post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : पटक–पटक अवसर पाएका ढुंगानाको सिफारिसपछि कांग्रेसमा असन्तुष्टि

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिटको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनभित्र रस्साकस्सी चलिरहेको बेला नेपाली कांग्रेसमा पनि आन्तरिक किचलो बढेको छ।\

राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिसमा संस्थापन समूहले एकलौटी गरेको भन्दै कांग्रेसभित्र किचलो बढेको हो।

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले १० सिट पाउने लगभग पक्का भएको छ। जसमध्ये दुई पदका लागि निर्वाचन हुन लागेको मधेस प्रदेसमा कांग्रेसले एक सिट पाउने भएको छ।

मधेस प्रदेसमा पाउने एक सिटका लागि संस्थापननिकट आनन्दप्रसाद ढुंगानाले लबिङलाई तीव्र पारेका छन्। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा टिकटका लागि ढुंगानाले बढाएको दौडधुपप्रति कांग्रेसकै कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन्।

मधेसबाट कम्तिमा मधेसी अनुहारलाई कांग्रेसले राष्ट्रियसभा सदस्यमा अगाडि सार्नुपर्ने कांग्रेस नेताहरूको भनाइ छ।

शेखर कोइराला समूहका नेता अरविन्द महतोले उम्मेदवार सिफारिस गर्दा मधेसी मूलका उम्मेदवारलाई प्राथमिकतामा नपारेकोमा आपत्ति जनाए।

‘कांग्रेसले १० सम्म सिट पाउने देखिन्छ। १० जनामध्ये मधेसी अनुहार कोही छैन?,’ प्रश्न गर्दै उनले भने,‘कम्तिमा मधेसबाट कांग्रेसलेम मधेसी मूलका उम्मेदबारलाई अगाडि सार्नुपर्छ। अन्यथा कांग्रेसकै लागि दुर्भाग्य हुनेछ।’

महतोले राष्ट्रियसभा उम्मेदवारको सिफारिसमा मधेसबाट परेका नेतामध्ये ढुंगानाको गतिविधिप्रति पनि प्रश्न उठाएका छन्।

क्रियाशील सदस्य छानबिनको संयोजक हुँदा ढुंगानाले व्यक्तिगत सम्बन्धकै कारण कैयौंको सदस्यता काँटछाँट गरेको उनको भनाइ छ।

‘उहाँले वर्षौंदेखि कांग्रेसको सदस्यता लिएका, कांग्रेसलाई मत दिँदै आइरहेकाहरूको क्रियाशील सदस्यता काटेको प्रमाण मसँग छ। धनुषामा भारती परिवारलाई कसले चिन्दैन,’ महताले भने,‘व्यक्तिगत रिसिभीका कारण उहाँले क्रियाशील सदस्यता नै काटिदिनुभयो। यसरी पार्टी बन्दैन।’

मधेसमा भएका नयाँ, क्षमतावान र ऊर्जाशीलहरूको कमी नभएकाले त्यस्तालाई मौका दिनुपर्ने उनको भनाइ छ।

केही दिनअघि बसकेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मौका अवसर नपाएका, स्वच्छ छविलगायतका व्यक्तिलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

राष्ट्रियसभा उम्मेदवार बन्न प्रयास गरिरहेका ढुंगाना भने २०४८ सालदेखि पटक–पटक अवसर पाउने नेतामध्ये एक हुन्। प्रत्यक्ष वा समानुपातिक गरेर हरेकपटक उनले अवसर पाएका छन्।

नेता महतो २०४८ सालदेखि पार्टीभित्र अवसर पाउँदै आएका ढुंगानाको स्थानमा मधेसी मूलका व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टी हितमा हुने तर्क गर्छन्।

‘२०४८ सालदेखि उहाँले अवसर पाउनु भएकै हो, प्रत्यक्षतर्फ होस् वा समानुपातिकतर्फ। हार जित छुट्टै विषय भयो। पछिल्लो निर्वाचनमा त उहाँले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ आफ्नो नाम जबरजस्ती सिफारिस गराउन लगाउनुभयो,’ उनी भन्छन्,‘मधेस प्रदेसमा कम्तिमा कांग्रेसले मधेसी अनुहार र खासगरेर नयाँ व्यक्तिलाई उम्मेदवार बनाओस् भन्ने हाम्रो भनाइ हो।’

लोकतान्त्रिक पार्टी भएकाले आफ्नो लागि सबैले प्रयास गर्नु स्वाभाविक भए पनि पार्टीको हितका लागि सभापतिले विचार पु¥याउनुपर्ने उनको भनाइ छ।

सत्ता गठबन्धनमा सिटको भागबन्डा नमिलेपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कांग्रेसले आजको लागि सारेको छ। 

दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउने बताइएको छ।

 

Tags: