post-slider post-slider

‘हवाइ सुरक्षालाई इयूको कालोसूचीबाट हटाउने प्रयासमा छौं’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हवाइ सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्।

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा पुगेको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

युरोपेली युनियनले केही दिनअघि सुरक्षालगायतका कारण देखाउँदै नेपालको हवाइ मार्गलाई कालोसूचीमा राख्ने निर्णयलाई निरन्तरता दिने निर्णय गरेको थियो।

रास्वाका प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रचण्डले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउने विश्वासको वातावरण सिर्जना गरिने बताए।

उनले भने,‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु। हवाइ सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्नसक्छ। त्यसैले म गम्भीर छु।’

प्रधानमन्त्री प्रचण्डले यसपटक हवाइ सुरक्षामा केही सुधार भएको बताए।

सुधार भएको आधारमा कालोसूचीबाट हट्ने विश्वास भए पनि थप सुधारका निम्ति काम गर्नुपर्ने देखिएको उनको भनाइ थियो।

 

Tags: