लुम्बिनी प्रदेश : नयाँ वर्षमा कहाँ घुम्ने, के हेर्ने?


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


नयाँ वर्षमा घुमफिर गर्ने चलन बढ्दो छ। घुम्नका लागि हामी नयाँ तथा आकर्षक गन्तव्य खोजिरहेका हुन्छौं। यस्तैमा एक हो लुम्बिनी प्रदेश। यहाँ थुप्रै घुम्न मिल्ने ठाउँहरु छन्। संसारभरका पर्यटकलाई आकर्षित गर्नसक्ने लुम्बिनीसहितका प्रमुख पर्यटकीय स्थल लुम्बिनी प्रदेशभित्रै छन्। बुद्ध जन्मस्थल लुम्बिनीदेखि ३ हजार वर्षभन्दा पुरानो सभ्यता बोकेको तिलौराकोट क्षेत्र, बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्राम स्तुपादेखि पशुपतिनाथ मन्दिर जत्तिकै पूरानो अवशेष रहेको स्वर्गद्वारी मन्दिर, रेसुङ्गा, रुरु क्षेत्र, पर्रोहा परमेश्वर बोलबमधामहरू यही प्रदेशमा पर्दछन्। 

तराईको उब्जाउ समथर भूमी, एसियाकै ठूलो दाङ उपत्यका, हरीया पहाड-पर्वत, तालतलैया र सिमसार, निकुञ्ज र जडीबुटीले भरिएका वनजंगल, प्राग-ऐतिहासिक रामापिथेकशको अवशेष भेटिएको क्षेत्रदेखि नेपालीको शिर उचो बनाउने जितगढी किल्ला यही प्रदेशमा छन्।

यति मात्रै होइन, जलपर्यटन, साहसिक पर्यटन र हिल स्टेशनका अथाह सम्भावना प्रदेशभित्र रहेको छ। यस्ता संभावनाहरुले गर्दा लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई समृद्धिको बलियो आधारको रुपमा लिएको छ। नेपालको पर्यटनको मुख्य केन्द्र अर्थात् पर्यटनको मेरुदण्ड शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै हो। बुद्धसँग सम्बन्धित स्थलहरू रुपन्देही, कपिलवस्तु र नवलपरासीमा छन्। यी तीन जिल्लाका बुद्धसँग सम्बन्धित स्थलको संरक्षण र विकासमा प्रदेश सरकार केन्द्रित भएको छ। लुम्बिनीमा संघीय सरकारसँगको सहकार्यमा काम भइरहेका छन्।

बाँके-बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल, बाँकेको बागेश्वरी, बाह्रकुने दह, जुंगे महादेव, सिस्ने हिमाल, जनयुद्ध प्रारम्भ भएको रुकुम-रोल्पाका गाउँहरु पनि यहाँका प्रमुख पर्यटकीय क्षेत्र हुन्। नेपालगञ्ज पर्यटकका लागि ट्रान्जिट प्वाइन्टको रुपमा रहेको छ।

मानसरोवर जाने पर्यटकहरु नेपालगञ्ज भएर जाने गर्छन्। यतिमात्रै हैन, मानवपूर्खाको इतिहास भेटिएको बुटवलको रामापिथेकस, अंग्रेज फौजलाई हराएको जितगढी किल्ला, गुल्मीको रेसुङ्गा, रुरुक्षेत्र, अर्घाखाँचीको पाणिनी तपोभूमि, अर्घादरबारसहितका दर्जनौं पर्यटकीय स्थलहरु यहाँ रहेका छन्।

रुपन्देहीको लुम्बिनी

लुम्बिनी शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि हो। ईसापूर्व ६२३ मा यहाँको बगैँचामा मायादेवीको कोखबाट गौतमबुद्धको जन्म भएको हो। सन् १९९७ देखि लुम्बिनीलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक बैज्ञानिक तथा साँस्कृतिक संगठन–युनेस्कोले विश्वसम्पदा सूचिमा समावेश गरेको छ। यो भूमि संसारभरका बौद्धमार्गी र शान्ति प्रेमीहरुका लागि विश्व शान्तिको मुहानको रुपले परिचित छ।

नेपाल भ्रमण वर्षका अवसरमा यो स्थलमा हरेक दिन बुद्धको जीवनी र बुद्ध शिक्षासम्बन्धी सन्ध्याकालीन वृत्तचित्र प्रदर्शन गर्ने योजना प्रदेश सरकारको छ। लुम्बिनी–ढोरपाटन–डोल्पाको दुनै बजार हुँदै उपल्लो डोल्पासम्मको पदयात्रा अनुसन्धान, पहिचान र प्याकेज कार्यकमसमेत तयार पार्ने योजना सरकारको छ। 

लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षका अवसरमासमेत विभिन्न गतिविधि सञ्चालन गरिएको छ। लुम्बिनीमा वार्षिक १६ लाख स्वदेशी तथा विदेशी पर्यटक आउँछन्। आर्थिक वर्ष २०७६ लाई प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणागरी पर्यटन प्रवर्द्धनका कार्यक्रम गरेपछि यो संख्या बढ्ने अपेक्षा छ।

कपिलवस्तुको तिलौराकोट

सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको ठाउँ हो, तिलौराकोट। तिलौराकोटमा शाक्यवंशको राज्यको राजधानी थियो। चिनियाँ यात्री फाइयानले गरेको यात्रा वृतान्तसँग ठ्याक्कै मिल्दोजुल्दो संरचनाहरु भेटिएका कारण नै यो क्षेत्र प्राचीन कपिलवस्तुको राजधानी रहेको पुष्टि भएको छ।

युनेस्कोको प्राविधिक तथा आर्थिक सहयोगमा तिलौराकोटमा पुरातत्वविदहरुले उत्खनन् गरेर ३ हजार वर्षअघिसम्मका संरचनाहरु भेटाएका छन्। यो स्थल बुद्धजन्मस्थल लुम्बिनीदेखि २२ किलोमिटरको दूरीमा पर्छ। कपिलवस्तुमा क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा, हजारौं शाक्यहरुको नरसंहार गरिएको क्षेत्र सगरहवा, कुदान, अरौराकोट, सिसहनिया, कपिलधाम र जगदिशपुर तालजस्ता महत्वपूर्ण बुद्ध सम्बन्धी क्षेत्रहरु पनि छन्। 

नवलपरासीको रामग्राम स्तुपा

बौद्ध ग्रन्थअनुसार गौतम बुद्धको महापरिनिर्वाणपछि विभिन्न आठ स्थानमा अष्टधातु राखिएको थियो। जसमध्येको एक रामग्राम हो। रामग्रामका तत्कालीन राजाले बनाएको यो स्तुपा हेर्न वर्षेनी हजारौं पर्यटक आउने गरेका छन्। रामग्रामको संरक्षण तथा पर्यटक आगमनलाई वृद्धि गर्न लुम्बिनी विकास कोषले रामग्रामको छट्टै गुरुयोजना तयार पारेको छ। रामग्रामसँगै पण्डितपुर पनि महत्वपूर्ण बुद्धस्थल हो। पूरातत्व विभागले यसको उत्खनन् गरेपनि अहिलेसम्म त्यसको रिपोर्ट सार्वजनिक गरेको छैन। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रामग्रामसहित नवलपरासीको त्रिवेणीलाई मध्यनजर गरेर प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छ। 

प्यूठानको स्वर्गद्वारी 

प्यूठान जिल्लाको भालुबाङ-लिवाङ सडक खण्डको भिन्ग्रीबाट धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुग्न सकिन्छ। यहाँ पुगेपछि मनले चिताएको पूरा हुने जनविश्वासका साथ स्वदेशी र विदेशी पर्यटकहरु आउने गरेका छन्। यहाँ स्वदेशी भन्दा बढी भारतीय पर्यटकको भीड लाग्ने गरेको छ। प्रदेश सरकारले स्वर्गद्वारीमा एकलाख भारतीय पर्यटकहरुलाई महाअभिषेक गर्ने योजना बनाएको छ। प्यूठानको झिमरुख खोलाको उत्पत्तिस्थल गौमुखी, ओखरकोट, भित्रीकोट दरबार, मल्लरानी कोट घुम्नुपर्ने स्थाहरुमध्ये पर्दछन्। 

दाङको धारापानी र रिहार

घोराही उपमहानगरपालिका-५ मा अवस्थित धारापानी धाम दाङको प्रमुख धार्मिक पर्यटकीय स्थल हो। पाण्डेश्वर मन्दिरको नामले पनि चिनिने धारापानीधाम घोराही बजार नजिक पर्दछ। यस धाममा सुन, चाँदी, पित्तल, तामा र फलामबाट तयार गरिएको मुलुककै अग्लो भनिएको त्रिशूल स्थापना गरिएको छ। पश्चिम क्षेत्रकै एक चर्चित धाम हो रिहार। यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ। यो धामको अवलोकलन गर्न भारतको उत्तर प्रदेशबाट ठूलो मात्रामा पर्यटकहरु आउने गर्छन। यो वर्ष धाममा आउनेको संख्या अझै बढेको जनाइएको छ।

गुल्मीको रेसुङ्गा र रिडी

नेपालकै विशेष सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानिने रेसुङ्गा भृगु ऋषिको तपोभूमि, रुरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षी, राजर्षी, देवर्षी एवं ब्रह्मर्षी बासस्थानयुक्त सुनौलो स्थल हो। रेसुङ्गाबाट रमणीय हरीयाली दृष्य देखिनुका साथै तराईका फाँटदेखि भारतको भू-भागसमेत देख्न सकिन्छ। रिडी नेपालका चारधाममध्येको एक विशेष धाम हो। कालीगण्डकी, रिडी खोलाको संगम तथा स्याङ्जा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा अवस्थित रिडी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो। धुर्कोट कोट, बिचित्र गुफा, चारपाला दरबार, बम्घाकोट, मदाने लेक, टिमुरे दह गुल्मीका पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएका छन्।

 पाल्पाको रानीमहल

रानीमहल तत्कालीन पाल्पा राज्यका राजा खड्ग शमशेरले आफ्नी दिवंगत पत्नी तेजकुमारीको सम्झनामा बनाएका हुन्। पछिल्लो समय यो महल हेर्नका लागि जाने पर्यटकको संख्या धेरै छ। विदेशी भन्दा स्वदेशी पर्यटकहरु यहाँ पुग्ने गरेका छन्। पाल्पाको तानसेन बजारबाट ९ किलोमिटर उत्तर कालीगण्डकीको किनारमा अवस्थित यस महललाई नेपालको ताजमहलका रुपले पनि चिनिन्छ। पछिल्ला वर्षहरुमा हिल स्टेशनको रुपमा प्रचार गरिएपछि यहाँ भारतीय पर्यटकहरु ओइरिन थालेका छन्। रानीमहलसम्म जाने सडकको अवस्था तथा पर्यटकमैत्री संरचना नहुँदा त्यहाँ पुग्ने पर्यटकहरु भने खिन्न हुन्छन्। प्रदेश ५ सरकारले यस महललाई राणाकालीन ढाँचाबाट सिंगारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना बनाएको छ। पाल्पाको सत्यवती ताल, अर्घेली दरबार, निस्दीमा पर्ने काउले लेक, कौडे लेक, चुरे क्षेत्र र मगर बस्ती घुम्न र जान्नका लागि रमाइलो लाग्ने क्षेत्र हुन्।

अर्घाखाँचीको सुपादेउराली

गोरुसिंगे–सन्धिखर्क सडक खण्डमा सुपादेउराली पर्दछ। नरपानी र फलामे दुवै अग्ला महाभारत पर्वत श्रृंखलाको बीचमा झण्डै ४ हजार ५ सय फिटको उचाइको कहालीलाग्दो भीमकाय खोँचमा यो मन्दिर अवस्थित छ। यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्तीअनुसार अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउनेहरुको भीड लाग्छ। यो प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापनाबारे विभिन्न जनश्रुतिहरु पाइन्छन्। भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, आदिका शिलाहरुबाट त्रेतायुगदेखि नै यहाँ शक्ति थियो भन्ने मान्यता छ। यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल गरेर चढाउँछु भनेको कुरा नचढाएमा देवी रिसाउँछिन् भन्ने मान्यता छ। लाहुरेले भाकल गरेर भाकल पूरा नगरेकाले नजिकैको भीरमा रहेको चट्टानमा लाहुरे टाँसिएको किंवदन्ती छ। पहरामा रहेको आकृतीलाई लाहुर टाँसिएको भनेर प्रचार गरिने गरिएको छ। अर्घाखाँचीको पाणिनी तपोभूमि, अर्घादरबारसहितका दर्जनौं पर्यटकीय स्थल पनि यहाँ रहेका रहेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज

यस निकुञ्जमा पाटेबाघ, एकसिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगलीहात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्। जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन्। यस निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ। पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संख्या बढिरहेको छ। ‘घुम्न जाँउ बर्दिया’ विशेष प्याकेज कार्यक्रम, पर्यापर्यटन, जङ्गल सफारी, साँस्कृतिक कार्यक्रम, होमस्टे व्यवस्थापनजस्ता कार्यक्रम यहाँ संचालनमा छन्। नजिकै कृष्णसार संरक्षित क्षेत्र पनि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ। यस क्षेत्रमा रहेका होमस्टेमा थारु संस्कृति र थारु परिकारको स्वाद लिन पाइन्छ।

रुकुमपूर्वको सिस्ने हिमाल

पूर्वीरुकुम प्रदेश नं. ५ को एक मात्र हिमाली जिल्ला हो। यहाँ सिस्ने हिमाल छ। सिस्ने हिमाल उत्तरी सिमानामा अवस्थित रमणीय एवं सुन्दर हिमाल हो। यो हिमाल कान्जिरोवा हिमश्रृंखला अन्तर्गत पर्दछ। यसको उचाई ५ हजार ८ सय ४१ मिटर छ। 

बाँकेको बागेश्वरी र बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज सन् २०१० जुलाई १२ मा नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा स्थापित निकुञ्ज हो। यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १ सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३ सयभन्दा बढी प्रकारका चराका प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन्। ११ प्रजातिका दूर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दूर्लभ चराहरू यहाँ पाइन्छन्। बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो। यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ।

बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। यो मन्दिरमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यस मन्दिरमा पूजाआजाका लागि भारतबाटसमेत श्रद्धालुहरु आउने गर्दछन्। यो मन्दिर प्यागोडा शैलीबाट बनेको छ। यहाँ करिब ७० मिटर उच्च कोषमाथि दुर्गाको मूर्ति राखिएको छ। जसलाई छत्रले ढाकिएको छ। यस मूर्तिमूनि गहिरो खाडल छ। खाडल माथि राखिएका फलामे जालीमाथि राखिएको चाँदीको सिंहासन र त्यसमाथि राखिएको शिलालाई नै देवीको शास्वत रुप मानी पूजा गरिन्छ। देवीको प्रतिमा मूनि रहेको खाल्डो सतिदेवीको पतन भएको जिब्रो धान्न नसकी भएको थियो भन्ने किंवदन्ती छ।

रोल्पाको थवाङ र जलजला

थवाङ र जलजला रोल्पाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र हुन्। खाम मगर भाषामा 'थ' को अर्थ हत्केला र 'वाङ' को अर्थ चौर। अर्थात, हत्केलाजस्तो चौर भूबनोट रहेको थवाङमा बाक्लो बस्ती छ। त्यस्तै थवाङ जनयुद्धको उद्गमस्थल पनि हो। जहाँबाट माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो। यो क्षेत्रमा गुरिल्ला ट्रेक मार्ग पहिचान गरेर पर्यटन प्रवर्द्धनका काम भइरहेका छन्। थवाङदेखि केही घण्टाको दूरीमा जलजला क्षेत्र पर्दछ। यहाँ जलजलादेवीको मन्दिर लगायत विभिन्न धार्मिक संरचना निर्माण गरिएको छ। यो क्षेत्रमा दाङको घोराहीदेखि शहिद मार्ग हुँदै र रोल्पाको सुलिचौरदेखि पुग्न सकिन्छ। सुनछहरी झरना रोल्पामा नहेरी नहुने झरना हो। लिवाङ नजिकै रहेको सातदोबाटोमाथि रहेको ढुंगाको पहाडलाई रक गार्डेनको रुपमा विकास गरिएको छ। यो गार्डेन हेर्न आन्तरिक पर्यटकको भिड लाग्ने गर्दछ। 

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्योकुसिन कराते प्रशिक्षक स्वर्गीय बज्राचार्यको प्रतिष्ठानलाई आर्थिक सहयोग आह्वान

क्योकुसिन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक स्वर्गीय रामजीप्रसाद बज्राचार्यको नाममा स्थापित प्रतिष्ठान कोषका लागि आर्थिक सहयोग जुटाउन सुरु

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

काठमाडौं – वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको

एक ग्लास वियरमा हुन्छन् २० लाख फोका

जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर