post-slider post-slider

बरहथवा घटना : तीन दिनदेखि मृतकको शव घटनास्थलमै, फेरि जारी भयो कर्फ्यु

Image
A A

काठमाडौं - सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएको जयशंकर साहको शव अभै घटनास्थलमै रहेको छ।

स्थानीय प्रशासन र आन्दोलनकारीबीच सहमति हुन नसक्दा शव उठ्न नसकेको हो।

नगर अस्पताललाई प्रादेशिक अस्पतालमा गाभ्ने विषयमा विवाद भएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गत शुक्रबार साहको मृत्यु भएको थियो।

प्रदर्शनमा सहभागी नभएका साहमाथि प्रहरीले गोली प्रहार गरेको भन्दै स्थानीय थप आक्रोशित बनेका छन्।

प्रदर्शन भइरहेको स्थानबाट करिब तीन सय मिटरको दूरीमा रहेका साहको टाउको प्रहरीले चलाएको गोली लागेको थियो।

साह निर्दोष रहेको स्थानीय प्रशासनलेसमेत स्वीकार गरिसकेको छ।

प्रहरीको गोली लागेर साहको मृत्यु भएपछि बरहथवाका स्थानीय थप आन्दोलित भएका छन्। 

स्थानीय प्रशासनले शनिबार जारी गरेको निषेधाज्ञाकाबीच उनीहरूले प्रदर्शन गरेका थिए।

यसैबीच जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आइतबारदेखि पुनः कर्फ्यु आदेश जारी गरेको छ।

आइतबार दिउँसो १२ : ४५ बजेदेखि सोमबार बिहानसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा तोडफोड, आगजनी तथा हुलदंगालगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुनसक्ने अवस्था देखिएकोले कर्फ्यु आदेश जारी भएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार नगरपालिकाको सीमाभित्र पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती / चोर्निया पुलसम्म कर्फ्यु आदेश जारी भएको छ।

 

Tags: