.png)

स्वर्णलक्ष्मी सहकारी ठगीमा आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा

काठमाडौं - सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौं ल्याइँदैछ।
काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउन लागिएको हो।
उनी बिहान बुद्ध एअरको ९ बजेको फ्लाइटमा काठमाडौं उत्रनेछन्। उनलाई ३-४ दिन बयान गराएर पुन: पोखरा लगिनेछ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कालिमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा उनलाई बयान लिन लागिएको हो।
यसअघि उनका पार्टनर पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।
अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।
मुख्यतया : अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन्।