post-slider post-slider

कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

Image
A A

काठमाडौं- अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार बिहीबार राति र शुक्रबार बिहान पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा एकै परिवारका सात जना रहेका छन्। शर्माका अनुसार बिहीबार राति १०:२० बजे पोखरा महानगरपालिका-१९ तल्लाकोट टारीका कुलबहादुर परिवारको परिवार पहिरोमा पुरिएको हो।

उनको ढुंगा-माटोले बनेको एक तले घरमा पछाडिबाट पहिरो आएर पुरिएको थियो।

मृत्यु हुनेमा ४६ वर्षीय परियार, उनकी ४३ वर्षीया श्रीमती मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, १५ वर्षीया छोरी प्रशना परियार, २० वर्षीया छोरी प्रभा परियार, ज्वाइँ २५ वर्षीया अस्मित परियार र छिमेकी ५६ वर्षीया राधिका परियार रहेकी छिन्।

चितवनबाट माइत र ससुराली गएका प्रभा र अस्मितको पहिरोमा परी ज्यान गएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

राधिकाको घटनास्थलबाट उद्धार गर्ने क्रममा लडेर मृत्यु भएको शर्माले बताए।

यस्तै, राधिकाका छोरा ३१ वर्षीया कुमार परियार र कुलबहादुरका १७ वर्षीय छोरा पवन परियार घाइते छन्। उनीहरू पश्चिम क्षेत्रीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।

यस्तै, शुक्रबार बिहान राति कास्की मादी गाउँपालिका-११ तल्लो ताप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइती कुमार गुरुङको मृत्यु भएको छ।

ढुंगा-माटोको एक तले कच्ची घर माथिबाट पहिरो आएर पुरिँदा उनी बेपत्ता थिइन्। उनको शुक्रबार बिहान ७ बजे शव फेला परेको शर्माले बताए।

उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयले सकुसल उद्धार गरेका छन्।

पोखरा-३२ चैतपुर बाह्रबिसेमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।

४० वर्षीय आरती ओझाको घर पहिरोले रिँदा उनकी छोरी १८ वर्षीय अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र आरतीका दाइका ९ वर्षीय छोरा प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आरती भने घाइते छिन्। उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको कास्की प्रहरीले जनाएको छ।

 

Tags: