नेपालका क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा स्थान बनाउनु गर्वको विषय : निधि
जनकपुरधाम - नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले क्रिकेटको क्षेत्रमा नेपालका खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा स्थान बनाउनसक्नु गर्वको विषय भएको बताएका छन्।
सोमबार जनकपुरधाममा महेन्द्रनारायण निधि राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै निधिले यस्तो बताएका हुन्।
उनले खेलकुद क्षेत्र पनि उद्योगको रूपमा फस्टाइरहेकोले लगानी गर्न उद्योगपतिहरूलाई आग्रह गरे।
क्रिकेटलाई अगाडि बढाउन मधेस प्रदेसले नेतृत्व वहन गर्नुपर्ने उनको भनाइ छ।
जनकपुरधामको रामजानकी क्रिकेट स्टेडियम निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले यसका लागि आफ्नो पूर्ण सहयोग रहने उल्लेख गरे।
‘रामजानकी स्टेडियम बन्नुपर्छ भन्ने पक्षमा म रहेको छु, चाहे यो मोदीजीले दिएको पैसाले बनोस् वा नेपाल सरकारको पैसाले। स्टेडियम निर्माणका लागि मेरो पूर्ण सहयोग रहनेछ,’ निधिले भने।
कांग्रेसले क्रान्ति गरेको बेला महेन्द्रनारायण निधि जनसरकारको पहिलो प्रधानमन्त्री बनेको उनले स्मरण गरे।
२०१५ मा आमचुनावमा बिपी कोइराला नेतृत्वको सरकार गठन भएको बेला कृष्णप्रसाद भट्टराई पहिलो सभामुख र महेन्द्रनारायण निधि पहिलो उपसभामुख बनेको उनले बताए।
२०४६ सालको आन्दोलनको सफलतापछि भट्टराई नेतृत्वको सरकारमा उनी जलस्रोतमन्त्री बनेको निधिले बताए।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेपछि महेन्द्रनारायण निधिले पार्टीभित्र अहिंसात्मक आन्दोलन गर्नुपर्ने फरक धारणा राखेको चर्चा उनले गरे।
निधिले नेपाली जनता, लोकतन्त्रलगायतका क्षेत्रमा महेन्द्रनारायण निधिको ठूलो भूमिका रहेको उल्लेख गरे।
महेन्द्रनारायण निधि क्रिकेट प्रतियोगिताको आयोजना गर्न आफ्नो भूमिका नभइ प्रदेस सरकारका महिला बालबालिका तथा खेलकुद विकासमन्त्री वीरेन्द्र सिंहको रहेको निधिले बताए।
‘कतिपयलाई लागेको हुनसक्छ म उहाँको छोरा भएकाले यो प्रतियोगिताको आयोजना गर्न लगाएको छु होला, यसमा मेरो केही योगदान छैन,’ निधिले भने,‘सही कुरा भन्नुपर्छ यसको लागि प्रदेस सरकारका मन्त्री वीरेन्द्र सिंहको योगदान रहेको छ। उहाँले सरकरबाट निर्णय गर्न लगाउनु भएको हो।’
सोमबारदेखि सुरू भएको महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता आगामी २६ गतेसम्म सञ्चालन हुनेछ।
सातवटै प्रदेसका टिमहरूले भाग लिएको टि–२० क्रिकेट प्रतियोगिताका लागि मधेस प्रादेसिक क्रिकेट संघले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।
यसअघि जिल्लास्तरमा आयोजना भएको यो प्रतियोगिता यसपालि प्रदेसस्तरमा आयोजना हुन लागेको हो।
प्रतियोगिताको यो दोस्रो संस्करण हो। प्रतियोगितामा राष्ट्रिय टोलीमा सहभागी भएकाबाहेक अन्य खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगितालाई क्यानले प्राविधिक सहयोग गर्ने भएको छ।
मधेस प्रादेसिक क्रिकेट संघको आयोजना तथा प्रदेस सरकारको महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालयको मुख्य सहयोगमा हुन लागेको हो।