post-slider post-slider

जलमग्न भजनी, हजार भन्दा बढी नागरिक विस्थापित

Image

धनगढी- कैलालीको भजनी नगरपालिका यस वर्ष पनि डुबानमा परेको छ। सोमबारदेखिको अविरल वर्षाले भजनी नगरपालिकाका अधिकांश स्थान जलमग्न बनेका छन्।

अधिकांश स्थान डुबानमा परेपछि एक हजार बढी नगरवासी प्रभावित बनेका छन्। प्रभावितहरू सुरक्षित ठाउँको खोजीमा कोही सरकारले बनाइदिएको सुरक्षित उँचो भवनमा, विद्यालयमा त कोही हुलाकी राजमार्गमा त्रिपाल टाँगेर धनजन जोगाउन विवश बनेका छन्।

नगर प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले सोमबारदेखि परेको पानीले ठूलो भौतिक क्षति पुर्‍याएको बताए। हालसम्म एक हजार भन्दा बढी घरधुरी प्रभावित भएको उनको भनाइ छ।

बाढी प्रभावितहरूको उद्धारका लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायतको टिम खटिएको छ। कतैबाट राहत नपाउँदा जनता भने सकसपूर्ण जीवन विताउन बाध्य रहेका छन्। नगरपालिकाले प्रभावितलाई केही पानी र खाजा बाँडे पनि त्यसबाहेक राहत पाउन नसकेको उनीहरूको गुनासो छ।

भजनी नगरपालिका क्षेत्रमा कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ।

Tags: