post-slider post-slider

चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Image
A A

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा  ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा सोमबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको सामूहिक छलफलको क्रममा ओलीले उक्त प्रतिबद्धता जनाएका हुन्। 

सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेको उक्त बैठकमा ओलीले यस्तो धारणा राखेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए। 

‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिनँ भन्नेजस्तो कुरा गर्नुभयो,’ खनालले भने। 

खनालका अनुसार यसपटक चीनसँग ऋण सम्झौता नगरे पनि भावी दिनमा पनि कहिल्यै ऋण नै लिनु हुँदैन भन्ने नीति बनाउन लागेको हुन सक्ने भन्दै असहमति जनाएर फर्केको जानकारी दिए।

चीनसँग बिआरआई अनुदानमा स्वीकार्ने सत्तारुढ कांग्रेसको धारणा छ भने एमालेले ऋणमा भए पनि लिनुपर्ने बताइरहेको थियो। सत्ताघटक कांग्रेसले असहमति जनाएपछि बिआरआई ऋणमा सम्झौता नगर्ने पक्षमा एमाले उभिएको छ।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिमेकीहरूलाई चिढ्याएर सम्झौता गर्न नहुने जनाएका छन्।

‘कुनै पनि छिमेकी मुलुक प्रयोग गर्न दिनुहुन्न, असंलग्न परराष्ट्र नीति अनुसार सुमधुर सबन्ध राख्नुपर्छ, कुनै पनि सम्झौता गर्दा छिमेकी मुलुकको चासोप्रति पनि सम्मान गर्नुपर्छ,’ बैठकमा नेपालले भने।  

सञ्चारकर्मीसँग पनि छोटो प्रतिक्रिया दिँदै शान्तिभूमिको देश भएकाले असलंग्न परराष्ट्र नीति अनुसार अघि बढनु पर्नेमा बैठकमा जोड गरेको उनले जानकारी दिएका छन्। 

‘हामीले राष्ट्रहितलाई हेरेर काम गर्नुपर्छ, छिमेकीहरूको मनमा कुनै शंका छ भने त्यसलाई ध्यानमा राख्नुपर्छ, त्यो ख्यालमा राखेर नेपाल असंलग्न परराष्ट्र नीति अविचलित रूपमा उभिन्छ भन्ने सन्देश दिनु पर्छ,’ उनले भने, ‘कुनै पनि छिमेकी मुलुकहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन।’

Tags: