post-slider post-slider

भूकम्प प्रभावितलाई १५ दिनको पारिश्रमिक सहयोग गर्ने कांग्रेस संसदीय दलको निर्णय

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले भूकम्प प्रभावितहरूलाई संघीय सांसदका १५ दिनको तलब सहयोग गर्ने भएको छ।

आइतबार पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बराहीमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भूकम्प पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सांसदहरूको १५ दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

कांग्रेसले भूकम्प प्रभावितहरूको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी कोषमा ५० लाख सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

कांग्रेसको यो निर्णयलाई आइतबार नै बसेको कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको छ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लाका विभिन्न क्षेत्रमा ठूलो संख्यामा मानवीय र भौतिक क्षतिका साथै सैयौं घाइते भएका छन्।

 

Tags: