post-slider post-slider

राहत र पेन्सन बन्चित शिक्षक सडकमै, आन्दोलन सशक्त बनाउने चेतावनी

Image
A A

काठमाडौं- सरकारसँग ६ बुँदे सहमति गरेर नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि राहत र पेन्सन बन्चित शिक्षकहरु सडकमै छन्।

सरकार र महासंघबीच भएको सहमतिलाई धोका भन्दै उनीहरुले आन्दोलनलाई जारी राखेका हुन्।

राहत र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आइतबारदेखि थप सशक्त बनाउने बताएका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित केन्द्रीय समितिले शनिबार छुटछुट्टै विज्ञप्ति निकालेर आन्दोलन जारी राख्ने बताएका हुन्।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गरेर नेपाल शिक्षक महासंंघले सरकारसँग सम्झौता गरेर आम शिक्षकको मानमर्दन गरेको र त्यो सम्झौताविरुद्ध भन्डाफोर गर्दै आन्दोलन जारी राख्ने बताएको छ।

आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएको राहत शिक्षक केन्द्रीय समितिले जनाएको छ।

राहत शिक्षक केन्द्रीय समितिले आइतबार बिहान साढे १० बजे सबै शिक्षक कर्मचारीलाई माइतीघरमा उपस्थित हुन आग्रह गरेको छ।

त्यस्तै पेन्सन बन्चित शिक्षकहरुले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएको ।

शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए।

उनीहरुले शनिबार माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए।

 

Tags: