post-slider post-slider

कर्फ्यु का कारण सीमामा अलपत्र यात्रु

Image
A A

काठमाडौं- नेपालगञ्जमा जारी कर्फ्युका कारण सीमा क्षेत्रमा यात्रुहरू अलपत्र परेका छन्।

सामाजिक सदभाव भड्किन नदिन भन्दै स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसोदेखि कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीहरूलाई गन्तव्यसम्म पठाउन सुरू गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले जनाएका छन्।

उनका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन्।

यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको छ।

जमुनाहाको राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ।

भारतबाट फर्केका नेपालीहरू मंगलबारदेखि अलपत्र परेका छन्।

दसैं नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ।

भारतको सीमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन्।

कर्फ्युपछि नेपालगञ्ज बजार क्षेत्र बिहानैदेखि शान्त रहेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबारदेखि दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।

 

Tags: