post-slider post-slider

सर्वदलीय बैठक बोलाएर राष्ट्रपति पौडेलले भने – मैले ‘एक्टिभिज्म’ देखाउन खोजेको होइन

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र प्रणालीप्रति खेलबाड भइरहेकोे आभास हुन थालेको बताएका छन्।

संसदको गतिरोध अन्त्यलगायतका विषयमा छलफल गर्न शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्वपूर्ण कानुनहरू बन्न नसक्दा चौतर्फी आलोचना भइरहेको भन्दै दलहरूलाई ध्यानाकर्षण गराए।

‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको मेरो चिन्ता हो,’ पौडेलले भने,‘विभिन्न कारणले तपाईंहरू सबैसँग भेट पनि हुन सकेको थिएन। तपाईंहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौं भन्ने पनि थियो।’

संविधानले राष्ट्रपतिलाई तोकेको जिम्मेवारी पूरा गर्नतर्फ आफू सँधै चिन्तित रहेको उनले बताए।

पौडेलले भने,‘संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ। संविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा म सँधै चिन्तित रहेको छु।’

संवैधानिक मर्म र भावनाअनुसार सबै हिँड्नुपर्नेमा जोड दिँदै उनले आवश्यक कानुनहरू समयमै निर्माण गर्न दलहरूलाई सुझाव दिए।

‘सत्य निरूपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुंगोमा पुग्न सकेको छैन। यतिबेला यो विषय टुंग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन सक्दैन,’ उनले भने,‘नेपाललाई ग्रे लिस्टमा एक वर्षका लागि राख्ने स्थिति हाम्रो अर्को चिन्ताको विषय हो। त्यसैले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनहरू यथाशीघ्र पारित गर्न पहलकदमी लिनु हामी सबैको साझा दायित्व हो भन्ने मलाई लाग्छ।’

देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमा पास गर्न नसकिने नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र नेपालको साख अन्तर्राष्ट्रिय जगतमा गिर्न सक्ने भन्नेतर्फ उनले दलहरूलाई ध्यानकर्षण गराए। 

 

Tags: