post-slider post-slider

काठमाडौंमा गुड्न थाल्यो द्रूत बस

Image
A A

काठमाडौं– काठमाडौंमा आजदेखि द्रूत बस चल्न थालेको छ। संविधान दिवसको अवसर पारेर सरकारले बस सेवा सञ्चालन गरेको हो। रत्नपार्कको शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत बस सेवाको उद्घाटन गरे।

अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रूत बस सञ्चालन हुनेछ। आज दुई वटा बस सञ्चालन गरिएको र भोलिदेखि बस थप गरी नियमित सञ्चालन हुने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए।

द्रूत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा रातो रङले डेडिकेटेड लेन नै छुट्याइएको छ। द्रूत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका गाडी यो लेनमा प्रवेश गर्न नपाउने विभागका प्रवक्ता पनेरूले बताए।

तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने यो लेनमा चलाउन पाइने छ। ट्राफिक व्यवस्थापनका साथै यात्रुको सुविधाका लागि द्रूत बस सञ्चालन गरिएको हो। रत्नपार्क–सूर्यविनायक  सडकमा  नमुनाका  रूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रूत बस सेवा विस्तार गरिने विभागले जनाएको छ।

द्रूत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय  महासङ्घको सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ। विभागका अनुसार रातो बत्ती बलेका बेलामा पनि द्रूत बस रोकिने छैनन्। त्यस्ता बस एम्बुलेन्स तथा अत्यावश्यक गाडी जस्तै गुड्ने छन्। 

सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा नै पुग्न सकिनेछ। द्रूत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म १९ ठाउँमा स्टप तोकिएको छ। 

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ। यसबाट सार्वजनिक गाडीको प्रयोगमा प्रोत्साहन हुने र निजी गाडी प्रयोगको सङ्ख्या घट्ने विभागको अपेक्षा छ। यसले सडकमा जाम केही कम हुने विश्वास छ। 

Tags: