स्याङ्जाका ‘हुने-खाने’ विष्णु पौडेल रूपन्देहीमा सुकुम्बासी


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेललाई २०५६ सालयता चुनाव लड्न जाँदा रूपन्देहीमा बस्ने ठाउँको खाँचो पर्छ- कहाँ बसेर चुनावी गतिविधि गर्ने?

रूपन्देहीबाट पटक-पटक निर्वाचित भइरहे पनि उनको त्यहाँ घर छैन, उनी रूपन्देहीका स्थायी बासिन्दा हैनन्। उनको पछिल्लो स्थायी ठेगाना ललितपुर-२५ सैंबु आवास क्षेत्र हो। 

बहुदलपछिको खुला राजनीतिमा पौडेलको राजनीतिक सक्रियता र अवसर उनका समकालीन नेताभन्दा बढी नै छ। यो बीचमा मन्त्री भए, सम्पत्ति आर्जन गरे, जग्गा पनि जोडे। 

तर, पौडेलले आफ्नो राजनीतिक ‘आधारभूमि’ रूपन्देहीमा एक टुक्रो जग्गा बाँकी राखेका छैनन्। त्यसैले, पौडेललाई रूपन्देहीमा चुनाव उठ्दा घर खोज्नु परिरन्छ। 

हाल रूपन्देही क्षेत्र नम्बर २ का सांसद पौडेललाई त्यहाँका मतदाताले ‘पर्यटक उम्मेदवार’को आरोप लगाइरहन्छन्। ‘पर्यटक’ आरोप खेपिरहे पनि उनलाई रूपन्देहीका मतदाताको ‘न्यानो’ साथ भने छ।

भूमिगत राजनीतिमा सक्रिय हुँदा पौडेल बुटवलका स्थायी बासिन्दा भनेर चिनिन्थे। गणतन्त्रका विभिन्न सरकारमा मन्त्री खाइसक्दा भने पौडैल रूपन्देहीबाट ‘टाढिँदा’ छन्। 

‘हामीले गलत मनसायले लगाएको आरोप हैन, यो उहाँको व्यवहारले बनेको परिचय हो,’ पौडेलसँग लामो समय राजनीति गरेका राजनीतिज्ञ सिद्धिचरण भट्टराईको बुझाइ छ। 

भट्टराईका अनुसार पौडेल चुनाव आएपछि घर खोज्न भौंतारिन्छन्। कार्यकर्ताले आफ्नै घरमा राखेर चुनावी गतिविधिमा संलग्न गराइदिन्छन्। रूपन्देहीलाई राजनीतिक ‘भूमि’ बनाए पनि पौडेललाई त्यहाँ अस्थायी थातथलो बसाल्ने चटारो चुनाव घोषणापछि मात्रै हुने गरेको छ। 

हुन त राजनीति गर्न र चुनाव लड्न घर-जग्गाको अनिवार्यता छैन, त्यो पार्टीका कमिटीहरूको निर्णय क्षेत्राधिकारभित्र पर्ने विषय हो। तथापि, नेताहरूले कम्तीमा भविष्यमा चुनाव लड्नकै लागि पनि आफ्नो निर्वाचन क्षेत्रको स्थायी बासिन्दा हुँ भन्ने परिचय दिन बसोबास र आवासको बन्दोबस्त कायम राख्छन्, जसमा पौडेल पर्दैनन्।  

‘२०७० को दोस्रो संविधानसभा चुनावमा मेरो घरमा बसेर चुनावी गतिविधि गर्नुभयो, २०७४ मा खडानन्द खरेलजीकोमा,’ बुटवल उपमहानगरपालिका-८ का वडाध्यक्ष भीमबहादुर श्रेष्ठ भन्छन्, ‘पहिले दुई पटक जग्गा बेचेपछि उहाँले यहाँ किन्नुभएको छैन।’ श्रेष्ठ नेकपाबाटै निर्वाचित वडाध्यक्ष हुन्।

कम्युनिस्ट राजनीतिको उत्तरार्द्धमा पौडेल सरकारी जग्गा हडप्ने ‘खेल’को ‘सनसनीपूर्ण’ आरोप खेपिरहेका छन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पौडेललाई उनले विभिन्न कालखण्डमा हासिल गरेको ‘विविध पृष्ठभूमि’सँग जोडेर हेर्ने गरिएको छ।

त्यसरी बनेको बस्ती पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर दक्षिण पर्छ, अहिले पनि छँदैछ। पौडेल परिवार त्यहाँ २०४२ सालदेखि टहरो हालेर बस्न थालेको थियो। 

पौडेल राजनीतिज्ञ त हुन् नै। उनी ‘सुकुम्बासी’ पनि हुन्। जग्गा ‘माफिया’ पनि हुन्, आदि। लामो राजनीतिक जीवनमा बनेको आर्जेको ‘पृष्ठभूमि’ ‘बालुवाटार’ प्रकरणसँग जोडिएपछि पौडेलको छवि बिग्रिँदो छ।

स्याङजामा ‘हुने-खाने’ पौडेल रूपन्देहीमा सुकुम्बासी

जन्मथलोका बासिन्दा, समकालीन राजनीतिज्ञ र चिन्नेहरूले पौडेललाई जन्मँदै ‘हुने-खाने’ वर्गको परिवारका ठान्छन्। पौडेलको घर स्याङ्जा पुतलीबजार नगरपालिका-१० राङ्खोला हो। उनी २०१६ साल मंसिर १८ गते राङखोलामा जन्मेका थिए।

दुई आमामध्ये पौडेल कान्छीपट्टीका एक मात्र छोरा हुन्। जेठीपट्टी दुई दिदी छन्। जेठी आमाको बितेपछि कान्छीबाट पौडेल र उनकी बहिनी जन्मेका हुन्।

राङ्खोलाका वडाध्यक्ष दुर्गाबहादुर शाहका अनुसार पौडेल परिवारको त्यहाँ २० मुरी धान फल्ने खेत थियो, १५ मुरीसम्म कोदो उब्जनी हुने बारी थियो। श्रेष्ठकै भनाइमा यो त्यतिबेलाको ‘हुनेखाने’ वर्गसँग रहने जग्गा-जमिन हो।

पुतलीबजारकै मातृभूमि माध्यमिक विद्यालयबाट पौडेलले एसएलसी पास गरेका थिए। एसएलसी पास गरेपछि राङ्खोलाकै चक्र कमला प्राथमिक विद्यालयमा पाँच महिनाजति पढाएका थिए। 

बुटबल बस्ने भिनाजू गोपीरमण उपाध्यायसँग पौडेल २०३३ सालमा रूपन्देही झरेका थिए। तराई झरेको चार पाँच सालपछि उनले स्याङजाको जग्गा बेचेर परिवारलाई बुटवल सारे। आफू भूमिगत राजनीतिमा सक्रिए थिए।

त्यसबेला साबिक रुपन्देही-७ (हाल-९) शिवनगरमा ठूलो सुकुम्बासी बस्ती थियो। २०२५ सालमा पूर्वपश्चिम राजमार्ग खन्दा त्यहाँ मजदुरहरू जग्गा हडपेर बसेका थिए। 

त्यसरी बनेको बस्ती पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर दक्षिण पर्छ, अहिले पनि छँदैछ। पौडेल परिवार त्यहाँ २०४२ सालदेखि टहरो हालेर बस्न थालेको थियो। 

पौडेल र उनको परिवार २०४२ सालदेखि शिवनगरमा बसेको त्यो बस्तीमा बस्नेहरूले बताएका छन्। त्यतिबेलाकै उनका छिमेकी बलबहादुर आचार्यका अनुसार शिवनगर र सुख्खानगरमा सुकुम्बासीका दुई बस्ती छन्।

शिवनगर राजमार्ग खन्ने मजदुरले बसालेको बस्ती थियो भने सुख्खानगर साबिक-१० (हाल-८) नम्बर वडा पूर्वमन्त्री दीपक बोहोराले पञ्चायतकालमा बसालेको बस्ती हो। 

पौडेल राजमार्ग खन्नेहरूले बसालेको (शिवनगरको) बस्तीमा झुप्रो हाल्न पुगेका थिए। उनी त्यहीँबाटै पाल्पा-रूपन्देही-नवपरासीमा राजनीतिक गतिविधिमा सक्रिय भए। त्यसबेला उनकी श्रीमती रुपन्देहीको औद्योगिक क्षेत्रमा काम गर्थिन्।

सुकुम्बासी बस्तीको बसाइमा पौडेलको राजनीतिक र आर्थिक जीवन निकै ‘कष्टकर’ बितेको थियो।  

बहुदल आएपछि पार्टी खुला राजनीतिमा आयो। 

२०४८ सालको चुनावताका पौडेल पाल्पामै बढी खटिन्थे। त्यो चुनावमा उनले टिकट पाएनन्। चुनावमा उठ्न नपाए पनि उनी संगठन विस्तारका लागि पाल्पामा सक्रिय नै थिए। २०५१ सालको मध्यावधि चुनावमा पाल्पामा टिकट पाउँदा पौडेलले जितेका थिए। 

तत्कालीन अवस्थामा सुकुम्बासीका दुई वर्गीकरणमध्ये अव्यवस्थित बसोबास प्रयोजनको लालपूर्जा हात लागेपछि पौडेलले ‘सुकुम्बासी’ परिचय लिए।  

भूमिगत राजनीतिको लामो सक्रियता, पहिलो जनआन्दोलनमा खेलेको भूमिका, पार्टीमा निरन्तरको ‘योगदान’ र मध्यावधि निर्वाचनमा विजयको माला पहिरिएपछि पौडेलको ‘प्रोफाइल’ ह्वात्तै उकालो लाग्यो।

मध्यावधि निर्वाचनमा एमालेले बढी सिट ल्यायो। तत्कालीन एमाले नेतृत्वमा सरकार बन्यो। भूमिसुधारका पक्षमा काम गर्ने भनी सरकारले सुकुम्बासी आयोग गठन गर्‍यो। 

रूपन्देहीमा भोजप्रसाद श्रेष्ठ जिल्ला सुकुम्बासी समस्या समाधान समिति अध्यक्ष बनाइए। अब पौडेलले सहकर्मी आयोग अध्यक्ष भएको ‘मौका’लाई अवसरमा बदले। आफू बसिहेको १८ धुर जग्गामा छोरा नवीनको नाममा लालपूर्जा बनाए। 

तत्कालीन अवस्थामा सुकुम्बासीका दुई वर्गीकरणमध्ये अव्यवस्थित बसोबास प्रयोजनको लालपूर्जा हात लागेपछि पौडेलले ‘सुकुम्बासी’ परिचय लिए।  

श्रेष्ठ र पौडेलको चिनजान २०३६ सालदेखिको हो। उनै श्रेष्ठका अनुसार तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन विस्तार गर्न पौडेल पाल्पा पुगेका थिए – सिद्धिनाथ ज्ञवाली (स्व.)का साथमा। 

श्रेष्ठ पाल्पाको रामपुर माविमा शिक्षण गर्थे। राजनीतिक आस्था-विचार मिलेकाले विद्यार्थी संगठन विस्तार गर्ने मामलामा श्रेष्ठले पौडेललाई सघाए।

२०४२ सालमा कांग्रेसको सत्याग्रह चलिरहँदा पौडेल-श्रेष्ठ दुबै संगठन विस्तारमा पाल्पामै सक्रिय थिए। प्रतिबन्धित दलमा रहेर संगठन विस्तार साथै शिक्षण पेशामा अडिन गर्न गाह्रो परेपछि श्रेष्ठले मास्टरको जागिर छोडे। श्रेष्ठ आफैंले सो कुरा भनेका छन्, ‘भूमिगत पार्टी कमिटीमा काम गर्न थालेपछि मलाई शिक्षण पेशामा अफ्ठेरो आइलाग्यो, मैले पेशाबाट राजीनामा गरेँ।’  

त्यसपछि पौडेल र श्रेष्ठले संगठन विस्तार सिलसिलामा पाल्पा-रूपन्देही आउने-जाने क्रम बढाए। श्रेष्ठ २०४४ सालदेखि रूपन्देहीमै बस्न थाले। बहुदल आएपछि श्रेष्ठ रूपन्देहीको पार्टी कमिटीमा पूर्णकालीन सक्रिय भए। 

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा सरकार बनेपछि श्रेष्ठ सुकुम्बासी आयोगको अध्यक्ष बने। पौडेलले पाल्पाबाट चुनाव जितेका थिए।

श्रेष्ठका अनुसार त्यसबेला सुकुम्बासीलाई दुईथरी वर्गीकरणमा लालपूर्जा दिइएको थियो। अव्यवस्थित बसेकालाई बसेकै ठाउँमा लालपूर्जा दिन सकिने कार्यविधि थियो। बसेको दुई वर्ष पूरा भएको भए पुग्थ्यो। 

‘अव्यवस्थित बसेका जो जहाँ छन्, दुई वर्ष बसेको भए पूर्जा दिन मिल्थ्यो, अन्य ठाउँमा जग्गा छ छैन खोजी गरिरहनुपर्ने थिएन, उहाँ (पौडेलले) मेरो पालामा लालपूर्जा लिनुभएको हो,’ श्रेष्ठले भने, ‘सीमित राजश्व तिरेपछि अव्यवस्थितले लालपूर्जा लिन पाउँथे, उहाँले पनि लिनुभएको हो।’  

२०५४ सालमा स्थानीय निकाय चुनाव हुँदा श्रेष्ठ बुटबल नगरपालिकाको मेयर निर्वाचित भए। २०५६ सालमा आम निर्वाचन हुँदा पौडेलले भने हारे। त्यसपछि पौडेल काठमाडौं हिँडे। रूपन्देहीमा निरन्तरको राजनीतिक सक्रियतापछि श्रेष्ठ अहिले त्यहाँको प्रदेश सभा सदस्य छन्।  

‘अव्यवस्थितको लालपूर्जा लिएकाले दुई वर्ष पुगेपछि जग्गा बिक्री गर्न पाउने कार्यविधि थियो, उहाँले बेच्न पाउनुभयो, पछि बेच्नुभयो,’ श्रेष्ठले भने। 

‘उहाँको परिवारले जग्गा नवलपरासीमा लिएको थियो, उहाँ रूपन्देही नै बस्ने गरेका कारण नवलपरासीमा परिवार बसेन,’ शिवनगरमा पौडेलसँगै बसेका छिमेकी बलबहादुर आचार्य भन्छन्। 

ठेकेदारको घर, बालुवाटारको जग्गा

२०५६ सालमा चुनाव हारेपछि पौडेलमा एक किसिमको बेचैनी दौडिरहेको थियो। पार्टीको भूमिकामा पनि केन्द्रीयस्तरमा पुगिसकेका थिए। केन्द्रीय राजनीतिमा सक्रियतालाई बढावा दिन भन्दै पौडेल २०५८ सालमा काठमाडौं हिँडे। 

पौडेल ठेकेदार रत्न गौतमको बानेश्वरस्थित घरमा डेरा लिएर बस्न थाले। गौतम एमालेनिकट निर्माण व्यवसायी थिए, छन्। 

गौतमको घरमा पौडेल २०६३ सालसम्म बसेको गौतम आफैंले आयोमेललाई बताएका छन्। 

स्याङ्जाको पुर्ख्यौली घरजग्गा बेचेपछि पौडेल परिवारले नवलपरासीको बर्दघाट नगरपालिकामा १३ कठ्ठा जमिन लिएको थियो। त्यसमध्ये पाँच कठ्ठा जग्गा पौडेलले २०५६ सालको चुनावमा खर्च जुटाउन बेचिसकेका थिए। 

नवलपरासीमा सक्रिय रहँदा पौडेल र शोभाकान्त ढकालबीच सम्बन्ध विस्तार भएको थियो। शोभाकान्त त्यहाँका नामी जग्गा व्यवसायीसँगै एमालेका नेता थिए। काठमाडौंमा बस्न थालेपछि पौडेलले यहीँ जग्गा जगेर्ना गर्ने निधो गर्दा उनै नवलपरासीका शोभाकान्तलाई सम्झिन पुगे।   

बर्दघाटमा बाँकी रहेको ८ जग्गा उनै ढकालले पौडेलबाट किनेको दाबी गरिन्छ। पौडेलले २०६४ सालमा ढकाललाई त्यो जग्गा १२ लाखमा बेचेका थिए। ढकालले त्यो जमिन आफन्तको नाममा पास गराएका थिए।

शोभाकान्तसँगै वालुवाटार यात्रा

त्यसअघि नै ढकालमार्फतै पौडेलले २०६१ साल पुस २९ गते बालुवाटारको जग्गा हत्याएको   देखिन्छ। संयोग, बालुवाटार जग्गा नामसारी भएको एक महिनापछि २०६१ माघ २५ मा सुकुम्बासी बनेर लिएको जग्गा पनि पौडेलले बेचेका थिए। त्यसैसाल असोजमै नवलपरासीको ८ कठ्ठा जग्गा पनि बेचेका थिए। यो सम्बन्धित मालपोत कार्यालयहरूको अभिलेखबाट पुष्टि भइसकेको तथ्य हो।  

बालुवाटारमा पौडेलले छोरा नवीनका नाममा आठ आना जग्गा राखेको अनुसन्धानबाटै खुलिसकेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पौडेलले जग्गा लिएको खुले पनि फिर्ता गर्ने सर्तमा उनलाई मुद्दा चलेन। 

यो पौडेलले आर्जेको राजनीतिक शक्तिको प्रभावले सम्भव भएको उनी निकटहरूले गर्दैआएको दाबी हो। 

दोस्रो जनआन्दोलनपछि २०६४ सालमा पहिलो संविधानसभा चुनावमा एमालेले पौडेललाई रूपन्देहीमै टिकट दियो।

घर-जग्गा केही नभएको ‘पर्यटक’ उम्मेदवारको ‘आक्षेप’ लागेपछि पौडेललाई रुपन्देहीमा चुनावी गतिविधि बढाउन मुस्किल पर्‍यो। त्यहाँका स्थानीय कार्यकर्तासँग ऋण मागेर पौडेलले २०६४ सालमा रुपन्देही-८ सुख्खानगरमा एक कठ्ठा ६ धुर जग्गा किनेका थिए। 

तर, उनले यो २०६९ सालसम्म आइपुग्दा बेचे। उनले ८० लाख रुपैयाँमा त्यो जग्गा बेचेका थिए। यसपछि पौडेल भैंसेपाटी आवास सरेका हुन्।

राजनीतिक गतिविधिमा रूपन्देही-लुम्बिनीलाई ‘सेतु’ बनाए पनि आफ्नो चुनाव क्षेत्रमा भविष्यमा फेरि चुनाव उठ्नुपर्ला भनेर पौडेलले घर-जग्गा भने जोडेनन्। 

पौडेलले २०७० सालको चुनावमा फेरि टिकट पाए। पुरानो जग्गाजमिन बेचेपछि उनलाई चुनावी अभियानका लागि बस्ने ठाउँको फेरि खाँचो आइलाग्यो। 

पौडेलको क्षेत्रमा माओवादीबाट बाबुराम भट्टराई चुनाव उठेका थिए। प्रधानमन्त्री भइसकेको मान्छेबाट सुरक्षा ‘थ्रेट भयो’ भन्दै पौडेलले त्यसबेला कार्यकर्ताको ‘संरक्षण’ खोजे। 

स्थानीय कार्यकर्तामध्ये भीमप्रसाद श्रेष्ठ (हाल वडाध्यक्ष ८)ले घर दिने भए।

श्रेष्ठको घरको दोस्रो तलामा बसेर पौडेलले चुनावी अभियान छेडे। चुनाव जिते पनि। 

राजनीतिक गतिविधिमा रूपन्देही-लुम्बिनीलाई ‘सेतु’ बनाए पनि आफ्नो चुनाव क्षेत्रमा भविष्यमा फेरि चुनाव उठ्नुपर्ला भनेर पौडेलले घर-जग्गा भने जोडेनन्। 

२०७४ सालमा चुनाव उठ्दा फेरि घर चाहियो। उनी खडानन्द खरेलको घर भाडामा लिएर बसे। 

२०४६ सालदेखि अबिराम पार्टी-सत्ता-शक्ति

पौडेलले भूमिगत राजनीतिमा हुँदा २०३२ देखि २०४६ सालसम्म जति दु:ख-कष्ट खेपे, पहिलो जनआन्दोलनपछि उनले आफ्नो राजनीतिक भविष्यलाई पछाडि फर्केर हेर्नु परेको छैन। 

