post-slider post-slider

वन अधिकृतको १ करोड २५ लाखबढी ‘अवैध’ सम्पत्ति

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौं तह) विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वन अधिकृत दीर्घनारायण कोइरालाविरूद्ध अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता देवप्रसाद थपलियाले डिभिजनल वन अधिकृत कोइरालाले १ करोड २५ लाख ९६ हजार ३५३ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको जानकारी दिए।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी निवेदनमाथि अनुसन्धान हुँदा कोइरालाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

प्रवक्ता थपलियाका अनुसार कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २ गतेदेखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विश्लेषण गर्दा १ करोड २५ लाख ९६ हजार ३५३ रूपैयाँ बढी देखिएको छ।

उनको पारिश्रमिक बचत, भत्ता बचत रकम, घरजग्गा बिक्री, जीवन बिमा परिपक्वभइ प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, सेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र छोरीको बेचतसमेत गरी ८१ लाख ८६ हजार ९५६ रूपैयाँ ३१ पैसा आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ।

त्यही अवधिमा व्यय तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, सेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगामी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदवापतको रकम र बैंक मौज्दातसमेत गरी २ करोड ७ लाख ८३ हजार ३४९ रूपैयाँ ८५ पैसा खर्च तथा लगानी भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

गैरकानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी कसुर गरेको भन्दै अख्तियारले कोइरालाविरूद्ध १ करोड २५ लाख ९६ हजार ३५३ रूपैयाँ बराबरको बिगो जरिवाना र कैद सजायको मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 

Tags: