post-slider post-slider

टि–२० विश्वकप छनोट : मलेसियासँग भिड्दै नेपाल

Image
A A

काठमाडौं- टि–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार समूह ‘ए’ को दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो साढे १ बजे नेपाल र मलेसियाबीचको खेल हुन लागेको हो।

सोमबार पहिलो खेलमा सिंगापुरविरूद्ध सहज जित निकालेको नेपाली टिम मलेसियासँग पनि जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिने छ।

समूह ‘ए’ अन्तर्गतकै अर्को खेल आजै ओमान र सिंगापुरबीच हुँदैछ। बिहान ९ बजे त्रिवि मैदानमा दुवै देश एकअर्काविरूद्ध उत्रिएका छन्।

दुई समूहमा विभाजन गरिएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छन्।

समूह ‘ए’ का सबै खेल त्रिवि मैदान र समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

११ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्। र, सेमिफाइनमा पुग्ने दुई टोली सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि–२० विश्वकपका लागि एसिया क्षेत्रबाट क्वालिफाइ गर्नेछन्।

सेमिफाइनलसम्म पुग्न जितका साथै नेपाली टिमको नजर नेट रनरेटर्फ समेत हुनेछ। 

समूह चरणको अन्त्यमा अंक बराबरी हुँदा नेट रनरेट निर्णायक हुने भएकाले नेपाली टिम यसलाई मजबुत गर्ने सोचमा हुनेछ।

सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाली टिमले दुई अंक प्राप्त गरिसकेको छ।

समूह ‘ए’ कै अर्को खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित ग¥यो। प्रदर्शनको हिसाबले समूह ‘ए’ तर्फ नेपाल र ओमान बलियो टिम देखिएको छ।

क्रिकेटका जानकारहरूका अनुसार नेपालका लागि ओमान चुनौति बन्नसक्ने भएकाले उसकाविरूद्ध दह्रिलो योजनाका साथ मैदानमा उत्रिन जरूरी छ।

 

 

Tags: