post-slider post-slider

रसुवामा डेङ्गुको बिरामी

Image
A A

रसुवा। उत्तरी रसुवाको भूभागमा समेत डेङ्गुका बिरामी फेला परेको छ। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले  एकजना डेङ्गुका  बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए।

समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध गरेको छ । 

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ सूर्योदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउन सुझाए ।  उनले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाँडा छोपेर राख्न आग्रह गरे ।  

यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपिडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । सो ओपिडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गरे। 

अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौँ रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ ।  यसबाट विशेषगरी  प्रसुती सेवा लिने सेवाग्राहीलाई सहज भएको  समाजसेवी बाबुलाल तामाङले बताए। रासस

Tags: