भारतले बनाएका यी १५ बाँध, जसले नेपाल डुबाइरहेको छ


विचार
आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको

आयोमेल संवाददाता
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको…

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू

आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि


सरकार ढाल्यो – भारतले।

ढाल्न लाग्यो- भारतले।

पार्टी फोर्‍यो – भारतले।

नेपाल डुबायो – भारतले।

महाकाली सन्धि ‘राष्ट्रघाती’ हो र हैन भन्ने पक्ष-विपक्ष चर्किएपछि तत्कालीन नेकपा एमाले फुटेकै हो।

नेपालको दक्षिण छिमेकी मुलुक भारतसँग जोडिएर बेला-बखत नेपाली राजनीतिमा यस्ता ‘किस्सा’ले स्थान र महत्व पाइरहेका छन्।

केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण सिमावर्ती तराईका जिल्ला डुबानमा परेको बताएपछि राजनीतिमा ‘किस्सा’ थपियो, तराई डुबायो – भारतले।

राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्री थापाले भारतीय हस्तक्षेपकै कारण तराईका जिल्ला डुबानमा परेको बताएका थिए।

तर, यो साल मात्रै दक्षिण तराई डुबेको हैन। वर्षौंदेखि डुबिरहेको छ तराई।

भारतका कारण भनेर गृहमन्त्रीले डुबानको कथा राजनीतितिर मोड्ने कोसिस गरेको हुन् कि भन्ने चर्चा चलिरहेको छ। किनभने, अहिले सत्तारुढ दल नेकपामा तीब्र विवाद छ।

उसले नेकपाको विवादमा भारतीय पक्षलाई ‘दोष’ लगाउने प्रयास गरिरहेको छ।

प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउन भारत लागेको भनी अभिव्यक्ति दिए- नक्सा जारी गरेपछि मलाई हटाउन खोजियो। सरकार ढाल्न भारत लागेको छ।

उनको राष्ट्रवादी अभिव्यक्तिलाई मन पराउने नेपालीलाई गृहमन्त्रीको भनाइले झन् उत्तेजित पार्न सक्छ। गृहमन्त्री थापाले भनेको जस्तो भारतले नेपाल डुबाउन खोजेको भने हो।

तर, यसमा बढी जिम्मेवार नेपाल नै छ। नेपालकै निरीहताका कारण तराई डुबिरहेको छ।

राज्यका विभिन्न निकायबाट प्राप्त तथ्यले भारतले हस्तक्षेप गरेको नभएर नेपालले नै सन्धि सम्झौता गरेका ब्यारेज, बाँध, तटबन्ध तथा जलबन्धनहरू यसका कारक देखिएका छन्।

कतिपय बाँध त नेपाल-भारत दस गजामै छन्। नेपालले यी ब्यारेज-बाँध-तटबन्ध तथा जलबन्ध आफ्नो नियन्त्रणमा राख्न सकेको छैन। यतिसम्मकी बाँधै भत्किन लाग्दा पनि ढोका खोलिदिन नेपालले भारतसँग अनुनय गर्नुपरेको छ। भारत नियन्त्रित बाँध-ब्यारेजको क्षति अधिक छ। 

सन् १९९९ को इन्टरनेशनल वाटर बाउन्ड्री ट्रिपिङ अभिसन्धिअनुसार आठ किलोमिटर क्षेत्र छोडेर मात्र तटबन्ध-जलबाँध बनाउन पाइन्छ। संयुक्त राष्ट्रसंघ वाटर रिभर नियमावलीले पनि एक देशले गरेको कार्यले अर्को देशलाई क्षति पुर्‍याउन पाइन्न भन्छ।

तर, नेपाल-भारतबीच विभिन्न समयमा भएका सन्धि-सम्झौताले त्यो अभिसन्धि पालना गरेका छैनन्। भारतले आफ्नो जमिन जोगाउन, सिँचाइ सुविधा लिन नेपालपट्टि बाँध-ब्यारेज-तटबन्ध निर्माण गरेको छ।

नेपालले ती ब्यारेज-बाँध-तटबन्धले पारेको असरबारे कूटनीतिक रुपमा समाधान गर्न भारतसँग पहल गरेको छैन। यहीकारण वर्षेनि नेपाली जनताहरू घरबारविहीन हुनु परिरहेको छ।

सिँचाइ विभागका अनुसार नेपाल-भारत सीमामा ब्यारेज, बाँध तथा जलबन्धन २५ वटा छन्, ती नेपाल र भारतबीच भएका सन्धि-सम्झौताबाट बनेका हुन्। यीमध्ये धेरै ब्यारेज-बाँध-तटबन्ध तराईका जिल्लामा छन्।

यिनीहरूले वर्षेनि नेपालतर्फ ठूलो मात्रामा वर्षायाममा जमिन डुबान गर्दै आएको छ। भारतले हिउँदका लागि पानी सञ्चय गर्न सबै ढोका थुनिदिँदा हिउँदमै पनि नेपालको जमिन डुबानमा पार्दै आएको छ।

विभागका अनुसार अहिले सबैभन्दा बढी जोखिममा पारिरहेको लक्ष्मणपुर ब्यारेज हो। खाँडो-कुनौली तटबन्ध, लालबकैया, महलीसागर, कमला, बागमती तटबन्धन हुन्। यी तटबन्धका कारण तराईको भू-भाग अहिले डुबेको छ।

‘भारतसँग कुराकानी भइरहेको छ, यस वर्ष दुई देशबीच अनुगमन र बैठक हुन सकेन,’ जल उत्पन्न प्रकोप व्यवस्थापन महाशाखाका उपमहानिर्देशक प्रदीपकुमार थापा भन्छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार यी पन्ध्र बाँधले नेपालमा वर्षेनि समस्या निम्त्याइरहेका छन्। नेपालबाट बगेर जाने नदीको प्राकृतिक बहाव रोकिँदा नेपाली बस्ती जमिन जोखिममा छ।

गत साल नेपाल-भारतका अधिकारीहरूको उच्चस्तरीय समितिले ब्यारेज, बाँध, तटबन्धको अनुगमन गरेको थियो। सीमामै रहेका बाँधका कारण दुवैतर्फ परेको समस्याको आँकलन र निराकरणको विकल्प खोज्ने भनिएको थियो।

तर, यस वर्ष कोभिड-१९ का कारण नेपाल-भारतबीच कुराकानी हुन सकेको छैन। गत साल नै समाधानका लागि गरिने भनिएका प्रयासहरूले कति आकार लिए पत्तो छैन। ‘दसैं-तिहारलगत्तै दुवै देशबीच अनुगमन र बैठक हुन्छ,’ थापाले भने।

भारतले नेपालपट्टि ब्यारेज-तटबन्ध त बनाएको छ नै, कञ्चनपुरदेखि झापासम्म  सडक र सहायक सडक १ हजार ७५० किलोमिटर बनाएको छ। त्यो सडककै कारण नेपालतर्फ वर्षायाममा ११५० र हिउँदमा २३० हेक्टर जमिन डुबानमा पर्ने गरेको छ।

भारतले आफ्नोपट्टि २०६० सालदेखि एकतर्फी सडक बनाइरहेको छ। सीमामा रहेका ब्यारेज-तटबन्धले पनि आफ्नोतिरको क्षति कम नभएको बुझेर भारतले पानी थुन्न एकतर्फी सडक बनाएको हो।

गृहमन्त्री थापाले भन्नखोजेको त्यो एकतर्फी सडक हो। तर, नेपालको भू-भाग डुबाउन त्यो सडकभन्दा माथि रहेका बाँध-ब्यारेज नै हुन्।

यी बाँध-ब्यारेजले समग्रमा बर्खाको बेलामा आठ हजार दुई सय हेक्टर नेपाली जमिन डुबानमा परिरहेका छन्। एक हेक्टरमा डेढ बिगाहा जमिन हुन्छ। सुख्खाकै बेला पनि १८८० हेक्टर नेपाली जमिन डुबानमा परिरहेको छ।

हेरौं, यी पन्ध्र बाँध-ब्यारेज, जसले नेपाल डुबाइरहेको छ।

खाँडो-कुनौली तटबन्ध: अहिले डुबानमा परिरहेको सप्तरीको खाँडो नदीमा रहेको हो। खाँडो २०५४ साल र कुनौली २०४२ सालमा बनाइएको हो।

यो नेपालतर्फको दजगजामै छ। ३१० मिटर लामो यो तटबन्धका कारण वर्षायाममा नेपालतर्फको ७१० हेक्टर जमिन डुबानमा पर्ने गरेको छ। भारतले पानी थुन्दा हिउँदमै सात हेक्टर जमिन डुबानमा पर्ने गरेको छ।

लालबकैया तटबन्ध: अर्को डुबानमा परिरहेको जिल्ला हो रौतहट। रौतहटमा रहेको ८ किलोमिटर बाँधले वर्षायाममा ५० हेक्टर जमिन डुबानमा पर्ने गरेको छ। भारतले आफ्नोपट्टी तटबन्ध जोडेपछि त्यहाँको पानी निकास बन्द छ। यो २०६० सालमा बनाइएको तटबन्ध हो।

महलीसागर ब्यारेज: कपिलवस्तुको १५ ढोके ब्यारेज २०६६ मा पाँच ढोकाबाट पन्ध ढोका पुर्‍याइएको थियो। यो ब्यारेजका कारण वर्षायाममा नेपालतर्फको ५०५ हेक्टर जमिन डुबानमा पर्ने गरेको छ। सुख्खायाममै ३५ हेक्टर डुबानमा पर्ने गरेको छ।

यो भारतभन्दा चार पाँच किलोमिटर टाढा मात्र छ। यसले हिउँद-बर्खा दुबै सिजनमा कटान गरिरहेको छ।

कमला तटबन्ध: यो तटबन्धका कारओ सिराहा-धनुषाको २७ हेक्टर जमिन वर्षायाममा डुबानमा पर्ने गरेको छ। २०६६ सालमा बनाइएको यो बाँध ३० किलोमिटर छ।

भारतले आफ्नोपट्टि सडक बनाएका कारण यो भू-भागको पानी निकासशून्य छ।

लक्ष्मणपुर ब्यारेज: नेपालमा सबैभन्दा असर गरिरहेको ब्यारेज हो लक्ष्मणपुर। यो ब्यारेज १४ ढोके छ। यसले बर्खायाममा २२४५ हेक्टर डुबानमा पारिरहेको छ। २०४२ सालमा बनेको यो ब्यारेज सुख्खायाममै पनि १४०० हेक्टर डुबानमा पार्ने गरेको छ।

आफ्नो क्षेत्र सुरक्षित राख्न भारतले तटबन्ध र सडक बनाइसकेको छ। भारतपट्टि निजी जमिन रहेको र मुआब्जा विवाद रहेको भन्दै उसले वर्षौंदेखि अल्झाइरहेको छ। खोलिदिनुस् भन्दा उसले मुआब्जा समस्या देखाउने गरेको छ।

कैलाशपुरी ब्यारेज: बर्दिया-कैलालीमा पर्ने ३५ ढोके ब्यारेज २०४० बनेको हो। यसका कारण वर्षेनि १०१० हेक्टर क्षेत्रफल डुबानमा पर्ने गरेको छ। सुख्खायाममै ६६ हेक्टर जमिन डुबानमा पर्ने गरेको छ।

कोइलाबास बाँध: चार ढोके कोइरालाबास बाँध २०६१ सालमा बनेको हो। सुख्खायाममा सात र बर्खायाममा २० हेक्टर जमिन डुबानमा पर्ने गरेको छ।

गण्डक ब्यारेज: नवलपरासीको गण्डक ब्यारेज २०२१ सालमा बनाइएको हो। ३६ ढोके उक्त बाँधका कारण नेपालको ३४ हेक्टर जमिन बर्खायाममा डुबानमा पर्ने गरेको छ।

रसियावाल-खुर्दलोटन जोर्तिबाँध: रुपन्देहीमा २०५६ सालमा बनेको उक्त बाँधको तीन किलोमिटर पूरा भएको छ। बाँकी काम रोकिए पनि यसले बर्खायाममा १४०० हेक्टर जमिन डुबानमा पार्ने गरेको छ। हिँउदमा पनि ३५ हेक्टर जमिन डुबानमा पार्ने गरेको छ।

डण्डा-फरेना तटबन्ध: रुपन्देहीको तीन किलोमिटर उक्त तटबन्ध २०६३ सालमा बनाइएको हो। यसले वर्षायाममा ६७ हेक्टर र हिउँदमा ६ हेक्टर जमिन डुबानमा पार्ने गरेको छ।

सिरहा तटबन्ध: २०६३ सालमै बनेको चार किलोमिटर सिरहा तटबन्धका कारण वर्षायाममा ४७ हेक्टर जमिन डुबानमा पर्ने गरेको छ।

कोसी ब्यारेज: सुनसरी-सप्तरीको ३१० मिटर लामो ५६ ढोके कोसी ब्यारेजका कारण नेपालतर्फको ७० हेक्टर जमिन वर्षेनि डुबानमा पर्ने गरेको छ। कोसी ब्यारेज २०२२ सालमा बनेको हो।

कोसी-गण्डक सम्झौतालाई ‘असमान सन्धि-सम्झौता’ भनिँदै आएको छ। तर, यी सम्झौता पुनरावलोकनमा राजनीतिक नेतृत्वको ध्यान जान सकेको छैन।

ब्यारेजका ढोका नखोल्दा २०६५ साल भदौ २ गते बाँध भत्काएर आधा कोसी नेपालतिर बगेको थियो।

बैरगनिया चक्रबाँध: रौतहटको १६ ढोके चक्रबाँधका कारण वर्षेनि वर्षायाममा १५ हेक्टर जमिन डुबानमा पर्ने गरेको छ। यो २०३९ सालमा बनेको हो।

बागमती तटबन्ध: सर्लाहीमा रहेको आठ किलोमिटर यो बाँध २०४२ सालमा बनेको हो। यो तटबन्धका कारण नेपालको १० हेक्टर जमिन बर्खायाममा डुबानमा पर्ने गरेको छ।

बक्राहा-जलबन्धन: मोरङमा रहेको यो जलबन्धन ४०० मिटरको छ। २०४८ सालमा बनाइएको यो जलबन्धनका कारण बर्खायाममा वर्षेनि ८४० हेक्टर र हिउँदमा १४ हेक्टर नेपाली जमिन डुबानमा पर्ने गरेको छ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार यी पन्ध्र बाँधले नेपालमा वर्षेनि समस्या निम्त्याइरहेका छन्। नेपालबाट बगेर जाने नदीको प्राकृतिक बहाव रोकिँदा नेपाली बस्ती जमिन जोखिममा छ।

‘भारतले एकतर्फी रुपमा सडक बनाउँदा नेपालले प्रतिरोध गर्न सकेको छैन, भारतले नेपालमा बनेका बाँध आफ्नो नियन्त्रणमा राख्न सकेको छैन,’ श्रेष्ठले भने, ‘त्यहीकारण पनि नेपाली भू-भाग डुबिरहेको हो।’

भारतले नेपालका बाँध, ब्यारेज अधिक थुन्नुको उद्देश्य हो- उँभोपट्टि ड्याम बनाउने र हिउँदमा त्यही पानी सिँचाइमा प्रयोग गर्ने। त्यसैकारण पनि भारतले ब्यारेजका ढोका खोल्न नमानेको श्रेष्ठ बताउँछन्।

उपमहानिर्देशक थापाका अनुसार बाँकेको लक्ष्मणपुर ब्यारेजमुनि भारतले सडक पूरै बनाइसकेको छ। ‘निकास खोलिदिन्छौं भन्ने कुरा गरिरहेको छ, तर निकास खोलेर मात्र पुग्ने अवस्था छैन, सडक नै भत्काउनुपर्ने देखिएको छ,’ थापाले भने, ‘यसबारेमा हामी सरकारसँग कुरा गरिरहेका पनि छौं।’

अहिले नेपाल कम्युनिस्ट पार्टीको सरकार छ। यो कम्युनिस्ट पार्टीमा विपद व्यवस्थापन संगठन छ। यसका प्रमुख गंगालाल तुलाधरले नेपाल डुबाउन भारतीय बाँधहरू जिम्मेवार रहेको बताएका छन्। उनले भने, ‘नेपालले भारतसँग जायज-नाजायज यस्ता राष्ट्रघाती सम्झौता गरेको छ, जसले नेपाल डुबाइरहेको छ।’ उनले नेपाललाई अधिक क्षति गराउने यस्ता बाँध, ब्यारेज तथा उच्चबाँधको सम्झौता खारेज गर्न राजनीतिक रुपमा भारतसँग कुरा गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