.png)

अछाम घटना : यौन प्रस्ताव अस्वीकार गर्दा एक किशोरीको, विरोध गरेपछि अर्कीको हत्या

काठमाडौं - अछामको ढकारी गाउँपालिका-८ का दुई किशोरीको हत्या ‘यौन प्रस्ताव अस्वीकार’ गर्दा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय अछामले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको हो।
अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार ती किशोरीहरू नजिक दुई किशोरहरूसँग नियमित सम्पर्कमा थिए। घटनाको प्रारम्भिक अनुसन्धानबाट उनीहरूको निरन्तर फोन सम्पर्क र भेटघाट भइरहेको पुष्टि भएको छ।
प्रहरीका अनुसार गत शुक्रबार नै सरस्वती र इशरा खड्काको हत्या भएको थियो। भोलिपल्ट शनिबार साँझ किशोरीको ढकारी गाउँपालिका-२ को सल्ले जंगलमा शव फेला परेको थियो।
घटना भएको दिन ती किशोरहरूसँग जंगलमा भेट्ने योजना बनेको थियो। योजनाअनुसार ती किशोरहरू बिहान १० बजे नै जंगल पुगेका थिए। सरस्वती र इशरा दिउँसो १२ बजे बाख्रा चराउन त्यहाँ पुगेका थिए।
हत्यामा संलग्न दुई किशोरमध्ये एक किशोरको मोबाइलमा मृतक सरस्वतीको मोबाइलबाट सेयरइटमार्फत् गीत र भिडियो आदान-प्रदान गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। कुराकानीका क्रममा ती किशोरहरूले प्रेमको चिनोस्वरूप ‘दोपट्टा’ मागेका थिए। इशराले प्रेमीलाई दोपट्टा दिन तयार भए पनि सरस्वतीले अस्वीकार गरेकी थिइन्। यसै क्रममा सरस्वतीको हातमा रहेको इअरफोन खोस्न खोज्दा झगडा भएको थियो।
प्रहरीका अनुसार बाख्रा फर्काउन तल गएकी सरस्वतीलाई ती किशोरमध्ये एकले शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरेका थिए।
सरस्वतीले विवाह नगरी सम्बन्ध नराख्ने अडान लिएपछि ती किशोरले ५-६ वर्षपछि बिहे गर्ने सर्त राखे। तर, सरस्वती उक्त प्रस्ताव अस्वीकार गर्दै खोलातर्फ लागेपछि ती किशोरले झोकमा ढुंगाले टाउकोमा प्रहार गरेका थिए।
ढुंगा प्रहार गर्दा सरस्वतीको तत्काल मृत्यु भएको थियो। घटनालाई प्राकृतिक देखाउन ढुंगा माथिबाट खसालिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
सरस्वतीको मृत्यु भएपछि इशराले घटनास्थलमा पुगेर विरोध जनाइन्। उनले किशोरहरूलाई ‘तिमीहरूले मारेका हौ, म सबैलाई भनिदिन्छु’ भनेपछि ती किशोरहरूले उनलाई पनि चुप लगाउन खोजे।
तर, इशरा रोइकराइ गर्दै घर फर्कन खोज्दा एक किशोरले उनको निधारमा ढुंगा हानेर लडाए। लडेको अवस्थामा अर्को किशोरले अनुहारमा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न दुई किशोरलाई नियन्त्रणमा लिइएको छ। जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।