.png)

पूर्वपत्नी कुटपिट र जबरजस्ती करणी उद्योग आरोपमा इन्स्पेक्टर पक्राउ

काठमाडौं - नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गुरुङ पक्राउ परेका छन्। १ नम्बर गण नक्सालमा कार्यरत् गुरुङलाई जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पक्राउ गरेको हो।
कार्यालयमै बोलाएर प्रहरीले सोधपुछ गर्दै जाँदा पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएपछि हिरासतमा राखिएको प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए।
गुरुङमाथि पूर्वश्रीमती शुभद्रा दाहालले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको जाहेरी मंगलबार नै दिएकी थिइन्। साउन ३० गते बेलुका गुरुङले महालक्ष्मी-४ इमाडोलस्थित आफ्नो निवासमै आएर कुटपिट तथा जबरजस्ती करणी उद्योग गरेको दाहालको जाहेरी छ।
दाहेरी दर्तासँगै गुरुङलाई जिल्ला अदालत ललितपुरबाट पाँच दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको जोशीले बताए।
दाहाल र गुरुङबीच एक वर्षअघि नै डिभोर्स भएको थियो। कान्छी छोरीलाई घरसम्म पुर्याउन गएको बेला दाहालले नै हातपात गर्दा एक झापड आफूले हानेको गुरुङको स्वीकारोक्ति छ।
दाहालले आफूमाथि आक्रमण तथा जबरजस्ती करणी उद्योग भएको भन्दै सामाजिक सञ्जालमै रक्ताम्य फोटो पोस्ट गरेकी थिइन्।
आफूमाथि पूर्वपतिले हिंसा गर्दै आएको दाहालले बताउने गरेकी थिइन्। यसअघि पनि उनीहरूबीच कुटपिट हुने गरेको थियो। दाहालले आफूलाई गणमै एक डिएसपी र दुई इन्स्पेक्टरको अगाडि हातपात गरेको गुरुङले दाबी गरेका छन्।