post-slider post-slider

भीमदत्त नगरपालिकाका पूर्वप्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित १३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

महाकाली नदीजन्य पदार्थ उत्खनन तथा ठेक्कापट्टामा अनियमितता गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०७७ / ७८ मा भीमदत्त नगरपालिका भएर बग्ने महाकाली नदीको ढुंगा, गिटी, बालुवा, माटोलगायत पदार्थ उत्खनन तथा बिक्रीका लागि लगाइएको ठेक्कामा कम कबोल गरी राज्यलाई ३ करोड ३३ लाख २२ हजार ५८३ रूपैयाँ राजस्व हिनामिना गरेको भन्दै अख्तियारले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना व्यक्ति र ठेकेदार कम्पनीविरूद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेको मुद्दामा हिनामिना भएको राजस्वलाई बिगो कायम गरी दोब्बर जरिवाना र कैद साजय मागदाबी गरिएको छ।

तत्कालीन नगर प्रमुख विष्ट र प्रमुख प्रशासकीय अधिकृत भट्टसहित निमित्त प्रमुख प्रशासकीय अकिृत हरिदत्त जोशी, वडा नम्भ्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिहरसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह, राजस्व छुट कार्यलदका सदस्य तथा इन्जिनियर हिमालयसिंह ऐर, ठेक्का सम्झौताका बेला साक्षी बस्ने गोविन्दराज उपाध्याय, भवानी कन्स्ट्रक्सनका सञ्चालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, कम्पनीका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, खगेश्वरी भट्ट तथा कम्पनीलाई प्रतिवादी बनाइएको छ।

नगरप्रमुख विष्ट र प्रमुख प्रशासकीय अधिकृत भट्टविरूद्ध ३ करोड ३३ लाख २२ हजार ५८३ रूपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना तथा ८ देखि १० वर्षसम्म कैद सजायम मागदाबी गरिएको छ।

यस्तै राजस्ववापत प्राप्त हुने अंक घटाएर कबोल स्वीकृत गर्ने भवानी कन्स्ट्रक्सन प्रालिले गरेको प्रस्तावबमोजिम राजस्व निर्धारण गरेको कसुरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीविरूद्ध बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ।

अख्तियारले उनीहरूद्ध २ करोड ११ लाख ६५ हजार ६०८ रूपैयाँ बिगो दोब्बर जरिवाना र कैद सजायको पनि माग गरेको छ।

 

Tags: