यो सरकारले गरेको नरसंहार होइन र, ओलीजी!


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


केही दिनअघि भारतको इलाहावाद उच्च अदालतले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई एउटा चेतावनी दिँदै भन्यो– ‘अक्सिजन अभावले मानिस मर्नु भनेको सरकारले गरेको नरसंहार मानिन्छ।’

पटना उच्च अदालतले बिहारका मुख्यमन्त्री नितिशकुमारलाई सोध्यो– ‘तिमीले सम्हाल्न नसक्ने भए यो स्थितिको जिम्मा के अब सेनालाई दिनुपर्ने हो?’

त्यसअघि दिल्ली उच्च अदालतले अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई सिधै फाँसीमा चढाउने फैसला सुनायो।

‘सास’ का लागि भारत यतिबेला तड्पिरहेको छ। तड्पाइको त्यो छटपटाहट नेपालमा पनि सुरु भइसकेको छ।

कोरोनाले दिनमै ५८ को ज्यान खाइरहेको छ। एकै दिनमा ८ हजारभन्दा धेरै संक्रमित देखिन थालिसकेका छन्।

निरोको धुनमा पुत्ताइरहेको देश

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट ‘देशवासीका नाममा सम्बोधन’ को ढुङ्ग्रो फुकिरहेका बेला पशुपतिका घाटमा लहरै चिताहरू पुत्ताइरहेका थिए। एउटा डोजरले मान्छे जलाउने ठाउँ बनाउन बागमतीका ओसिला किनारा खोस्रिरहेको थियो।

ओलीका ‘चौबिस क्यारेट’ असली कार्यकर्ता मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘राजिनामा’ र फेरि ‘सपथ’ को नाटक मञ्चन गरिरहँदा उनकै प्रदेशको दाङमा कोरोना संक्रमितले अस्पतालको पेटीमा सुतेर ज्यानको भिख मागिरहेका थिए।

‘सास’ बचाउन हारगुहार गरिरहेको नेपालगन्ज ४० डिग्री घामको धुपमा आफैं तड्पिरहेको छ।

बालुवाटारबाट ‘औषधी र खान नपाए कोही मर्न पर्दैन’ भन्दै प्रधानमन्त्रीले फलाकिरहँदा अस्पतालमा बेड र अक्सिजन नपाएका ज्यानहरू भकाभक अन्तिम सास लिँदै थिए।

र, देशवासीलाई सम्बोधन गर्न बनाइएको एउटा रेडिमेड भाषण पढिसकेर साँझ ओलीले भनिदिए– ‘अब विश्वासको मत लिन्छु।’

उनी आफैंले भनिरहेका छन्– ‘अघिल्लो वर्ष यसैबेला बिग्रिएको देशको राजनीति अझै सुध्रिन सकेको छैन भनिरहँदा मलाई बेहद पीडा भइरहेको छ।’

तर, अस्पतालका बेड नपाएर आँगनका डिलमा मृत्यु कुरिरहेका जनता देख्दा उनलाई पीडा हुँदैन, सायद! अक्सिजन अभावमा तड्पिएका जीवन देख्दा साँच्चिकै दर्द हुँदैन उनलाई।

घाटमा जलिरहेका लासहरू देख्दा त्यसले पोल्दैन उनलाई। जल्नका लागि दाउरा नपाएर, घाटमा भड्किरहेका आत्माले पिरोल्दैनन् उनलाई।

किनकि, यो देशका प्रधानमन्त्री हुन् ओली। हामी जनताले नै जिताएका प्रधानमन्त्री। हाम्रै संसदले चुनेका प्रधानमन्त्री। अझ भनौं ठूलो दलको इतिहासकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री।

अहो! कस्तो शक्त्तिशाली, जनताका आँशुले पनि नपग्लिने। देशको पीडाले पनि नछुने। जनाताका लासहरूले पनि नझस्काउने। डाक्टर, नर्सका आर्तनाद पनि नसुन्ने।

जनताका चित्कारले नछटपटाउने कस्तो शक्तिशाली!

समय नभएको होइन

भनिएकै छ, विपत्ति बाजा बजाएर आउँदैन। तर, पनि कोरोना संक्रमणको यो घन्टी सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा बजिसकेको थियो।

त्यो घन्टी यति रन्कियो कि त्यसले सारा विश्वभर सन्नाटा भरिदियो। नेपालले पनि चार महिनासम्म ‘लकडाउन’ को मार खेप्नुपर्‌यो। त्यसपछि केही साता संक्रमणको भयावह झन् उग्र भयो।

संक्रमणको लहर विश्वभरि बाँकी नै थियो। यो सकिएकै थिएन। यहाँ संक्रमण अलि कम के भएको थियो– राजनीतिक खेलहरू जुर्मुराउन थाले। यद्यपि लाकडाउनमा जनता थुनेर अध्यादेशहरू ल्याउन असफल प्रयास ओलीले नगरेका भने होइनन्।

प्रधानमन्त्रीले आफ्नो सरकार र पार्टी जोगाउने भन्दा अरू कुरा केही सोच्न सकेनन्।

रूप फेरिसकेको भाइरसले छिमेकी भारतमा उत्पात मच्चाइरहँदा ओलीहरू देशभरिबाट काठमाडौंमा मान्छे ओसारिरहेका थिए, एकअर्कालाई देखाउन।

हाम्रो देशको स्वास्थ्य अनि राजनीतिक प्रणालीलाई भाइरसले ध्वस्त बनाइरहेको छैन, बरु यसले त यो देशको राजनीतिक प्रणालीलाई ओलीजस्ता ‘भष्मासुर’ नेताहरूले कतिसम्म ध्वस्त बनाइसकेका रहेछन् भनेर अहिले देखाइदिएको मात्रै हो।

त्यो समय राजनीतिक खिचातानीको फोहोरी खेल खेल्ने बेलै थिएन।

हामीले अघिल्लो वर्ष बेहोरिसकेको महामारीको अर्को बितण्डालाई कसरी रोक्न सक्छौं भनेर तयारी गर्ने बेला थियो त्यो।

अस्पतालहरू बनाउने समय थियो। डाक्टर, नर्स अनि स्वास्थ्यकर्मीहरू थप्ने बेला थियो। अक्सिजन सिलिन्डरहरू बटुल्ने बेला थियो त्यो। आइसियु र भेन्टिलेटरहरू थप्नुपर्ने बेला थियो त्ये। खोप ल्याउन लागिपर्नुबेला थियो त्यो समय।

बिरामी लुट्ने अस्पताल अनि कात्रोमा पनि कालोबजारी गर्नेहरूलाई सबक सिकाउने बेला थियो त्यो।

तर, ओलीहरू बेसुरका गीत गाइरहे। अनि उनका भक्त्तहरू निरन्तर ताली बजाइरहे।

खोपको खजाना

सबै पार्टी छाडेका हृदयेश त्रिपाठीलाई अघिल्लो आमचुनावमा केपी ओलीले ‘सूर्य चिह्न’ दिएका थिए। त्यसपछि पनि आफूलाई ‘स्वतन्त्र’ को पगरी गुथाइरहेका त्रिपाठीलाई ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाए।

अघिल्लोपटक महामारीका बेला ‘ओम्नी’ प्रकरणमा फँसेका भानुभक्त ढकाललाई उनले पर्यटन मन्त्रालयको जिम्मेवारी दिए।

त्यो त्रिपाठी र ओलीको सम्बन्धको कारण थियो। र, सँगै जोडिएको अर्को कारण ओलीकै तर्फबाट त्रिपाठीले भारतसँग पनि ‘डिल’ गर्न सक्थे।

भारतबाट जसरी पनि ओलीलाई खोप ल्याउनु नै थियो।

जतिबेला भारतमा खोपको सुरुवातै भएको थिएन, त्यो बेला नै रुसले ‘सुरक्षा’ को ग्यारेन्टी गरिसकेको खोप किन्नका लागि सरकारभन्दा अघि नै यहाँका एकजना व्यापारीले कम्पनीसँग सम्झौता गरिसकेका थिए। तर, प्रक्रिया नै नभएर त्यो रोकियो। सरकारले प्रक्रिया नै अघि बढ्न दिएन।

चीनले खोप तयार गरेर आफ्ना नागरिकमा परीक्षण गरिसकेको थियो र देशमा खोप अभियान सुरू भइसकेको थियो। त्यसको परीक्षणका लागि चीनले नेपालसँग पनि अनुमति मागेको थियो तर सरकारले अलमलमै टारिदियो।

बरु चीनले नेपालमा काम गरिरहेका आफ्ना नागरिकलाई चीनमै लगेर खोप लगायो।

पछि सरकारले ‘आपतकालीन’ प्रयोगका लागि भारतीय खोप कोभिसिल्डलाई अनुमति दियो। अनि भारतले पनि तुरन्तै १० लाख डोज खोप ‘उपहार’ पठाइदियो।

त्यो बेला मख्ख परेका स्वास्थ्यमन्त्रीले तत्कालै २० लाख डोज किन्न भनेर चार अमिरिकी डलर प्रतिडोजका दरले ८० प्रतिशत रकम भुक्तानी गरे। भारतले १० लाख डोज दियो। बाँकी दिन सकेन। स्वास्थ्यमन्त्रीले त्यही बेला फेरि थप ५० लाख डोज अर्डर गरे।

त्यो बेला भारतमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको थियो। त्यहीबेला खोप बनाउने कम्पनी सेरम इन्स्टिच्युटमा आगलागी भयो।

त्यसैको बहानामा अब खोप दिन सकिन्न भनेर उसले नेपाल सरकारलाई पत्र पनि लेखेको थियो। तर, गत मार्च ३ मै सेरमले पठाएको त्यो पत्रकाबारे सरकारले केही पनि भनेन। कसैलाई जानकारी नै गराएन।

र, पनि स्वास्थ्यमन्त्री त्रिपाठीले खोप आउने आसा देखाइरहे।

त्यो बीचमा सेरमले नेपालका लागि तोकेका एजेन्टहरू पनि जागिसकेका थिए।

सुरुमा ‘जिटुजी’ अर्थात् सरकारसँग सिधै सरकारले किन्ने भनेर मन्त्रिपरिषदले निर्णय गरेको थियो र पटक-पटक मन्त्री त्रिपाठीले पनि त्यही कुरा दोहोर्‌याइरहेका थिए।

रुस सरकारले पनि नेपालमा खोप पठाउनका लागि सरकारलाई तारन्तार भनिरहेको थियो। भारतबाट खोप नआउने लगभग पक्कापक्की भइसकेपछि बल्ल सरकारले रुसको ‘स्पुटनिक-भी’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दियो।

खोप किन्न एजेन्ट र मन्त्री त्रिपाठीबीच १० प्रतिशत कमिसनमा कुरा नमिल्दा अहिलेसम्म खोपको अन्योल कायमै छ। सरकारले त्यो किनेको १० लाख डोज, भारतले उपहार दिएको अनि चीनले दिएको अनुदानबाट अहिलेसम्म करिब २१ लाख नेपालीले मात्रै खोप लगाउन पाएका छन्।

सरकार ‘कमिसन’ को चक्करबाट बाहिर निस्केको हुन्थ्यो भने यो बेला नेपालीले रुसी खोप लगाइरहेका हुन्थे। त्यो बेलै कम्पनीले साढे २ करोड डेज खोप दिने भनेको थियो र आवश्यक परे अरू पनि दिने वाचा गरेको थियो।

संक्रमणले निम्त्याएको मृत्यु होइनन् यी, राज्यले गरेको ‘नरसंहार’

आजसम्म आइपुग्दा कोरोना महामारी हाम्रा लागि कुनै ‘आकष्मिकता’ होइन। दुई वर्षदेखि नजानिँदो तरिकाले जिस्क्याइरहेको भाइरस यसपालि झन् घातक भएर आएको छ।

यो आउँथ्यो भन्ने सबैलाई थाहा थियो। त्यो केपी ओलीलाई पनि थाहा थियो। तर, ओली सरकार महामारीको यो वितण्डा छेक्ने पूर्वतयारीमा कहिल्यै लागेन। उनी र उनको सरकारका कुनै पनि मन्त्री महामारीप्रति कहिल्यै गम्भीर भएनन्।

यो डेढ वर्षमा एकपटक पनि मन्त्रिपरिषद बैठक महामारीको अजेन्डामा केन्द्रित भएको छैन।

प्रधानमन्त्री सिंहदरबार नछिरेको त दुई वर्ष नै पुग्न लागिसक्यो। बालुवाटार उनका लागि सबथोक हो– उनको पुर्ख्यौली घर हो। मन्त्रिपरिषदको कार्यालय हो। उनको पार्टी कार्यालय हो। उनको संसदीय दलको पनि कार्यालय हो। भारतीय गुप्तचरलाई बोलाएर भेट्ने खोपी पनि त्यही हो। संविधानलाई मनलागी बलात्कार गरिरहने ‘कोठी’ पनि हो बालुवाटार।

सबथोक हो बालुवाटार ओलीका लागि, बस् देशका प्रधानमन्त्रीको ‘निवास’ मात्रै होइन।

बालुवाटरमै बसेर उनले सबैथोक गर्नसके। गोयललाई ल्याउन सके। भारतका मिडियाहरूलाई नै ल्याउन सके। संविधानलाई ‘बाल’ हानेर संसद विघटन पनि गर्न सके। प्रदेश प्रमुखहरूलाई मनपरी फेर्न सके। पार्टीभित्र भाँडभैलो मच्चाउन सके। पार्टी फुटाउनै सके। सांसदहरूलाई किन्न सके।

बस्, मात्रै खोप ल्याउन सकेनन्। निसास्सिइरहेका जनतालाई अक्सिजन दिन सकेनन्। बिमारीले छटपटाइरहेका नागरिकलाई अस्पतालमा बेड दिन सकेनन्।

ओलीले बन्दाबन्दैको धरहरा उद्घाटन गरिरहँदा देशका कयौं ‘धरोहर’ हरू ढलिरहेका थिए। घाटमा लास तेर्सिरहेका थिए। जल्न र गाडिन पालो कुर्ने लासका लाइनहरू सायद त्यो धरहराबाट उनले देख्दैनन् पनि।

आज निषेधाज्ञाले आधा देश ठप्प छ। सहरहरू सुनसान छन्। मौनता छ। तर, चारैतिर मृत्युको भय र चिच्याहट छ। र, पनि बालुवाटारका आँखीझ्यालबाट मृत्युको कोलाहलले उनलाई छुन सक्दैन। किनकि बालुवाटारको बैठक कोठामा मृत्यु नछिर्ने सिसाको डब्बाभित्र बस्छन् उनी।

महामारीले निम्त्याएको संकट होइन यो। देश कति संकटमा फँसिसकेको रहेछ भनेर अहिले यो महामारीले उदाङ्गो पारिदिएको मात्रै हो।

जनताको यो मौन चिच्याहटमा मस्त निदाउने यो सरकार नै यी सारा मृत्युको जिम्मेवार छ। समय छँदै सारा तयारी गरेको भए सायद जनताको ज्यान बच्थ्यो।

त्यसैले यी सब मृत्यु भाइरसका कारण होइन, सरकारले गरेको एउटा सामूहिक र विभत्स ‘हत्या’ हो।

यो बेसुर र बेइमान सरकारका अघि महामारीले विक्षिप्त हामी जनता त मात्रै मौन साक्षी हुन बाध्य छौं।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
महाराजको नस्ली घोडा, राजकन्या र किसानको छोरा

त्यस व्यक्तिले राजाको अनुहार र भाव भंगिमाले सबै कुरा बुझिसकेको थियो। उसले पानी खाएर भन्यो-महाराज हजूरले सोध्न गईरहेको प्रश्न नै

‘४१ वर्ष लेभी बुझाएकाे नेकपा एमाले त्यसै त्यागेकाे हाेइन’

यो पार्टी फुटेर के देशै डुब्छ? आकास खस्छ? एमाले भन्ने पार्टी नभएका देशहरूमा विकास भएको छैन? अमेरिका, जापान, जर्मनी, अस्ट्रेलिया,

‘राष्ट्रपतिलाई राजा वीरेन्द्रभन्दा पनि माथि मान्नुपर्ने भयो’

अब राष्ट्रपतिलाई राजा वीरेन्द्रभन्दा पनि माथि मान्नुपर्ने भयो। २०४७ सालको संविधान हो भन्नुपर्‍याे अब। प्रधानमन्त्री बनाउने अधिकारै राष्ट्रपतिलाई छ भनेर

माेदी ‘इन्ट्रेस्ट’ : ओली कि हिन्दु धर्म?

नेपालमा परिवर्तन आयो भने त्यसको एकमात्र श्रेय केपी ओलीलाई जान्छ। अचम्म त के भने ज्ञानेन्द्र शाहका समर्थकहरू खुलेर भारत र