post-slider post-slider

एक साताअघि नै जन्मिएकी थिइन् बालेनकी छोरी, ‘इस्यू डाइभर्ट’ गर्न ‘रूटिन अफ नेपाल बन्द’ को प्रयोग

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहनिकट मानिने सामाजिक सञ्जाल पेस ‘रूटिन अफ नेपाल बन्द’ ले आइतबार बिहान एउटा स्टाटस लेख्यो– बालेन साह र उनकी श्रीमती सविना काफ्लेले छोरीलाई जन्म दिएकी छन्।

‘रूटिन अफ नेपाल बन्द’ को यो स्टाटस त्यतिबेला आएको थियो जब मेयर बालेन्द्रले शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा स्टाटसको चर्को आलोचना भइरहेको थियो।

मेयर साहले शनिबार राति लेखेका थिए,‘आजको लागि केही भएन, भोलिबाट महानगरपालिकाको कुनै पनि सरकारी गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। चोर सरकार।’

उनले यो स्टाटस शनिबार राति ९ बजेर २१ मिनेटमा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

उनकी श्रीमती चढेको महानगरको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेन्द्रको यो धम्कीपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोखिएको थियो।

बिदाको दिनमा ट्राफिक प्रहरीले सरकारी गाडी सञ्चालनमा कडाइ गरेको छ। बिदाको दिन सडकमा गुड्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले केरकार गर्ने गरेको छ।

ठीक त्यही भएको थियो बालेन्द्रकी श्रीमती चढेको महानगरको सरकारी गाडीसँग।

शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको थियो।

श्रीमती सबार गाडीलाई रोकेर प्रहरीले केरकार गरेको आक्रोशमा मेयर साहको पछिल्लो ‘धम्कीपूर्ण’ अभिव्यक्ति आएको प्रष्ट हुन्छ।

तर, सिंहदरबार नै जलाइदिने उनको ‘धम्कीपूर्ण’ अभिव्यक्तिलाई धेरैले आलोचना गरे। जिम्मेवार पदमा आसीन व्यक्तिबाट गैरजिम्मेवारपूर्ण र अराजनीतिक अभिव्यक्ति भने।

धम्कीपूर्ण अभिव्यक्तिलाई लिएर आलोचना भइरहेकै बेला उनीनिकट ‘रूटिन अफ नेपाल बन्द’ ले मेयर साहलाई पुत्रीलाभ भएको जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेको थियो।

‘रूटिन अफ नेपाल बन्द’ को यो पोस्टपछि धेरैले ‘व्यथा लागेर अस्पताल गइरहेकी उनकी श्रीमती चढेको गाडी प्रहरीले रोकेपछि’ मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति आएको अनुमान गरे।

तर, केहीबेर नबित्दै मेयर साहलाई पुत्रीलाभ शनिबार नभएर एक साताअघि नै भएको सामाचारहरू सार्वजनिक भए। यो समाचार सार्वजनिक भएलगत्तै ‘रूटिन अफ नेपाल बन्द’ ले आफ्नो अघिल्लो स्टाटस सम्पादन ग¥यो।

र, लेख्यो– मेयर बालेन साह र उनकी पत्नी सविना काफ्लेलाई 'केही दिनअघि' पुत्रीलाभ भएको छ।

मेयर साहको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भइरहेको बेला ‘इस्यू डाइभर्ट’ गर्न ‘रूटिन अफ नेपाल बन्द’ को प्रयोग भएको देखिन्छ।

मेयर साहकी पत्नी सबिनाले एक साताअघि नै दुई शिशुलाई जन्म दिएको खुलेको छ।

ललितपुरको मेडिसिटी अस्पतालमा सबिनाले एक साताअघि नै दुई छोरीलाई जन्म दिएको अस्पताल स्रोतले बताएको छ।

जुम्ल्याहामध्ये एक छोरीमात्र जीवित रहेको र ति शिशुको एनआइसियूमा उपचार भइरहेको बताइएको छ।

सबिना भने दुई दिनअघि नै डिस्चार्ज भएको र छोरीलाई थप केही दिन अस्पतालमै राख्नुपर्ने भनिएको छ। यद्यपि सबिना भने अस्पताल आउजाउ गरिरहेकी थिइन्। 

समय नपुग्दै बेथा लागेपछि सबिनालाई अस्पताल भर्ना गरिएको बताइएको छ।

सन्तानको जन्मबारे सार्वजनिक नगर्न मेयर साहले अस्पताललाई भनेका थिए। आफ्नो सन्तानको जन्मबारे उनले ‘मलाई यसबारे कसैलाई जानकारी दिनु छैन, मिडियामा पनि प्रचार गर्नु छैन। यहाँबाट पनि कुनै जानकारी बाहिर नजाओस’ भनेर अस्पतालसँग सहमति गराएको स्रोतको भनाइ छ।

छोरी अस्पतालको एनआइसियूमै राखिएकोले सबिना शनिबार अस्पताल पुगेर फर्किएको बताइएको छ। सबिना सबार महानगरपालिकाको सरकारी गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो।

यही घटनालाई लिएर मेयर साहले आगामी दिनमा महानगरको गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस फेसबुकमा लेखेका थिए।

 

 

Tags: