post-slider post-slider

बंगलादेशको विवादस्पद चुनाव : हसिना पाँचौंपटक प्रधानमन्त्री बन्ने निश्चित

Image
A A

काठमाडौं- विवादस्पद निर्वाचनमा विजयी भएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले निरन्तर पाँचौंपटक सरकारको नेतृत्व गर्ने सुनिश्चित भएको छ।

उनको दल अवामी लीग र साझेदार दलहरूले तीन सय सदस्यीय संसदमा कम्तीमा २२३ सिट जितेका छन्।

यो विजयपछि हसिना पुनः देशको कार्यकारी बन्न बाउने छिन्।

बंगलादेशको मुख्य विपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) ले निर्वाचन बहिष्कार गरेको थियो।

हसिनाको पार्टी र साझेदारहरूले थप सिट पनि जित्ने अनुमान गरिएको छ।

बिएनपीले निर्वाचनलाई ‘स्वाङ’ को संज्ञा दिएको छ।

बिएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतबार सम्पन्न निर्वाचनको परिणाम आएको हो।

आधिकारिक तथ्यांकमा झन्डै ४० प्रतिशत मत खसेको देखाइएको छ। यद्यपि आलोककरूले यो संख्यामा पनि बढाचढाइ प्रस्तुत गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको थियो।

राजनीतिक विश्लेषक बदिउल मजुमदारका अनुसार निर्वाचन आयोगले मतदानको प्रतिशत बढाएको छ।

निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। तर, उनीहरूमध्ये अधिकांश अवामी लीगसँग आवद्ध व्यक्ति हुन्। जातीय पार्टीले पनि ८ सिट जितेको छ। 

हसिनाको पाँचौं कार्यकाल

शेख हसिना सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेकी थिइन्। त्यसपछि सन् २००९ मा उनी फेरि निर्वाचित भइन्। त्यसयता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन्।

प्रधानमन्त्रीका लागि यो उनको पाँचौं कार्यकाल हुनेछ।

‘यो देशमा प्रजातन्त्र कायम रहनुपर्छ भन्ने प्रत्याभूत गराउन मैले यथाशक्य प्रयास गर्दै आएकी छु,’ मतदानपछि हसिनाले सञ्चारकर्मीसँग आइतबार भनेकी थिइन्।

अवामी लीगका महासचिव ओबैदुल कादरका अनुसार हसिनाले पार्टीका नेता तथा कार्यकर्तालाई विजयोत्सव नगर्न र जुलुस ननिकाल्न निर्देशन दिएकी छन्।

‘ह्युमन राइट्स वाच’ का अनुसार गत अक्टोबर २८ मा विपक्षी दलले ¥याली निकाल्दा झन्डै १० हजार जना पक्राउ परेका थिए।

त्यसपछि भएको हिंसामा कम्तीमा १६ जनाको ज्यान गएको थियो भने ५ हजारभन्दा बढी घाइते भएका थिए।

सरकारले ‘सत्तारुढ अवामी लीगका राजनीतिक प्रतिद्वन्द्वीहरूबाट जेल भरेको’ ह्युमन राइट्स वाचको आरोप छ।

यद्यपि अवामी लीगले यो अरोप अस्वीकार गरेको छ।

एकदलीय शासनको डर

अवामी लीगको विजयका कारण देशमा एकदलीय शासन सुरू हुनसक्ने आशंका उत्पन्न भएको देखिन्छ।

निकै थोरै मानिसलाई मात्र सरकारले दमन गर्न छोड्ला भन्ने लाग्छ। विपक्षी दल र नागरिक समाजले सरकारको वैधताबारे प्रश्न उठाइरहे दमन अझ बढ्नसक्ने डर देखिन्छ।

हसिनाको दल अवामी लीगले स्वतन्त्र कामचलाउ सरकार गठन गरेर निर्वाचन गराउनुपर्ने माग अस्वीकार गरेपछि बिएनपीले चुनाव बहिष्कार गरेको थियो।

बिएनपी के भन्छ

बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानले आफूहरूको शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन जारी रहने बताएका छन्।

रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका छन्। उनी हसिनाकी प्रतिद्वन्द्वी तथा पूर्वप्रधानमन्त्री खलिदा जियाका छोरा हुन्।

निर्वाचनअघि भएका आगजनीका घटनामा बिएनपीका कार्यकर्ता संलग्न भएको आरोप उनले अस्वीकार गरेका छन्।

भ्रष्टाचारको आरोप लागेको जिया अहिले घरमै नजरबन्दमा छिन्।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण गर्ने षडयन्त्र गरेको अभियोगमा सन् २०१८ मा रहमान दोषी ठहर भएका थिए। जन्मकैदको फैसला सुनाइएको उक्त मुद्दाको सुनुवाइमा उनी अनुपस्थित भए।

त्यो घटनामा हसिना घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो।

आफूविरूद्धका सबै आरोप आधारहीन रहेको र राजनीतिक प्रतिशोधका लागि लगाइएको रहमानको भनाइ छ।

बिएनपीले सर्वसाधारण जनतालाई मतदानमा सहभागी नहुन आह्वानसमेत गरेको थियो।

राजनीतिक स्थिरता कायम गरेको दाबी

हसिनाका समर्थकहरू उनले बंगलादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।

विगत १५ वर्षमा बंगलादेशी जनताको मनमा हसिनाले जागृत गराएको आत्मविश्वास उनको सबैभन्दा ठूलो उपलब्धि रहेको उनीहरूको भनाइ छ।

सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेकी हसिना सन् २००९ मा फेरि चुनाव जितेर आएपछि निरन्तर सत्तामा छिन्।

उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

नयाँ कार्यकाल सकिँदा हसिना ८१ वर्षको हुने छिन्। यद्यपि उनको उत्तराधिकारी को बन्ला जिज्ञासा अवामी लीगसहित बंगलादेशमा धेरैको छ।

निर्वाचनको परिणाम स्पष्ट भए पनि भविष्य अनिश्चित रहेको त्यहाँका विश्लेषकहरूको भनाइ छ।

 

Tags: