post-slider post-slider

महासमिति सदस्य ‘रस्साकस्सी’ : निधिले यसरी दिए समाधान

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेस महासमिति सदस्यमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट ९ जना निर्विरोध निर्वाचित भएका छन्।

खुला समूहबाट दुई महिलासहित सात जना, समावेशीतर्फ एक महिला र दलित क्लस्टरबाट एक गरी ९ जना निर्विरोध निर्वाचित भएका हुन्।

खुला समूहबाट निर्वाचित हुनेहरूमा अनामिका उपासक निधि, मिनाक्षी झा, गणेशकुमार तिवारी, रामसरोज यादव, स्मृतिनारायण चौधरी, संजयकुमार गुप्ता र प्रफुलराज घिमिरे छन्।

खुलातर्फको ७ पदका लागि आठ जनाको उम्मेदवारी परे पनि कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मनोनयन फिर्ता लिएपछि सबै जना निर्विरोध भएका हुन्।

अन्तिम समयमा निधिको उम्मेदवारी फिर्ताले प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार र नेता–कार्यकर्तालाई आश्चर्यचकित तुल्याएको थियो। चुनावका लागि ‘डेलिगेट्स’ हरूसँग मत माग्दै हिँडेका उम्मेदवारहरू निधिले उम्मेदवारी फिर्ता लिएसँगै निर्विरोध निर्वाचित भएको खबर पाए।

महासमिति सदस्य निर्वाचनकै कारण चार दशकभन्दा बढीको सहकार्य रहेको निधि र रामसरोजबीच ‘सम्बन्धविच्छेद’ भएको अड्कलबाजीसमेत भएको थियो।

तर, उम्मेदवारी फिर्ता लिइ चुनावी प्रतिस्पर्धामा रहेका रामसरोजलगायत सबैलाई निर्विरोध गर्न लगाइ ‘सम्बन्धविच्छेद’ को त्यो अड्कलबाजीलाई निधिले अन्त्य गरिदिएका छन्।

समितीय राजनीतिको परम्परालाई अगाडि बढाउन निधिले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएको उनीनिकट नेताहरू बताउँछन्।

‘चुनाव नै भइदिएको भए एक जना रिङ्गआउट हुने निश्चित थियो। त्यसलाई रोक्न उहाँले उम्मेदवारी फिर्ता लिनुभएका हो,’ निधिनिकट एक नेताले भने।

‘सम्बन्धविच्छेद’ भइसकेको भनिएका रामसरोजलगायतका नेताहरू महासमितिमा ल्याउन पनि उनले मनोनयन फिर्ता लिएको ती नेताको भनाइ छ।

‘सम्बन्धविच्छेद भएको भनिएका रामसरोजजी, कांग्रेसका पुराना नेता मथुराप्रसाद घिमिरेका छोरा प्रफुलराज घिमिरे पनि महासमितिमा आउनुपर्छ भन्ने उनको चाहना थियो,’ ती नेता भन्छन्,‘उम्मेवारी कायमै राख्दा एक जना त बाहिरिनै पर्ने हुन्थ्यो। आफ्नै साथी र कार्यकर्ता नबाहिरिउन् भनेर उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो।’

नेता रामसरोज पनि निधिसँग आफ्नो सहकार्य टुटेको भनेर चलाइएको हल्ला निराधार रहेको बताउँछन्।

‘केही सञ्चारमाध्यममा हाम्रो सम्बन्धविच्छेद भयो भनेर आएको छ, त्यो सत्य होइन। टेलिफोनमा आजमात्रै हाम्रो कुराकानी भएको छ,’ मनोनयनदर्तापछि उनले भने।

महासमिति सदस्यको समावेशीतर्फ निलम कर्ण मधेसी महिला र दलिततर्फ प्रमिला दास निर्विरोध निर्वाचित भएका छन्।

यो दुई पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

समावेशीतर्फकै मधेसी पुरुषमा चार जनाको उम्मेदवारी परेको छ। दुई जना निर्वाचित हुनुपर्नेमा चार जनाको उम्मेदवारी परेपछि यो समूहमा मतदान हुने लगभग निश्चित भएको छ।

मधेसी पुरुषतर्फ जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरसमेत रहेका किशोरी साह,  प्रदेस समिति सदस्य जिवनाथ चौधरी, पूर्वप्रदेससभा सदस्य शिवचन्द्र चौधरी र रामबाबु यादवको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारी फिर्ता लिने समय सकिए पनि निर्वाचित हुन बाँकी रहेका मधेसी पुरुष समूहमा पनि सहमति जुटाउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

१४ औं महाधिवेशनअघि नै महासमिति सदस्य टुंग्याउनुपर्ने भए पनि धनुषा क्षेत्र नम्बर ३ मा बाँकी रहेको थियो।

कांग्रेसले महासमिति बैठकको तयारी गरिरहेको बेला धनुषा ३ मा सदस्य निर्वाचित गर्ने प्रक्रिया अघि बढेको हो।

 

Tags: