post-slider post-slider

मालपोतका तत्कालीन अधिकृतविरूद्ध २ करोडबढीको भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- मालपोत कार्यालयका एक जना तत्कालीन अधिकृतविरूद्ध २ करोडबढीको भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरूद्ध २ करोड ९ लाख ३१ हजार ६४७ रूपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०७१ / ७२ मा मालपोत कार्यालय पर्साको फाँट ‘ग’ को एकै रजिष्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेसन लिखत दर्ता किताबमा प्रविष्ट गरी किताबमा प्रमाणित गर्नुपर्नेमा त्यसो नगरी मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको रकम भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ।

मिश्रविरूद्ध ९ करोड ९ लाख ३१ हजार ६४७ रूपैयाँ मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ।

त्यस्तै त्यही मालपोत कार्यालयका तत्कालीन अधिकृत भूपबहादुर बोगटीले आर्थिक वर्ष २०७१ / ७२ मा सोही जग्गा लिखत दर्ता किताबमा प्रविष्टि नगरी उनको हस्ताक्षरबाट पारित भइ संकलन भएको १ करोड ४९ लाख ६९ हजार १४५ रूपैयाँभन्दा दोब्बर जरिवाना हुन मागदाबी लिइ आरोपपत्र दायर भएको छ।

यही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरूद्ध ३५ लाख ४५ हजार ९५० रूपैयाँभन्दा दोब्बर जरिवाना हुन समेत मागदाबी लिइएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार तत्कालीन अधिकृतहरू पद्मप्रसाद अर्यालविरूद्ध १६ लाख ८१ हजार ६ सय रूपैयाँको दोब्बर, अधिकृत चन्द्रबहादुर भण्डारीविरूद्ध २ लाख ४४ हजार ४६२ भन्दा दोब्बर, अधिकृत कमोद तिवारीविरूद्ध १ करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवानासहित मागदाबी लिइ भ्रष्टाचार मुद्दा दायर भएको छ।

त्यही कार्यालयका तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध ५ करोड ५५ लाख १९ हजार ९७५ रूपैयाँको दोब्बर जरिवाना हुन मागदाबी लिइ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।

 

Tags: