साहूले भीरमा ल्याएर बसाले, पहिरोले छाेराछाेरी पुरिदियाे


विचार
आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७

आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५

आयाेमेल संवाददाता
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको


‘सर, मेरो बुवा अस्पतालमा हुनुहुन्छ हाे?,' टहरोबाट मुन्तिर बाटोमा निस्किँदै गर्दा १३ वर्षीया सरिता रानामगर बोलिन्, ‘मेरो भाइ-बहिनीलाई उपचार गरेर चाँडै पठाइदिनू है सर।’

उनलाई के थाहा, अब उनका ती जुम्ल्याहा भाइ-बहिनी  कहिल्यै फर्किने छैनन्। 

फर्किनेछन् त उनका बुवामात्रै 'लाश' को प्रमाणपत्र बाेकेर। 

न,  आमा मीरालाई नै थाहा छ।

बुवा रामकुमार तीन वर्षका दुई छोराछोरी सचिन र सन्ध्याको शव कुरेर टिचिङ अस्पतालमा बसिरहेका छन्। पहिराेले पुरिएर थिलाेथिलाे भएका ती जुम्ल्याहा शरीर फेरि 'पाेष्टमार्टम'का लागि चिरिनेछन्।

‘निको भएर फर्केलान्, त्यही भएर बूढा अस्पताल गएका छन्,’ मीराले विस्तारै भनिन्, ‘त्यसपछि त हेरौं न, यो साहूलाई भाटाले नहानी कहाँ छोड्छु।’

रामकुमार र मीराका छ छोराछोरीमध्ये सचिन र सन्ध्या सबैभन्दा साना थिए। चैत २७ गते दुई पूरा भएर तेस्रो वर्ष टेकेका थिए।

एक छोरी बिहे गरेर गइसकिन्। दुई छोरा र एक छोरी बुवा-आमासँग काम गर्दै पढ्दैछन्। जेठो छोरा ९, माइलो ५ र सरिता ८ कक्षामा पढ्दैछन्।

टोखा नगरपालिका-१ तासेडाँडामा दुई छोराछोरी साथ रामकुमार र मीरा असार २३ गतेदेखि ढुक्कै टहरोमा बस्न थालेका थिए।

काम गर्ने तासेडाँडाछेऊ नै वार्षिक चालीस हजार रुपैयाँ तिरेर एउटा जग्गामा टहरो हालेका पनि छन्। पानी राम्रोसँग नओतिने प्लास्टिकको छाना हालेको टहरोमा सबै परिवार गत वैशाखदेखि रात काटिरहेका छन्।

त्यसअघि उनीहरू साहू महेश श्रेष्ठकै घरमा बस्थे। मीरा कामदारलाई भात पकाउने काम गर्थिन्।

असार २३ गतेदेखि कामदारलाई भात पकाउनु पर्ने भएपछि उनी तासेडाँडाको ‘साइट’मा श्रीमानसँगै गएकी थिइन्।

घरमा रेखदेख नहोला र खानेकुराको कमी होला भनी मीराले दुवै छोराछोरीलाई सँगै लिएर गएकी थिइन्। उनीहरू चार जना त्यहाँको टहरोमा बसिरहेका थिए।

मंगलबार बिहान पानी परिरहेकै थियो। १० बजेर केही मिनेट कट्दो हो।

मीराले छोराछोरी र त्यहीँ काम गर्ने अनिल मगरकी छोरीलाई भात पस्किदिइन्। उनीहरू खाना खाइरहेका थिए।

त्यसपछि एक दर्जनजति कामदारहरूलाई खाना पस्किइन्। उनीहरूले मुखमा खाना हाले-नहालेको होस् थर्रर भुइँ काप्यो।

भूकम्प आयो कि ठानेर सबै जना बाहिर निस्किँदा टहरो ढलिसकेको थियो। सचिन र सन्ध्या माथिबाट खसेको ढिस्कोमा पुरिइहाले।

‘मेरो छोरीलाई त सेकेन्डले मात्र बचाउन सकेँ, भित्री दुई जुम्ल्याका छुटेको कसैले पत्तै पाएनन्,’ मगर भन्छन्।

स्थानीय तथा कामदारहरूका अनुसार त्यहाँको भीर खन्न थालिएको गत वैशाखदेखि हो। त्यो भीर टोखाकै व्यापारी महेश श्रेष्ठले खन्न थालेका हुन्। उनले यो कामका लागि एक दर्जन कामदार त्यहाँ खटाएका थिए।

‘यहाँ कुखुरा, राँगा र बाख्रापालनका लागि जमिन सम्याउन थालिएको हो,’ मगर भन्छन्।

मीरा, रामकुमारसहितका मजदुर सो कार्यका लागि खटिरहँदा मंगलबार बिहान पहिले खनेकै ढिस्कोले टहरो पुरेको थियो।

‘प्रहरी आइपुग्दा त हामीले निकालिसकेका थियौं, दुवै मृत थिए,’ मगर भन्छन्, ‘तैपनि अस्पताल लगिएको छ उपचारमा भनेर आमालाई सान्त्वना दिइरहेका छौं।’

साँझ रामकुमारको टहरोमा पुग्दा मीरा माइली छोरीसाथ थिइन्। उनीसँग अरू कोही पनि थिएनन्।

आफूले खटाएका कामदारको जीवनमा यति विपत्ति पर्दा साहू श्रेष्ठ के कसो पर्‍यो सोध्न पुगेका छैनन्। गाउँको सिंहदरबार स्थानीय सरकारको जनप्रतिनिधि कहाँ छन् कसैले देखेका छैनन्।

‘कम्तीमा साहू त आउलान् भनेको खै आएका छैनन्,’ मीराले भनिन्, ‘मेरो छोराछोरी निको मात्र हुन् न।’

उनका अनुसार श्रेष्ठले महिनाको २२ हजार रुपैयाँमा रामकुमारलाई काममा खटाएका हुन्। तर, उनले कहिल्यै २२ हजार दिएको महिना मीराले सम्झिन सकिनन्।

‘हामी यहाँ बस्दैनौं भन्दा पनि जबरजस्ती बस् कि बस् गरे,’ मीरा भन्छिन्, ‘कहिले एक हजार, कहिले दुई हजार, पाँच, छोराछोरी बिरामी हुँदा रोइकराई गर्दा बल्लबल्ल बीस हजारसम्म पाइएको छ।’

मीरा आफैंलाई मासिक पन्ध्र हजार रुपैयाँ दिने भनेर श्रेष्ठले काममा खटाएका हुन्। तर, उनले अहिलेसम्म सुको पाएकी छैनन्।

‘अस्ति असार २५ गते एक वर्ष भयो, खै मैले केही पाएको छैन,’ उनले भनिन्।

दाल-चामल भने श्रेष्ठले ल्याइदिने गरेको उनले बताइन्। ‘यो सुख्खा खानेकुरा भएको टहरोमा बच्चालाई कसरी राख्नू? भनेर आफैंसँग लिएर गएकी,’ मीराले आँशु खसालिन्।

श्रेष्ठ एमएस हाउजिङ कम्पनीका सञ्चालक भएको दाबी गाउँलेले गरेका छन्। तासेडाँडाका भीर उनको नियन्त्रणमा छन्। मंगलबार पहिरो गएको ठाउँनजिक उनले एक्साभेटर लगाएर भीर उधिनेका छन्।

यसरी उधिन्दा त्यहाँ पहिरो जान थालिसकेको छ। यहाँका दुई दर्जनजति घरहरू पहिरोको उच्च जोखिममा छन्।

तर, श्रेष्ठले नियमविपरीत त्यहाँ भीर उधिनेको गाउँलेले चाल पाएका छन्। ‘यहाँ अनुमति नै नलिइकन भीर खोतल्न थालेको भन्ने बुझेका छौं, वडाध्यक्षलाई सोध्दा यसै भन्नुभयो,’ स्थानीय विनोद तामाङले भने, ‘यहाँ पहिरो जाने जोखिम उच्च छ, सरकारले बेलैमा यो ठाउँलाई सुरक्षित गरोस्।’  

संघीय राजधानीभित्रैको यो नगरपालिकाले पहिरो गएको ठाउँसम्म ट्रयाक भने खोलेको छ। तर, मोटरसाइकलधरी त्यहाँ पुग्न सक्दैन। गाडी जान नसकेपछि प्रहरीसमेत खबर पाएको डेढ घन्टापछि पुगेको थियो। गाडीबाट ओर्लिएर आधा घन्टा हिँडेर प्रहरी घटनास्थल गएको थियो।   

मीरा र रामकुमारको घर धनकुटाको हिले-गुराँसे नगरपालिका-१० हो।

मीरा यिनै दुई जुम्ल्याहा सन्तान सात महिनाका हुँदा काठमाडौं हिँडेकी थिइन्। रामकुमार मलेसियाबाट फर्किएका थिए। रामकुमारले काठमाडौंमा बसेर केही गरौंला गाउँ नजाने भनेपछि मीरा छोराछोरी लिएर आएकी थिइन्।

काठमाडौंमा मजदुरी गर्दागर्दै रामकुमार श्रेष्ठकहाँ ठोक्किन पुगेका थिए।

छोराछोरीको पालनपोषण गर्न भनी हिँडेको यही परिवारले असुरक्षित खनिएको भीरका कारण सन्तान गुमाउनु परेको छ।
‘अब त यहाँ बस्दिनँ, गाउँ जान्छु,’ मीराले भनिन्।

धनकुटामा उनीहरूको जग्गा-जमिन र घर छ। रामकुमारका बुवाआमा छैनन्। उनका कान्छा भाइ मात्र त्यहाँ बसिरहेका छन्। 

तस्बिर/भिडियो: सौरभ रानाभाट/आयोमेल


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड