जीवनमा अरु नै सपना फुलिरहेको हुन्थे। 

सके उनी ‘फेसन डिजाइनर’ भइसकेकी हुन्थिन्। 

फेसन डिजाइनर बन्ने सुरमा उनले धेरै सादा कागजमा पेन्सिलका टुप्पाहरू भाँचिन् पनि। 

त्यो सपना थियो, अन्तर्राष्ट्रिय ‘र्‍याम्प’हरूमा आफ्नै डिजाइनका ‘फेसन शो’ रंगीन किरणका धर्साहरूमा मिसिउन्।
वा उनी आफैं ती 'र्‍याम्प'हरूमा ‘क्याटवाक’ गरिरहेकी हुने थिइन्। 

बेला बेला यी सपनाले झस्काउँथे पनि ‘अन्तर्राष्ट्रिय मोडल।’

औंला भाँच्दै उनी सपनाका लिस्ट खोतल्दै थिइन् ‘अनि लाग्थ्यो म अन्तर्राष्ट्रिय मोडल बन्न सकुँ।’ उनी सकेसम्म आफूलाई तन्काइरहन्थिन् ‘खास मेरो हाइट फाइभ–नाइन भइदिए त…।’

पक्कै पनि उनले त्यो सपनाको एउटा बिन्दु छुन सक्थिन् कि!

नत्र उनी कसैका शरीरमा कलात्मक ‘ट्याटु’ खोपिरहेकी हुने थिइन्, ‘ट्याटु आर्टिस्ट’ बनेर। 

अहिले पनि उनका शरीरमा ‘टल्किरहने’ ट्याटुहरू ती ‘टुक्रे’ सपनाका सजीव प्रमाण हुन्। 

‘पापाले फेसन डिजाइनर बन्ने भए ‘ए’ लेभल पढ भन्नुभो, अहो कत्ति धेरै पढ्नुपर्ने?’ सामाज्ञीको हिम्मतै आएन ‘म त कस्तो अल्छी के, त्यत्रो पढ्नुपर्छ भनेपछि फेसन डिजाइनर बन्ने सपना सकियो।’

‘इन्डिया जान्थेँ, त्यहाँबाट न्युयोर्क जान्थेँ अनि फेसन डिजाइनर बन्थेँ, त्यो बेला त्यस्तो ड्रिम्स थियो मेरो’ त्यो उमेरै त्यस्तै। चन्चलताको रस त्यसै त्यसै छल्किइरहने, ‘सप्पै मै बनुँ भन्ने लाग्ने के।’
उमेरै गुलावी।

‘एकैछिन के भइसकेको हुन्थेँ। एकैछिनमा अर्काे भइसक्थेँ’ साम्राज्ञी सपनाका ती यात्रामा त्यो चन्चलता हाबी भइदिन्थ्यो। अनि त, यो पनि भएन त्यो पनि भएन।

उमेर १६ वर्ष। त्यो बेला एउटा चाँदीका गहनासम्बन्धी फेसन शो थियो। ५ सयभन्दा बढी सहभागी थिए। 

साम्राज्ञी पनि ‘गहना’मा सजिएर  र‌्याम्पमा उत्रिइन्। त्यो प्रतियोगितामा उनी दोस्रो भइन्। 

चाँदीका गहना पाइन्। ३० हजार रुपैयाँ थापिन्।

‘अहो ती…स…. हजार!’ उनी त फुरुङ्गै। 

३० हजार जीवनको त्यो पहिलो कमाइ थियो। अनि बल्झिरहने सपनाको एउटा मञ्च। 
… 

त्यसै बेला भुवन केसीको ‘ड्रिम्स’ आयो।

साम्राज्ञीका सपना सब बदलिए। यात्रा बदलियो, लक्ष्य बदलियो। गन्तव्य फेरियो। 

त्यो ‘ड्रिम्स’सँगै साम्राज्ञीको नयाँ सपनाको ‘डेब्यू’ भयो।

साम्राज्ञीकै भाषामा त्यो ‘१८ वर्षे फुच्ची’लाई हिरोइन बनाएका उनै भुवन केसी अहिले साम्राज्ञीसँगै ‘टक्कर’ गरिरहेछन्।

र, यो पाँचवर्षे यात्रामा ‘साम्राज्ञी’का आठ फिल्म हिट भइसकेका छन्।

साम्राज्ञी र ‘साम्राज्ञी नजन्मिँदै’ जमिसकेका ‘भुवन–कथा’को चर्चा एकछिनमा गरौँ,

हिरोइन होइन, हिरो…

‘म बहादुर हुन चाहन्छु। मलाई लाग्छ कि म बलियो केटी बन्नसकुँ,’ पल्लो टेबलमा लेमनेडको चुस्की लिइरहेकी ‘आमा’ नेहा

राज्यलक्ष्मीसँग चम्किलो नजर जुधाउँदा साम्राज्ञी साँच्चिकै ‘बोल्ड’ लाग्थिन्।

‘हो, म बलियो केटी हुन चाहन्छु। हिरोइन् होइन, हिरो…।’

‘हिरोइन’ भन्नासाथ सबैको दिमागमा एउटा बनिबनाउ चित्र छापिन्छ ‘ए, त्यो केटी…!’

अर्थात् प्रायः फिल्ममा घुसाइने एउटा ‘दुःखी आत्मा’, एउटा ‘कमजोर–पात्र।’ सधैं हिरोले ‘इज्जत’ बचाइदिनुपर्ने!

‘यो त केटी मान्छे हो, के नै हुन्छ र, बिहे गरेर जाने मान्छे हो, के नै गर्नसक्छे र भन्ने हुँदोरैछ यो समाजमा। हामीले गरेको केही पनि कुरा समाजलाई पच्दैन। त्यो राम्रो देख्दैन,’ साम्राज्ञीलाई लाग्छ, ‘यो त मेरो शरीर हो, आधा छोपुँ कि पूरै छोपुँ त्यो त मेरो राइटको कुरा हो।’

अनि बेला बेलामा उनलाई ‘टेन्सन’ दिन आइपुग्छन् ‘नछोपिएका ढाड।’

‘अरे यार। देश संसारमा के भइसक्यो, कस्तो भइसक्यो त्यो मतलब छैन। ढाड देखाको समाचार लेख्दै बस्ने?’

उनलाई यस्तै लाग्छ। 

स्वभावै हक्की। 

साम्राज्ञीको अठोट छ, ‘म आफ्नो परिवारको ‘पावर’ बनुँ।’

‘अब लाग्छ म एकदमै बलियो केटी बनुँ, बाआमाका लागि मैले सपोर्ट गरुँ, भाइबैनीका लागि मैले केही गर्न सकुँ। हिरोइन होइन कि हिरो।’

हो, जमाना अलिकति फेरिइसकेको छ। समाज हिजोको जस्तो मात्रै पनि छैन। 
‘मलाई त त्यो ठीक लाग्दैन। अहिले जसरी एउटा छोरा मान्छेले आफ्नो घर परिवार, चलाउँदै आएका छन्, घर चलाउँदै आएका छन्।’ 

साम्राज्ञीलाई लाग्छ, अझै पनि ‘केटी मान्छे’लाई पछाडि पारिएको छ। 

के गर्नु? सोच नै त्यस्तै! 

‘अहिले त त्यो हामी केटी मान्छेहरूमा पनि छ के! केटी मान्छे पनि धेरैजना बलियो हुनुभा’छ। तर के हो भने जतिसुकै पढेलेखेको भए पनि सोच भने कस्तो पछाडि धेरै पछाडि नै छ के!’

त्यसैले त उनलाई हरेक गाह्रा र अप्ठेरा कामहरू जिन्दगीकै च्यालेन्ज जस्तो लाग्छ। 

‘अहिलेसम्म जति पनि गाह्रो हुन्छ मलाई त्यति नै च्यालेन्जिङ लाग्छ। त्यति नै मिहिनेत गर्न मनलाग्छ’ ताकि आफू ‘बलियो’ बन्न सकुँ।

‘ड्रिम्स’ टु ‘रातो टीका निधारमा’सम्म 

मास्कले छोपिएकाे साम्राज्ञी मुहार अलि मलिन थियो तर, चमक उस्तै। 

ललितपुरको ‘तामारिनो’ क्याफेमा कुरिरहेका हामीलाई देख्नासाथ मास्क खोलेर उनी मुस्काउन खोजिन्।

सहकर्मी शिरिशमान महर्जनले ‘क्यामेराको फोकस’ मिलाउँदै गर्दा उनले भनिन् ‘ला! भिडियोमा पो…? प्रिपियर नै थिएन।’

‘साम्राज्ञीलाई श्रृङ्गारिन पर्छ र…?’ 

उनी हाँसिन् र, आफै कुर्सी मिलाएर बसिन्। 

छेउको टेबलमा उनीकी आमा पनि थिइन्। 

पाँच वर्षअघिको कुरा,

‘ड्रिम्स’मा उनको डेब्यू थियो। सुटिङस्थलमै बास। 

होटेलको एउटा कोठामा राति उनी झस्किइन्।

‘सायद त्यहाँ कोही आएको थियो’ साम्राज्ञीलाई लाग्यो ‘हो, पक्कै हो कोही त आएको थियो।’

रातभरि निद्रा परेन। मन त्रासले बेस्सरी हल्लिरह्यो। 

‘अर्काे दिन सेटमा गएर मैले मेरो सिनियरहरूलाई यो कुरा भनेँ’ मुटु त डरले काँपिरहेको थियो। 

‘तर, कस्तो के त्यो मेरो डरलाई मजाक बनाइयो’ साम्राज्ञीलाई त लागेको थियो ‘म त सानो मान्छे मैले डराएको कुराभन्दा कसैले पनि हो, सानो मान्छे एक्लै डरायो होला भनेर कसैले भनेन। बरु थरिथरिका मजाक बनाएर मलाई उडाए।’

‘रातिको’ डरले उनको मन झन् शिथिल भो।

पाँच वर्षपछि, 

साम्राज्ञीले यही कुरा एउटा भिडियोमा बोलिन्। एकैछिनमा त्यो भाइरल भयो। यो मात्रै होइन, उनले धेरै कुरा भनेकी छिन्। 
सुटिङका बेला उनी कसरी ‘यौन दुव्र्यवहार’मा परिन् भन्ने कुरा सबै त्यो भिडियोमा भनेकी छन्। 

यो सामाजिक सन्जालमा उनले पोखेका मनका कुरा थिए। 

र, यसमा सिधै जोडिए भुवन केसी। 

आफ्ना छोरा अनमोल केसी ‘हिरो’ देखाइएको ‘ड्रिम्स’को सुटिङका बेलाको कुरा थियो यो, त्यसमा भुवनले साम्राज्ञीलाई हिरोइन बनाएका थिए। 

त्यसपछि सामाजिक सन्जालमा बाझाबाझ हुन थाल्यो। भुवनले साम्राज्ञीलाई तथानाम भन्न थाले। 

कमजोर बनाउने स्क्रिप्ट

‘सबैभन्दा चित्तदुख्दो अनि घिनलाग्ने कुरा त यसमा मेरो आमालाई पनि तानियो। यो मेरोमात्रै कुरा होइन, म त फिल्मी क्षेत्रको मान्छे सबै देखिने कुरा हो तर यो क्षेत्रसँग कहिल्यै नजोडिएकी मेरी आमालाई पनि तानियो।’

‘सुरुमा केही नबोलौँ’ भनेर मौन बसिरहेकी साम्राज्ञीका त्यसपछिका केही रात अनिँदै बिते। 

धेरै पीर लाग्यो आफ्नोभन्दा पनि आमाको नाम जोडियो। उनी धेरै रोइन् पनि। 

‘अनि मलाई लाग्यो कि, अहो म त छोरीमान्छे। यसैगरी यो रोइरहोस्, कमजोर बनोस् भनेरै यो कुरा गर्न लगाइएको हो जस्तो लाग्यो’ साम्राज्ञीको गला थोरै रोकियो, ‘यसको कमजोरी यसकी आमा हो, यसलाई कमजोरै पार्नुपर्छ भनेर यति गरेका हुन् भन्ने लागेपछि म फेरि बोलेँ।’

हुन पनि हो । साम्राज्ञीको हिम्मत पनि आमा हुन्, कमजोरी पनि। 

हिम्मत जहाँ, कमजोरी त्यहाँ।

उनलाई लाग्छ, ‘म बोल्नुपर्छ। मनका कुरा भन्नुपर्छ।’ 

हो, उनी ‘केटी मान्छे’ हुन्। 

‘अनि केटी मान्छे के, केही नबोल्नु? मनका कुरा केही नभन्नु?’

अति भएपछि साम्राज्ञीलाई पनि लाग्यो, ‘अनि मलाई हेपिएकै हो।’

‘अब कमजोर बन्नुहुन्न’ अब बोल्नैपर्छ जस्तो लाग्यो साम्राज्ञीलाई ‘म सही छु भने निर्धक्क भएर बस्नुपर्ने रै’छ मैले सिकेको यही हो।’ 

साम्राज्ञीलाई लाग्छ ‘कति केटीहरूले पनि भोगिरहेका हुन्छन्, केटाहरूले पनि तर त्यही कुरा केटालाई भयो भने त्यो कुरा अनदेखा हुन्छ। तर, केटीलाई पर्दा… त्यो त म आफैंले भोगिराछु अनि केटीले भोग्दा चाहिँ त्यो हाइलाइटमा आउने रहेछ।’ 

यो पाँच वर्ष नेपाली फिल्मी क्षेत्रमा बिताएकी साम्राज्ञी २४ वर्षकी भइन्। र, यो पाँच वर्ष पनि उनका लागि पर्याप्त भो, जिन्दगी सिक्न। 

‘अहिले जस्ट २४ वर्षमा पनि मैले धेरै कुरा सिकिराछु, सानो उमेरमा। हुन त म त्यति सानो पनि होइन’ थोरै सिरियस मुस्कानमा उनले भनिन् ‘तर पनि यो उमेरमा आउँदा धेरै कुरा सिकेजस्तो लाग्छ। आफ्नो करिअरमा। यो समाजमा । यी मान्छेका बीचमा।’ 

साम्राज्ञीले जस्तो धेरै नेपाली हिरोइनले भोगिरहेका छन्, भोग्दै आएका छन्। 

‘फरक यति हो कि उहाँहरू बोल्नुभएन म बोलेँ’ बोल्नुपर्छ भन्ने एउटा नभाँचिने अठोट छ, उनमा ‘उहाँहरू किन बोल्न सक्नुभएन त्यो त मलाई थाहा भएन। हुनसक्छ आफ्नो करिअर बिग्रिन्छ कि भनेर वा हुनसक्छ यस्तो कुरा बाहिर आयो भने मैले अर्काे फिल्म पाउँदिन कि भनेर, डराएर।’

किनकि, साम्राज्ञीहरू हाम्रै समाजले जन्माएका ‘केटी मान्छे’ हुन्।

सामाजिक सन्जाल हुँदै अदालतसम्म

‘मै माथि मुद्दा?’ एकछिन त साम्राज्ञी ‘ट्वाँ’ परिन् ‘मैमाथि त्यस्तो हर्‌यासमेन्ट भइराछ, मैले नै त्यस्ता कुरा उठाइराछु, मान्छे लगाएरै भए पनि उनीहरूले मेरो बेइज्जत गरिराछन् अनि मलाई नै मुद्दा?’

एक साताअघि भुवनले अदालतमा साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्ति माग्दै मुद्दा हालेका छन्। 

‘अरु कसैले होइन, त्यो त मैले भोगेको कुरा राखेको हुँ। मेरो ठाउँमा म आफैले भोगेको कुरा हो त्यो’ हर कुरालाई मनभित्रै गुम्साएर राख्नुपर्छ भन्ने लाग्दैन साम्रज्ञीलाई ‘अब त्यो जमाना पनि त छैन नि आफूलाई घुम्टोभित्रै लुकाएर राख्ने।’

त्यो उनकै भोगाइ थियो, मनमा लागेको कुरा थियो। 

‘त्यो त मैले मेरो मनको कुरा राखेको हो, काम गर्दै जाँदा मैले भोगेको मलाई लागेको कुरा भनेको हुँ। मनमा लागेको कुरा नि भन्न नपाउनु?’