चुनावी मोर्चामा जित्दा, हार्दा होस् या पार्टी संगठनको जिम्मामा होस्, तत्कालीन एमालेमा उनको सक्रियता अबिराम देखिन्छ। 

उनको राजनीतिक यात्राबाट आरम्भ गरौं, पौडेलको सचिवालयबाट प्राप्त प्रोफाइलबाटै।

उनी २०३२ सालमा स्याङ्जाबाट रुपन्देही आएलगत्तै कम्युनिस्ट पार्टी स्थापनामा लागेका थिए। 

२०३३ सालमा अल नेपाल कम्युनिस्ट रिभोलुसनरी कोअर्डिनेसन कमिटी मास्क-लेनिन स्थापनामा पौडेल सक्रिय भए। उनले २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। 

पञ्चायतमा दलीय गतिविधि प्रतिबन्धित थियो। कम्युनिस्ट पार्टी स्थापना भए पनि त्यसले भूमिगत रुपमा मात्र राजनीतिक गतिविधि गर्थ्यो। पौडेल २०३४ सालदेखि कम्युनिस्ट पार्टीको औपचारिक रूपमै सदस्यता लिएर भूमिगत राजनीतिमा सक्रिय भए। 

भूमिगत हुँदै २०३५ सालमा पौडेल मालेको रुपन्देही क्षेत्रीय समिति सदस्य भए। २०३६ सालमा तत्कालीन नेकपा मालेको रुपन्देही जिल्ला सदस्य भए। २०३६ देखि २०३९ मालेकै पाल्पा जिल्ला सदस्य भए।  

२०३९ सालदेखि २०४६ सम्म अर्घाखाँची, पाल्पा र रुपन्देही जिल्ला कमिटी सचिव र मालेको दक्षिण-पश्चिम क्षेत्रीय सदस्य भएका थिए। 

पौडेलले भूमिगत राजनीतिमा हुँदा २०३२ देखि २०४६ सालसम्म जति दु:ख-कष्ट खेपे, पहिलो जनआन्दोलनपछि उनले आफ्नो राजनीतिक भविष्यलाई पछाडि फर्केर हेर्नु परेको छैन।  चुनावी मोर्चामा जित्दा, हार्दा होस् या पार्टी संगठनको जिम्मामा होस्, तत्कालीन एमालेमा उनको सक्रियता अबिराम देखिन्छ। 

भूमिगत रहेकै अवस्थामा पौडेल २०३६ सालमा पक्राउ परेका थिए। त्यतिबेलाको पञ्चायती व्यवस्थाले तीन वर्ष सजाय तोकिएकोमा उनी जेल परेको दुई महिनामै भैरहवा कारागार ‘ब्रेक’ गरेर फरार भएका थिए। 

जेल ‘ब्रेक’पछि पौडेल पुन: भूमिगत राजनीतिमा फर्के। २०४५ सालमा उनी कम्युनिस्ट पार्टी अफ नेपाल राष्ट्रिय सम्मेलन प्रतिनिधि बनेका थिए। 

२०४६ सालको पहिलो जनआन्दोलनमा उनले लुम्बिनीबाट नेतृत्वदायी भूमिका निभाएका थिए। जनआन्दोलनको बलले बहुदल स्थापना भएपछि कम्युनिस्ट पार्टी र मालेबीच एकता भएर नेकपा एमाले गठन भयो। 

उनी त्यसमा राष्ट्रिय परिषद सदस्य भए। यहीबेलै उनलाई २०४६ सालदेखि २०४९ सम्म एमालेको महाकाली अञ्चल इञ्चार्ज बनाइएको थियो। 

२०४९ देखि २०७२ सम्मका विभिन्न अवधिमा एमालेको लुम्बिनी अञ्चल इञ्चार्ज भएका थिए। २०५१ देखि २०६० सम्म पौडेलले संगठन विभाग प्रमुख भएर काम गरे। बीचमा २०५२ सालमा उद्योग विभाग प्रमुख बनेका थिए।  

२०४७ सालमा एमाले गठन हुँदै उनी केन्द्रीय सदस्य थिए। २०४९ सालमा पाँचौं राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय सदस्य बने।  

पार्टीको केन्द्रीय कमिटी सदस्यसँगै उनले पार्टीका विभिन्न मोर्चाको जिम्मेवारी पाइरहे।

२०५४ मा एमालेको स्थानीय विकास विभाग प्रमुख भएर काम गरे। २०५४ सालमा छैठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भए। 

२०५५ देखि २०६० सम्म एमाले केन्द्रीय कार्यालय सचिव भए। २०६५ सालमा एमाले पश्चिम विकास क्षेत्रको प्रमुख भए। 

२०५९ सालमा भएको सातौं महाधिवेशनबाट उनी वैकल्पिक केन्द्रीय सदस्य भए। २०६५ सालमा आठौं महाधिवेशन हुँदा उनी सचिव निर्वाचित भए। 

२०६७ देखि २०६९ सम्म एमाले केन्द्रीय सचिवालय सदस्य भए। २०७१ मा नवौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव भए। २०७४ सालको चुनावपछि तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएको नेकपामा उनी महासचिव यथावत् छन्।

सरकारमा सहभागिताको हिसाबले पनि पौडेलले उतिकै अवसर पाएका छन्। 

पौडेल पहिलोपल्ट २०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए। त्यसपछि उनी २०६५ सालमा माधवकुमार नेपालको सरकार पालामा जलस्रोत मन्त्री नियुक्त भए। 

उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६७ सालमा रक्षा मन्त्री नियुक्त भए। २०७२ सालमा संविधान जारी भएपछि बनेको केपी ओलीको सरकारका पालामा पौडेल अर्थमन्त्री नियुक्त भए। 

बहुदलीय व्यवस्था प्रारम्भ भएपछि पौडेलले चुनावमा खासै हार व्यहोर्नु परेको छैन। 

उनी पाल्पा क्षेत्र नम्बर ३ बाट २०५१ सालमा निर्वाचित भएका थिए। २०५६ सालमा रुपन्देही ३ बाट उम्मेदवार बने तर पराजित भए। २०६४ सालमा पहिलो संविधानसभामा निर्वाचित भए। २०७० मा दोस्रो संविधानसभामा निर्वाचित संविधान बनेपछि रुपान्तरित प्रतिनिधिसभा सदस्य भए। 

२०७४ सालमा प्रतिनिधिसभाबाटै रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भए।

उनी पार्टी राजनीतिमा ‘चतुर’ नेता मानिन्छन्। जता अवसर, पौडेल त्यतै हुत्तिएका हुन्छन्। उनले वामदेव गौतम, झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओली सबैको ‘नाडी’ छामिसकेका छन्। उनी जुन कित्ता-खेमामा हुन्छन्, त्यो कित्ता थोरै कमजोर हुँदा अर्को बलियो समूहमा हाम्फाल्छन्।

हाल उनी प्रधानमन्त्री केपी ओलीनिकट छन्।

उनै ओलीले वैशाख ८ गते पार्टी फुटाउने गरी अध्यादेश जारी गर्दा पौडेल हुत्तिएर वामदेव गौतमको घरमा सक्रिय ओलीबिरोधी ‘कित्ता’मा पुगे। त्यहाँ अध्यादेशको बिरोध गरे। त्यो कित्तामा ‘खटपटी’ सुरू भएलगत्तै पौडेल ओलीकहाँ फर्किहाले। बिरोधी कित्तामा पनि ‘नाम लेखाउँदै’ पौडेल ओलीको ‘बचाउ’मा उत्रिएहाले। त्यसैले, पौडेल नेकपाभित्र ‘चतुर खेलाडी’ मानिन्छन्।

जता पौडेल उतै नियुक्ति, पूर्वघरबेटीलाई अर्बौंका ठेक्का

निर्माण व्यवसायी र राजनीतिक दलका शीर्ष नेताको सम्बन्ध चन्दामा मात्रै सीमित नभएर पछिल्लो समय घरबेटीको पनि छ। यदाकदा राजनीतिक दलका नेताको संरक्षणप्राप्त निर्माण व्यवसायीले ठूला ठेक्कामा बाजी मारिरहेका पनि छन्। 

नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले ठूला ठेक्का जसरी हात पार्छन्, पौडेलका पूर्वघरबेटी निर्माण व्यवसायी रत्न गौतमको पोल्टामा अर्बौंका ठेक्का त्यसैगरी परिरहेका छन्- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका।  

२०७५ साल साउनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि गौतमले अर्बौंका ठेक्का हात पारेका छन्।  

ज्ञवाली पहिले पाल्पा, अहिले रूपन्देहीका बासिन्दा हुन्। उनी महासचिव पौडेलका सहयोगी पनि हुन्। ज्ञवालीलाई प्राधिकरणको सिइओ नियुक्तिमा पौडेलको जोडबल चलेको थियो। 

‘प्रधानमन्त्रीसँग विश्वासिलो सम्बन्ध भएकाले पुनर्निर्माण प्राधिकरणको सिइओ नियुक्तिमा उहाँ (पौडेल)को सिफारिस चल्यो,’ प्राधिकरण स्रोतले भन्यो, ‘ज्ञवालीको नियुक्तिपछि खुलेका ठूला ठेक्का पौडेलकै पूर्वघरबेटीले हात पारे।’ 

पौडेलको जोडमा प्राधिकरणमा नियुक्ति भएपछि उनका पूर्वघरबेटी गौतमलाई त्यहाँका ठूला ठेक्का परेको विवरण उल्लेख गरौं।

ज्ञवाली नियुक्ति भएपछि प्राधिकरणले काठमाडौं, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र भक्तपुर जिल्लाका विद्यालयहरूको पुनर्निर्माणमा तीन अर्बबढीको ठेक्का स्वीकृत गरी काम अघि बढाएको छ। सो बराबर रकमको ठेक्कामा खानी निर्माण सेवा (गौतमको निर्माण कम्पनी) जोडिएको छ। 

प्राधिकरणका अनुसार २०७५ मंसिर ६ र १२ गते दुई वटा बोलपत्र स्वीकृत भएका छन्, ती दुबैमा खानी निर्माण सेवाले बाजी मारेको छ। 

दोलखाका १२ वटा स्कुल, चर्पी र खानेपानी निर्माणका लागि ७१ करोड ४२ लाख १४ हजार २१६ रुपैयाँबराबरको काम शर्मा-स्वच्छन्द-खानीले पाएको छ। यो ज्ञवाली नियुक्ति भएको चार महिनापछि मंसिर ८ गते स्वीकृत गरिएको ठेक्का हो। 

यस्तै, सोही मितिमा सोही निर्माण कम्पनीलाई भक्तपुर र काभ्रेका स्कुल, चर्पी र खानेपानीको ठेक्का स्वीकृत भएको छ। ७२ करोड ५६ लाख ८४ हजार ३५८ रुपैयाँमा स्वीकृत गरिएको उक्त ठेक्कामा काभ्रेका १० वटा स्कुल र भक्तपुरका दुई स्कुल पुनर्निर्माण गरिने उल्लेख छ। 

लगत्तै, मंसिर १२ गते पुनर्निर्माण प्राधिकरणले तीन वटा ठेक्काको बोलपत्र स्वीकृत गरेको छ। तीमध्ये दुई वटा ठेक्का खानी निर्माण सेवालाई परेको छ। 

स्वीकृत बोलपत्र अनुसार शर्मा-खानी निर्माण सेवाले रामेछाप जिल्लाका १२ वटा स्कुलको विल्डिङ, खानेपानी र चर्पी निर्माणको ९८ करोड ८५ लाख ५५ हजार ४७ रुपैयाँको ठेक्का पाएको छ। 

त्यसैगरी, सिन्धुपाल्चोक जिल्लाका ८ र काठमाडौंका दुई वटा स्कुलको विल्डिङ, खानेपानी र चर्पी निर्माणको ठेक्का शर्मा-खानी निर्माण सेवालाई परेको छ। त्यो ठेक्का ७२ करोड ८७ लाख ४२ हजार ७१२ रुपैयाँको हो। 

याे पनि हेर्नुहोस्

सुकुम्बासी आयोगको तलब-सुविधामात्रै १ अर्ब २३ करोड

पूर्व-पश्चिम राजमार्गको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?

सुकुम्बासीको नारा, हुनेखानेको चारा

रकमान्तर गरेरै भूमिसुधार मन्त्री पद्मा अर्याललाई डेढ करोडको गाडी

सुकुम्बासी देखाएर अर्कोपटक कसैले भोट माग्न सक्दैन 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।