साम्राज्ञीले सुरुमा त केही नबोल्ने नै भनेकी थिइन्। 

आमाले पनि धेरै सम्झाएकी हुन् ‘सबैले राम्रा कुरामात्रै गर्दैनन्। जति दुःख भयो। जति भोग्यो उति नै बलियो भइन्छ।’ 

‘ह्या गु चलायो गन्ध’ साम्राज्ञीलाई लाग्यो ‘छिटा आफैंतिर पर्ने हो। नकोट्याउँ।’ 

हो, भुवनलाई त उनले पनि गुरु मान्छिन्। भुवनकै फिल्मबाट साम्राज्ञीको करिअर डेब्यू भयो। 

‘आफूलाई गुरु भन्नुहुन्छ अनि यस्तो गर्नुहुन्छ। यस्तो पनि गुरु हुन्छन्? यस्ता गुरुबाट हामीले के सिक्ने?’ उनले सोचेकी थिइन् ‘मेरो गुरु नै हुनुहुन्थ्यो भने त्यो भिडियो हेरेर कि त मलाई बुझाउन सक्नुहुन्थ्यो कि बुझ्न।’ 

तर, भुवनले त्यस्तो गरेनन्। साम्राज्ञीका अनुसार बरु भुवन खुलेआम ‘डायलगबाजी’मा उत्रिए। 

‘नानी त्यो बेला त्यस्तो भएको रहेछ, मलाई याद भएन वा याद भए पनि मैले ध्यान दिइनँ तेरो मन दुखेको भए सरी। भन्देको भए त भइहाल्थ्यो नि!’

पक्कै पनि साम्राज्ञी अबुझ त थिइनन्। 

‘त्यो मेरो पहिलो भिडियो अंग्रेजीमा भएर हो कि, उहाँहरूले बुझ्नु भएन कि। मलाई थाहा छैन तर, बुझेको भए मलाई बुझाउन सक्नुहुन्थ्यो सायद।’

सामाग्रीले ती भिडियोहरूमा ‘ड्रिम्स’को सुटिङका बेला ‘डराएको’मात्रै कुरा गरेकी छैनन्। अरु पनि फिल्ममा भोगेका कुरा गरेकी छन्। 

‘तर, अरूहरूलाई छोडेर उहाँमात्रै उत्रिनुभो। आफूमात्रै होइन, अरुलाई पनि लगाउनु भो’ साम्राज्ञी प्रश्न गर्छिन् ‘मलाई सम्झाउनुको साटो उल्टै आगो भएर, आक्रामक भएर त्यस्तो हर्कतमा उत्रिनुभो। आखिर गुरु भनेकै यही रै’छ। गुरुबाट हामीले यही सिक्ने?’

भुवन केसी नेपाली फिल्मका ‘वादशाह’ भइसकेका छन्। 

‘उहाँ त म नजन्मिँदै आउनुभएको यो इन्डस्ट्रीमा। उहाँको पावर छ, म त भर्खर त पाँच वर्ष भो।’ त्यो बेला साम्राज्ञी जन्मेकै थिइनन् सायद। र, साम्राज्ञीलाई लाग्छ, ‘पपुलारिटी’लाई भुवनले ‘पावर’का रूपमा शो गरे। 

‘पाँच वर्षमा जाबो आठवटा फिल्म गरेर यसको यत्रो फाइँफुट्टी यसलाई म देखाउँछु त्यो टाइपको घमण्ड उहाँमा छ जस्तो लाग्छ’ अनि साम्राज्ञीको ‘केटी मन’लाई लाग्ने नै भो, ‘एउटा पुरुष हुनुको दम्भ अनि इगो पनि।’

‘मैले जसलाई लिएर आको त्यो पनि मसँग…?’ भुवनलाई पनि लाग्ने नै भो।

भुवनलाई दस करोड दिने?

‘अरे यार उहाँको मुभी खेलेर मैले पाको एक लाखमात्रै हो अनि मसँग माग्ने दस करोड?’

साम्राज्ञीलाई लाग्छ, भुवनको यो ‘पैसा कमाउने’ अर्काे बाटो हुनसक्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ। अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम

भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर बढाएका छन्। उनीहरुले दुवै डोजको अन्तर १२ देखि १६ हप्ता

कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात अस्पतालसँग सम्झौता

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय